स्टुडेन्ट भिसामा अस्ट्रेलिया आउनको लागि होस्, वा यता आइसके पछि काम पाउनको लागि - अङ्ग्रेजी भाषा यहाँको जीवनमा हरेक कदममा चाहिन्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा छँदै छ। अङ्ग्रेजी सिक्ने धेरै तरिकाहरू छन् - जस्तै, 'ल्यान्ग्वेज क्लास', मोबाइल एपहरू, या बोल्दा बोल्दै हुने अभ्यास। तपाईँले भाषा परीक्षा अर्थात् 'ल्यान्ग्वेज टेस्ट' दिनु पर्छ कि पर्दैन भन्ने कुरा तपाईँको भिसा, पढाइ, काम लगायत पक्षहरूमा भर पर्छ।
मुख्य बुँदाहरू:
- तपाईँले नि:शुल्क एप र अनलाइन सामाग्रीहरू प्रयोग गरी आफ्नो समयमा अङ्ग्रेजी भाषा सिक्न सक्नु हुन्छ।
- अस्ट्रेलिया सरकारले नयाँ माइग्रेन्टहरूका लागि अडल्ट माइग्रेन्ट इङ्ग्लिस प्रोग्राम (एएमईपी) नामक निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ।
- टिभी हेर्दा सबटाइटलहरू पढ्ने गर्दा तपाईँलाई अस्ट्रेलियन एक्सेन्ट बुझ्न र स्थानीयहरूले प्रयोग गर्ने शब्दहरू सिक्न सजिलो हुन्छ।
आफ्नो पहिलो भाषा अङ्ग्रेजी नभए पछि फरर 'इङ्ग्लिस' बोल्न या बुझ्न सबैलाई सजिलो नै हुन्छ भन्ने छैन।
त्यो माथि अस्ट्रेलियाका स्थानीयहरूको उच्चारण अर्थात् 'अस्ट्रेलियन एक्सेन्ट', र उनीहरूले प्रयोग गर्ने केही शब्दहरू बुझ्न त सुरुसुरुमा सबैलाई अलि गाह्रै हुन्छ।
अस्ट्रेलिया सरकारको गृह मामिला विभागले यहाँ आएका नयाँ माइग्रेन्टहरूको लागि अडल्ट माइग्रेन्ट इङ्ग्लिस प्रोग्राम (एएमईपी) नामक इङ्ग्लिस सिक्ने निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ।
मार्सेला एगिलार त्यहाँ एक भोलन्टियर ट्युटर कोर्डिनेटर हुन्।
उनी भन्छिन् कि, अङ्ग्रेजी भाषा बोल्ने विषयमा धेरै माइग्रेन्टहरूको लागि सबैभन्दा ठुलो चुनौती भनेको चाहिँ, आफूले बोल्दा केही गल्ती हुन्छ कि, ‘सिल्ली' सुनिन्छ कि, भन्ने डर नै हो।
तर अप्ठेरो नमानी जति बोल्दै गयो, भाषामा त्यति सुधार आउने उनको भनाइ छ।
अङ्ग्रेजी भाषा औपचारिक रूपमा सिक्ने
एलिसन लेनन ल्याङपोर्ट्स इङ्ग्लिस ल्यानग्वेज कलेजकी डिरेक्टर अफ स्टडिज हुन्।
उनी भन्छिन् कि, हामीले एक अर्कासँग इङ्ग्लिसमा बोल्दा बोल्दै हाम्रो भाषा त सप्रिन्छ, तर राम्ररी सिक्नको लागि भने केही 'क्लास'हरू लिन या औपचारिक रूपमा सिक्न पनि एकदमै जरुरी हुन्छ।
अस्ट्रेलिया आएका माइग्रेन्टहरूले आफ्नो भिसा अनुसार अङ्ग्रेजी भाषाको परीक्षा दिनु पर्छ।
त्यस्तै, भिसा एप्लिकेसन हाल्दा पनि इङ्ग्लिस ल्यानग्वेज टेस्ट दिनु पर्ने अस्ट्रेलिया सरकारको नियम छ।
विभिन्न युनिभर्सिटी, टेफ, प्राइभेट कलेज, र ल्यानग्वेज सेन्टरहरूले आइएल्ट्स*, सीएइ*, र टोफेल* जस्ता मान्यता प्राप्त इङ्ग्लिस ल्यानग्वेज सर्टिफिकेट कोर्सहरू पढाउँछन्।

तपाईँले यी मध्य कुन टेस्ट दिनु पर्छ भन्ने कुरा चाहिँ, तपाईँ अस्ट्रेलियामा बस्नुको कारण, र कति लामो समयसम्म बस्न चाहनु हुन्छ, भन्ने जस्ता कारणमा भर पर्ने, इङ्ग्लिस ल्यानग्वेज इन्स्ट्रक्टर हेस्टर मअसटर्ट बताउँछिन्।
उनी भन्छिन् कि यहाँ घुमघामका लागि आएका मानिसहरूले सामान्य किसिमको इङ्ग्लिस ल्यानग्वेज कोर्स पढ्दा पनि हुन्छ, तर युनिभर्सिटीमा पढ्नका लागि फरक आवश्यकता हुन सक्छ।
"केही विद्यार्थीहरूलाई युनिभर्सिटीको लागि आइएल्ट्स चाहिन्छ। कसैले टेफ या युनिभर्सिटीबाट पाथवे प्रोग्रामहरू गर्छन्," उनले बताइन्।
स्टुडेन्ट भिसामा आउनेहरूका लागि फरक नियमहरू छन्।
उदाहरणको लागि, विद्यार्थीहरूले एक हप्तामा कम्तीमा पनि बीस घण्टा फेस टु फेस इङ्ग्लिस ल्यानग्वेज क्लासमा पढेको हुनु पर्छ।
ल्यानग्वेज स्कुलहरूमा विद्यार्थीको आवश्यकता अनुसार कक्षाहरू सञ्चालन हुन्छन्।
जस्तै, कसैेलाई भिसा परिवर्तन गर्नको लागि या युनिभर्सिटीको लागि आइएल्ट्स चाहिएको हुन सक्छ, र कसैलाई पाथवेको रूपमा इङ्ग्लिस ल्यानग्वेज टेस्ट दिनु पर्ने ल्याङपोर्ट्सकी लेननले बताइन्।
अडल्ट माइग्रेन्ट इङ्ग्लिस प्रोग्राम (एएमईपी)
अडल्ट माइग्रेन्टहरू र ह्युमानिटेरियन भिसामा आएका मानिसहरूका लागि अस्ट्रेलिया सरकारले देश भर अडल्ट माइग्रेन्ट इङ्ग्लिस प्रोग्राम (एएमईपी)का कक्षाहरू सञ्चालन गर्दै आएको छ।
एएमईपीको भोलन्टियर ट्युटर स्कीम अन्तर्गत कोर्डिनेटर रहेकी मार्सेला एगिलारले भाषा सिक्न पाउने मानिसहरूलाई उनीहरूको आवश्यकता अनुसार प्रशिक्षक अर्थात् ट्युटरको व्यवस्था मिलाउँछिन्।
"यसरी तपाईँले भाषा सिक्नुका साथ साथै नयाँ मानिसहरू चिनजान गर्न सक्नु हुन्छ।"मार्सेला एगिलार
तपाईँले आफ्नो ट्युटरसँग घरमा, लाब्ररीमा या कुनै पब्लिक ठाउँमा भेटेर प्रत्यक्ष सहयोग लिन सक्नु हुन्छ।
"म सबैलाई नाभिटास स्किल्ड फ्युचर्स कलेजको वेबसाइटमा हेर्न प्रोत्साहन गर्दछु। कुनै बाइलिङ्गुअल स्टाफसँग कुरा गर्नुहोस्, अनि तपाईँ योग्य हुनु हुन्छ भने ट्युटरको सुविधा पाउन सक्नु हुन्छ," उनले बताइन्।
"ट्युटरहरूले तपाईँलाई हरेक कदममा मद्दत गर्छन्।"

आफ्नो अङ्ग्रेजी सुधार्ने तरिकाहरू
मार्सेलाका केही सुझावहरू:
- टिभी हेर्दा सबटाइटलहरू पढ्दै हेर्नुहोस्। त्यसरी तपाईँले अस्ट्रेलियन एक्सेन्ट बुझ्न सक्नु हुन्छ, र स्थानीयहरूले प्रयोग गर्ने शब्दहरू पनि बुझ्नु हुन्छ।
- डुवोलिङ्गो, बिट्सबोर्ड, ओजेड फोनिक्स र बुक क्रीएटर जस्ता नि:शुल्क भाषा सिक्ने एपहरू डाउनलोड गर्नुहोस्।
- अडियोबुकहरू सुन्नुहोस्। यसरी तपाईँले आफूलाई मन पर्ने सामाग्रीहरू सुन्दै त्यही समयमा शब्दहरू कसरी उच्चारण गर्ने भनेर सिक्न सक्नु हुन्छ, र इङ्ग्लिस बोलेको बुझ्ने क्षमता पनि बिस्तारै बढ्दै जान्छ।
हेस्टर मअसटर्टका केही सुझावहरू:
- सुपरमार्केटमा सेल्फ-चेकआउटहरू प्रयोग नगर्नुहोस्। क्यासियर अर्थात् कर्मचारीलाई प्रत्यक्ष पैसा तिर्दा बोल्ने मौका पाउनु हुन्छ।
- ट्याक्सी वा उबर चढ्दा आफ्नो फोन चलाउनुभन्दा ड्राइभरसँग कुरा गर्नुहोस्।
- समुदायमा भोलन्टियर गर्ने र खेलकुद सम्बन्धी समूहमा भाग लिनुहोस्। मानिसहरूसँग चिनजान पनि हुन्छ, अनि इङ्ग्लिस बोल्ने बानी पनि बढ्छ।

अनलाइन सिक्ने सुविधा
इङ्ग्लिस सिक्नका लागि एबीसी र एसबीएसले पनि निःशुल्क अनलाइन सामाग्रीहरू उपलब्ध गरेका छन्।
एसबीएस लर्न इङ्ग्लिसका भिडियो, आलेख र पोड्कास्टहरू मार्फत तपाईँले अस्ट्रेलियन कल्चरको बारेमा सिक्दै, अङ्ग्रेजी सिक्न सक्नु हुन्छ।
संक्षिप्त बनाएर लेखिएका शब्दहरू
*इन्टरनेस्नल इङ्ग्लिस ल्यान्ग्वेज टेस्टिङ सिस्टम (आइएल्ट्स)
*केम्ब्रिज इङ्ग्लिस (सीएइ)
*टेस्ट अफ इङ्ग्लिस एज ए फोरेन ल्यान्ग्वेज (टोफेल)


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

