मुख्य बुँदा
- 'स्टप इट एट द स्टार्ट' भनेको अस्ट्रेलियन सरकारद्वारा प्रदान गरिएको कोषद्वारा सञ्चालित प्राथमिक रोकथाम अभियान हो जसले वयस्कहरूलाई उनीहरूको जीवनमा भएका युवा वा केटाकेटीहरूसँग आदरको बारेमा कुरा गर्न प्रोत्साहित गर्छ।
- आमाबाबु र हेरचाहकर्ताहरूले आफूले कसरी कुराकानी गर्छु र सम्मानजनक सम्बन्धहरूलाई प्रदर्शन गर्दै छु भन्ने बारे सचेत हुनुपर्छ।
- घरेलु हिंसा सुरु हुनुभन्दा पहिले रोकथाम गर्नुले यस्तो हुन नदिन महत्त्वपूर्ण रूपमा मदत गर्छ।
चेतावनी: यस सामग्रीमा घरेलु हिंसाको अपराधको बारेमा विवरणहरू समावेश गरिएको छ जुन कतिपयको लागि पीडादायी हुन सक्छ।
घरेलु हिंसा शारीरिक रूपमा हानि पुर्याउने एउटा कार्यबाट मात्र सुरु हुँदैन; यो प्रायः अनादर, नियन्त्रण, र भावनात्मक दुर्व्यवहारको सङ्केतबाट सुरु हुन्छ जुन ध्यान नदिइएको वा सम्बोधन नगरिएको हुन सक्छ।
र घरेलु हिंसालाई रोक्ने भन्नुको अर्थ सबैभन्दा खराब परिस्थितिमा प्रतिक्रिया जनाउने मात्र पर्दैन। यो त कुनै कुरा बढेर गम्भीर हुनु भन्दा अगाडी नै रोकथाम गर्नु हो।
अरमान अब्राहिमजादे एडिलेडका घरेलु हिंसा विरोधी अभियानकर्ता र घरेलु हिंसा रोक्नका लागि वकालत गर्ने व्यक्ति हुन्। आफ्नो घरपरिवारमा बारम्बार हिंसा र दुर्व्यवहार देख्न थालेपछि आफ्नो यात्रा सानै उमेरमा सुरु भएको उनी बताउँछन्।
हामीले आफूलाई यस्तो स्थितिमा पायौँ जहाँ हामीले हाम्रो झोलाहरू बाँधेर र पारिवारिक घर छोड्ने निर्णय गर्यौँ किनभने हामी त्यो जोखिम लिन चाहँदैनौँ। र एक पटक हामी घरबाट भागेपछि, व्यक्तिगत रूपमा मेरो लागि, मैले सोचेको थिएँ कि त्यो नै कठिन समयको अन्त्य हो।अरमान अब्राहिमजादे
तर त्यस्तो भएन।
घरबाट भागे पछि अब्राहिमजादे, उनकी आमा र बहिनीहरूले घरबार विहीनता, गरिबी र एक्लोपनको सामना गरे।
"हामीले त्यसलाई पार गर्न सफल भयौँ, र हामी यस्तो बिन्दुमा पुग्यौँ जहाँ अपमान हुने घरबाट भागेको १२ महिना पछि, मेरी आमा र मेरी दिदीले पर्सिएन नयाँ वर्षको समारोहमा भाग लिने निर्णय गरे।"
“र त्यो कार्यक्रम भएको थियो एडिलेड कन्भेन्सन सेन्टरमा। त्यो मार्च २०१० मा थियो। र हामीलाई थाहा नै नदिई, मेरो बुबा पनि समारोहमा देखा पर्नुभयो। त्यो त्यहि ठाउँ थियो जहाँ उँहाले लगभग ३०० प्रत्यक्षदर्शीहरूको अगाडि (आमा)उहाँलाई छुरा प्रहार गर्ने गर्नुभयो," उनले सम्झिए।

चेतावनीका संकेतहरू
हाल अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको दर चिन्ताजनक रहेको उनी बताउँछन्। र धेरै जस्तो घटनामा हिंसा गर्ने व्यक्ति वर्तमान वा पूर्व पार्टनर हुन्छन्।
तसर्थ, हामीले घरेलु हिंसा निम्त्याउने आधारभूत कारणहरूलाई उजागर गर्ने र प्रारम्भिक चेतावनीका सङ्केतहरूलाई खोजेर यो हुनुअघि नै यसलाई रोक्ने प्रयास गर्ने समय आएको छ।
"ती प्रारम्भिक चेतावनीका सङ्केतहरूमा लैङ्गिकता विशेष टिप्पणीहरूदेखि डर देखाउनेसम्म त्यस्तै व्यवहार नियन्त्रण गर्नेदेखि हाम्रा समुदायहरूमा रहेका अपमानजनक मनोवृत्तिहरूसम्म हुन सक्छन्। र कहिलेकाहीँ यसलाई अनलाइन सामग्री वा चुट्किला अथवा हामीले हाम्रो समुदायमा देख्ने केही व्यवहार र मनोवृत्तिहरूले प्रेरित गर्न सक्छ।"
सम्मानजनक व्यवहार सिकाइ
आफ्नै अनुभवको छापबाट र आफ्ना सम्झनाहरू प्रतिबिम्बित गर्दै, अब्राहिमजादे भन्छन् कि परिवर्तन ल्याउने कुरा हाम्रो घरबाट सुरु हुन सक्छ।
उनी विश्वास गर्छन् कि बच्चा वा युवाहरूले आफ्नो घरमा देख्ने व्यवहारको नक्कल गर्ने, यसलाई अपनाउने र यसलाई सामान्य मान्ने प्रवृत्ति हुन्छ। त्यसैले सहानुभूति, सम्मान र समानताको बारेमा कुराकानीहरू दैनिक जीवनको हिस्सा हुनुपर्छ।
“एक भर्खरको केटा भएकोले मैले मेरो बुबालाई हेर्थेँ र जब मैले मेरो बुबाले मेरी आमालाई एक तरिकाको व्यवहार गरेको देखेँ। मैले पक्कै पनि त्यसलाई अपनाएँ र मैले यो सिकेँ। “
उनी भन्छन्, “यो एक सामान्य कुरा थियो, र यो मेरो लागि एक स्वचालित कुरा भयो।
यो यस्तो बिन्दुमा पुग्यो जहाँ मेरो बुबाले मेरी आमालाई मार्नु भयो, तब मैले ती सबै व्यवहारहरूलाई फर्किएर हेर्न गर्न थालेँ, जसमा मेरो बुबाले मेरी आमासँग कुरा गर्ने तरिका, मेरी आमालाई गर्ने व्यवहार र मेरो घरमा पारिवारिक सम्बन्ध कस्तो देखिन्थ्यो भन्ने कुरा पर्छन्।"
आफ्नो आमा गुमाएपछि भने, उनले त्यो सिकेको व्यवहारलाई बिर्सनु पर्यो र आफ्नो नयाँ परिवार भएको घरमा समानतालाई बढवा दिन नयाँ तरिका सिक्ने प्रक्रियामा जानुपर्यो।
अब्राहिमजादेले आफ्नो पीडालाई उद्देश्यमा परिणत गर्न, परिवर्तनको वकालत गर्ने गरेका छन्।
हामीले हाम्रा बच्चाहरूलाई सम्मानजनक र सहानुभूति भएको पार्टनर बन्ने गरि कसरी हुर्काउन सक्छौँ भन्ने कुरामा ध्यान केन्द्रित गर्न उनले वर्षौँ बिताएका छन्।
"म रोल मोडेल बनौँ र मैले मेरो घरमा देखाउने व्यवहार र मनोवृत्तिहरू मेरो जवान छोराले अपनाइरहेको छ भन्ने सुनिश्चित गर्न चाहन्छु। किनभने, अनुसन्धानले देखाएछ कि पछि तिनीहरूले आफ्नो सम्बन्ध र आफ्नै परिवारमा त्यो व्यवहार दोहोर्याउनेछन्," अब्राहिमजादे बताउँछन्।

जतिन्दर कौर जेके डाइभर्सिटी कन्सल्टेन्ट्सकी निर्देशक र अस्ट्रेलियामा आप्रवासी र शरणार्थी समुदायहरूसँग काम गर्ने एक मान्यता प्राप्त मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता हुन्।
र उनी पनि सहमति जनाउँछिन् कि आमाबाबुले एक अर्कालाई र वरपरका मानिसहरूलाई गर्ने व्यवहारले उनीहरूको कलिलो दिमागमा बलियो प्रभाव पार्न सक्छ।
कौर भन्छिन् कि आमाबाबुले कसरी कुराकानी गर्ने, सम्मानजनक सम्बन्ध प्रदर्शन गर्ने भन्ने बारे विचार गर्नु पर्छ त्यस्तै आक्रामक, कमजोर, अपमानजनक, वा भावनात्मक रूपमा हानिकारक व्यवहार देखाउनबाट बच्नु पर्छ।
उनी कसरी युवाहरूले अनलाइनमा पाउने सामग्रीहरूमा लुकेका अनादरहरूले तिनीहरूको व्यवहारलाई प्रभाव पार्न सक्छ भन्ने बारे पनि बताउँछिन्।
युवाहरूले सोसल मिडिया प्लेटफर्महरूमा रहेका सामाग्रीहरू हेरेर धेरै समय बिताउँछन्।
किशोर किशोरीहरूको मस्तिष्क प्रभावशाली र विकास हुँदै गरेको हुन्छ, त्यसैले उनीहरूले के उपभोग गर्छन् त्यो उनीहरूको ज्ञानको प्राथमिक स्रोत हुने उनको भनाइ छ।
"यदि ती जानकारी गलत छन्, वा गलत जानकारीमा केन्द्रित छन्, वा केही पूर्वाग्रहहरू छन्, वा केही अनादरपूर्ण विश्वासहरूलाई बढुवा दिइरहेका छन् भने युवाहरूले यो सामान्य हो भनेर सोच्न थाल्न सक्छन्, किनकि उनीहरूले त्यही देखिरहेका छन्, हेरिरहेका छन्, र उपभोग गरिरहेका छन्," कौर बताउँछिन्।

अदृश्य प्रेरक
ड्यानी मिकाटि न्यु साउथ वेल्स प्रहरी बलमा पूर्व सर्जेन्ट हुन्।
वर्षौँ त्यहाँ सेवा गरेपछि उनले घरेलु हिंसा युनिटमा काम गर्न थालेका थिए। र यही समय थियो जब उनले समुदायमा घरेलु हिंसाको प्रभाव देखे।
मिकाटिले वास्तविक जीवनमा मात्र नभएर अनलाइनमा पनि सम्मानको संस्कृतिलाई बढवा दिन अभिभावक र शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिन्छन्।
अभिभावकहरूसँग सोसल मिडियाको बारेमा कम्तीमा पनि आधारभूत चेतना र बुझाइ राख्नुको विकल्प छैन। उनीहरूका छोराछोरीहरूले जीवन भर नै यो प्रयोग गर्नेछन्। अस्ट्रेलिया सोसल मिडियाको अत्यधिक प्रयोग हुने देशहरूमध्ये एक हो। हामी मध्ये धेरैका बालबालिकाहरू कम्तीमा एक वा दुई फरक सोसल मिडिया प्लेटफर्महरू प्रयोग गर्छन्। त्यसैले यसको जोखिमका बारेमा अभिभावकहरूले बुझ्न आवश्यक छ।ड्यानी मिकाटि
उनी भन्छन् कि जो कोहीले आफ्नो औँलामा सजिलै पहुँच पाउन सक्ने भएकोले आधुनिक प्रविधिहरूले अनादरपूर्ण र अपमानजनक व्यवहारहरूलाई सहज बनाउन सक्छ।
मिकाटि भन्छन् कि रोकथाम धेरै महत्त्वपूर्ण हुन्छ। यस अन्तर्गत युवाहरूलाई हानिकारक व्यवहारले जरा गाड्नु अघि नै स्वस्थ सम्बन्धहरू कस्तो देखिन्छ भनेर देखाउनु पर्छ।
"स्पष्ट रूपमा त्यो आवश्यक भए पनि हामीले जहिले पनि घरेलु हिंसा शरणार्थीहरू दिन, बनाउन वा सिर्जना गर्न सक्दैनौँ। तर यदि हामीले सधैँ प्रतिक्रिया वा नतिजाहरूलाई मात्र सम्बोधन गर्यौँ भने हामी वास्तविक कारण पत्ता लगाउने रणनीतिहरूमा लक्षित हुँदैनौँ," उनी भन्छन्।

स्टप इट एट द स्टार्ट
मिकाटि अस्ट्रेलिया सरकारले घरेलु हिंसा विरुद्ध लड्न र समुदाय भित्र यसको जराबाट नै रोकथाम गर्नको लागि लागू गरेका केही पहलहरू बारे बताउँछन्।
विशेष गरि उनी सुरुवातमा नै बन्द गरौँ भन्ने मूल मन्त्र बोकेको 'स्टप इट एट द स्टार्ट' अभियानको बारे भन्छन्, "'स्टप इट एट द स्टार्ट भनेको हाम्रा वरिपरि फैलिरहेका सबै प्रकारका विषाक्त पुरुषत्व युक्त सन्देशहरू जुन विशेष गरी हालको समयमा सोसल मिडियाहरूमा देखिन्छ त्यस विरुद्ध लड्ने प्राथमिक रोकथाम अभियान हो।"
कौर एक बहुसांस्कृतिक इन्फ्लुएन्सरका रूपमा स्टप इट एट द स्टार्ट अभियानलाई गर्वका साथ समर्थन गर्छिन्।
उनी भन्छिन् कि अस्ट्रेलियामा बसोबास गर्ने यात्रामा आप्रवासी र शरणार्थीहरूको सांस्कृतिक मान्यता र अपेक्षाहरू बुझ्न महत्त्वपूर्ण छ।
"यदि उनीहरू धेरै परम्परागत मूल्यमान्यता र विश्वासहरूबाट आएका हुन् भने, ती परम्पराहरूले अस्ट्रेलियाली समुदायमा रहेको सामाजिक मान्यताहरू प्रतिबिम्बित नगर्न सक्छन्। मैले अस्ट्रेलियामा आएका विभिन्न पुस्तासँगको मेरो अनुभवलाई फर्केर हेर्दा उनीहरूमा सम्मानको धारणा र कसरी पुरुषसत्ताले केही संस्कृतिहरूमा काम गर्छ, घरपरिवारमा महिलाहरूको धारणालाई समान रूपमा नलिइने हुन सक्छ र समान रूपमा व्यवहार नगरिएको हुन सक्छ," कौर भन्छिन्।
त्यसो भए तपाईँले हाल रहेका परम्परागत मूल्यमान्यता वा समुदायका अपेक्षाहरूलाई सन्तुलनमा राख्न र बच्चाहरूलाई स्वस्थ सम्बन्धतर्फ डोर्याउन खुला कुराकानी र प्रश्नहरू सोध्ने वातावरण सिर्जना गरेर सुरुवात गर्न सकिने कौरको सुझाव छ।
दुर्व्यवहार र लिङ्गमा आधारित हिंसात्मक व्यवहारहरू भए त्यस्तो भएको हो भन्ने मान्यता दिएर निष्क्रिय भएर बस्न अस्वीकार गर्नु नै समुदायहरूलाई घरेलु हिंसा रोक्न र यो सुरु हुनु भन्दा अघि यसलाई सम्बोधन गर्न मद्दत गर्ने एक प्रभावकारी तरिका हुने कौर बताउँछिन्।
“हामीले अनुपयुक्त व्यवहार पहिचान गर्न आवश्यक छ र यो अस्ट्रेलियामा स्वीकार्य छैन। त्यसपछि आफ्नो अगाडी यस्तो हुँदा हामीले यसलाई विरोध गर्नु वा हामीले सहयोग गर्न आवश्यक छ। हामी तिनीहरूलाई उपयुक्त सेवाहरूमा जाने बारे बताउँछौँ। मलाई लाग्छ कि समय बितिसकेको छ र जब यो लैङ्गिकतामा आधारित हिंसा वरपरका मुद्दाहरूलाई सम्बोधन गर्ने कुरा आउँछ हामी पुरुष र महिला र समुदायका नेताहरू सबै एउटै पृष्ठमा हुन आवश्यक छ।"
यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा लाइफलाइनलाई- १३ ११ १४ मा।
अनलाइनमा हुने अपमानका बारेमा थप थाहा पाउन respect.gov.au/translated मा जानुहोस्।
विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।
अस्ट्रेलियन सरकारको प्रयास स्टप इट एट द स्टार्टसँगको सहकार्यमा तयार पारिएको सामाग्री।






