मुख्य बुँदा:
- 'मेन्स बिहेवियर चेन्ज' नामक कार्यक्रमले, पारिवारिक सम्बन्धमा हिंसाको प्रयोग गर्ने पुरुषहरूलाई सहयोग गर्छ।
- सांस्कृतिक र भाषिक कार्यक्रमहरूले, बहुसांस्कृतिक समुदायका मानिसलाई समावेश गर्ने कोशिस गरेको छ।
- पारिवारिक सम्बन्ध सुधारका लागि एउटा महत्वपूर्ण कुरा भनेको घर भित्रका दायित्वलाई अस्ट्रेलियन परिवेश अनुकुल परिवर्तन गर्नु पनि हो।
अस्ट्रेलियामा आउने नयाँ आप्रवासीले जीवनलाई उपलब्धीपूर्ण र सहज बनाउने सपना साँचेका हुन्छन्।
तर कहिले कँही यस्ता सपनाहरू बाधा अड्चन आउन सक्छन्, सम्बन्धहरू टुक्रन सक्छन्।
सेटलमेन्ट सर्भिसेज इन्टरनेसनल (एसएसआई) नामक आप्रवासीहरूलाई मद्दत गर्ने संस्थाले, रिलेसन्सिपस् अस्ट्रेलिया न्यु साउथ वेल्ससँगको सहकार्यमा हिंसामा सहभागी वा परिवारमा अपमानजनक व्यवहारमा संलग्न १८ बर्ष माथिका पुरुषहरूका लागि ब्यूल्डीङ्ग स्ट्रोङ्गर फ्यामिलिज नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।

दश बर्स भन्दा अघि देखि मेन्स विहेबियर चेन्ज नामक कार्यक्रम अस्ट्रेलियामा सञ्चालनमा रहेको भएपनि, कोही पनि नछुटुन भन्ने उद्देश्यले भर्खरै अस्ट्रेलिया आएका मानिसहरूलाई केन्द्रमा राखेर, जीवनमा आएको नयाँ परिवर्तनलाई सहज रुपमा स्वीकार गर्न संस्कृतिक रूपमा अनुकूल कार्यक्रम सञ्चालन भइरहेको छ।
ब्यूल्डीङ्ग स्ट्रोङ्गर फ्यामिलिज कार्यक्रम अर्न्तगत समुहमा गतिविधि गराउनुका साथै कुनै एक मुद्दामा काम गर्न दिइन्छ।
समूहमा गरिने 'ग्रुप वर्क' चाहिँ, १८ हप्ताको हुन्छ, अहिले अरबिक भाषामा सञ्चालित यो कार्यक्रम पहिले तामिल भाषामा समेत उपलब्ध रहेको थियो।
लेबननमा जन्मिएका, घसन नुजेम, ब्यूल्डीङ्ग स्ट्रोङ्गर फ्यामिलिज कार्यक्रमका पूर्व फेसिलिटेटर हुन्।
उनका अनुसार, केही सांस्कृतिक पुष्ठभुमीका समुदायमा पुरुषलाई परिवारको मुख्य व्यक्ति मानिन्छ र उनीहरु घर चलाउनका लागि जिम्मेबार हुन्छन्।
त्यसैले उनीहरूले भनेको कुरा सबैले सुन्नुपर्छ भन्ने मान्यता राखिन्छ।
“उनीहरूका कुरा सुनिनु पर्छ, मानिनुपर्छ तर अर्को पक्ष भनेको घर चलाउने जिम्मेबारीका कारण उनीहरु केही भावनात्मक पनि हुन्छन्, कार्यक्रममा सहभागी करिव ८० प्रतिशत पुरुष आफू आएको देशमा काम गरेर आएका हुन्छन्, सिप भएका हुन्छन् तर जव उनीहरु यहाँ आएर बेरोजगार बन्छन्, बिभिन्न समस्याहरूसँग जुध्न बाध्य हुन्छन्, यसले उनीहरु माथि भार थपिदिन्छ।” नुजेमले भने।
नुजेमका अनुसार अक्सर पुरुषहरू, अप्ठेरो सांस्कृतिक मूल्य मान्यता, संस्कार, अपेक्षाहरू र पुरुष प्रतिको दृष्टिकोणका कारण बाँधिन्छन्।
तर आफ्ना सपनाहरू पुरा नहुँदैमा, यसको अन्त्य हिंसाका रुपमा हुनुपर्छ भन्ने चाहिँ हुदैन्।
पुरुष भएर रुनु हुदैन, मैले सहयोग मागे भने म कमजोर हुन्छु जस्ता पुरुष प्रतिका दृष्टिकोण छन् , तर पुरुष पनि एउटा मानिस नै हो, उनीहरु पनि भावनात्मक हुन्छन्, यस्ता भावनाहरुलाई राम्ररी बुझीएन भने अवस्था अर्कै हुन सक्छ।घसन नुजेम
डाक्टर सम्बो एनडी, साउथ अस्ट्रेलियाको रिलेसन्सिप्स अस्ट्रेलियामा लाइफ कोच र काउन्सिलिङ टिम लिडरका रुपमा कार्यरत छन्।
उनका अनुसार, सकारात्मक परिवर्तनका लागि, सफल जीवन बाच्नमा आएका अवरोधहरूको पहिचान गर्नु पर्छ र यसको समाधान गर्नु पर्छ।
रिलेसन्सिप्स अस्ट्रेलिया इन साउथ अस्ट्रेलिया र द गुड लाइफ प्रोजेक्टले अफ्रिकन समुदायका पुरुष, महिला र युवाहरूलाई पारिवारिक र घरेलु हिंसाका बारेमा शिक्षा दिने काम गरिरहेको छ।
डाक्टर एनडी अस्ट्रेलियन जिन्दगीमा घुलमिल हुँदै गर्दा, समुदायका सदस्यहरूलाई एक अर्काको अनुभव र धारणाहरू साट्न पनि जरुरी रहेको बताउँछिन्।

एन्ड्रु किङ्ग, एक लेखकका साथै पुरुषहरूको कल्याणका विषयमा विज्ञता राख्छन्।
रूपान्तरित हुँदै गर्दा पछि, आफ्ना सन्तानले कसरी चिनुन वा सम्झना गरुन् भन्ने लाग्छ, यसका बारैमा पनि सोच्नु पर्नै किङ्गले सुझाव दिए।
किङ्गका अनुसार पुरुषहरूले आफू हुर्कंदै गर्दा, पुरुषप्रतिको समाजिक धारणाका आफ्ना भावनाहरूलाई अनुपयुक्त तरिकाले प्रकट गर्ने बताउँछन्।
पुरुषले आफ्ना भावनाहरू लुकाउन जानेका हुन्छन्, तर उमेर बढ्दै जादा, आफ्नो विचारहरू पोख्न जान्नु पर्छ, यो कमजोरी होइन्, यो त हिम्मत हो, अनि शक्तिका लक्षणहरू हुन र यसले अरु मानिसहरूसँगको सम्बन्धलाई बलियो बनाउँछ।एन्ड्रु किङ्ग
दबाएर राखिएका भावनाहरू एकदिन ज्वालामुखी जस्तै बिष्फोट हुन सक्ने किङ्गले बताए।
उनले महत्वपूर्ण छलफलमा बस्नु अघि अर्थपूर्ण सञ्चारका लागि यी कुराहरूमा ध्यान दिन आग्रह गरे।
- अरुको विचारलाई राम्ररी सुन्ने।
- आफ्नो विचार मात्रै राम्रो हो भन्ने भावनालाई त्याग्दै, अरुको विचारलाई पनि सम्मान गर्ने।
- आफ्नो सोच र भावनाहरूलाई स्वीकार गर्ने।
- शान्त भएर आफ्नो इनर्जीलाई केन्द्रित हुन मौका दिने।
- कुनै पनि महत्वपूर्ण संवाद गर्नु पूर्व शान्त बस्ने वा आराम गर्ने।
- संवाद अघि रक्सी वा अन्य त्यस्तै पर्दाथको सेवन नगर्ने।
संवेदनशिल गम्भिर परिस्थितिमा पुग्नु अगावै अन्य मानिसहरूसँग कुरा राख्न वा व्यवसायीक मानिसहरूको सहयोग लिनु पर्ने किङ्गको सुझाव छ।

प्रभावकारी सञ्चारका लागि अरुको कुरा राम्ररी सुन्ने र अरुको विचारलाई सम्मान गर्नुपर्छ।
त्यस बखत आफ्नो भावना र विचारलाई पनि स्वीकार गर्नुपर्छ।
डाक्टर एनडि पनि पारिवारिक हिसांलाई कलङ्कका रुपमा लिइए पनि, वास्तविक परिवर्तनका लागि सहयोगी र सुरक्षित वातावरणमा छलफल हुनु पर्ने बताउँछिन्।
पुरुषहरुका लागि मेन्सलाईन अस्ट्रेलियाले २४ सै घण्टा सहयोग सेवा उपलब्ध गराउँछ। यसका लागि १३०० ७८ ९९ ७८ मा सर्म्पक गर्न सकिन्छ।








