मुख्य बुँदा
- अकस्मात् स्वास्थ्य बिग्रेको अवस्थामा ट्रिपल जिरोमा (०००) फोन गर्नु पर्दछ।
- अस्ट्रेलियाको जुन सुकै स्थानबाट जो कोहीले पनि एम्बुलेन्सका लागि फोन गर्न सक्दछ।
- एम्बुलेन्सलाई बोलाउँदा, आफ्नो ठेगाना र आवश्यक जानकारी दिनु पर्दछ।
- सबै राज्य र प्रदेशमा एम्बुलेन्स सेवा निःशुल्क भने छैन।
एम्बुलेन्स सेवा भनेको बिरामी वा घाइते व्यक्तिलाई अस्पतालसम्म लैजानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री सहितको सवारी साधन हो।
एम्बुलेन्समा पारामेडीक समेतको व्यवस्था हुने भएकाले कतिपय अवस्थामा बिरामी रहेकै स्थानमा वा घटनास्थलमै पनि उपचार सम्भव हुन्छ।
अस्ट्रेलियन पारामेडीक कलेजका निर्देशक एवम् रजिस्टर्ड पारामेडीक डाक्टर साइमन सोवेरका अनुसार निम्न अवस्थामा एम्बुलेन्स सेवा लिन सकिन्छ।
- हृदयघात भएको अवस्थामा वा हृदयघात भएको शङ्का लागेमा।
- छाती दुखेमा वा छाती गर्हुङ्गो महसुस भएमा।
- एक्कासि होस गुमाएमा, कमजोर भएमा वा हात खुट्टा नचलेमा।
- कसैले आक्रमण गरेर घाइते भएमा,गोली लागेमा वा हिंसामा परेमा।
- आगोमा जलेमा, विशेष गरी बालबालिकाको हकमा।
- कुनै कारणवश घाइते भएमा वा अग्लो स्थानबाट खसेमा।

कुनै अवस्थामा भने बिरामी कहाँ छ भनेर पत्ता लगाउन पनि मुस्किल पर्ने सोवेरको भनाई छ।
“मानौँ कुनै सुपर मार्केटमा हुँदा वा म्युजीक फेस्टीभलमा हुँदा, फार्ममा वा तपाईँको घर पत्ता लगाउन कुनै विशेष सङ्केत नभएको अवस्थामा बिरामीलाई खोज्न निकै मुस्किल हुन सक्छ,” सोवेर भन्छन्।
अस्ट्रेलिया भित्र बस्ने जो सुकैले पनि ट्रिपल जिरोमा (०००) फोन गर्न सक्ने सोवेरको भनाई छ।
ट्रिपल जिरोमा फोन गर्नका लागि कुनै पनि ल्यान्डलाईन, मोबाइल वा पे फोन प्रयोग गर्न सकिन्छ, यस बापत कुनै शुल्क लाग्दैन र २४ सै घण्टा सातै दिन सेवा लिन सकिन्छ।
ट्रिपल जिरोमा फोन गर्नका लागि आफ्नो फोनमा ब्यालेन्स नचाहिने डाक्टर सोवेर बताउँछन्।
जसले पनि ट्रिपल जिरोमा (०००) फोन गर्न सक्छन्, यसका नागरिक हुनु पर्दैन, सब्सक्राईब गरेको पनि हुनु पदैन, ठुलो मान्छे, बालबालिका वा अस्ट्रेलियाको जुनसुकै ठाउँमा भए पनि फोन गर्न सकिन्छडाक्टर साइमन सोवेर
यदि कसैलाई बोलीमा वा कान नसुन्ने समस्या छ भने १०६ मा एसएमएस मार्फत सेवा लिन सकिन्छ।

ट्रिपल जिरोमा (०००) फोन गर्दा के हुन्छ?
ट्रिपल जिरोमा फोन लागेपछि, उठाउने मानिसले तपाईँका बारेमा केही जानकारी लिन्छ र आपत्कालीन अवस्था छ कि छैन भनेर विश्लेषण गर्छ।
उनीहरूले गरेका प्रश्नको जवाफ कसरी दिइन्छ, यसमा धेरै कुरा भर पर्ने डाक्टर सोवेरको भनाई छ।
“सकभर विषय केन्द्रित हुनु पर्छ, पारामेडिक भएको हिसाबले के भइरहेको छ भनेर जान्नु पर्ने हुन्छ, जस्तो कि मेरो गाडी दुर्घटना भयो वा मेरो पार्टनरले श्वास फेरी रहेको छैन वा छाती दुखी रहेको छ....आदी ”
फोन उठाउने व्यक्तिले कति जना बिरामी छन् वा दुर्घटनामा परेको अवस्था हो वा होइन भनेर पनि प्रश्न सोध्न सक्छन्।
“यो महत्त्वपूर्ण छ किनकि एक जना मात्र बिरामी छ भने एउटा मात्र एम्बुलेन्स मात्र पठाउँदा पनि हुन्छ, तर त्यहाँ धेरै मानिसहरू बिरामी छन् भने थप एम्बुलेन्स पठाउनु पर्ने हुन सक्छ,”सोवेरले भने।
यस बाहेक बिरामीको उमेर, लिङ्ग जस्ता कुराहरू पनि महत्त्वपूर्ण हुन्छन्, यस्ता प्रश्नको उत्तर पाउँदा पारामेडीकले उपचारका लागि तैयारी गर्न सक्छन्।
विशेष गरी बिरामीको उमेर निकै महत्त्वपूर्ण हुने सोवेरको भनाई छ, “मानौँ, यदि केटाकेटी, बुद्ध व्यक्ति वा तन्नेरी मानिस छ भने म आफू कुन औषधि दिने र कति मात्रामा दिने भनेर तैयारी गर्न सक्छु।”

के आएका सबै फोनका लागि एम्बुलेन्स पठाइन्छन् त?
एम्बुलेन्स भिक्टोरियाकी कार्यवाहक सञ्चार निर्देशक लिन्से म्याकि आएका सबै फोनका लागि एम्बुलेन्स नपठाइने बताउँछिन्।
आएका पाँच मध्ये एक फोनका लागि एम्बुलेन्स पठाउनु आवश्यक पर्दैनकार्यवाहक सञ्चार निर्देशक लिन्से म्याकि
“तपाईँको फोन आईसके पछि फोन उठाउने व्यक्तिले सिस्टममा दाखिला गरेर यसका बारेमा निर्णय गर्छन्,” म्याकि भन्छिन्।
उनका अनुसार आपत्कालीन अवस्था छैन भने, उनीहरू डाक्टर वा औषधि पसलमा सर्म्पक गराइदिन्छन् वा डाक्टर वा नर्सलाई पठाइदिन सक्छन्।
एम्बुलेन्सका रूपमा प्रयोग हुने सवारी
एम्बुलेन्सका लागि विभिन्न स्वास्थ्य सामाग्री सहितको सवारीको व्यवस्था गरिन्छ।
- भ्यान
- फोर व्हील ड्राइभ
- मोटरसाइकल
- बस
- विमान
- हेलिकप्टर

प्रारम्भिक उपचार
बिरामीको घर वा घटनास्थलमा पुगिसकेपछि पारामेडीक्सहरुले प्रारम्भिक जाँच गरी निष्कर्ष निकाल्छन्।
“हामी अस्पताल बाहिरको उपचारका विज्ञ हौ, हामीले तपाईँलाई तपाईँको स्वास्थ्यको अवस्थाका बारेमा, तपाईँले खाने औषधिका बारेमा, एलर्जीका बारेमा जानकारी लिएर तपाईँलाई के भएको हो भनेर पत्ता लगाउने कोसिस गर्छौ,” सोवेरले भने।
सामान्य अवस्थामा बिरामीलाई नजिकको अस्पताल लगिन्छ, तर सधैँ नजिककै अस्पताल लगिन्छ भन्ने हुँदैन।

एम्बुलेन्सको सेवा लिए बापतको शुल्क कसले तिर्छ?
एम्बुलेन्स सेवा लिए बापतको शुल्क मेडीकेयरले तिर्दैन।
राज्यको नियम अनुसार वा बिरामीको अवस्थामा एम्बुलेन्स शुल्क निर्धारण हुने गर्दछ।
राज्यको एम्बुलेन्स सेवाले एम्बुलेन्स बोलाएको शुल्क, किलोमिटर अनुसारको शुल्क वा दुवै लिन सक्छन्।
टास्मेनिया र क्वीन्सल्यान्ड जस्ता राज्यमा बासिन्दाहरूले निःशुल्क एम्बुलेन्स सेवा लिन सक्छन्, अन्यत्र भने एम्बुलेन्स सेवाको सदस्य बन्न पैसा तिर्नु पर्दछ, तर यसको मतलब सदस्य बन्नै पर्छ भन्ने छैन, तर यसका लागि शुल्क तिर्नु पर्ने भने हुन सक्छडाक्टर साइमन सोवेर
थप जानकारीका लागि राज्यको एम्बुलेन्स सेवालाई सर्म्पक गर्न डाक्टर साइमन सोवेर सुझाव दिन्छन्।
“उनीहरूको वेबसाइटमा गएर वा फोन गरेर जानकारी लिन सकिन्छ, तर जानकारी लिनका लागि ट्रिपल जिरोमा फोन गर्ने चाहिँ होइन।”
“सदस्यता लिन पर्यो भने त्यति धेरै महँगो छैन, सामान्यतया व्यक्तिगत रूपमा ५० डलर वा परिवारलाई १०० डलर जति पर्न जान्छ।”
“तपाईँसँग निजी स्वास्थ्य बिमा छ भने यसले एम्बुलेन्स सेवा दिएको हुन सक्छ,” उनले भने।
आफ्नो राज्यमा एम्बुलेन्स सेवाका लिए बापतको शुल्क पत्ता लगाउन यहाँ जानुहोस्।
- एसीटी
- न्यू साउथ वेल्स
- नदर्न टेरीटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- भिक्टोरीया
- वेर्स्टन अस्ट्रेलिया
पेन्सन, कन्सेसन कार्ड होल्डर, हेल्थ केयर कन्सेसन कार्ड होल्डर, भेटेरेन अफेयर्सको गोल्ड कार्ड होल्डरका लागि एम्बुलेन्स सेवामा छुट हुन सक्छ।
अनुवादक सेवा उपलब्ध
अङ्ग्रेजी भाषा नबोल्नेहरूका लागि पनि दोभासे सेवा उपलब्ध रहेको म्याकी बताउँछिन्।
आफूले बोल्ने भाषाको थोरै जानकारी दिए पश्चात् दोभासे मार्फत सेवा लिन सकिने उनले बताइन्।




