Key Points
- स्वस्थ हुनु भनेको निरोगी हुनु मात्रै होइन
- आदिवासीहरूको परम्परागत औषधोपचार केवल शारीरिक रोगको मात्र उपचारमा केन्द्रित छैन
- नन्करी उपचार पद्धति ६० हजार वर्षदेखि प्रयोग हुँदै आएको बताइन्छ
- परम्परागत उपचार र आधुनिक चिकित्सा हेर्दा परस्पर विरोधी लागेता पनि ती एक-अर्काका पूरक हुन सक्छन्
आफ्नो भूमिको गहिरो ज्ञान र त्यसको जगेर्ना गरेर अस्ट्रेलियाभरका एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू दिगो र सामञ्जस्यपूर्ण रूपले बाँचेको हजारौँ वर्ष भइसकेको छ।
यसमा उनीहरूको औषधी मुलो गर्ने तरिका पनि सामेल छ, जुन आध्यात्मिकता र वास्तविकताको जटिल मिश्रणबाट चल्छ।
अनि, आदिवासी मानिसहरूका लागि स्वस्थ हुनु भनेको निरोगी हुनु मात्रै होइन।
उनीहरूका लागि स्वास्थ्य भनेको शारीरिक, भावनात्मक, सामाजिक र आध्यात्मिक चिन्तनको एक समग्र बिचार हो।
त्यसैले, आदिवासीहरूको परम्परागत औषधोपचार केवल शारीरिक रोगको मात्र उपचारमा केन्द्रित छैन।
यसले स्वस्थ रहनुका अनेकौँ आयामहरू बिचको सन्तुलन पनि खोज्छ।
डा अलाना गल, लुट्रुवीताको पूर्वोत्तर तटीय क्षेत्रमा बसोबास गर्ने ट्रुवुलवे समुदायकी महिला हुन्।

हाल सदर्न क्रस युनिभर्सिटीमा न्याचुरोपेथिक मेडिसिन वा प्राकृतिक चिकित्सामा पोस्टडक्टरल रिसर्च फेलो पनि रहेकी गल भन्छिन् कि परम्परागत औषधीसँग उनको नाता, बाल्यकालदेखिकै हो।
मानिसहरूले अस्ट्रेलियामा चलिआएको परम्परागत औषधोपचारलाई ‘बुश मेडिसिन’ को नाम दिने गरेको प्राय: भेटिन्छ तर डा गल भन्छिन् कि यो सम्पूर्ण रूपमा सही छैन।
आदिवासीहरू ओखती नै भनेर सेवन गरिने चिज बाहेक अरू कुरालाई पनि औषधीका रूपमा प्रयोग गर्ने उनी बताउँछिन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ
थिच्नुहोस्।
डा गल थुप्रै सार्वजनिक अभियानहरूसँग जोडिएकी छिन् जसमा ट्रेडिस्नल, कम्प्लिमेन्टरी एन्ड इन्टेग्रेटिभ मेडिसिन (टीसीआइ) को आदिवासी परम्परागत औषधी सम्बन्धी निर्देशकको पद पनि एक हो।
उनी उक्त संस्थाको परम्परागत औषधीलाई एक दृष्टान्तको रूपमा हेर्छिन्।
परम्परागत औषधी सम्बन्धी ज्ञान सुरक्षित नभएको आफूले जानेपछि यस्तो खालको उपचार विधि तर्फ आफ्नो उत्साह थप बढेको अलाना गल बताउँछिन्।
उनी भन्छिन् कि उचित सुरक्षा बिना यस्तो कुराको ज्ञान हुने मानिसहरू स्वयम्ले नै यसबाट आफ्नो लागि फाइदा लिन सक्दैनन् जसबाट यस्तो औषधीमूलोको दिगोपना बारे पनि प्रश्न उठ्छ।
र, यस्तो ज्ञानबाट संसारले निकै फाइदा उठाउन सक्ने पनि डा गलको भनाई छ।
उनको दीर्घकालीन लक्ष्य पनि यस्तै छ - यो ज्ञान यस जगतका सम्पूर्ण मानिसहरूको स्वास्थ्य लाभका लागि प्रयोग गर्न मिल्ने गरी एक प्रणालीको स्थापना गर्नु।
हातेमालो गरी अगाडी बढ्न सकिन्छ
बन्गोरी र मटोरा समुदायसँग नाता भएका ब्रेट रोवलिङ एक अनालिटिक केमिस्ट वा विश्लेषणात्मक रसायनविद् हुन जो अलाना गलसँग सहकार्य गर्छन्।

रोवलिङ भन्छन् कि परम्परागत उपचार र आधुनिक चिकित्सा हेर्दा परस्पर विरोधी लागेता पनि ती एक-अर्काका पूरक हुन सक्छन्।
जसरी अध्ययनका आधारमा पारासिटामोलले काम गर्ने तरिका बारे ठ्याक्कै भन्न सकिन्छ परम्परागत ओखतीहरू बारे पनि पुस्तैनी रूपमा भनिने कथाहरूबाट तिनको प्रभावकारिताका बारेमा जानिएको उदाहरण उनी दिन्छन्।
परम्परागत औषधी उपचार विधि
अनि परम्परागत औषधी उपचार विधि केवल शारीरिक स्वास्थ्यमा मात्र केन्द्रित नभई आध्यात्मिक स्वास्थ्यको पनि हेरचाह गर्छ, जुन आधुनिक चिकित्सा पद्धतिमा प्राय: समावेश भएको पाइँदैन।
डेबी वट्सन साउथ अस्ट्रेलियाको आङाङु पिटजनजार्राह याङकुन्टजार्राह भूमिमा पर्ने पिपलयट्जराकी नन्करी वा परम्परागत एबोरिजिनल उपचारकर्ता हुन्।

यसको ज्ञान एक पिँढीबाट अर्कोमा सर्दै आजको दिनसम्म आएको हो।
उनी भन्छिन् कि नन्करीहरूको आफ्ना पुर्खासँगको सम्बन्धले उनीहरूलाई आत्मासँग काम गर्दै दुखाई, आघात, चिन्ता लगायतका कुराहरू निको पार्न सघाउँछ।
वट्सन द आङाङु नन्करी चुटाकु कर्पोरेसन वा आन्टाक भनिने अस्ट्रेलियाको पहिलो एबोरिजिनल उपचारकर्ताहरूको सङ्घकी सह-संस्थापिका पनि हुन्।
यो संस्थाले एबोरिजिनल तथा गैर-एबोरिजिनलहरूको रोग निको पार्ने सेवा सञ्चालन गर्नुका साथै आफूहरूको शताब्दीऔं पुरानो चिकित्सा पद्धतिलाई सहयोग पुर्याउँदै त्यसको संवर्द्धन गर्छ।
डा फ्रेान्चेस्का पान्जीरोनी वट्सनसँगै काम गर्छिन्, आन्टाकको संस्थापक एवम् प्रमुख कार्यकारीका रूपमा।

उनी सन् २००१ मा युनिभर्सिटी अफ सिड्नीमा कानून पढ्न इटालीबाट अस्ट्रेलिया आएकी थिइन्।
अन्तर्राष्ट्रिय मानव अधिकार कानून र आदिवासी मानिसहरूको आत्मनिर्णयको अधिकार सम्बन्धी पृष्ठभूमि भएकी पान्जीरोनी भन्छिन् कि परम्परागत एबोरिजिनल औषधिबारे आफ्नो कौतूहलका कारण उनले “अनजान संसारमा हाम फालेकी” हुन्।
नन्करीहरूसँग केही पटक छलफल गरेपछि आदिवासी मानिसहरूकोे परापूर्वकालदेखि चलिआएको आफ्नो उपचार पद्धतिसम्म सहज पहुँच हुनुपर्छ भन्ने आफूलाई लागेको डा पान्जीरोनी बताउँछिन्।
आन्टाकले एबोरिजिनल उपचार विधिलाई मूलधारको स्वास्थ्य सेवा प्रणालीको एक हिस्सा बनाउने लक्ष्य राखेको छ।
फ्रान्चेस्का पान्जीरोनी भन्छिन् कि परम्परागत चिकित्सा र आधुनिक उपचार एक आपसमा मिलेर काम गर्न सक्छन्।
गल, रोवलिङ, वट्सन र पान्जीरोनीको भनाई सहितको अडियो प्रस्तुती सुन्न यो पेजको सबैभन्दा माथिल्लो भागमा रहेको प्लेयरलाई थिच्नुहोस्।








