कोरोना भाइरसको बढ्दो प्रभाव
नेपालमा कोरोना भाइरसको प्रभाव बढ्दो रहेको क्रममा विदेशी यात्रुको आगमन प्रवेशाज्ञा अर्थात अन अराइभल भिसा रद्द गरिएको छ।
अब अन्य मुलुकका मानिसहरुले नेपाल आउनका लागि आफ्नो देशबाट पहिले नै प्रवेशाज्ञा लिनुपर्ने भएको छ।
१४ मार्चदेखि नेपाल आइपुग्ने सबै मानिसले १४ दिन क्वारेण्टाइनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ। कोरोना संक्रमण भएका देशबाट आउने मानिसले आफूमा संक्रमण नभएको प्रमाणपत्र ल्याउनुपर्ने नियम समेत यसै हप्तादेखि लागु गरिएको छ।
साथै नेपालले विद्यार्थीहरुलाई विदेश पढ्न जान दिने अनुमतिपत्र अनिश्चितकालका लागि रोकेको छ भने नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने देशहरुले कामदार लिन छोडेपछि विदेश जान इच्छुक कामदार अलपत्र परेका छन्।
मलेशिया, कतार, बहराइन, कुवेत लगायतका थुप्रै देशले हालका लागि प्रवेशाज्ञा स्थगित गरेका छन्।

पर्वतारोहणका सबै अनुमति रद्द
नेपालले आगामी वसन्त याममा पर्वतारोहणका सबै अनुमतिहरु पनि रद्द गरेको छ, अर्थात यो वर्ष सगरमाथा लगायतका हिमाल आरोहण गर्न पाइने छैन।
यसबाट नेपालले करीब ६० करोड रुपैयाँ बरबरको राजस्व गुमाउने छ भने सामान्य पर्यटक पनि घटेकाले पर्यटन क्षेत्रमा कोरोना संक्रमणको नकारात्मक असर बढिरहेको छ।
नेपाल- भारत सीमा
भारतले सीमानाकामा कडाई गर्दै नेपाल भारत बीच चारवटा नाका मात्रै खुला राख्ने निर्णय गर्रको छ।
वीरगन्ज, भैरहवा, महेन्द्रनगर र काँकडभिट्टा बाहेकका अरु नाकाहरु बन्द गरिनेछन्। भारतले नेपालमा सामान आपूर्तीमा फरक नपर्ने बताएको छ तर यसले अनौपचारिक रुपमा साना नाकाहरु प्रयोग गरेर रोजगारीका लागि भारत जाने मानिस प्रभावित हुने सम्भावना रहेको छ।
चीनले पनि नेपालसँग नाकाबन्दी गरेपछि चीनको ताक्लाकोटमा रोजगारीका लागि गएका नेपाली अलपत्र परेका छन्।
हुम्ला हुँदै चीन पुगेका करीब डेढ सय नेपालीले कोरोनाको त्रासका कारण नेपाल सरकारसँग उद्धारका लागि अपील गरेका छन्, तर हिउँका कारण आवागमन तत्कालै सम्भव नभएको नेपालले बताएको छ।
त्यो क्षेत्रमा कोरोनाको संक्रमण देखिएको छैन र ती नेपालीको बास लगायतको व्यवस्था चीनले गरिरहेको छ। तर उनीहरुले भने उद्धार नगरिए भागेर नेपाल फर्किने बताएका छन्।
होलीमा कम उत्साह
यसै हप्ता परेको होलीको चाडमा यस वर्ष निकै कम उत्साह र सहभागिता देखिएको छ।
वसन्त ऋतुको आगमनमा एकअर्कालाई रंग लगाउँदै र पानी छ्याप्दै मनाइने यो चाड सामान्यतया युवाहरुले निकै उल्लासका साथ मनाउने गर्दछन्।
कोरोनाको संक्रमण हुन नदिनका लागि भीडभाडमा जान नहुने र मानिसले एक अर्कालाई छुन नहुने हुँदा धेरै मानिसले होली नमनाएका हुन्। सार्वजनिक स्थलमा होलीको उत्सवमा कमी देखिएको थियो भने कतिपयले मास्क लगाएर होली खेलेका थिए।

प्रम ओलीको स्वास्थ्य
प्रधानमन्त्री केपी ओली मृगौलाको सफल शल्यकृयापछि शुक्रबार बेलुकी घर फर्केका छन्। ओली फाल्गुण १९ गते काठमाण्डुको शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना भएका थिए।
फाल्गुण २१ गते उनको बायाँ मृगौला झिकेर भाञ्जी पर्ने समीक्षा संग्रौलाको मृगौला राखिएको थियो।
शिक्षण अस्पतालका प्रमुख डा. प्रेमकृष्ण खड्काले भने: "अहिले त वहाँको अवस्था सामान्य छ। स्वस्थ भएकै कारणले आज डिस्चार्ज गर्न सकिएको हो। संक्रमण अझै एक दुइ महिनासम्म हुने सम्भावना छ, त्यसैले वहाँले जोगिएर हिँड्नुपर्ने हुन्छ। "
उनान्सत्तरी वर्षीय ओलीलाई अस्पतालमा संक्रमणको आशंका भएपछि थप दुइ दिन अस्पताल बसेका थिए। कार्यालयमा उनको अनुपस्थितिले सरकारका दैनिक काम कारवाहीहरु प्रभावित भएका थिए र डिस्चार्ज लगत्तै प्रधानमन्त्री सकृय भएका छन्।

टुटल र पठाओ ब्यान
नेपालमा टुटल र पठाओ जस्ता राइड शेरिङ एपहरु बारम्बार विवादमा आउने गरेका छन् र त्यसै क्रममा यस हप्ता सरकारले टुटल र पठाओमाथि प्रतिबन्ध लगाएर फेरि फुकाएको छ।
कहिले कर नतिरेको र कहिले ट्याक्सी सञ्चालकले विरोध गरेको भन्दै यस्ता सेवामाथि सरकारले कारवाही गर्ने गरेको छ तर प्रत्येक पटक ग्राहकलले कारवाहीको विरोध गर्दछन्।
राइड शेरिङ एपहरु मार्फत नीजि सवारीसाधनहरुले पनि भाडा लिएर यात्रुलाई भनेको ठाउँमा पुर्याउने गर्दछन् र यी सेवाहरु काठमाण्डु उपत्यकामा लोकप्रिय छन्।
यसपटक ट्याक्सी व्यवसायीहरु यातायात मन्त्रालय पुगेर विरोध गरेपछि सरकारले प्रतिबन्ध लगाएको थियो तर फेरी एपहरुको नियमन प्रदेश सरकारले गर्ने भन्दै यसपटकका लागि संघीय सरकार यो मामिलाबाट पछि हटेको छ।
मन्त्री बाँस्कोटाको घरमा बम विस्फोट
पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाको घर नजिकै बम विस्फोट भएको छ तर कसैलाई हानी भएको छैन। बुधबार बिहान लोकन्थलीस्थित उनको घर नजिकै प्रेसर कुकर बम विस्फोट भएपछि घरको पर्खाल र शिशा फुटेका छन्।
घुस माग्दै गरेको कथित अडियो सार्वजनिक भएपछि बाँस्कोटाले करीब एक महिना अघि राजीनामा दिएका थिए।
उनी हाल बालकोटस्थित प्रधानमन्त्रीको नीजि निवासमा बस्दै आएका छन् भने लोकन्थलीको उनको आफ्नै घर अझै निर्माणाधीन छ।
विस्फोटको जिम्मा विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले लिएको छ र प्रहरीले पार्टीका एकजना सदस्य देव गुरुङलाई पक्राउ गरेको छ।
घटनास्थलबाट प्रहरीका एसपी सबिन प्रधानले सञ्चारकर्मीसँग भने: "हामीले जहिले पनि थ्रेटको असेसमेण्ट गरेका हुन्छौं र त्यसैको आधारमा सुरक्षाकर्मी खटाउँछौं। त्यसै अन्र्गत हामीले यहाँ पनि सुरक्षाकर्मी खटाएकै हो। यो घटनामा चाहिँ हाम्रो के अनुमान छ भने एक प्रतिशत सुरक्षा ल्याप्स जहाँ भयो, त्यसैको कारणले उनीहरुलाई मौका भयो र उनीहरुले घटना घटाउन सक्यो।"
यसका साथै बाँस्कोटा मुछिएको भ्रष्टाचार प्रकरणको छानबीन शुरु गर्न लेखा समितिले आदेश दिएको छ।
राप्रपा एकता
थुप्रै वर्षदेखि विभाजित रहेको राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) यो हप्ता एकीकरण भएको छ।
तीनजना नेताहरु पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्ष रहने गरी यो हप्ता पार्टी एकीकरण भएको हो, र अब पार्टी नफुट्ने भन्दै नेताहरुले गीतामा हात राखेर कसम खाएका छन्।
हिन्दुवादी र दक्षिणपन्थी मुद्दाका लागि चिनिएको राप्रपाले नेपालमा राजतन्त्रलाई पनि समर्थन गर्दछ र बारम्बार राजतन्त्र पुनर्स्थापन गर्ने अभिव्यक्ति दिइरहन्छ। संघीय संसदको पछिल्लो चुनावमा २७५ सीट मध्ये राप्रपाको एक सीट रहेको छ।
सेवा भट्टराई, काठमाण्डु





