मुख्य बुँदाः
- ट्रमाले मस्तिष्कको संरचना र कार्यमा गहिरो प्रभाव पार्न सक्छ ।
- सही पद्धति अपनाउने हो भने बालबालिकाहरू जस्तोसुकै जटिल ट्रमाबाट पनि बाहिरिन सक्छन् ।
- कहिलेकाहीँ विशेष अवस्थामा व्यावसायिक मद्दत खोज्नु आवश्यक हुन्छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वरिष्ठ लेक्चरर तथा मनोवैज्ञानिक परामर्शदाता डाक्टर डेभ पासालिच का अनुसार बालबालिकाहरूले विभिन्न अवस्थामा ट्रमा अनुभव गरिरहेका हुन्छन्।
“जुनसुकै घटनाहरू पनि हुन सक्छन् जस्तो कि प्राकृतिक प्रकोप, युद्ध, हिंसा, दुर्व्यवहार, दुर्घटना, एवम् स्याहारकर्ताहरू सँगको बिछोडका कारण बालबालिकाले आफूहरूलाई असुरक्षित र असहाय महसुस गर्छन्। जसको कारण उनीहरूमा डर उत्पन्न हुन्छ, अनि यही डरका कारण बालबालिका ट्रमाको स्थितिमा पुग्छन्।”
ग्रेटर सिड्नीस्थित पारामाटामा रहेको सामुदायिक आप्रवासी स्रोत केन्द्र (सीएमआरसी) मा अर्ली इन्टरभेन्सन प्रोजेक्ट अफिसर वा प्रारम्भिक सहजीकरण योजना अधिकृत नोर्मा बुलस बालबालिकाभित्र रहेका भावना अभिभावकहरूलाई पहिचान गराउन सहजीकरण गर्छिन्।
उनी भन्छिन् कि सीएमआरसीमा १७ वर्षको कामको अनुभवमा सबैभन्दा कठिन काम अभिभावकहरूलाई उनीहरूका बालबालिका ट्रमामा रहेको र उनीहरूलाई सहयोगको आवश्यकता छ भनेर बुझाउनु हो।

ट्रमाले मस्तिष्कमा पार्ने प्रभाव
दिमागको महत्त्वपूर्ण विकास अवधिको समयमा ट्रमा अनुभव गर्दा, मस्तिष्कको संरचना र कार्यलाई गहिरो प्रभाव पार्न सक्ने डा पासालिच बताउँछन्।
समग्रमा ट्रमाका कारण बालबालिकाले गर्ने व्यवहार उनीहरूले कसरी सोच्छन्, कस्तो महसुस गर्छन् लगायत अरूसँगको सम्बन्धलाई कसरी हेर्छन् भन्नेसम्म असर गर्छ । जसको कारण उनीहरूले घर र विद्यालयमा गर्ने हरेक गतिविधिमा समेत प्रभाव पार्छ ।डा. डेभ पासालिच
यो पनि पढ्नुहोस्
विश्वविद्यालय र टेफ़का विद्यार्थीहरुमा व्यापक मानसिक तनाव
उनी भन्छन् कि ट्रमाले मस्तिष्कको लिम्बिक प्रणाली र त्यसमा पनि विशेष गरी एमिग्डालालाई , सम्भावित खतराहरूप्रति बढी संवेदनशील बनाउन सक्छ, जसले चिन्ता र डर बढाउँछ।
लामो समयसम्म ट्रमामा रहेका बालबालिका मानिसक रूपमा ‘सर्भाइभल मोड’ मा पुग्छन् जसको कारण उनीहरू जतिसुकै बेला पनि आफ्नो शारीरिक सुरक्षालाई लिएर चाहिने भन्दा बढी सतर्क हुन् थाल्छन्।
सिड्नीको वारीवुडमा रहेको बी सेन्टर फाउन्डेसनमा प्ले थेरापिस्टको रूपमा कार्यरत ब्री डे ला हार्प भन्छिन्, ट्रमामा रहेका बच्चाहरूको लागि प्ले थेरापी उपयुक्त माध्यम हो।
उनी भन्छिन् कि वयस्क मानिसहरू ट्रमाको अवस्थामा पुगे भने उनीहरू त आफैँ पनि सल्लाहकारकोमा जान सक्छन्।
तर बालबालिकाको दिमाग पूर्ण रूपमा विकसित भएको हुँदैन त्यसैले प्ले थेरापीको माध्यमबाट नै उनीहरूको मानिसक अवस्था बुझ्न सहज हुन्छ।

अभिभावक र स्याहारकर्ताले कसरी सहयोग गर्न सक्छन् त ?
मेलानि डिफहोल्ट्स, अस्ट्रेलियाभर विद्यालयहरूमा अभिभावक र शिक्षकहरूलाई १४ वर्ष देखि सहयोग गर्दै आइरहेकी सल्लाहकार हुन्।
र उनी भन्छिन् सबैभन्दा पहिला त आमाबाबु र हेरचाहकर्ताहरूले आफ्नै मानसिक र भावनात्मक स्थितिलाई महत्त्व दिनुपर्छ ।
अभिभावकको आफ्नै मानिसक अवस्था स्थिर छैन भने उनीहरूले ट्रमामा रहेका आफ्ना बालबालिकाको लागि पनि स्थिर वातावरण दिन सक्दैनन्।
त्यस्तै डा पासालिच भन्छन् कि आमाबाबु र अभिभावकहरूले आफ्ना बच्चाहरूको भावना र आवश्यकताहरू बुझ्नु महत्त्वपूर्ण हुन्छ।
“अभिभावकले संवेदनशील हेरचाह वा ‘सेन्सेटिभ प्यारेन्टिङ’ को बारेमा बुझ्नु एकदमै जरुरी छ । जस्तो कि जतिसुकै बेला जे पनि हुन सक्ने डरका कारण बालबालिकाले असुरक्षित महसुस गरिरहेका हुन सक्छन् । जसका कारण उनीहरू आक्रोशित हुने गर्छन् तर त्यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई नियन्त्रण गर्ने भन्दा पनि बालबालिकाको भित्री चाहना के हो र उनीहरूले के चाहिरहेका हुन्, कस्तो महसुस गरिरहेका छन् भनेर बुझ्ने प्रयास गर्नुपर्छ ।”

यति मात्र होइन कि घरमा सुरक्षित र स्थिर वातावरण सिर्जना गर्नु पनि महत्त्वपूर्ण भएको डा पासालिचको भनाइ छ।
घरमा अभिभावकहरूले मायालु र शान्त भावमा कुरा गर्ने गर्नुपर्छ।
हाल बी सेन्टरमा प्ले थेरापिस्ट रहेकी मनोचिकित्सक टियाना विल्सनका अनुसार प्ले थेरापी विगतमा भएका ट्रमालाई समाधान गर्न पनि प्रभावकारी हुन सक्छ ।
धेरै जसो ट्रमा सुषुप्त अवस्थामा रहेको हुन्छ, बालबालिकालाई यसबारे थाहा नै हुँदैन । अतीतका पुराना घटनाहरूका कारण भएका ट्रमाबाट बाहिर आउन सकिन्छ र हामीले त्यसैको लागि सहयोग गर्छौँ ।टियाना विल्सन
डा पासालिचका अनुसार धेरै बालबालिका प्राकृतिक रूपमा आघातबाट निको हुन्छन्, तर कहिलेकाहीँ विशेष अवस्थामा व्यावसायिक मद्दत खोज्नु आवश्यक हुन्छ।
यस्तो अवस्थामा मान्यता प्राप्त थेरापिस्ट जस्तै मनोवैज्ञानिक परामर्शदाता अथवा मानसिक स्वास्थ्य सल्लाहकारहरूबाट उचित सहयोग प्राप्त हुन्छ।
अन्त्यमा डा पासालिच भन्छन्, सही पद्धति अपनाउने हो भने बालबालिकाहरू जस्तोसुकै जटिल ट्रमाबाट पनि बाहिरिन सक्छन्।
“यदि बालबालिकाले सही समयमा सही सहयोग पाउने हो भने बालबालिकाहरूको जीवनबाट ट्रमालाई हटाएर साधारण जीवनमा फर्काउन सकिन्छ ।”
कहाँबाट सहयोग पाउन सकिन्छ
- तपाईको जीपी (डाक्टर), मानसिक स्वास्थ्य बिशेषज्ञ जस्तो कि मनोचिकित्सक, मनोपरार्मशकर्रता, सल्लाहकार वा सामाजिक सेवाकर्ता
- तपाईको स्थानिय सामुदायिक स्वास्थ्यकेन्द्रमा
- Australian Psychological Society Referral Service वा 1800 333 497 मा सम्पर्क गर्नुहोस् ।
- Phoenix Australia Centre for Post-traumatic Mental Health वा (03) 9035 5599 मा सम्पर्क गर्नुहोस् ।
- Centre for Grief and Bereavement वा 1800 642 066 मा सम्पर्क गर्नुहोस् ।









