एक राज्य वा प्रदेशबाट अर्कोमा (इन्टरस्टेट) बसाइँ सर्नेहरूको सङ्ख्या बढ्ने क्रममा रहेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार देशभित्रै जन्मेका तुलनामा विदेशमा जन्मिने मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने सम्भावना धेरै हुन्छ।
नयाँ देशमा सर्नु भनेको चानचुने कुरा पक्कै होइन।
झन् देश सरेर फेरी अर्को राज्य वा प्रदेश नै जाने निर्णय लिनुभयो भने त दुई-दुई पटक आफूलाई नयाँ ठाउँको व्यवस्था अनुसार ढाल्नुपर्ने हुनसक्छ।
बसोबास सेवा प्रदायक एम्स अस्ट्रेलियाका पब्लिक अफेअर्स म्यानेजर, लअरी नोवेल भन्छन् कि अस्ट्रेलिया एक सङ्घीय देश भएकाले यहाँ सबै राज्य तथा प्रदेशहरूका आ-आफ्नै प्रणाली, सेवा र कानूनहरू छन्।
त्यसैले, कुनै आप्रवासीले अर्को राज्य वा प्रदेशमा सर्दा, पहिलो चोटि अस्ट्रेलिया आउँदा जस्तै अनुभव गर्न सक्ने उनी बताउँछन्।
"आप्रवासीहरूले पहिलो पटक अस्ट्रेलियाको कुनै एक राज्य वा प्रदेशमा आइपुग्दा व्यवस्थित गरेका धेरै कुराहरू इन्टर स्टेट बसाइँ सर्ने बेलामा फेरि मिलाउनु पर्ने हुन सक्छ,” नोवेल भन्छन्।
यसरी बसाइँ सर्दाको चेक लिस्टमा सरकारी कार्यालयहरू, ब्याङ्क, तपाईँ बस्ने राज्य तथा प्रदेशको यातायात प्राधिकरण साथै अन्य सेवा प्रदायकहरूमा आफ्नो परिवर्तन भएको ठेगाना दर्ता गराउने कुराहरू राख्नु पर्छ।
लअरी नोवेल भन्छन् कि यो काम अनलाइनमा सजिलै गर्न सकिन्छ।

यसरी बसाइँ सर्दा आफ्नो साथीभाइहरूको लागि मात्र नभएर ब्याङ्क त्यस्तै कुनै भुक्तानीमा रहेको अवस्थामा सेन्टरलिङ्कमा पनि उनीहरूले आफ्नो ठेगाना परिवर्तन गर्नु पर्ने नोवेलको भनाई छ।
"यदि उनीहरू कुनै भिसामा रहेका छन् भने इमिग्रेसन डिपार्टमेन्टलाई पनि नयाँ ठेगानाबारे जानकारी गराउनु पर्ने हुनसक्छ। मेडिकेयरलाई तपाईँको हालको ठेगाना थाहा हुनुपर्छ र यो सबैमा लागू हुन्छ। साथै पहिले बसेको स्थानबाट नयाँ स्थानमा आफ्ना मेलहरू आउन भन्नका लागि नयाँ ठेगाना दिनेबारे पनि सोच्नुपर्छ," नोवेल भन्छन्।

पल्लवी ठक्कर भारतबाट आएपछि सिड्नीमा बस्न थालेकी थिइन्, तर करिअरका लागि मेलबर्न बसाइँ सरिन्।
आफूले नसोचेको खर्चका लागि 'मुभिङ बजेट' पनि राख्न उनले सुझाव दिएकी छिन्।
"एउटा राज्यबाट अर्को राज्यमा सर्नु ठुलो कदम भएकोले यसका लागि पनि बजेट छुट्ट्याउनु पर्ने सोच हुनु आवश्यक थियो। यसरी सर्दा हामीले झन्डै १० हजार डलर जतीखर्च गर्यौँ होला।“ उनले बजेट छुट्ट्याउनुको महत्व बारे भनिन्।
प्रत्येक राज्य तथा प्रदेशमा मोटर वाहन दर्ता र ड्राइभर लाइसेन्स सम्बन्धी आफ्नै निर्देशिका र नियमहरू रहेका कारण तपाईँले यस्ता कागजातहरू रूपान्तरण वा स्थानान्तरण गर्न आवश्यक हुन सक्छ।
अनि यसका लागि पनि तपाईँले केही रकम छुट्ट्याउनु आवश्यक हुन सक्छ।
नोवेल भन्छन् ड्राइभर लाइसेन्स परिवर्तनका लागि अधिकांश राज्य तथा प्रदेशहरूले तीन महिनाको समय दिने गर्छन्।
विशेष गरि मेलबर्न अलि फरक छ; किनभने त्यहाँको सडकमा ट्रामहरू चल्छन्। त्यसैले आफू बस्ने स्थानको विशेष सडक नियमहरूबारे थाहा पाउनु जरुरी हुन्छ। साथै, सार्वजनिक यातायातको प्रणाली, टिकटको व्यवस्था फरक हुन्छन्।लअरी नोवेल, पब्लिक अफेअर्स म्यानेजर, एम्स अस्ट्रेलिया
साथै फरक ठाउँमा सडक नियमहरू पनि फरक हुने उनको भनाइ छ।
हरेक पटक तपाईँले बसाइँ सर्दा, मतदाता नामावलीमा आफ्नो ठेगाना अपडेट गर्नुपर्छ, नत्र भने तपाईँको नाम हट्न सक्छ, र तपाईँ मतदान गर्न मिल्दैन।
अस्ट्रेलियामा नागरिकहरूले मतदान गर्नु अनिवार्य रहेकाले तपाईँ अस्ट्रेलियन नागरिक भएको खण्डमा मतदाता नामावली अद्यावधिक छ कि छैन भनेर बुझ्नु निकै जरुरी हुन्छ।
अस्ट्रेलियन इलेक्टोरल कमिसनले मतदाता नामावलीमा रहेका जानकारीहरू अपडेट गर्न विभिन्न विकल्पहरू दिने गरेको नोवेलको भनाइ छ।
तपाईँले अस्ट्रेलियन इलेक्टोरल कमिसनलाई बसाइ सर्नेबारे जानकारी दिएर नयाँ राज्य/प्रदेश पुगेपछि तपाईँले भोट हाल्न भोट हाल्न सक्षम हुनका लागि नयाँ ठाउँमा फेरि आफ्नो नाम दर्ता गराउनुपर्छ।लअरी नोवेल, पब्लिक अफेअर्स म्यानेजर, एम्स अस्ट्रेलिया
"प्राविधिक रूपमा, मतदान गर्न अनिवार्य छ, त्यसैले यदि तपाईँले योग्य हुँदा-हुँदै नाम दर्ता गर्नु भएन भने तपाईँले जरिमाना तिर्नु पर्ने हुनसक्छ," नोवेल भन्छन्।
अस्ट्रेलियाभर राष्ट्रिय पाठ्यक्रम अनुरूप पठन-पाठन हुन्छ।
यसले तपाईँ वा तपाईँका सन्तान देशको जुनसुकै कुनामा गए पनि शिक्षामा सबैको समान पहुँच हुन्छ।
तर एम्सका लअरी नोवेल भन्छन् कि स्कुलहरूको शैक्षिक क्यालेन्डर, पठन-पाठन हुने विषयहरूमा केही अन्तर हुन सक्छ र तिनको समायोजन गर्न तपाईँले मद्दत माग्न सक्नुहुन्छ।
"यदि तपाईँका बच्चाहरू वा कोही वयस्क पनि कुनै पढाइ वा ट्रेनिङका लागि भर्ना भएका छन् भने तपाईँ जाँदै गरेको स्थानको अनि नयाँ राज्य/प्रदेशको विशेष प्रणालीबारे जान्नु महत्त्वपूर्ण हुन्छ," नोवेल भन्छन्।
"जस्तै, राज्य/प्रदेश अनुसार स्कुल टर्म र बिदाको समयहरू फरक हुन्छन्। उनीहरूले फरक विषयहरू र पाठ्यक्रमहरू प्रस्ताव गर्छन् त्यसैले यसका बारेमा बुझ्न आवश्यक छ।“
सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: स्कूलका प्रकारहरू
पल्लवी ठक्कर बसाइँ सर्नु अघि आफ्नो बिमा कम्पनीसँग पनि कुरा गर्न सुझाव दिन्छिन्, किनभने फरक राज्यमा बिमाको लागि तिर्नु पर्ने रकम वा प्रिमियम साथै सेवा प्रदायकहरू पनि फरक हुन सक्छन्।
भिक्टोरियन कानून र नियमहरूको कारणले आफूहरूलाई स्वास्थ्य बीमा कम्पनीले बढी शुल्क लिएको उनको भनाई छ।
"एकै ठाउँमा आफ्ना सम्पूर्ण सेवा सञ्चालना गर्नेा कम्पनिहरूले अरू राज्य तथा प्रदेशमा त्यही सेवा दिन सक्छन् कि सक्दैनन् भनेर बुझ्नैपर्छ ,” ठक्कर भन्छिन्।
केही आप्रवासी परिवारहरू सहयोग उपलब्ध गराउने सञ्जाल वा सपोर्ट नेटवर्कहरूसँग जोडिन र आफू सरेर गएको नयाँ ठाउँको बारेमा बुझ्न समुदायमा रहेका सांस्कृतिक समूहहरूसँग घुलमिल हुन खोज्छन्।
ठक्करका लागि सामाजिक सञ्जालहरू व्यवहारिक सुझावहरू प्राप्त गर्न सहयोगी साबित भयो।

"मैले फेसबुकमा मेरो प्रश्न राखेँ र मानिसहरू पनि धेरै सुझावहरूका साथ आए। यो हाम्रो लागि धेरै महत्त्वपूर्ण थियो किनभने हामी सिटीको नजिकै बस्न खोजेका थियौं धेरै टाढाका सबर्बहरूमा जाने कुरै थिएन," ठक्कर भन्छिन्।
सामुदायिक फोरमहरू बाहेक पनि बसोबास सम्बन्धी सेवा प्रदायकहरू र माइग्रेन्ट रिसोर्स सेन्टरहरूले पनि सहयोग गर्न सक्ने नोवेलको भनाइ छ।
सरकारको अनुवाद तथा दोभाषे सेवा सित्तैमा लिन मिल्छ्। र त्यो पनि मानिसहरूले अनलाइनबाटैत पाउन्न सक्छन्। र यदि तपाईँले स्थानीय माइग्रेन्ट रिसोर्स सेन्टरहरू वा भिक्टोरियामा एम्स जस्ता संस्थाकहाँ जानु भयो भने, तिनीहरूले पनि यस्ता समस्याहरूमा सहयोग गर्न सक्छन्।लअरी नोवेल, पब्लिक अफेअर्स म्यानेजर, एम्स अस्ट्रेलिया
अस्ट्रेलियामा विश्वकै केहि कडा क्वारेन्टिन सम्बन्धी कानूनहरू रहेको बारे सम्झिनु महत्त्वपूर्ण छ र यो अर्को राज्य वा प्रदेशमा सर्दा पनि लागू हुन्छ।
यसरी बसाइँ सर्दा बोट बिरुवा, पशुजन्य उत्पादनहरू र निषेधित कृषिजन्य औजार तथा उपकरणहरूलाई साथमा नलान सुझाव दिइएको छ।
थप जानकारीका लागि अस्ट्रेलियन सरकारको इन्टरस्टेट क्वारेन्टिन वेबसाइटमा जानुहोस्।






