मुख्य बुँदाहरू
- धेरै कामहरू विज्ञापन नगरिएको हुनाले, बाहिर नदेखिएका 'जब मार्केट' सम्म पुग्न र आफ्नो नेटवर्क बढाउन जरुरी छ।
- आप्रवासी र शरणार्थी रोजगार सेवाहरूले रोजगारीका लागि छिटो र सरल मार्गहरू बनाउन सक्छन्।
- हेरचाह, आतिथ्य र ट्रेडहरू जस्ता द्रुत-वृद्धि हुने क्षेत्रहरूमा बारे विचार गर्नुहोस्।
आफनो देश छाडेर अरू कुनै देशमा गई रोजगारको खोजी गर्नु निकै गाह्रो काम हो ।
अस्ट्रेलिया आए पछि सबैभन्दा पहिले आफ्नो काम गर्न पाउने अधिकारहरूको बारेमा बुझेर, सक्रिय रूपमा जागिर खोज्न थाल्नु पर्छ।
यो अध्यागमन कानून सम्बन्धि प्रिन्सिपल लएर सञ्जीव पाण्डेको सल्लाह हो ।
"सबैभन्दा पहिला आफ्नो भिसा मा के के उल्लेख गरिएको छ, त्यसबारे राम्रोसँग जानकार हुनुपर्छ । जस्तो कि बिद्यार्थीको हकमा काम गर्न पाउने सिमीतता अरूको भन्दा फरक हुन्छ । त्यसबाहेक स्वास्थ्य बीमा पनि पूरा गरेको हुनुपर्छ ।"
रोजगार वेबसाइट र एजेन्सीहरू
तपाईँले काम खोज्न सुरु गर्दा सीक, करियरवान र जोरा जस्ता वेबसाइटहरूमा, र लिङ्क्डइन जस्ता सोसल मिडिया प्ल्याटफर्महरूबाट, बजारमा के-कस्ता रोजगारीहरू उपलब्ध छन्, र कुन क्षेत्रमा बढी माग छ भनेर बुझ्न सक्नु हुन्छ।
पाण्डे भन्छन् कि, रोजगारदाता कम्पनी र रोजगार एजेन्सीहरूसँग सिधा सम्पर्क गर्दा पनि हुन्छ ।
"जस्तो कि कोल्स, वुलवर्थ लगायत कम्पनीहरूले आफ्नो वेभसाइटबाट पनि कामको लागि बिज्ञापन राखेका हुन्छन् । अथवा सिधै म्यानेजरसँग भेट्ने अनि कामको लागि आफ्नो बायो डेटा दिन सकिन्छ । त्यसबाहेक साथीभाइसँगको चिनजानमा पनि काम खोज्न सकिन्छ ।"

बाहिर नदेखिएका 'जब मार्केट' सम्म पुग्ने
तथापि, काम खोज्ने कार्यमा, सामान्यतया प्रयोग गरिने माध्यमहरू भन्दा केही पर गएर, बाहिर नदेखिएका 'जब मार्केट' सम्म पुग्नुपर्ने हुनसक्छ।
धेरै कामहरू विज्ञापन नगरिएको हुनाले, काम पाउनको लागि रोजगारदाताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन, र आफ्नो नेटवर्क बढाउन जरुरी छ।
जस्तो कि कहिलेकाहीँ तपाईँको आफ्नो समुदायको फेसबुक कम्युनिटी ग्रुपबाट पनि काम पाउने सम्भावना हुन्छ किनकि उनीहरूले कामको लागि सार्वजनिक रूपमा विज्ञापन नगरी, समुदायको फेसबुक ग्रुपबाट नै काम गर्ने मान्छे खोजिरहेका हुन्छन्।
आप्रवासी र शरणार्थी रोजगार सेवाहरू
आप्रवासी र शरणार्थी रोजगार सेवाहरूमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
उदाहरणका लागि, सेटलमेन्ट सर्भिस इन्टरनेशनल (एसएसआई) जस्ता केही राष्ट्रिय गैर नाफा मूलक संस्थाहरूले विविध पृष्ठभूमिका मानिसहरूलाई काम पाउन सहज हुने गरि रोजगार उन्मुख तालिम दिने गर्दछन् ।
एसएसआईका कार्यक्रमहरूले विशेष गरी शरणार्थी र आप्रवासी समुदायहरूलाई लक्षित गर्ने, उक्त संस्थाको रोजगार सेवाकी प्रमुख जुडी लाज्कानी बताउँछिन्।
"सबैभन्दा पहिला हामी के गर्दछौँ भने काम खोजी गर्न सफलताका १० वटा चरण बारे बुझाउँछौँ । जसले उनीहरूलाई के उपलब्ध गराउन आवश्यक छ, कसरी अनुवाद गर्ने वा तिनीहरूका कागजी कार्यहरू अस्ट्रेलियाली प्रमाण आधारमा कसरी गर्ने, तिनीहरूको विदेशी योग्यतालाई कसरी मान्यता दिने, अस्ट्रेलियामा कसरी काम खोज्ने, व्यवसायबारे अनुसन्धान गर्ने भनेर बुझ्न मद्दत गर्छौँ । साथै उनीहरूलाई आत्मनिर्भर हुनको लागि हामी जस्ता रोजगार सेवाहरूसँग कसरी सर्म्पक गर्ने भनेर सिकाउँछौ ।"
एसएसआईले तपाईँको सीप र काम गरेको इतिहासको मूल्याङ्कन गर्छ, र आगामी दिनमा कस्तो करियर बनाउन चाहनुहुन्छ भन्ने बारे बुझ्छ।
यी कार्यक्रमहरू मार्फत मानिसहरूले अस्ट्रेलियन मापदण्डहरू अनुसार आफ्नो रेज्युमे कसरी तयार पार्ने सिक्नुका साथै, श्रम बजारको ज्ञान प्राप्त गर्छन्।
लाज्कानी बताउँछिन् कि, यदी तपाईँ पहिला विदेशमा कुनै पेसामा आवद्ध हुनुहुन्थ्यो भने, एसएसआईले तपाईँलाई अस्ट्रेलियामा त्यही किसिमको काम खोज्न पनि मद्दत गर्न सक्छ।
"उदाहरणका लागि, यदि तपाईँ मध्य पूर्वमा अर्बाै डलर परियोजनाहरूमा काम गर्ने मेकानिकल इन्जिनियर हुनुहुन्छ भने, तपाईँले कसरी आफ्नै क्षेत्रमा काम पाउन सक्नुहुन्छ? के तपाईँ परियोजना प्रबन्धकको रूपमा काम सुरु गर्न सक्नुहुन्छ? अथवा विदेशमा रहेको योग्यताको मान्यता प्राप्त गर्ने, काममा अङ्ग्रेजी सुधार गर्ने, आत्मविश्वास निर्माण गर्ने, सामाजिक सञ्जाल निर्माण गर्ने काम गर्ने लगायत चरणहरू पार गर्दै कहाँबाट काम सुरु गर्न सकिन्छ भनेर हेर्न सकिन्छ। जसले गर्दा तपाईँ आफैले पनि कसरी काम पाउन सकिन्छ भनेर पत्ता लगाउन सक्नुहुन्छ । यति बुझ्नु पर्छ कि अन्त्यमा काम फेला पार्नु नै मुख्य उद्देश्य हो।"
एसएसआईले तपाईँलाई स्थानीय व्यवसायहरूसँग परिचित गराउँछ, जसले व्यक्तिहरूलाई आफ्नो सीप र योग्यताहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न र बजारमा ल्याउन सक्षम बनाउँछ। जसले गर्दा नयाँ आएका मानिसहरूलाई स्थानीय रोजगार बजारमा जोडिनको लागि सहयोग पुग्छ।
एम्स (एएमईएस) अस्ट्रेलियाले सङ्घीय सरकारको वर्कफोर्स अस्ट्रेलिया कार्यक्रम मार्फत आप्रवासी र शरणार्थीहरूलाई रोजगारी सेवाहरू प्रदान गर्दछ । साथै केही स्वतन्त्र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसको उद्देश्य भनेको आप्रवासी र शरणार्थीहरूले रोजगारी खोज्दा देखिने समस्याहरूको समाधान गर्नु हो।
एम्स अस्ट्रेलियाका पब्लिक अफेर्स म्यानेजर लअरी नोवेलका अनुसार, उक्त संस्थाले आप्रवासीहरूको सीप, क्षमता, पढाइ र जीवनका अनुभवलाई पनि ध्यानमा राख्छन्।
हामीसँग रोजगारी मेन्टरिङ प्रोग्राम छ, जसले आप्रवासीहरूलाई रोजगारीमा जानको लागी सही बाटो देखाउने गर्छ । यो कार्यक्रम आप्रवासीहरूले पहुँच गर्न सक्ने सेवाहरू भित्र राखेर अझ छिटो प्रभावकारी बनाउनको लागि राम्रोसँग समन्वय गर्न डिजाइन गरिएको छ ।लअरी नोवेल, एम्स अस्ट्रेलियाका पब्लिक अफेर्स म्यानेजर
"हामी शरणार्थी बसोबास, शिक्षा र रोजगारीका कर्मचारीहरूलाई एकै ठाउँमा ल्याउँछौँ र तिनीहरूले प्रत्येक आप्रवासी वा शरणार्थीको क्षमता र कमजोरीमा काम गर्छौँ, ताकि उनीहरूले काम पाउन सकुन्,” उनले बताए।
यी सबै कार्यक्रमहरू बिना शुल्क उपलब्ध छन् ।
एम्सले स्किल्ड प्रोफेसनल माइग्रेन्ट्स प्रोग्राम पनि संचालन गर्छ, जसले दक्ष आप्रवासीहरूलाई अस्ट्रेलियको श्रम बजारसँग परिचित बनाउँछ।
कार्यक्रममा सहभागीहरूले अस्ट्रेलियामा अन्तर्वार्ता कसरी गर्ने, बायो डेटा कसरी लेख्ने साथै कार्यस्थलको संस्कृतिबारे नजिकबाट बुझ्न पाउँछन्।
साथै आई टी वा इन्जिनियरिङ, स्वास्थ्य वा जुन क्षेत्रबाट आएका हुन् तिनीहरू आफ्नो उद्योगमा काम गर्ने स्थानीय व्यक्तिसँग जोडिनेछन्, जसले उनीहरूलाई काम पाउने सही बाटोमा हिँड्न सघाउँछ ।
यस कार्यक्रमबारे जानकारीका लागि तपाईँले एम्सको वेबसाइटमा हेर्न सक्नु हुन्छ।

महिलाहरूको लागि व्यवसायमा अवसर
यदि तपाईँ महिला हुनुहुन्छ र व्यापारको बारे जान्न चाहनुहुन्छ र 'ट्रेड्सपर्सन' अर्थात् 'ट्रेडी' बन्न चाहनु हुन्छ भने न्यु साउथ वेल्स सरकारको कनेक्टिङ वुमन टु ट्रेड्स कार्यक्रम तपाईँको लागि उपयोगी हुन सक्छ।
एसएसआई अन्तर्गत रहेको यस कार्यक्रमले व्यापार वा निर्माण क्षेत्रका व्यवसायी तथा त्यसमा प्रवेश गर्न चाहने महिला, दुवैलाई यस क्षेत्रको बारेमा क्षमता र चेतना बढाउन सहयोग गर्ने लाज्कानी बताउँछिन्।
"हामी विशेष गरि महिलाहरूलाई व्यापारमा ल्याएर व्यापारमा महिला सशक्तीकरण कायम गर्नको लागि महिला व्यवसायीहरू सँगै केही अन्य व्यवसायसँग पनि काम गरिरहेका छौँ। व्यापार र व्यवसायमा चाहना भएका महिलासँग नजिक भएर काम गर्दै यस क्षेत्रमा उनीहरूको बुझाइ फराकिलो बनाउनुका साथै उनीहरूले कसरी भविष्य सुनिश्चितता बारे काम भइरहेको छ ।"
स्याहारकर्ता र आतिथ्य क्षेत्र बारे पनि विचार गर्नुहोस्
यसबाहेक एम्सले महिलाहरूका लागि स्याहारकर्ता र आतिथ्य अर्थात् हस्पिट्यालिटी क्षेत्रमा पनि तालिमको सञ्चालन गर्दै आएको छ ।
नोवेल भन्छन् कि यी क्षेत्रहरूमा धेरै कामका अवसरहरू हुन्छन् ।
कतिपय अवस्थामा आप्रवासी र शरणार्थीहरू दक्ष कामको अनुभव हुदैंँन तर ऊनीहरूलाई काम चाहिएको हुन्छ । त्यसैले यी क्षेत्रहरूमा छोटो समयमा तालिम लिएर काम पाउन सजिलो हुन्छ ।लअरी नोवेल

अरूको स्याहार गर्ने विभिन्न किसिमका कामहरूमा हाल २० लाख मानिसहरूले रोजगारी पाएका छन्, र सन् २०२५ सम्म यस क्षेत्रमा २५ लाख कामदारहरू हुने आङ्कलन गरिएको नोवेलको भनाइ छ।
'भोलन्टियर' कामका फाइदा
एनबी माइग्रेसन लअकी प्रिन्सिपल लएर एग्नेस केमेनेसका अनुसार, केही महिनाको भोलन्टियर वा स्वयंसेवीका रूपमा काम गर्ने प्रस्ताव गरेर पनि जागिर पाउने सम्भावना बढाउन सकिन्छ।
"आफ्नो र आफ्नो प्रतिभाको परिचय दिनुहोस्। यस देशमा आउने कुनै पनि आप्रवासीहरूले अमूल्य संस्कृति र अनुभवहरू लिएर आएका हुन्छन्। त्यसले निश्चित रूपमा पेसाहरू र कार्यस्थलमा कसरी व्यवहार गर्ने भन्ने बारे विभिन्न दृष्टिकोणहरू ल्याउँछ।”
कम्पनी तपाईँको काम र समर्पणको स्तरसँग सन्तुष्ट भएपछि, तपाईँले तलब सहितको कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ।













