एटार विद्यार्थीको समग्र शैक्षिक उपलब्धिको मानक हो।
यसले सोही उमेरका विद्यार्थी माझ सापेक्ष स्थितिलाई सङ्केत गर्छ भने विश्वविद्यालयबाट कसले प्रस्ताव पाउँछ भन्ने कुराको निर्धारण पनि गर्दछ।
अस्ट्रेलियाको शिक्षा प्रणाली राज्यहरूको व्यवस्था अनुरूप छ। प्रत्येक राज्यमा विश्वविद्यालय भर्ना केन्द्रहरूले दश वटा शैक्षिक इकाईहरूको मापन गरी त्यसबाट निस्कने योगफलका आधारमा निष्कर्ष निकाल्ने गर्दछन्।
मुख्य बुँदाहरु:
- राज्य अनुसार विश्वविद्यालय भर्ना केन्द्रले विद्यार्थीहरूमा एटार प्राप्त गर्नका लागि आ-आफ्नै योग्यताहरू तोकेका छन्।
- देशैभरका औसत एटारको स्कोर सामान्यतया ७०.०० हो, जबकि यसको पूर्ण स्कोर ९९.९५ हो।
- केही विश्वविद्यालयहरूले विद्यार्थी भर्नाका लागि प्रारम्भिक प्रवेश योजना वा स्थानान्तरण जस्ता वैकल्पिक मार्गहरू प्रस्ताव गरिरहेका हुन्छन्।
किम पाईनो, युनिभर्सिटीज एड्मिसन सेन्टर (युएसी) मा व्यापार प्रवर्धन र सामुदायिक सहभागिता विभागकी प्रबन्धक हुन्।
उनका अनुसार आफ्नो उमेर समूहका अन्य विद्यार्थीसँग तुलना गर्दा कुनै पनि विद्यार्थीको शैक्षिक स्तर कस्तो छ भनेर एटार अङ्कले बताउँछ।
“एटार एउटा श्रेणी हो, प्राप्त गरेको अङ्क होइन, र यो केवल विश्वविद्यालय प्रवेशका लागि मात्र प्रयोगमा आउँछ,” पाईनोले भनिन्।

एटारका लागि योग्यता
एटार प्राप्त गर्नका लागि भिक्टोरियाका विद्यार्थीहरूले भीसीइ भनिने भिक्टोरियन सर्टिफिकेट अफ एजुकेसन प्राप्त गर्नु पर्दछ।
टास्मेनियामा भने टर्सियरी इन्ट्रान्स (टीइ) मा प्राप्त गरेको अङ्कले एटार निर्धारण गर्छ।
यस्तै, न्यु साउथ वेल्समा भने युएसीले माध्यमिक तहको परीक्षा - हाई स्कुल सर्टिफिकेट (एचएससी) सकिएपछि विद्यार्थीहरूलाई एटार अङ्क प्रदान गर्दछ।
पाईनो भन्छिन् कि सबै राज्यहरूको आफ्नै शिक्षा प्रणाली र एटार गणना गर्ने आ-आफ्नै तरिका भए पनि, विभिन्न राज्यहरूमा एउटै एटार लागु गर्नका एक उपयुक्त प्रक्रिया रहेको छ।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास:'एटार' के हो र यो किन महत्त्वपूर्ण छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एटार तयार पार्नको लागि विश्वविद्यालय भर्ना केन्द्रहरूले विद्यार्थीले कक्षा ११ र १२ का कार्यहरूमा कस्तो प्रस्तुति गरेको भनी ध्यान दिने, पाईनोले बताइन्।
उनका अनुसार विश्वविद्यालय भर्ना केन्द्रहरूका भने एटार सम्बन्धी आ-आफ्नै योग्यता मापदण्डहरू हुन्छन्।
निकोल लेनुवार–जोर्डन सिड्नीकी बासिन्दा हुन्। केही वर्ष अघि आफ्ना छोरा र उनका साथीहरूले १२ कक्षा पास गरेको समय उनलाई स्पष्ट याद छ।
“धेरैका लागि एटार भनेको उनीहरूको सोचेको वा सपना देखेको विषय पढ्न पाउनका लागि आधार हो,” उनले भनिन्।
धेरै विद्यार्थीहरूले आफूले नचाहेका गणित र भौतिक शास्त्रका विषय पनि छान्न बाध्य हुन्छन् किनकि तिनलाई मापन गरिएको हुन्छ, उनीहरू आफूले चाहेको विषय पढ्नका लागि निकै मिहिनेत गरेर जतिसक्दो धेरै एटारमा अङ्क ल्याउने कोसिस गर्छन्।
एटार कसरी गणना गरिन्छ त?
युएसीकी किम पाईनो भन्छिन् कि यदि माध्यमिक विद्यालयमा भर्ती सबै विद्यार्थीहरू विश्वविद्यालय जाने भए औसत एटार अङ्क ५०.०० हुन्थ्यो, तर वास्तविकता त्यस्तो नभएकाले, औसत एटार ७०.०० को हाराहारीमा छ।
एटारको गणना एक विशेष मापन प्रक्रियाबाट हुन्छ। दुई हजार पूर्णाङ्कमा ९९.९५ देखि ०.०० प्रतिशतसम्म ०.०५ का दरले एटारको गणना गरिन्छ।
कुनै विद्यार्थीको एटार ८०.०० छ भने, उक्त विद्यार्थी उसको उमेर समूहमा कक्षा १२ मा पहिलो २० प्रतिशतमा उभिएका छन् भनेर बुझिन्छ।

लेनुवार-जोर्डन हाल युनिभर्सिटी अफ न्यु साउथ वेल्सबाट मास्टर्स अफ टिचीङ्ग विषय पढ्दै छिन्। उनी भन्छिन् कि जसरी एटारको गणना गरिन्छ, यो बुझ्न अलि गार्हो छ।
“मैले धेरै शिक्षकहरूलाई सोधेकी छु र सबैको जवाफ अलि अस्पष्ट छ - मतलब, यो जटिल र प्राविधिक छ," उनले भनिन्।
एटार प्राप्त गर्न विद्यार्थीहरूले अनलाइनमा दर्ता हुनुपर्छ र १२ कक्षाका विद्यार्थीका लागि यो निकै सजिलो प्रक्रिया रहेको पाईनो बताउँछिन्।
“उनीहरूले गर्नु पर्ने भनेको आफूले चाहेको विषयको चयन गर्ने र शुल्क तिर्ने हो,” उनले बताइन्।
विश्वविद्यालय भर्नाका लागि वैकल्पिक मार्ग
निकोल लेनुवार–जोर्डन भन्छिन् कि विद्यार्थीका लागि अन्तिम परीक्षा र हाई स्कुलबाट स्नातक हुने बेला उच्च अङ्क ल्याउन गर्नु पर्ने प्रयास निकै तनावपूर्ण हुनसक्छ।

केही विश्वविद्यालयले प्रारम्भिक प्रवेश योजना, डिग्रीको स्थानान्तरण जस्ता सुविधा दिएर वैकल्पिक बाटाहरू पनि खोलिदिएका हुन्छन्।
“अन्य विकल्पहरू सधैँ हुन्छन् - यदि तपाईँले मेडिसिन पढ्नका लागि चाहिने अङ्क ल्याउनु भएन भने तपाईँले विज्ञानको अर्को एउटा डिग्री लिएर मेडिसिन पढ्न सक्नुहुन्छ।”
“कानुन पढ्नका लागि योग्य हुनु भएन भने कला विभागको कुनै एक विषय पढेर कानुन विषय पढ्न आउन सक्नुहुन्छ," उनले भनिन्।
एटारका लागि आवेदनहरू खुलेका छन् कि छैनन्, र अङ्क पाउने प्रक्रिया तपाईँको लागि कसरी काम गर्ने छ भनी थाहा पाउनको लागि, तपाईँले आफ्नो राज्यको विश्वविद्यालय भर्ना केन्द्रसँग कुरा गर्नु सक्नु हुन्छ।
निम्नलिखित वेबसाइटहरूमा गई जानकारी प्राप्त गर्न सक्नु हुन्छ:
न्यु साउथ वेल्स: युनिभर्सिटीज एड्मिसन सेन्टर (युएसी)
भिक्टोरिया: भिक्टोरियन टर्सियरी एड्मिसन सेन्टर (भीटीएसी)
क्वीन्सल्यान्ड: क्वीन्सल्यान्ड टर्सियरी एड्मिसन्स सेन्टर
अस्ट्रेलियन क्यापिटल टेरिटरी: एसीटी बोर्ड अफ सिनियर सेकेन्डरी स्टडीज
साउथ अस्ट्रेलिया र नर्दन टेरिटरी: साउथ अस्ट्रेलियन टर्सियरी एड्मिसन्स सेन्टर
टास्मेनिया: टर्सियरी एड्मिसन्स सेन्टर फर टास्मेनिया








