अघिल्लो वर्षको नोभेम्बर ४ देखि सुरु भएको २० औँ जीएनसी टुर्नामेन्टमा भेटेरन र प्रिमियर लिगका सेमिफाइनलमा प्रवेश गर्ने टोलीहरूमा भेटेरन तर्फ माछापुच्छ्रे फुटबल क्लब,पारा पार्क फुटबल क्लब, सेन्ट जर्ज नेप्लिज क्लब र सेन्ट जर्ज फ्रेन्ड्स क्लब रहेका छन्।
त्यस्तै प्रिमियर लिग अन्तर्गतको सेमिफ़ाइनलमा बेनी फुटबल क्लब, सगरमाथा फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब र सेन्ट जर्ज नेप्लिज क्लब को प्रतिस्पर्धा रहने छ।
आइतबार बिहान ९:३० बजे पहिलो खेल माछापुच्छ्रे र पारा पार्कबिच हुनेछ भने भेटेरन अन्तर्गतकै दोस्रो खेल सोही समयमा सेन्ट जर्ज नेप्लिज क्लब र सेन्ट जर्ज फ्रेन्ड्स बिच हुनेछ।
प्रिमियर तर्फ भने उत्कृष्ट चार मध्ये २७ अङ्कका साथ पहिलो स्थानमा रहेको बेनी फुटबल क्लब र चौथो स्थानमा रहेको सगरमाथा फुटबल क्लब बिचको खेल बिहान ११:०० बजे सुरु हुनेछ।
प्रिमियर लिगको दोस्रो तथा सेमीफाइनल अन्तर्गतको अन्तिम खेल दिउसो १:०० बजे उत्कृष्ट चार मध्ये दोस्रो स्थानमा रहेको माछापुच्छ्रे र तेस्रो स्थान पाएको सेन्ट जर्ज नेप्लिज बिच हुनेछ।

भेटेरन र प्रिमियर लिगका सेमी फाइनलका बिजेताहरू बिचको अन्तिम प्रतिष्पर्धा १७ मार्चमा हुन गइरहेको छ।
साथै सोहि दिन तेस्रो स्थानका लागी पनि प्रतिष्पर्धा हुने र विजेताहरूलाई पुरस्कार वितरण पनि गरिने जीएनसीका महासचिव प्रकाश निङ्लेखुले जनाएका छन्।
१९९५ मा स्थापना भइ विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको गोरखा नेप्लिज कम्युनिटीको पहिलो कार्यक्रम र २० औं संस्करणको यस फुटबल टुर्नामेन्ट दुबैको उद्घाटन वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले गरेका थिए।
१९ औं संस्करणमा १२ टिमको मात्र सहभागिता रहेकोमा २० औं संसकरणमा १२ प्रिमियर लिग र ९ माइनर लिगका क्लबहरू गरेर २१ टिमको सहभागिता रहेको थियो।
त्यस्तै भेटेरन लिगका लागी भने दुवै लिगमा खेल्ने ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरू रहेका छन्।
खेल अन्त्यसम्ममा प्रिमियर लिगको अन्तिम तिन स्थानमा रहने क्लबहरू माइनर लिगमा झर्ने छन् भने माइनर लिगका उत्कृष्ट तिनले अर्को वर्ष प्रिमियर लिग खेल्ने अवसर पाउने छन्।
जीएनसीका फुटबल खेल संयोजक राजीव प्रधानका अनुसार प्रिमियर लिगको अन्तिम ३ मा लालीगुराँस एफसी, एफसी डाँफे र हिमालयन युथ क्लब क्रमसः १०, ११ र १२ स्थानमा रहेका छन्। जसको अर्थ आगामी संस्करणमा यी तिनै क्लबहरूले माइनर समूहबाट खेल्नेछन्।

त्यस्तै माइनर लिगका उत्कृष्ट दुईमा रहेका तामाङ रिक्रियशनल क्लब र क्लब नेपालले आगामी खेलहरू प्रिमियर लिगबाट खेल्न पाउने छन् ।
तर तेस्रो स्थानमा रहेको क्याम्प्सी एफसीले गत वर्ष अनुशासन उलंघन गरेको भन्दै एक वर्ष खेल्न प्रतिबन्ध लगाइएको द राइजिङ्ग गोर्खाज क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ र विजेता क्लब प्रिमियर लिगमा उक्लने राजीव प्रधानले जानकारी दिएका छन्।
राजीव प्रधानसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
फेब्रुअरी २४ मा फाइनल खेल हुने पुर्व कार्यतालिकामा विविध कारणले ढिलाई भइ मार्च १७ मा पुगेको प्रधानले बताएका छन्।
४ महिना भन्दा बढी समय लगाएर सम्पन्न हुन लागेको टुर्नामेन्टमा खेलाडीहरूद्वारा अनुशासन उल्लङ्घन गर्ने लगायतका कारणले खेल व्यवस्थापनमा बेला बेलामा समस्या देखीएको पनि उनको भनाइ रहेको थियो।
आगामी बर्ष भने कडा नियम ल्याइने योजना बनाएको बताउँदै प्रधानले समग्रमा टुर्नामेन्ट सफल भएको जीएनसी को ठहर रहेको पनि बताएका छन्।




