मुख्य बुँदाहरू
- बस्ने ठाउँ खोज्दै गर्दा पहिले आफ्नो बजेट र आफ्नो आवश्यकताबारे स्पष्ट हुनु पर्छ
- युनिभर्सिटीको नोटिस बोर्ड र सोसल मिडियामा आफ्नो भाषा प्रयोग गरेर सहयोग माग्न सकिन्छ
- आफ्नो कलेज र युनिभर्सिटी नजिक रहेका विद्यार्थी लक्षित आवासहरू खोज्ने
- युनिभर्सिटीको स्वामित्व रहेका स्थानहरूमा बस्दा सुरुवाती दिनहरूमा घुलमिल हुन सजिलो हुन्छ भने अन्य सहयोग पनि पाइन्छ
विद्यार्थीहरूले पढाइका लागि नयाँ स्थानमा जाने पक्का हुनासाथै बस्नका लागि उचित प्रबन्ध मिलाउन सुरु गर्नु पर्ने बताइन्छ।
बस्नका लागि कोठा खोज्दा आफ्नो बजेट, कलेज वा विश्वविद्यालयसँगको दुरी र आफ्नो जीवनयापन शैलीलाई समेत ध्यान दिनु पर्ने हुन्छ।
होम स्टे
भोएटिक भेभ्जेन्स्कि, अस्ट्रेलिया स्टडी नामक शिक्षा योजनामा सहयोग पुर्याउने संस्थाका डिरेक्टर हुन्।
उनले अस्ट्रेलिया आउँदै गरेका वा भर्खरै आएका विद्यार्थीहरूलाई बस्ने व्यवस्था गरिदिन सहजीकरण गर्ने गरेका छन्।
उनका अनुसार सामान्यतया यहाँ आएका विद्यार्थीहरू होम स्टेमा बस्ने गर्छन्।
“पहिलेदेखि नै चलेको र हामीले विद्यार्थीहरूलाई दिने पहिलो विकल्प भनेको, कुनै एक अस्ट्रेलियन परिवारसँग बस्ने– होम स्टे हो, यसमा सँगै बस्ने-खाने वा कोठा मात्र लिने विकल्प पनि हुन्छ, यो चाहिँ अस्ट्रेलियन संस्कृति जान्न चाहने वा एक्लै बस्ने बानी नपरेका अलि कम उमेरका विद्यार्थीहरूका लागि उचित हुन्छ। होम स्टेमा बस्दा सरदर हप्तामा ३५० डलर पर्न आउँछ,” भेभ्जेन्स्किले भने।
अस्ट्रेलियन होम स्टे नेटवर्क जस्ता वेबसाइट साथै अस्ट्रेलिया स्टडीले नै पनि विद्यार्थीहरूका लागि 'होस्ट फ्यामिली' खोज्न सहयोग गर्छन्।
पर्पस बिल्ट
होम स्टे बाहेक, पछिल्लो समय भने विद्यार्थीहरूलाई लक्षित गरेर बनाइएका, ‘पर्पस बिल्ट' भनेर चिनिने अपार्टमेन्टहरूको सङ्ख्या पनि बढ्दो छन्।
सार्वजनिक यातायात वा विश्वविद्यालय नजिक सहरी क्षेत्रका अग्ला भवनहरूमा यस्ता बस्ने स्थान भेट्टाउन सकिने भेभ्जेन्स्कि बताउँछन्।
उनका अनुसार व्यवस्थित रूपमा राखिएका यस्ता कोठाहरूमा दुई जना बस्दा सरदर २८० डलरदेखि ३०० डलर र एक्लै बस्दा ३५० डलरसम्म भाडा तिर्नु पर्छ।
यस्ता अपार्टमेन्टहरूमा अन्य बिल तथा मर्मत सम्भारको खर्च पनि जोडेर भाडा तोकिएको हुन्छ।
युनिलज, क्याम्पस लिभिङ भिलेजेज् र स्टुडेन्ट हाउजिङ्ग अस्ट्रेलिया जस्ता वेबसाइटहरूले यस्ता कोठाका आवेदनहरूलाई व्यवस्थापन गर्छन्।
यस बाहेक विद्यार्थीलाई सहयोग गर्ने अस्ट्रेलिया स्टडी जस्ता संस्थाहरू मार्फत पनि आवेदन दिन सकिन्छ।

सेयरमा बस्ने
विद्यार्थीले एक पटक अस्ट्रेलियामा आफूलाई घुलमिल गराइ सकेपछि भने, साथीहरूसँग वा एक्लै, घर वा अपार्टमेन्ट भाडामा लिएर आफूलाई सजिलो हुने विकल्प छान्न सकिन्छ।
भेभ्जेन्स्किका अनुसार, मिलेर बस्नका लागि ‘रुम-मेट’ खोज्ने बजार पनि अस्ट्रेलियामा ठुलै छ।
विद्यार्थीहरू माझ फ्ल्याट मेट डटकम डट एयु निकै प्रयोगमा रहेको उनले बताए।
“धेरै जस्तो अवस्थामा उनीहरू गएर कोठा हेरेर आफ्नो निर्णय लिन्छन्, भाडा चाहिँ ठाउँ र सिजन हेरेर फरक पर्छ,” उनले भने।
यसबाहेक, फ्ल्याट मेट फाइन्डर डटकम डट एयु र गमट्रि जस्ता वेबसाइट मार्फत पनि कोठा खोज्न सकिन्छ।
समुदाय र सोसल मिडियाका विभिन्न समूहहरूसँग जोडिएर 'सेयर हाउस' आफ्नो ठाउँ सुरक्षित गर्न सकिने बताउँछन् सिड्नी निवासी एस एम एमनुल इस्लाम रुबेल।
उनि बङ्गलादेशबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका हुन्।
आफ्नै अनुभव र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीको समस्या राम्ररी बुझेपछि, उनले एक फेसबुक ग्रुपको सुरुवात गरेका छन्।
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: लाइसेन्स कसरी बनाउने?
“उनीहरूले (विद्यार्थी) कसैलाई चिनेका हुँदैनन्, नयाँ देशमा उनीहरूका लागि संघर्ष हुन्छ, सबैभन्दा पहिला त उनीहरूलाई काम र बस्ने ठाउँकै खाँचो हुन्छ” एमनुलले भने।
“मेरो ठूलो नेटवर्क छ, जहाँबाट म नयाँ विद्यार्थीलाई बस्ने ठाउँ खोज्न मद्दत गर्छु...”
उनले आफूले चिनेका व्यक्तिहरूका माध्यमबाट घरधनी र विद्यार्थीलाई भेटाउने गर्छन्।
धेरै घर धनीहरूले विद्यार्थीहरूलाई भाडामा राख्न चाहने गरेको उनले पाएका छन्।
मसँग धेरै प्राइभेट रियल इस्टेटहरू छन् जसले भाडामा लिने मान्छेहरू खोजिरहेका हुन्छन् अनि मसँग धेरै विद्यार्थीहरु पनि छन् जो भाडाका घर खोजिरहेका छन्। र म उनीहरूलाई एक अर्कासँग भेटाउने प्रयास गर्छु।एस एम एमनुल इस्लाम रुबेल
उनले कोठा खोज्नका लागि आफूले पढ्ने ठाउँमा बनेको नेटवर्कको प्रयोग गर्न पनि सुझाव दिए।
भर्खरै आएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषा सम्बन्धी कठिनाइ हुने भएकाले आफ्नै भाषामा सहयोग माग्नु पनि महत्त्वपूर्ण भएको उनी बताउँछन्।
“यदि तपाईँ नयाँ हुनुहुन्छ भने पहिलो कुरा युनिभर्सिटीको नोटिस बोर्ड हुन्छ। त्यहाँ गएर आफ्नै भाषामा ‘म नयाँ हुँ, मलाई सहयोग चाहियो’ भनेर लेख्न सक्नुहुन्छ। त्यहाँबाट हिँड्ने अर्को मान्छेले आफ्नो भाषा देखेर के रहेछ भनेर पढ्छन्,” उनले भने।
र यसबाट सहयोग मिल्न सक्ने उनको भनाइ छ।
“त्यसैले यी स–साना समूहहरूसँग जोडिने जिम्मेवारी चाहिँ आफ्नै हुन्छ।”

युनिभर्सिटीकै होस्टेल
क्याम्पस भित्रै र यसको नजिकै पनि युनिभर्सिटीकै 'रेसिडेन्सिएल कलेज' वा अपार्टमेन्टहरू हुन सक्छन्। यस्ता आवासहरू विद्यार्थीहरूका लागि निकै सहयोगी हुने बताइन्छ।
क्यान्बरा स्थित अस्ट्रेलियन नेशनल युनिभर्सिटीकी डेप्युटि भाइस चान्सलर स्यालि ह्विलर भने अस्ट्रेलियामा पहीलोपटक पढ्न आउँदा, युनिभर्सिटीले उपलब्ध गराउने आवास गृह वा होस्टलमा बस्न सुझाव दिन्छिन्।
“नयाँ मानिसहरूसँग भेट्न र नयाँ वातावरणमा घुलमिल हुन यो राम्रो उपाय हो, र यति हुँदै गर्दा आफूलाई चाहिएको सहयोग पनि पाइन्छ। र त्यहाँ अस्ट्रेलियाको भिन्न परिवेशको बसाइलाई सजिलो बनाउन पनि सहयोग गरे कोही हुन्छ, जुन मलाई लाग्छ, व्यक्तिगत रूपमा बस्दा पाइँदैन।”
क्याम्पसले व्यवस्थापन गरेका यस्ता आवासहरूमा खानादेखि मनोरञ्जनका लागि सामूहिक स्थान र शैक्षिक सहयोग पनि त्यहिँ उपलब्ध हुन्छ।
रेसिडेन्सिएल कलेजको कोठा भाडामा लिँदा लाग्ने शुल्क भने युनिभर्सिटी अनुसार धेरै फरक हुन सक्छन्।
र तपाईँले यसका लागि प्रतिहप्ता ७०० डलर भन्दा बढी नै तिर्नु पर्ने हुन सक्छ। तर यसमा प्राय अन्य सेवा तथा सुविधाहरूको खर्चहरू पनि समावेश गरिएको हुन्छ।
सबै सुविधा सहित स्वतन्त्र रूपमा बस्न चाहनेका लागि यस्ता वासस्थान उचित हुने बताइन्छ।
यसका लागि आफू पढ्ने युनिभर्सिटी मार्फत आवेदन दिन सकिने ह्विलर बताउँछिन्।
क्याम्पस भित्र नै बस्ने व्यवस्था बाहेक, कतिपय युनिभर्सिटीहरूले, बिद्यार्थीहरुका लागि क्याम्पस बाहिर बस्ने व्यवस्था पनि मिलाइदिन सक्छन्।
यसका लागि अस्ट्रेलिया आउनु अघि वा आइसकेपछि आफ्नो युनिभर्सिटीलाई विश्वविद्यालय सम्पर्क गरेर व्यवस्था मिलाउन सक्छन्।
थप उपयोगी लिङ्कहरू







