फर्स्ट नेप्लिज फोटो कन्टेस्ट अस्ट्रेलिया नाम दिइएको एक तस्बिर प्रतियोगितामा आगामी अप्रिल महिनासम्म आफूद्वारा खिचिएको तस्बिरहरू पठाएर तपाईंले पनि भाग लिन सक्नुहुने आयोजक संस्थाले जनाएको छ।
आजभोलि सबैको हात-हातमा हुने मोबाइल फोनबाटै गजब गजबका रोमाञ्चक क्षण कैद गर्न हामी मध्ये धेरै जसो अभ्यस्त भइसकेको परिप्रेक्ष्य हाल अस्ट्रेलियाभरका नेपाली समुदाय एवं पृष्ठभूमिका मानिसहरूलाई लक्षित गर्दै उक्त निःशुल्क तस्बिर प्रतियोगिताको आयोजना गरिएको साथी अस्ट्रेलियाले बताएको हो।
अस्ट्रेलियामा बस्ने तथा यहाँ आफन्तजन भेट्न आउने नेपालीहरूको प्राय गुनासो भाग दौडको जीवनसँग सम्बन्धित हुने बताउँदै त्यसमा केही “क्रिएटिभ” कामहरूबाट राहत अलिकति भए पनि “रिफ्रेश” होस् भन्ने अभिप्रायले उक्त प्रतियोगिता आयोजना गरिएको साथी अस्ट्रेलियाका अरुण चित्रकारको भनाई छ।
“हामी सबै भित्र धेरै खुबी हुन्छन्, यो कम्पिटिसनबाट चाहिँ मान्छेहरूको गुम्सिएर बसेको फोटो खिच्ने खुबी बाहिर आओस् भन्ने नै हो; त्यो लुकेर बसेको क्रिएटिभिटी बाहिर आओस् भन्ने नै हो।”

सबैजनालाई समेट्ने रचनात्मक क्रियाकलापको खोजी गर्दा, आफूले पनि वर्षौँदेखि निर्वाह गरिरहेको “फोटोग्राफर”को भूमिका र यसमा लाग्दा हुने आनन्दबाट अभिप्रेरित हुँदै उक्त प्रतियोगिता सुरु गर्ने विचार आएको पनि चित्रकारले एसबीएस नेपालीलाई बताए।
“आफ्नो क्रिएटीभिटी देखाउन एउटा ठाउँ होस्, प्लेटफर्म होस् भनेर (पनि) यो कन्सेप्ट डिभेलप भएको हो,” प्रतियोगिता नै किन चाहियो त भन्ने बारे प्रस्ट्याउँदै उनले भने।

प्रतियोगितालाई निष्पक्ष र प्रभावकारी बनाउन स्थानीय अस्ट्रेलियाली फोटोग्राफरहरूको एक निर्णायक टोली पनि गठन गरिएको आयोजक समूहको कथन छ।
“जजिङ्ग सम्बन्धी सबै कामहरू डेभिड मिकासा भन्ने एक जना अजी फोटोग्राफरको नेतृत्व रहेको जजिङ्ग प्यानलले गर्नेछ। उहाँहरूसँग निर्णयको पूर्ण अधिकार छ,” आफूहरूले आयोजना गरेको उक्त तस्बिर प्रतियोगिताको निष्पक्षतामा जोड दिँदै अरुण चित्रकार भन्छन्।
कला र कलात्मक खुबी देखाउने प्रतियोगिता भए पनि, प्रतियोगिताको यो पहिलो संस्करणमा विधा भने छुट्ट्याइएको छैन। यस कारण पनि प्रतियोगीहरूलाई आफ्नो सर्वोकृष्ट तस्बिरहरू पठाउन खासै अफ्ठेरो नहुने मत आयोजक साथी अस्ट्रेलियाको छ।
“हुन त हामी यो क्याटोगरीवाइज (जानुपर्ने हो) लाइक पिपल अथवा कल्चर वा चाहिँ स्ट्रिट लाइफ अथवा वाइल्डलाइफ वा ल्याण्डस्केप (जस्ता) विभिन्न (विधा)मा जानुपर्ने हो तर त्यसरी क्याटोगरीवाइज रूपमा जाँदा खेरी चाहिँ नि नेपालीहरू (मात्रै सहभागी हुने भएकाले) ती सबै विधामा पाउन गाह्रो हुने हो की भनेर यो पहिलो पटकलाई चाहिँ ओपन नै राखेका हौँ।”

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो जस्ता साबिकका पुरस्कारसँगै सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय भएको प्रवेशले पनि पुरस्कार पाउने बताइएको छ भने प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरुले तीनवटासम्म आफ्ना उत्कृष्ट तस्बिरहरू पठाउन सक्ने पनि आयोजक संस्थाले बताएको छ।
“हामीले फर्स्ट, सेकेन्ड, थर्ड अनि सोसल मिडियामा पपुलर फोटो भनेर (पुरस्कार) राखेकाका छौँ जसमा पहिलो हुनेले २,५०० डलर, दोस्रो हुनेले १,५०० डलर र तेस्रो अनि पपुलर फोटोका स्रष्टाले ५०० डलर नगद पाउने व्यवस्था गरेका छौँ,” अरुण चित्रकारले भने।
अस्ट्रेलिया पढ्न आएका कुनै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीले २,५०० डलर पहिलो पुरस्कार भएको उक्त प्रतियोगिता जितिदिए “दामी” हुन्थ्यो भन्ने निजी सोच हो, चित्रकारको।
“सकेसम्म विद्यार्थीहरूले नै यो प्राइज पाइदिए हुन्थ्यो भन्ने मेरो आफ्नो चाहिँ पर्सनल (आकाङ्क्षा) छ किनभने उनीहरूलाई एक किसिमको इन्करेजमेन्ट पनि हुन्छ, (आर्थिक) सपोर्ट पनि हुन्छ,” उनले भने।
अमूर्त कला सहित चित्रकलाका अन्य विधामा राम्रै जमेका र नाममा समेत चित्रकार झुन्डिएका अरुण चित्रकारका अनुसार तस्बिर खिच्नु र चित्र कोर्नुमा सृजनात्मक भिन्नता नभएता पनि कुनै पनि क्षण पढ्न सक्ने खुबी र समयको लगानीमा फरक पर्ने विचार अगाडी सार्छन्।
“फोटोग्राफी चाहिँ तपाईँको एक्ज्याक्ट जहाँ जुन लोकेसनमा जे देख्यो लाइटअनुसार खिचिहाल्नु पर्यो; (सीन) देख्यो अब भोलि आएर खिच्छु भनेर त्यो (क्षण) त्यहाँ हुँदैन … हामीले जहाँ जुन बेला देख्यौँ (दृश्य) कैद गरिहाल्नुपर्छ। पेन्टिङ गर्दा चाहिँ टाइम दिएर, महिनौँसम्म पनि समय लिन सकिन्छ,” उनले आफ्नो मन नजिकका दुई सृजनात्मक कार्यहरूको छोटो परिचय दिँदै भने।
फर्स्ट नेप्लिज फोटो कन्टेस्ट अस्ट्रेलिया आगमी अप्रिल महिनाको ४ तारिख, शनिवारसम्म चल्नेछ।
फोटो प्रदर्शनी पनि, किताब पनि

आयोजक साथी अस्ट्रेलियाका अनुसार प्रतियोगितामा उत्कृष्ट ठहर भएका २५ तस्बिरहरूका साथै नेपालका १५ व्यावसायिक फोटोग्राफरहरूका एक-एकवटा गरी कुल ४० वटा फोटोहरू अस्ट्रेलियाका ६ राज्यहरूमा प्रदर्शनी पनि गरिने छन्।
“हामीले नेपाल भिजिट एर २०२० लाई सपोर्ट होस् भनेर पनि फोटो एक्जिबिसन गर्न लागेका हौँ,” साथी अस्ट्रेलियाका अरुण चित्रकारले एसबीएस नेपालीलाई भने।
यसका साथै, उत्कृष्ट तस्बिरहरू सङ्गृहीत एक पुस्तक पनि निकाल्ने तयारीमा आफूहरू लागि परेको उनले बताए।
“अस्ट्रेलियाको नेपाली कम्युनिटीको लागि त्यो (पुस्तक) एउटा सम्पत्ति नै हुन्छ, त्यसैले पनि त्यो निकाल्ने जमर्को गरेका छौँ,” चित्रकारले स्पष्ट पार्दै भने।

सहभागीलाई चित्रकारको टिप्स:
- जोस र जाँगरका साथ धैर्य राख्नुहोस्, एकै चोटि भनेको जस्तो फोटो खिच्न सधैँ सम्भव हुँदैन
- आफूले फोटो खिच्ने विषयवस्तु बारे अध्ययन गर्नुहोस्, सकेसम्म त्यस विषयबारे बुझ्नुहोस्
- फोटोले शब्द बिनै कथा वा घटना वर्णन गर्ने सामर्थ्य राख्ने गरी तालमेल मिलाउनुहोस्
- राम्रो फोटो खिच्नु भनेको प्रकाश र छायाको उचित सम्मिश्रण हो, सधैँ यसमा ध्यान दिनुहोस्
- क्यामेरा भन्दा क्यामेरा पछाडि उभिने व्यक्ति महत्त्वपूर्ण हुन्छ, राम्रो फोटो खिच्न महँगो यन्त्र हुनु जरुरी हुँदैन






