मुख्य बुँदा:
- अस्ट्रेलियामा सरकारी कोषबाट चल्ने सञ्चारमाध्यम अस्ट्रेलियन ब्रोडकास्टीङ्ग कर्पोरेसन (एबीसी) र स्पेसल ब्रोडकास्टीङ्ग सर्भिस (एसबीएस) हुन्।
- सार्वजनिक सेवाका रूपमा एसबीएस र एबीसीले करदाताबाट जम्मा भएको कोषबाट बजेट प्राप्त गर्छन्।
- सार्वजनिक सञ्चारमाध्यमहरू राज्य नियन्त्रित मिडिया भन्दा फरक हुन्छन्।
- अस्ट्रेलियामा विज्ञापन वा स्पोनसरसिपबाट चल्ने व्यावसायिक एवम् सामुदायिक सञ्चारमाध्यमहरू पनि अस्तित्वमा छन्।
प्रेस स्वतन्त्रता र सञ्चार माध्यमहरूको विविधता, स्वस्थ लोकतन्त्रका विशेषताहरू हुन्।
सरकारको हस्तक्षेप, प्रतिशोध वा बिना डर, स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्ने, सूचना प्राप्त गर्ने वा प्रकाशित गर्ने अधिकार लोकतन्त्रमा हुन्छ।
संविधान मार्फत प्रेस स्वतन्त्रताको ग्यारेन्टी नदिलाइएको भए पनि, अस्ट्रेलिया वर्ल्ड प्रेस फ्रिडम इन्डेक्सको स्वतन्त्रताको अनुभूत गरिरहेका मुख्य ४० मुलुक भित्र पर्दछ।
अस्ट्रेलियामा सामुदायिक र व्यवसायीक मिडियाहरूको उपस्थितिकाबिच, अस्ट्रेलियन ब्रोडकास्टीङ्ग कर्पोरेसन (एबीसी) र स्पेसल ब्रोडकास्टीङ्ग सर्भिस(एसबीएस) चाहिँ करदाताको कोषबाट सञ्चालित छन्।
निजी स्तरमा सञ्चालित मिडियाहरूले आफ्ना विज्ञापनदाताको हितमा काम गर्नु पर्ने र उनीहरू प्रति जबाफदेही हुनुपर्ने भए पनि सार्वजनिक प्रसारकहरू भने आफूलाई पालनपोषण गर्ने जनता र समुदाय प्रति जबाफदेही हुनु पर्दछ।

सार्वजनिक सञ्चारमाध्यम भनेका के हुन?
सार्वजनिक सञ्चार माध्यमले आम सर्वसाधारणको हितमा ध्यान राखेर सूचना, समाचार, जानकारी र मनोरञ्जन प्रदान गर्नु पर्दछ।
उनीहरूको काम सही रूपमा समाजलाई सूचित गर्नु हो।
ती संस्थाहरूबाट प्रेषित वा प्रकाशित हुने समाचार सेवाहरू सन्तुलित, भरपर्दो र सम्पादकीय रूपमा स्वतन्त्र हुनुपर्दछ।
यसको मतलब सार्वजनिक सञ्चार माध्यमका पत्रकारहरूलाई सरकार र राजनीतिक दलहरूका बारेमा छानबिन गर्न, प्रश्न वा आलोचना गर्ने अधिकार हुन्छ।
सार्वजनिक सञ्चार माध्यमहरूले कुन विषयमा रिर्पोटीङ्ग गर्ने र कसरी प्रस्तुत गर्ने भन्ने बारेमा स्वतन्त्र रूपमा निर्णय लिन सक्छन्।
“विश्वसनीय हुनका लागि घटनाहरूलाई बुझेर, निष्पक्ष रूपमा चिरफार गर्नु पर्दछ, निष्पक्षता भनेको...सत्यता हो, जिम्मेवारी पूर्वक लिइएको शक्ति हो,” अस्ट्रेलियाको पब्लिक मिडिया एलाइन्सका प्रमुख कार्यकारी क्रिस्टीयन पोर्टर बताउँछन्।
सार्वजनिक सञ्चार माध्यमहरू सरकारी वा व्यवसायीक हस्तक्षेपबाट मुक्त हुनुपर्दछ। उनीहरू माथि एक स्वतन्त्र नियामक निकायबाट निरीक्षण हुनु पर्दछ र समाजका सबै मानिसलाई सम्बोधन हुने गरी निष्पक्ष समाचार र गुणस्तरीय सामाग्री प्रदान गर्नुपर्दछक्रिस्टीयन पोर्टर, प्रमुख कार्यकारी, पब्लिक मिडिया एलाइन्स
सार्वजनिक मिडियाका अन्य महत्त्वपूर्ण काम भनेको सार्वजनिक बहसलाई बढवा दिने, र व्यापक समुदायको विविध आवश्यकता र दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने हो।
यस बाहेक उनीहरूका आवाज समेट्ने गरी कार्यक्रमका ढाँचा निर्माण गर्ने पनि हो।
“सार्वजनिक मिडिया सङ्कटको समयमा जानकारीको भरपर्दो श्रोत हुनु पर्दछ भने, गलत सूचना वा जानकारीहरू सम्प्रेषण भइरहेका बेला त्यसलाई चुनौती दिन सक्नु पर्दछ,” पोर्टर भन्छन्।
“ति सञ्चार माध्यम विश्वभर उपलब्ध हुनुपर्दछ, उनीहरू विविध समुदायमा पुग्न सक्नुपर्दछ र विशेष गरी निर्वाचनका बेला, लोकतन्त्र के हो भन्ने बारेमा जानकारी दिन सक्नुपर्दछ।”
लोकतन्त्रको स्तम्भका रूपमा खडा हुँदै गर्दा, र सर्बसाधारणको करबाट सञ्चालित रहँदा,सार्वजनिक सञ्चार माध्यमले आफ्नो आम्दानी, व्यवस्थापन र खर्चका बारेमा सूचना सार्वजनिक गर्नुपर्दछ।
सार्वजनिक सञ्चार संस्थाहरू राज्य नियन्त्रित मिडिया भन्दा फरक हुन्छन्, प्राय अधिनायकवादी शासन सत्ता रहेका मुलुकमा रहेका यस्ता सञ्चार माध्यमलाई सरकारी कोष प्राप्त हुन्छ र उनीहरू सरकारका मतियार हुन्छन्।
“त्यस्ता मिडियाको उद्देश्य जुन सरकार आउँछ उसैको आवाज बन्ने हो,” युनिभर्सिटी अफ टेक्नोलोजीका पत्रकारिता कार्यक्रमकी पूर्व प्रमुख विन्डी बेकनले भनिन्।
यस प्रकारका सञ्चार माध्यमले प्राय सरकारी प्रचार प्रसार, लोकप्रिय र राष्ट्रवादी सामग्रीहरू प्रस्तुत गर्छन्।
“यो चाहिँ स्वतन्त्र प्रसारकहरूको विचार भन्दा फरक हुन्छ, जहाँ कोष एक प्रकारको अनुदानका रूपमा जनताबाट आउँछ, तर यसले समाचारको मूल्य, र समाजलाई के सेवा दिन सकिन्छ भनेर स्वतन्त्र रूपमा विचार गर्न सक्छ,” उनले भनिन्।
उनका अनुसार सम्पादकीय स्वतन्त्रता सार्वजनिक सञ्चार माध्यमलाई ग्यारेन्टी गरिनु पर्छ।
“उदाहरणका लागि अस्ट्रेलियाका सञ्चार मन्त्रीको सार्वजनिक प्रसारकहरूमा नियन्त्रण छैन, जहाँ राज्य नियन्त्रित मिडिया हुन्छ, त्यहाँ मन्त्रीले प्रत्यक्ष निर्देशन दिन सक्छन्,” बेकनले भनिन्।
एसबीएस र एबीसीको भूमिका
जसका माध्यमबाट प्रकाशित वा प्रसारित हुने सामाग्रीहरू निष्पक्ष र सन्तुलित हुन्छन्।
यी दुई सञ्चार माध्यम मध्ये एबीसी ठुलो संस्था हो भने यसका दर्जनौँ क्षेत्रीय र अन्तर्राष्ट्रिय ब्युरोहरू छन्।
अस्ट्रेलियाका सबैजसो मुख्य सहरहरूमा यसका कार्यालय र स्टुडियोहरू छन्।
श्रोता, दर्शक र पाठकका भिन्ना भिन्नै रुचिलाई ध्यानमा राख्दै एबिसिले रेडियो र टिभी सञ्चालन गर्दछ।
गुणस्तरीय पत्रकारीताका लागि परिचित एबीसीले, समाचार वा बालबालिकाका मनोरञ्जनका लागि समर्पित टिभी च्यानलहरू समेत प्रसारण गर्दछ।
सङ्कटका बेला जनतालाई सूचित गर्ने, तयारीका बारेमा शिक्षित गर्ने र अद्यावधिक जानकारीहरू दिने काम एबीसीले गर्दछ।
“हालैका बर्सहरूमा एबीसीले यस्ता कार्यलाई बढाएको छ, जलवायु परिवर्तनका कारण हुने मौसमी घटना, आगलागी, बाढी जस्ता चीजमा आफ्नो भूमिकालाई बढाएको छ,” एबीसीका समाचार विश्लेषण र अनुसन्धानका पूर्व निर्देशक गेभेन मोरिसले बताए।

यता एसबीएस भने अस्ट्रेलियाको बहु सांस्कृतिक र बहु भाषिक राष्ट्रिय सार्वजनिक सञ्चार माध्यम हो।
एबीसीले जस्तै सेवा दिने भए पनि, यसका टेलिभिजन च्यानलहरूमा अन्तर्राष्ट्रिय सामाग्रीका साथै अङ्ग्रेजी लगायत अन्य विभिन्न भाषामा समाचारहरू प्रकाशित हुन्छन्।
अङ्ग्रेजी पहिलो भाषा नभएका मानिसहरूका लागि उनीहरूका आफ्नै देशका सूचना र मनोरञ्जन एसबिएसले प्रस्तुत गर्दछ।
एसबीएसले आदिवासी टेलिभिजन, एनआइटिभी पनि सञ्चालन गर्दछ, जसका सामाग्रीहरू आदिवासी समुदायका परिपक्ष्यलाई ध्यानमा राख्दै निर्माण गरिएका हुन्छन्।

सुरुमा एसबीएसको स्थापना आप्रबासिहरुलाई स्वास्थ्य सेवा कहाँ लिन सकिन्छ भनेर जानकारी दिनका लागि भएको हो।
सन् १९७० को मध्य तिर प्रसारण सुरु गरेको एसबीएसले सुरुमा सरकारी अनुदानमा दुई वटा भाषामा र ८ वटा अन्य भाषामा स्वयंसेवकहरुको मद्दतले कार्यक्रम सञ्चालन गरेको थियो।
यति बेला एसबीएस निकै ठुलो भइसकेको छ, यहाँ ६० भन्दा बढी भाषामा रेडियो कार्यक्रम, डिजिटल समाचार र पोडकास्टहरु प्रसारण हुन्छन्।
सेटलमेन्ट गाइड पनि यसको एक भाग हो।
“यो अस्ट्रेलियामा विभिन्न भाषा बोल्ने मानिसहरूका आवश्यकताहरू प्रति लक्षित छ, यो सेवा अस्ट्रेलिया, यहाँको सरकार, कर्मचारीतन्त्र, विद्यालय प्रणाली, आपतकालिन प्रणाली जस्ता चिजहरूलाई कसरी काम गर्छन् भन्ने कुरालाई राम्ररी बुझ सकुन् भन्ने उद्देश्यले सञ्चालित छ,” एसबिएस अन्तर्गतको अडियो एवम् भाषा सामाग्रीका निर्देशक डेभिड हुवाले भने।

अस्ट्रेलियामा व्यवसायीक मिडिया
लोकतान्त्रिक मुलुकमा व्यावसायिक मिडियाको पनि उत्तिकै आवश्यकता रहेको हुन्छ।
सार्वजनिक एवम् व्यावसायिक सञ्चार माध्यमहरूमा कार्यरत पत्रकारहरूको ठुलो सङ्गठन मिडिया, इन्टरटेनमेन्ट र आर्ट्स अलाइन्सकी मिडिया विभाग निर्देशक क्यासि डेरिक व्यवसायीक मिडियाको भूमिका महत्त्वपूर्ण रहेको तर्क गर्छिन्।
“या त यो अलि फरक हुन सक्छ, या त यसले फरक धारणा प्रस्तुत गर्न सक्छ, मलाई लाग्छ कि अस्ट्रेलियामा बस्नेहरूले फरक दृष्टिकोणबाट प्रस्तुत हुने कथा सुन्ने अवसर पाउनु पर्छ,” उनले भनिन्।
प्रोफेसर विन्डी बेकनसँग पनि सार्वजनिक र व्यावसायिक मिडियामा काम गरेको अनुभव छ।
उनका अनुसार, व्यवसायीक मिडियाका केही सामाग्रीले सार्वजनिक चासोमा निकै राम्रा विषयहरू उठान गरे पनि, उनीहरूका अधिकांस सामाग्रीहरू पाठक, दर्शक वा श्रोताको ठुलो हिस्सालाई आकर्षित गर्ने र त्यसबाट राजस्व बढाउन डिजाइन गरिएका हुन्छन्
व्यवसायीक मिडियाको मुख्य ध्यान भने जतिसक्दो पैसा कमाउने नै हुन्छ, उनीहरूका विज्ञापनदाताले, कार्यक्रमले धेरै मानिसको चासो सिर्जना गरेको छ भने मात्र विज्ञापन दिन्छन्प्राध्यापक विन्डी बेकन
अस्ट्रेलियामा निजी स्तरबाट सञ्चालित थुप्रै मिडियाहरू छन्।
तर मुर्दोच परिवारको न्युज कर्प, सेभेन वेस्ट र नाईन जस्ता समूहहरूको मिडियामा वर्चस्व बढी छ।
यी संस्थाहरूले टेलिभिजन, रेडियो र पत्रपत्रिकाको घरेलु बजार कब्जा गरेका छन्।
“प्राय व्यवसायीक मिडिया आउटलेटहरुका नीतिहरू उनीहरूका मालिकमा भर पर्छन्, निश्चित समाचारहरूमा पत्रकारले कस्तो दृष्टिकोण राख्ने भन्ने कुरामा मालिकहरूको हात हुन्छ, केही देशहरूमा प्रेसले धेरै हदसम्म दक्षिणपन्थीलाई समर्थन गरेको देखिन्छ,” पब्लिक मिडिया एलायन्सका प्रमुख कार्यकारी अधिकृत क्रिस्टियन पोर्टरले भने।

पोर्टरका अनुसार विभिन्न धरणाहरु समेट्न पनि मिडिया विविधता महत्त्वपूर्ण रहन्छ।
“एउटै मालिकको हातमा धेरै मिडियाहरूको स्वामित्व हुँदा, खतरनाक हुन सक्छ, मिडियामा एकाधिकार हुँदा, सार्वजनिक सञ्चार माध्यमको अनुपस्थितिमा तपाईँको मिडिया परिदृश्य कस्तो हुन्छ, देखिन्छ भन्ने कुरा गौण हुन्छ,” उनले भने
“समाचारहरू कस्ता देखिन्छन् त? के समााचारहरुलाई एउटा निश्चित नजरीयाबाट मात्र हेरिन्छन्, तर त्यहाँ एबीसी र एसबीएस जस्ता संस्थाहरू छन् जसले निष्पक्ष र विश्वासिलो रूपमा जनताको आवाज प्रस्तुत गर्दछन्।”
दि पब्लिक मिडिया एलाइन्स सार्वजनिक सञ्चार माध्यमहरूको विश्वकै सबैभन्दा ठुलो सङ्गठन हो, जसले सार्वजनिक मिडिया र पत्रकारीताका मूल्यहरूको वकालत गर्दछ।
एलाइन्समा बीबीसी, पीबीएस, एनपीआर लगायत एसबीएस र एबीसी पनि समावेश छन्।







