मुख्य बुँदाहरूः
- बालबालिकालाई कारमा राख्न प्रयोग हुने सिटले अस्ट्रेलियन मापदण्डको पालना गर्नुपर्छ।
- ट्याक्सी, राइड सेयर र भाडामा लिइने सवारी साधनहरूमा बालबालिकाको सिट सम्बन्धी कानूनहरू राज्य र प्रदेशहरूमा भिन्न हुन्छन्।
- बालबालिकालाई वयस्कहरूले प्रयोग गर्ने सिट बेल्टमा सार्नु अघि फाइभ स्टेप टेस्ट भनिने पाँच चरण परीक्षणको जाँच गर्नुपर्छ।
विद्यमान ‘नेस्नल चाइल्ड रिस्ट्रेन्ट ल’ भनिने बालबालिकालाई कारमा राख्दा लागू हुने एक कानूनले सबै बालबालिकालाई उनीहरूको उमेर र उचाइ अनुसार सुरक्षित रूपमा गाडीभित्र चाइल्ड सिटमा उपयुक्त बेल्ट सहित नियन्त्रणमा राख्नुपर्ने बताउँछ।
बालबालिकाले कार सिटको प्रयोगको सुरुवात
तर धेरैजसो परिवारहरू, बालबालिकाको लागि सिट छान्दा, एकबाट अर्को प्रकारको रिस्ट्रेन्टमा परिवर्तन गर्दा वा प्रयोग बन्द गर्ने कुरालाई लिएर रनभुल्लमा हुन्छन्।
असोसिएट प्रोफेसर वारविक टीग रोयल चिल्ड्रेन्स हस्पिटल मेलबर्नमा ट्रमा सेवाका निर्देशक हुन्।
धेरै परिवारहरूको साझा चुनौती भनेकै यही द्विविधा हुने गरेको उनी बताउँछन्।

“कानूनसंगत के हो र सही अभ्यास के हो भन्ने बिचको खाडलले गर्दा अनिश्चितता र पर्याप्त जानकारी बिना लिइने निर्णयका कारण अस्ट्रेलियाका धेरै बालबालिकाहरू कारहरूमा चाहिनेभन्दा कम सुरक्षित रूपमा यात्रा गरिरहेका छन्”, उनी भन्छन्।
“हामी कानूनको आवश्यकता अनुसार परिवार र बालबालिकालाई सबैभन्दा सुरक्षित तरिकाले उच्च संयमका साथ कारहरूमा यात्रा गराउन चाहन्छौँ।”
उमेर र उचाइ अनुसार बालबालिकाको सिट निर्धारण गरिने भए पनि उक्त सिट बच्चालाई "फिट" छ कि छैन भनेर प्राथमिकता दिनुपर्छ।एसोसिएट प्रोफेसर वारविक टीग
बच्चाको उचाइ र उमेर दुवै महत्त्वपूर्ण मार्गनिर्देशहरू भए पनि बच्चाको जिउमा मिल्छ कि मिल्दैन भन्ने हेरेर सिट निर्धारण गर्नु पर्छ।
प्रत्येक बालबालिकाको शारीरिक बनावट फरक हुने हुनाले, सुरक्षा सुनिश्चित गर्नको लागि बच्चालाई कुन किसिमको सिट फिट हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
“कसै-कसैको जीउ धेरै लामो र खुट्टा अलि छोटो हुन्छन्, भने कसै-कसैको लामो खुट्टा र शरीर अलि छोटो हुन्छ, र यी सबै कुराहरूले बालबालिका कसरी सिटमा फिट हुन्छन् भन्ने कुरामा फरक पार्छ।”
अस्ट्रेलियन मापदण्ड पूरा गरेका कार सिटहरूमा बच्चाको कुम कहाँ हुनुपर्छ भनेर चिन्ह लगाइएको हुन्छ।
बच्चाहरूले प्रयोग गर्दै आएको सिटमा राखिएको उक्त मार्कर वा सङ्केतबाट कुमको उचाइ नाघ्यो भने अब यो सिट सानो भयो भनेर निर्धारण गर्न सकिन्छ।
जबसम्म बालबालिकाले यी मार्करहरू पार गर्दैनन्, उनीहरूलाई सुरुकै सिटमा राख्नु पर्छ।

"हाम्रो सुझाव भनेको वास्तवमा तपाईंको बच्चा कारको सिटमा फिट हुन्छ कि हुँदैन भन्ने हेरेर प्रत्येक उमेर समूहलाई सुरक्षित विकल्प दिनुपर्छ भन्ने हो। प्रत्येक बच्चाले सुरुवातमा बसेको कार सिटमा फिट हुन्जेलसम्म बस्दा हुन्छ किनभने त्यो सिट नै सबैभन्दा सुरक्षित विकल्प हुन्छ।”
बच्चाको सिटलाई सकेसम्म रिअर फेसिङ वा पछाडितिर फर्काएर राख्नुपर्छ।
यसले गर्दा दुर्घटना हुँदा बच्चाको टाउको पछाडि तिर धकेलिन्छ अनि सबै बल सिटमा पर्दा चोटपटकको जोखिमलाई कम गर्छ।
तर अगाडी तिर वा सामान्य कार सिट जस्तै गरी राख्यो भने यस्तो हुँदैन।
“दुर्घटनाको समयमा, जब जोडतोडले गाडी रोकिन खोज्छन्, सबैभन्दा पहिला बच्चाहरूको टाउको अगाडि हुत्तिन्छ। जसले गर्दा तिनीहरूको नाकले सम्भवतः तिनीहरूको स्तन प्लेटमा छुन्छ। त्यो भयानक अवस्था सम्भावित जीवन-अन्तको क्षण हो, र यसमा जीवन नै परिवर्तन गर्ने मेरुदण्डमा चोट पुग्ने सम्भावना पनि धेरै हुन्छ।”
प्रोफेसर टीग भन्छन् कि छ महिनाभन्दा ठुलो बच्चाको सिटलाई पनि पछाडितिर फर्काएर राख्न सकिन्छ।
“आमाबाबुले थाहा पाउनु पर्छ कि कहिलेबाट उनीहरूको बच्चा पछाडितिर फर्काएर राख्ने कार सिटमा फिट हुँदैनन्। सिटलाई अलिकति बढाउन त मिल्छ तर फिट भएन भने अर्को पनि रिअर फेसिङ सिट नै किन्दा ठिक हुन्छ।"
यसमा पैसा खर्च हुने भए पनि अगाडी फर्काइएको सिटभन्दा पछाडी फर्काइएको सिट नै सुरक्षित हुने उनको भनाइ छ।
"बच्चाको पहिलो छ देखि १५ महिनासम्म उनीहरूलाई पछाडितिर फर्काएर नै राख्नुपर्छ।”
सेन्टर फर रोड सेफ्टीका कार्यकारी निर्देशक बर्नार्ड कार्लोन अस्ट्रेलियामा प्रत्येक तीनमध्ये दुई वटा चाइल्ड कार सिटहरू गलत तरिकाले जडान गरेर प्रयोग भएको बताउँछन्।
आमाबाबु र हेरचाहकर्ताहरूले निर्माण कम्पनीका निर्देशनहरूको पालना गर्ने वा बालबालिकाको सुरक्षालाई बढाउन व्यावसायिक फिटिङ सेवाहरू प्रयोग गर्नुपर्छ।
“अस्ट्रेलियाभर नै बालबालिकाको सिट जडान गर्ने स्टेशनहरू छन्, विशेष गरी न्यू साउथ वेल्समा ३०० भन्दा बढी छन् । साथै अङ्ग्रेजी नबुझ्ने समुदायका लागि स्थानीय सरकारले फरक फरक भाषाका कार्यक्रमहरू सञ्चालन गरेको छ।आर्थिक कठिनाइ रहेकालाई सहयोगको व्यवस्था पनि छ।”
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: बाल अधिकार
यहाँको बच्चाको सिटको सुरक्षा अस्ट्रेलियन मापदण्ड अनुसार हुने हुनाले विदेशमा खरिद गरिएका सिटहरूले अस्ट्रेलियन विशेष सुरक्षा आवश्यकताहरू पूरा नगर्न सक्छन्।
“अस्ट्रेलियन मापदण्ड अनुसार नै बालबालिकाको सिट किन्नुपर्छ र यस सम्बन्धी सूचना र तथ्याङ्क हाम्रो वेभसाइटमा पनि पाउन सक्नुहुन्छ।”
ट्याक्सी, भाडाका गाडी र राइड सेयर सेवाहरू प्रयोग गर्दा, कारमा बालबालिकालाई नियन्त्रणमा राख्न प्रयोग हुने सिटको कानून अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेश बिच फरक हुन सक्छ।
तपाईँको आफ्नो क्षेत्रमा कस्तो नियम छ भनेर सम्बन्धित अधिकारीहरूसँग बुझ्दा हुन्छ।
“जब तपाईँ गाडी बुकिङ गर्दै हुनुहुन्छ भने बच्चाको कार सिट चाहिन्छ भनेर सुरुमै भन्नुपर्छ । किनभने चाहे त्यो ट्याक्सी होस् वा साथीको गाडी वा तपाईँको आफ्नो गाडी बालबालिका लिएर यात्रा गर्दै हुनुहुन्छ भने बालबालिकाको सिट हुनै पर्दछ”, प्रोफेसर टीग भन्छन्।
“तपाईँको बच्चाले बूस्टर सिटबाट बाहिर निस्कने प्रयास गर्न सक्छ तर सिटबाट बाहिर राख्ने कुनै पनि विकल्पहरू हुनुहुँदैन।”
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
र बच्चाहरू सुरक्षित छन् वा छैनन् भनेर पत्ता लगाउन यी प्रश्नहरू सोध्नु आवश्यक छ।
“यसलाई फाइभ-स्टेप टेस्ट वा पाँच-चरणमा परीक्षण गरिन्छ। सबैभन्दा पहिला तिनीहरू सिटको पछाडि आफ्नो ढाड टाँसेर बस्ने हुनु पर्छ।दोस्रोमा बसेको सिटको अगाडी पट्टि उनीहरूको घुँडा सजिलोसँग दोब्रिएको हुनुपर्छ । तेस्रोमा सिट बेल्टको अगाडीको भाग तिघ्रामा आएको हुनुपर्छ। चौथोमा सिट बेल्ट कुमको बिच भागबाट आएको हुनुपर्छ। र अन्तिममा यी सबै कुराहरू यात्रा भरी नै कायम हुनुपर्छ।“
सिटहरूलाई निरन्तर जाँच र आवश्यकता अनुसार मिलाउनु महत्त्वपूर्ण हुन्छ।
किनभने बच्चा बढेसँगै सिट फिट नहुन सक्छ।
त्यति मात्र नभएर कारहरू अनुसार सिटको फिटिङ फरक पर्न सक्छ, एउटा सिट अर्को सिटसँग नमिल्न सक्छ र उनीहरूले लगाएको लुगाले भूमिका खेल्छ।
“कार दुर्घटना हुँदा बच्चाको सुरक्षा भौतिक विज्ञान अनुसार कति जोडले ठोकिन्छ भनेर निर्धारण गरिन्छ, र यदि हामीले तिनीहरूलाई कम सुरक्षित तरिकाले राख्यौँ भने, चोटपटकको जोखिम त्यति नै बढ्छ।”
कति बेला कार दुर्घटना हुन्छ नियन्त्रण गर्न सकिदैँन्, तर प्रत्येक यात्रामा बच्चाहरूको सुरक्षालाई प्राथमिकता दिन भने सकिन्छ।
कारमा बालबालिकाको लागि राखिने सिटको उचित फिटिङ र समायोजनहरू सुनिश्चित गर्ने कानून र निर्देशनहरूको पालना गर्ने जस्ता सही सुरक्षा मापदण्ड अपनाए अप्रत्याशित दुर्घटनामा जोखिम कम गर्न सकिन्छ

थप जानकारीका लागि तपाईंको राज्य वा प्रदेशको यातायात प्राधिकरणको वेबसाइटमा जानुहोस्।
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: बालबालिकाका लागि रहेका खोप सम्बन्धी नियमहरू





