काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखोल्ने सहमतिपछि केसीले तोडे अनशन
काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज स्थापना गर्न नदिनेलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार अनशन तोडेका छन् ।
पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले सहमतिपत्रमा हस्ताक्षर गरेलगत्तै डा. केसीलाई जुस पिलाएर अनशन तोडाएका थिए ।
नौ बुँदे सहमति अनुसार १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोेल्न पत्र नदिने, उपत्यका बाहिर जान चाहने मेडिकल कलेजलाई सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने र चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमति छ ।
यो सहमतिपछि अब भने मनमोहन मेडिकल कलेजलगायतले १० वर्षसम्म पर्खिनुपर्नेछ । त्यस्तै मेडिकल कलेजहरूले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्बन्धमा कार्यदल बनाइने भएको छ ।
डा. केसीले गत असार १६ बाट जुम्लामा १५ औ अनशन सुरु गरेका थिए । उनले चिकित्सा शिक्षा सुधारको माग गर्दै सर्वप्रथम २०६९ असार २१ मा पहिलो आमरण अनशन सुरु गरेका थिए ।
१५ औं पटकसम्म आइपुग्दा उनी एक सय ८८ दिन अनशन बसेका थिए ।
..

चुम्लिङटार दुर्घटनामा आठको मृत्यु
पृथ्वीराजमार्गको कुरिनटारनजिक चुम्लिङटारमा शुक्रबार बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट स्याङ्जा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा अर्जुन न्यौपाने, रबिन गुरुङ, बाबुराम तिवारी, फिरोज मियाँ, तनहुँ भानु–५ की १८ वर्षीया कविना श्रेष्ठ, रविन्द्रबहादुर रानामगर, कमला श्रेष्ठ र सुमित श्रेष्ठको मृत्यु भएको थियो। घाइतेमध्ये १० जनाको भरतपुरमा, ५ जनाको पोखरामा एकजनाको काठमाडौं र एक जनाको धादिङ मलेखुमा उपचार भएको चितवन प्रहरीले जनाएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार ट्रकसँग ठोक्किएपछि बस सडकबाट १५ फिट तल खोँचमा खसेको थियो ।
...

कानुनमन्त्री तामाङले दिए राजीनामा
कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका थिए ।
पत्नी उषाकला राईसँगै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ भावुक भएका थिए ।
उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
विवादास्पद अभिव्यक्तिको आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । आलोचना नरोकिएपछि नेकपाले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
..
बढेको इन्टरनेट मूल्य फिर्ता
आर्थिक वर्ष ०७५र७६ मा दूरसञ्चार कर लागू भएसँगै वृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । साउन १ देखि बढाइएको मूल्यलाई समायोजन गर्ने सहमति भएसँगै फिर्ता भएको जानकारी बिहीबार सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएका थिए ।
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट व्याण्डविथ सस्तो भएपनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो ।
यता सेवा प्रदायकले कर बढेसँगै मूल्य नबढाए घाटा हुने बताउँदै आएका थिए ।
..

लर्डसमा दोस्रो पटक खेल्दै नेपाली क्रिकेट टोली
विश्व क्रिकेटको ‘मक्का’ मानिने लर्डसमा आइतबार नेपालले आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सम्मिलित एकदिने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गर्दैछ ।
बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पुरा गरेको अवसरमा ठीक दुई वर्षपछि नेपालले पुनः लर्डसमा खेल्न लागेको हो । सन् २०१६ मा नेपालले एमसीसीसँग वान डे खेलेको थियो ।
दुई वर्षअघि नेपालले एसोसिएट राष्ट्रको हैसियतमा लर्डसमा पहिलो पटक खेलेको थियो ।
त्यस्तै नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पुनरागमन गर्दैछ । २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग खेले यता नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन । मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।




