मुख्य बुँदा
- अस्ट्रेलियाको राष्ट्रिय खोप कार्यक्रम वा नेसनल इम्युनाइजेसन प्रोग्राम अन्तर्गत नवजात शिशु तथा बालबालिकालाई निःशुल्क खोप दिइन्छ।
- सङ्घीय स्तरमा रहेको 'नो ज्याब, नो पे' र राज्य स्तरमा रहेको 'नो ज्याब, नो प्ले' नीति रहेकाले परिवारलाई प्रदान गरिने समर्थन भुक्तानी र चाइल्ड केयर सेवाहरूमा पहुँच पाउन पनि बालबालिकाले खोपको मात्रा पूरा गरेको हुनुपर्छ।
- तपाईँको बच्चाले अन्य देशमा गएर खोप लिएमा र त्यस सम्बन्धी प्रमाण र कागजात छ भने यसलाई अस्ट्रेलियाको इम्युनाइजेसन रजिस्टरमा समावेश गर्न सकिन्छ।
विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा गरिएको एक अनुसन्धानका अनुसार पछिल्ला ५० वर्षमा खोपले पाँच वर्षभन्दा कम उमेरका १४ करोड ६० लाख बालबालिकाको मृत्युलाई जोगाएको छ।
बाल खोप नीतिहरू देशअनुसार भिन्न हुन सक्छन्, तर चिकित्सा क्षेत्रले यसलाई लिएर दिने तर्क भने विश्वव्यापी रूपमा एउटै रहन्छ।
र त्यो तर्क भनेको: खोप कार्यक्रमहरू बालबालिकाहरूलाई सङ्क्रामक रोगहरूको गम्भीर परिणामहरूबाट जोगाउन डिजाइन गरिएको हो।
खोप नलगाएका कारण समुदायमा त्यति धेरै नदेखिने रोगबाट पाँच मध्ये एक बालबालिकाको मृत्यु हुने गरेको अनुमान गरिएको छ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाकी असोसिएट प्रोफेसर केटी एट्वेल बच्चाहरूको खोप सम्बन्धी नीतिहरूकी विज्ञ हुन्।
रोग सर्ने र खोपबिचको सम्बन्धका कारण नै खोप सरकारको नीतिमा पर्ने एट्वेलको भनाइ छ।

एट्वेल थप्छिन्, बाल खोप कार्यक्रमले जोखिममा रहेका बालबालिका वरपरका मानिसहरूलाई पनि गम्भीर रोगबाट सुरक्षा प्रदान गर्छ।
जोखिममा रहेको समूहमा नवजात शिशु, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्क र क्यान्सरको उपचार गराइरहेका बालबालिका पर्छन्।
युनिभर्सिटी अफ सिड्नीमा असोसिएट प्रोफेसर रहेका फिलिप ब्रिटन बाल र किशोर स्वास्थ्यको क्षेत्रमा काम गर्छन्।
र उनी भन्छन् अस्ट्रेलियाको खोप कार्यक्रमले धेरै कुरा समेट्छ जसले गर्दा यो सबैभन्दा विस्तृत मध्ये एक पनि हो।
यो कार्यक्रममा यस्ता खोपहरू पर्छन् जसले विगतमा गम्भीर रोग निम्त्याउने किसिमका बाल्यकालका सामान्य सङ्क्रमणहरूबाट सुरक्षा प्रदान गर्छ।
र ब्रिटन त्यस्ता सङ्क्रमणले गम्भीर परिणाम ल्याउने अवस्था अझै पनि विश्वका केही भागहरूमा यथावत् रहेको बताउँछन्।
दादुरा, डिप्थेरिया, टिटनस, हुपिङ कफ जस्ता रोगहरूका लागि त्यसै गरि २० वर्ष अगाडी रोटा भाइरस भनिने बालबालिकालाई निकै खराब किसिमको पखाला निम्त्याउने भाइरस थियो।
तर अहिले रोटा भाइरसका साथै कुनै समय बालबालिकालाई निकै प्रभावित पारेको चिकेन्पक्स वा ठेउलाका लागि पनि अस्ट्रेलियामा खोप लगाइने गरेको ब्रिटन बताउँछन्।

'नो ज्याब, नो पे' र 'नो ज्याब, नो प्ले' नीतिलाई बुझौँ
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत, स्वास्थ्य तथा वृद्ध स्याहार विभागले २० वर्षसम्मका बालबालिका र युवाहरूका लागि सुझाइने गरिएको खोपको तालिका बनाएको छ, जुन नि:शुल्क उपलब्ध गराइन्छ।
राष्ट्रिय खोप कार्यक्रमद्वारा कोष उपलब्ध गराइएका सबै खोपहरू सङ्घीय स्तरमा 'नो ज्याब, नो पे' वा खोप नलगाए भुक्तानी पाइँदैन भन्ने नीति अन्तर्गत परिवारलाई दिइने सहायता भुक्तानीहरूसँग जोडिएका छन्।
यसमा फ्यामिली ट्याक्स बेनिफिट भनिने बच्चाहरूलाई हुर्काउन मदत गर्ने उद्देश्यले सरकारद्वारा दिइने समर्थन भुक्तानी पनि पर्छ।
यसको अर्थ आमाबाबुले फ्यामिली ट्याक्स बेनिफिट भुक्तानका लागि योग्य हुन आफ्ना बच्चाहरूका लागि राष्ट्रिय खोप कार्यक्रमको पालना गर्नुपर्छ।
त्यस्तै सर्त चाइल्ड केयर अनुदानहरूमा पनि लागू हुन्छ र यो अनुदानले चाइल्ड केयरका लागि तिर्नु पर्ने कुल रकमको २० देखि ८५ प्रतिशतसम्म कभर गर्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सर्भिसेस अस्ट्रेलियामा सूचना अधिकारी रहेका जस्टिन बट यसलाई बुझाउँछन्।
"यदि बच्चालाई त्यो तालिका अनुसार ठिकसँग खोप लगाइएको छैन भने सर्भिसेस अस्ट्रेलियाले वास्तवमा फ्यामिली ट्याक्स बेनिफिट वा चाइल्ड केयर अनुदानको अंश भुक्तान गर्न सक्दैन।"
तपाईँको बच्चाले तालिका अनुसार खोप नपाउने बित्तिकै तपाईँलाई दिइने समर्थन भुक्तानीहरू पनि बन्द हुने उनको भनाइ छ।
र आफ्नो बच्चाले खोप लिएको छ भन्ने प्रमाणहरू सर्भिसेस अस्ट्रेलियालाई उपलब्ध गराइरहनु पनि पर्दैन। किनभने तपाइले भुक्तानीका लागि दाबी गर्ने बित्तिकै यसले यी जानकारीहरूमा स्वतः पहुँच पाउँछ।
"हामी यसलाई कसरी ट्राक गर्छौँ भने, तपाइले याद गर्नु भएको होला जब तपाईँले फ्यामिली ट्याक्स बेनिफिट वा चाइल्ड केयर अनुदानका लागी अप्लाइ गर्नु हुन्छ त्यति बेला हामी तपाईँलाई आफ्नो बच्चाको मेडिकेयरको जानकारी हाल्न भन्छौँ," बट भन्छन्।
र मेडिकेयरको जानकारी बाट अस्ट्रेलियन इम्युनाइजेसन रजिस्टरमा गएर तपाईँको बच्चाले सही समयमा सही खोप लगाएको छ कि छैन भनेर सर्भिसेस अस्ट्रेलियाले थाहा पाउने उनको भनाइ छ।
अस्ट्रेलियन इम्युनाइजेसन रजिस्टर भनेको राष्ट्रिय तथ्याङ्क हो जसमा अस्ट्रेलियाभरि दिइएका खोपहरूको विवरण सङ्कलन गरिन्छ।
राष्ट्रिय खोप कार्यक्रम, विद्यालयका खोप कार्यक्रम वा निजी खोप प्रदायक जोसँग खोप लिएको भए पनि त्यसको रेकर्ड भने उक्त रजिस्टरमा रहन्छ।
उक्त रजिस्टर स्वतः तपाईँको मेडिकेयरमा जोडिएको हुन्छ र जनरल प्राक्टिस्नर (जीपी)ले वा सामुदायिक स्वास्थ्य केन्द्र जस्ता मान्यता प्राप्त खोप प्रदायकद्वारा मात्र त्यहाँका जानकारी अद्यावधिक गर्न सकिन्छ।
अब राज्य स्तरमा रहेको 'नो ज्याब, नो प्ले' बारे बुझौँ।

खोप नलगाए खेल्न पाइँदैन भन्ने यो नीति अन्तर्गत खोप आवश्यकताहरू चाइल्ड केयर सेवाहरू, डे केयर र किन्डरगार्टनहरू सहित प्रारम्भिक शिक्षाको क्षेत्रहरूमा पनि प्रभावकारी हुन्छन्।
राज्य र प्रदेश अनुसार यी नीतिहरू फरक हुने भएकाले अभिभावकहरूले उनीहरूको निवास क्षेत्रमा लागू हुने कुराहरू बारे जाँच गर्नुपर्छ।
एट्वेल सामान्यतया के कुराहरू लागू हुन्छ त भन्ने बारे यस्तो बताउँछिन्।
"वेस्टर्न अस्ट्रेलिया, भिक्टोरिया, न्यु साउथ वेल्स र साउथ अस्ट्रेलिया जस्ता 'नो ज्याब, नो प्ले' नीतिहरू भएका राज्यहरूमा लगभग एउटै कुरा छ, जस अनुसार (प्रारम्भिक शिक्षाका लागि) भर्ना गर्न तपाईँले खोपको इतिहास भएको फर्म देखाउनुपर्छ।"
र उक्त फर्ममा तपाईँको बच्चाले आवश्यक सबै खोप लगाएको देखाउनु पर्छ वा यदि मेडिकल कारणले उक्त खोप लिन नपर्ने छुट पाएको छ वा राज्यमा उपलब्ध रहेको छुटको मापदण्ड पूरा गरेको छ भनेर देखिनु पर्ने उनको भनाइ छ।

चिकित्सा दृष्टिकोणबाट हेर्दा यस्ता केही मामिलाहरू पनि हुन्छन् जहाँ बच्चाले खोप लिनु ठिक हुँदैन, ब्रिटन बताउँछन्।
यस्ता दुई उदाहरण मध्ये एक भनेको विगतमा खोपका कारण गम्भीर किसिमको एलर्जी जस्तो प्रतिक्रिया देखिएको छ भने। र अर्को भनेको यदि खोप जीवित जीव वा भाइरसबाट बनाइएको छ र सो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने पनि खोप लिन उचित हुँदैन।
जीवित भाइरसहरूबाट बनाइएका त्यस्ता खोपहरूमा भाइरसलाई केही कमजोर त बनाइएको हुन्छ तर तिनीहरू जीवितै हुन्छन्, र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यदि सो खोप लगाइयो भने उसको प्रतिरक्षा प्रणाली ती खोपहरूलाई सुरक्षित रूपमा प्रतिक्रिया दिन सक्षम हुँदैन।
खोपका लागि यस्ता किसिमका चिकित्सा छुट दिनको लागि कडा मापदण्डहरू छन् र मान्यता प्राप्त खोप प्रदायकहरूले मात्र बच्चाले खोपबाट टाढा रहनुपर्छ कि भनेर मूल्याङ्कन र प्रमाणित गर्न सक्छन्।
आफ्नो बच्चालाई खोप लगाउने बारे आमाबाबुहरूलाई चिन्ता वा जिज्ञासा छन् र उनीहरूले प्रमाणमा आधारित स्रोतहरू खोजिरहेका छन् भने उनीहरूका लागि शेयरिङ् कलेज अबाउट इम्युनाइजेसन (एसकेएआई)को वेबसाइट सही रहने एट्वेल बताउँछिन्।
यो अस्ट्रेलियाको खोप सम्बन्धी अनुसन्धान तथा निगरानी गर्ने राष्ट्रिय केन्द्र (एनसीआईआरएस) अन्तर्गत सञ्चालित छ।
अस्ट्रेलिया बाहिर खोप लिए के हुन्छ?
तपाईँको बच्चाले अन्य देशमा गएर खोप लिएमा यसको प्रक्रिया के हुन्छ भन्ने बारे बोट प्रस्ट्याउँछन्।
"यदि तपाईँसँग खोप लगाएको प्रमाण र यस सम्बन्धी कागजात छन् भने तपाईँले अन्य समयमा खोप लिने गरेको स्वास्थ्य कर्मीकहाँ गएर उक्त प्रमाणहरू दिनु पर्छ। र उनीहरूले ती जानकारी लिएर अस्ट्रेलियन इम्युनाइजेसन रजिस्टरमा राख्छन्।"
तर केही कारणले तपाईँसँग खोप लगाएको प्रमाण वा कागजात छैन भने के हुन्छ?
बोट भन्छन्, "त्यस्तो हो भने तपाईँले सामान्यतया खोप लिने गरेको स्वास्थ्य कर्मीकहाँ गएर कुरा गर्नु पर्छ, र उनीहरूले त्यहाँबाट तपाईँले के गर्नु पर्छ भनेर दिशानिर्देश गर्नेछन्।"
आफ्नो बच्चाको खोपको बारेमा स्वास्थ्य कर्मीसँग कुरा गर्दा नराम्रो सोच्छन् कि भन्ने डर बिना, स्वतन्त्र रूपमा प्रश्नहरू सोध्न सक्छु भन्ने महसुस गर्नु अभिभावकहरूको लागि महत्त्वपूर्ण हुन्छ।
त्यसैले केटी एट्वेल आफूले खुलेर आफ्ना कुराहरू राख्न सक्ने स्वास्थ्यकर्मीकहाँ जान सुझाव दिन्छिन्।
बाल हेरचाहको लागि खोप आवश्यकताहरूको सम्बन्धमा अस्ट्रेलियाको राष्ट्रिय र राज्य/प्रदेश कानून बारे जान्न यहाँ जानुहोस्।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्।







