मुख्य बुँदा
- सडक दुर्घटनामा परेका दुवै चालकहरूले आफ्नो लाइसेन्स, बिमा कम्पनीको जानकारी र सर्म्पक नम्बर एक अर्कालाई दिनु पर्छ।
- ठुलो दुर्घटना भएमा, कोही घाइते भएमा वा गैर कानुनी कारणहरू भए मात्र प्रहरी दुर्घटना स्थलमा पुग्दछन्।
- सामान्य दुर्घटनाका बेला, आगामी कदमका बारेमा चालक आफै जानकार रहन जरुरी हुन्छ।
- सवारी दुर्घटनामा परेकाहरूले सीटीपी, बिमा वा वर्केर्स कम्पेनसेसन मार्फत सवारीमा भएको क्षति र उपचारका लागि दाबी गर्न सक्छन्।
अस्ट्रेलियामा सवारी दुर्घटनामा परि हाले, सबै भन्दा पहिले आफ्नो सवारी साधन रोक्ने र सवार सबै यात्रुहरू सुरक्षित छन् कि छैनन् भनेर जाँच गर्नु पर्दछ।
सवारी दुर्घटना गराएर भागेको खण्डमा, अपराध मानिन्छ। र त्यही अनुसारको जरिमाना र कारबाही भोग्नु पर्दछ।
न्यु साउथ वेल्स प्रहरीका ट्राफिक एवम् हाइवे पेट्रोल कमान्डका सर्जेन्ट स्कट स्टाफर्ड सवारी दुर्घटनामा परेको खण्डमा सबैभन्दा पहिले आफ्नो गाडीमा रहेका मानिसहरू सुरक्षित भए/नभएको बारेमा हेर्न आग्रह गर्छन्।
"दुर्घटना पछि आफ्नो गाडीको क्षतिका बारेमा हेर्दै गर्दा, वरपर पनि ध्यान दिनु पर्छ, कहिले काहीँ अन्य सवारीहरूले झनै ठुलो खतरा निम्त्याउन सक्छन्, सुरक्षित रहेको खण्डमा आफ्नो गाडी सडकबाट बाहिर निकालेर अर्को चालकसँग विवरणहरू साट्नु पर्छ,” उनले भने।
तर कोही घाइते भएको अवस्था छ भने चाहिँ तुरुन्तै ट्रिपल जिरोमा (000) फोन गरिहाल्नु पर्दछ, यदि दुर्घटना ठुलो छ भने प्रहरीले एम्बुलेन्स र अग्नि नियन्त्रकलाई पनि घटनास्थलमा बोलाउँछन्।
“ठुलो दुर्घटना भन्नुको अर्थ, दुर्घटनामा परेको व्यक्ति सवारी साधनबाट बाहिर निस्कन नसक्नु, घाइते हुनु वा मृत्यु हुनुलाई मानिन्छ,” सर्जेन्ट स्टाफर्डले भने।
“यस बाहेक सवारी चालक मदिरा वा लागु औषधको नसामा रहेको अवस्थामा वा दुर्घटना गराएर भागेको वा आफ्नो विवरण दिन नमानेको अवस्थामामा पनि प्रहरी आउन सक्छ।”
दुर्घटनाका कारण सडक अवरुद्ध भएमा वा जोखिम बढेमा पनि प्रहरीको उपस्थिति हुन सक्छ।
यसै गरी दुर्घटना पछि कोही व्यक्ति निकै तनावमा भएमा वा तेस्रो पक्षको दबाबमा परेको अवस्थामा पनि प्रहरीले आफ्नो उपस्थिति जनाउन सक्छ।

तर सामान्य दुर्घटनाको अवस्थामा भने दुई पक्षले आपसी समझदारीमा विवरण एक अर्कालाई दिएर समस्या समाधान गर्न सक्छन्।
दुर्घटनामा परेका दुवै सवारीसाधन, गुड्न सक्ने अवस्थामा भएको खण्डमा किनारा लगाएर लाइसेन्स र बिमा जस्ता कुराहरूका बारेमा एक अर्कालाई जानकारी दिन सकिन्छ।
“दुर्घटनामा परेका सवारी साधनको नम्बर समेत आउने गरेर फोटो खिच्ने, लाइसेन्सको फोटो खिच्ने, त्यस पछि एक अर्काको फोन नम्बर पनि साटासाट गर्नुपर्छ,” स्टाफर्डले भने।
“सवारी दुर्घटनाको बारेमा बिमा कम्पनीलाई जानकारी गराइसके पछि उनीहरूले कसको गल्ती हो भनेर पत्ता लगाउने र मर्मत गर्नका लागि काम गर्छन्।”
बिमा कम्पनीमा कसरी दाबी गर्ने?
यदि आफ्नो गाडीको बिमा रहेको छ भने, जतिसक्दो चाँडो दुर्घटनाका बारेमा कम्पनीलाई जानकारी गराउनु पर्दछ।
फाइनान्सीयल राइट नामक संस्थामा कार्यरत वरिष्ठ वकिल जेन फोले इन्सुरेन्स दाबी गर्दा, अर्को पक्षको नाम र ठेगाना निकै महत्त्वपूर्ण हुने बताउँछिन्।

जानकारी नभएको खण्डमा गल्ती नभएता पनि दाबी गर्ने पक्षले एक्सीस फि भनिने न्यूनतम शुल्क तिर्नु पर्ने उनले बताइन्।
“तर तपाईँसँग आवश्यक जानकारी छ भने चाहिँ, कम्पनीले त्यसो गर्दैन,"उनले भनिन्।
"यदि छेउ छाउमा सिसी क्यामरा छन् भने पनि ध्यान दिनु पर्छ, यसले पछि गल्ती पत्ता लगाउन सहयोग पुर्याउँछ।”
तर आफ्नो कुनै पनि गल्ती छैन भने चाहिँ, दोस्रो पक्षलाई उनीहरूको बिमा मार्फत दाबी गर्न लगाउनु पर्दछ।
जेन भन्छिन् “सबैभन्दा उत्तम उपाय आफ्नो मेकानिककोमा पुगेर मर्मत खर्च कति लाग्छ भनेर जानकारी लिने र उक्त जानकारी अर्को चालकलाई गराउने हो। ”
“उक्त चालकले आफ्नो बिमा कम्पनीलाई यसका बारेमा जानकारी गराउँछ र बिमा कम्पनीले सिधै तपाईँलाई सर्म्पक गर्छ।”
अर्को पक्षको बिमा कम्पनीले तपाईँको कार उनीहरूको मेकानिककोमा लिएर जान भन्न सक्छ, तर त्यो गर्नु पर्छ भन्ने जरुरी छैन, उनीहरूलाई तपाईँको कार हेर्ने वा जाँच गर्ने कुनै अधिकार हुँदैनजेन फोले
अर्को पक्षको बिमा कम्पनीबाट रकम भुक्तानी गराउनका लागि लेटर अफ डिमान्ड भनिने भुक्तानी सम्बन्धी बिल सिधै कम्पनीलाई पठाउन सकिने फोले बताउँछिन्।
तर बिमा कम्पनीले उक्त रकमलाई घटाउन कोसिस भने गर्न सक्छन्।
उनका अनुसार यदि दाबी रकम १५,००० डलर भन्दा कम भएमा र कम्पनीले तिर्न आनाकानी गरेमा अस्ट्रेलियाको आर्थिक गुनासो गर्ने निकायमा यसका बारेमा गुनासो गर्न सकिने फोले बताइन्।
यो सेवा निःशुल्क हुने र दुई पक्षबिचको गुनासोलाई यसले समाधान गर्ने कोसिस गर्छ।
“तर यदि रकम १५,००० डलर भन्दा माथि छ भने चाहिँ, बिमा कम्पनीहरू सजिलै वार्ताको टेबुलमा आउँदैनन्, उनीहरूलाई स्थानीय अदालतमा मुद्दा हाल्नु पर्छ,” उनले सम्झाइन।
तर त्यसो गर्नु भन्दा पहिला कानुनी सल्लाह लिनका लागि उनी आग्रह गर्छिन्।

आफ्नो गल्तीले दुर्घटना भएमा
यदि आफ्नो गल्ती छ र गाडीको बिमा पनि छ भने चाहिँ सिधै बिमाका लागि दाबी गर्न सकिन्छ।
तर यदि आफ्नो बिमा छैन भने चाहिँ अर्को पक्षको मर्मत गर्ने स्थानले बिल पठाउन सक्छ।
तर त्यहाँ पनि वार्ता गर्ने सम्भावना भने रहने बताइन्छ।
सबैभन्दा राम्रो उपाय चाहिँ, फोटो खिच्ने र आफ्नो मेकानिकबाट लागत निकाल्ने वा दोस्रो पक्षको पनि कोट लिने हो।
“यदि आफूसँग पर्याप्त पैसा छैन भने कम पैसा तिर्नका लागि आग्रह गर्न सकिन्छ, तर त्यसका लागि पनि कानुनी सल्लाह चाहिँ लिनु पर्छ,” उनले जोड दिइन्।

अनिवार्य तेस्रो पक्ष बिमा (सीटीपी)
सवारी दुर्घटनामा शारीरिक वा मानसिक आघात पुगे, राज्य वा प्रदेशको अनिवार्य तेस्रो पक्ष बिमा मार्फत पनि दाबी गर्न सकिन्छ।
सीटीपीले सवारी साधनको क्षति नवेर्होने भए पनि काममा भएको दुर्घटना बाहेकको अवस्थामा तेस्रो पक्षको सम्पत्तिमा परेको क्षति र सवारी दुर्घटनामा परेकाहरूको उपचारलाई वेर्होछ।
भिक्टोरियाको ट्रान्सर्पोट एन्ड एक्सिडेन्ट कमिसनका (टीएसी) सीटीपी बिमा कम्पनी हो।
यसले जसको गल्ती भए पनि सवारी दुर्घटनामा परेकाहरूलाई सहयोग गर्दछ।
उक्त संस्थामा जटिल पुनर्स्थापना र गम्भीर घाइतेहरूका बारेमा हेर्ने विभागका प्रमुख डामेन पोइल जीपी, विशेषज्ञ सेवा, फिजीयोथेरापि, साईकोथेरापी र पुनर्स्थापना वा आम्दानीमा समेतमा संस्थाले सहयोग गर्ने गरेको बताउँछन्।
तर यदि कोही व्यक्ति कामका दौरान घाइते भएको छ भने चाहिँ, आफ्नो रोजगारदाता कम्पनी मार्फत बिमा दाबी गर्नु पर्ने उनले बताए।
स्रोतका लागि




