मुख्य बुँदाहरू:
- आवास सम्बन्धी वेबसाइटहरूबाट उपलब्ध रहेका घर वा अपार्टमेन्ट (रेन्टल प्रपर्टी) का बारे सजिलै थाहा पाउन सकिन्छ।
- एजेन्ट र घरबेटीहरूले तपाईँको विवरण माग गर्ने भएकाले आवेदन दिनु अघि सबै कागजात तयार गरे सजिलो हुन्छ।
- एजेन्टलाई सप्ताहन्त अगावै भेटेर आवेदनको प्रक्रिया र आफूलाई चाहिएको घर वा अपार्टमेन्ट बारे कुरा राख्नुहोस्।
- साथीभाई, नातागोता वा समुदायमा चिनजान भएका अरू मानिसहरूको पनि मद्दत लिनुहोस्।
भनिन्छ भाडामा बस्ने ठाउँ पाउन जागिर पाउन जत्तिकै मेहेनत गर्नुपर्छ।
यो भनाई हाम्रो होइन, रेन्ट डटकम डटएयु नामक घरभाडा खोज्न मिल्ने एक वेबसाइटका प्रमुख ग्रेग ब्याडरको हो।
“केही घरबेटी र एजेन्टहरू युवा मानिसलाई आफ्नो घर भाडामा दिन चाहँदैनन, अरूभने परिवार भएकाहरूलाई मात्र घर दिने मन भएका हुन्छन्,...” उनी भन्छन्।
“आम्दानी, जागिर जस्ता कागजात त चाहियो नै, अझ बाहिरबाट अस्ट्रेलिया आएकाहरूलाई त थप बाधा अड्चन भोग्नुपर्छ। उनीहरूका लागि सबैभन्दा ठूलो समस्या चाहिँ ‘रेन्टल हिस्ट्री’ वा पहिले भाडामा बसेको विवरण बुझाउनु हो।"
सामान्यतया कुनै पनि घर वा अपार्टमेन्टहरू १ वर्षको करार अवधिका लागि उपलब्ध हुन्छन् र प्राय गरेर फर्निचर आदी चाहिँ भाडामा बस्ने मानिस स्वयंले नै जोहो गर्नुपर्छ।
रेन्टल प्रपर्टीहरू बारे जानकारी आवास सम्बन्धि वेबसाइटबाट पाउन सकिन्छ।
अस्ट्रेलियामा रियलइस्टेट डट कम डट एयु, डोमेन डट कम डट एयु र रेन्ट डट कम डट एयु लगायतका वेबसाइटहरूले घरभाडाको साप्ताहिक दर, फोटोहरू र ती प्रपर्टी कहिले हेर्न जान मिल्छ भनेर जानकारी दिन्छन्।

इन्स्पेक्सन भनिने घर वा अपार्टमेन्ट हेर्न जान १० देखि १५ मिनेट समय निर्धारण गरिएको हुन्छ र सप्ताहन्त वा विकेन्डहरूमा थुप्रै मान्छेहरू एकैसाथ जम्मा हुने भएकाले भिड पनि सोही अनुसारको हुन्छ।
अस्ट्रेलियाभर ८००,००० भन्दा बढि रियल इस्टेट एजेन्टहरू रहेको बताइँदै गर्दा ब्याडर भन्छन् कि उनीहरू काम गर्ने संस्था पिच्छे आवेदन प्रकिया पनि फरक छ।
“एउटै प्रकिया नभए पनि, फोटो आइडी, पासपोर्ट, आम्दानी सम्बन्धी कागजात प्राय गरेर चाहिन्छ कहिले काहीँ भने अस्ट्रेलियाली बैङ्कको स्टेटमेन्ट पनि पनि माग्न सकिन्छ,” उनले भने।
“पहिलेका घरधनीले (वा रियल इस्टेट एजेन्टले) दिने रिफ्रेन्सको ठूलो महत्त्व छ।, यस बाहेक तपाईँको चरित्र सम्बन्धी क्यारेक्टर रिफ्रेन्स त सामान्य कुरा भइहाल्यो।”
एजेन्टले सबै आवेदकका कागजपत्रलाई ध्यान दिएर हेर्ने भएकाले घर भाडामा लिन चाहनेले यसबारे तयारी पहिल्यै गर्दा सजिलो हुन्छ।
तपाईँसँग रेन्टल हिस्ट्री वा अस्ट्रेलियामा पहिले भाडामा बसेको कुनै इतिहास छैन भने एजेन्टलाई यसबारे सुरूदेखि नै स्पष्ट पार्नुपर्छ।
तपाईँले अस्ट्रेलियामा कहिल्यै कोठा,घर वा अपार्टमेन्ट भाडामा लिएर बस्नुभएको छैन भने एजेन्टले अरू आवश्यक जानकारीहरु माँग्न सक्छन्।

मेलबर्न निवासी निक एक सानो व्यवसायका मालिक हुन्।
बीस वर्षसम्म आफ्नै घरमा बसेपछि उनलाई भाडामा बस्ने घर आवश्यक पर्यो।
आफूलाई चिनाउँदै आफ्नो समस्या बारे स्थानिय एजेन्टलाई इमेल गर्दा घर भाडामा पाउन सजिलो भएको उनको अनुभव छ।
आफ्नै व्यवसाय भएकाले उनलाई आम्दानीको विवरण बुझाउन पनि गाह्रो भएन।
यसका लागि आफू ट्याक्स रिटर्न गरेपछि पाइने पत्र उक्त एजेन्टलाई बुझाएको उनको भनाई छ।
ब्याडर पनि निक जस्तै एजेन्टलाई सिधै सम्पर्क गर्दा सजिलो हुने बताउँछन्।
“इन्स्पेक्सनका बेला त उनीहरू(एजेन्टहरू) पनि व्यस्त हुन्छन्,नि! बरू साताको बिच तिर एजेन्टलाई भेटेर आफूलाई चिनाउनुभयो, आफ्नो अवस्थाका बारेमा बुझाएर आफू उत्साहित रहेको कुरा देखाउन सक्नु भयो भने तपाईँको काम बन्न सक्छ!,” उनले भने।
अनलाइनबाट आवेदन दिनु पर्ने व्यवस्था छ भने एजेन्ट वा घरभाडा बारे जानकारी दिने वेबसाइटले तपाईँलाई सोही अनुसार बताउनेछन्।
सजिलो हुने भएता पनि ग्रेह ब्याडर चाहीँ एजेन्टसँग सम्बन्ध बनाउन जोड दिन्छन्।
“अब अहिले घर भाडामा पाउन यति प्रतिस्पर्धा गर्नु पर्ने भइसक्यो कि, तपाई इन्स्पेक्सनमा जाँदा, एजेन्टलाई कुन तरिका बाट आवेदन दिँदा ठिक हुन्छ भन्ने बारेमा सोध्ने पर्छ ” उनले भने,
“उनीहरुलाई फोन, इमेल, अनलाइन जस्ता विभिन्न तरिकाबाट आवेदन आउँछन्। कम्तीमा पनि आफ्नो नाम घर भाडामा लिने सम्भावित मानिसहरूको सूची छ भन्ने कुरा एजेन्टसँग कुरा गरेर पक्का गर्नुहोस्।”

दोस्रो पटक घर भाडामा लिँदा भने अनलाइनमा गएर आवेदन पनि दिनु नपरेको निकको भनाई छ।
आफ्नो अवस्था बद्लिएर उनलाई ठूलो घर आवश्यक भएपछि सिधै एजेन्टलाई सम्पर्क गर्दा नयाँ ठाउँ आफूले पाएको उनी बताउँछन्।
यसरी निक अहिले बसिरहेको घर उपलब्ध हुने बित्तिकै भित्र-भित्रै भाडा लागेकाले त्यसको विज्ञापन पनि कतै भएन।
ग्रेग व्याडर पनि घर भाडाका लागि प्रमुख वेबसाइटहरूको विकल्प रहेको मान्छन्।
लोकप्रिय सामाजिक सञ्जाल यस्तै एक विकल्प रहेको उनको भनाई छ।
तर यसरी घर खोज्दा स्क्यामरहरुको बारेमा भने सचेत रहन उनी आग्रह गर्छन्।
विज्ञापन गरिएको वास्तविक मालिक आफूसँग सर्म्पकमा आएको व्यक्ति हो कि होइन भन्ने बारेमा स्पष्ट नभइकन पैसा पठाउने काम नगर्न उनले सुझाव दिए।
यसबाहेक तपाईँले बस्न चाहेको ठाउँमा बस्ने समुदाय र चिनजानका अन्य मानिसहरूसँग पनि उक्त स्थान बारे बुझ्न पनि उनी सुझाव दिन्छन्।
यो पनि पढ्नुहोस

अस्ट्रेलियामा बसोबास: चाइल्डकेयर








