प्रधानमन्त्री स्कट मोरिसनका अनुसार अहिले अस्ट्रेलिया कोभिड-१९ को तेस्रो लहरबाट ग्रसित छ।
न्यु साउथ वेल्स र भिक्टोरियासँगै अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) अनि नर्दर्न टेरिटरी पनि लकडाउनमा घकेलिएका छन्, कोरोनाभाइरसका प्रभाव स्वरूप।
कोभिड-१९ को फैलावट रोक्न तथा नियन्त्रणका लागि चालिएका ती प्रतिबन्धात्मक कदमहरूका कारण विद्यार्थीहरूले घरैबाट पठन-पाठन गर्नुपर्ने यो अवस्थामा, अभिभावकहरूले कार्यालय अनि घरको कामका साथै आफ्नो छोराछोरीहरूको पढाइमा पनि सघाउनु परेको छ।
यसैको सेरोफेरोमा हामीले गत साल मेलबर्नमा रहेका नेपाली पृष्ठभूमिका केही अभिभावक तथा शिक्षिकाहरूलाई यस्तो चुनौतीपूर्ण समयमा बालबालिकाहरूलाई कसरी अभिप्रेरित गरिरहनुभएको छ, के-कस्ता कठिनाइहरू छन् र बाल मनोविज्ञानलाई कसरी हेर्नुभएको छ भनेर सोधेका थियौं।

कम्युनिटी हेल्थ नर्सकी रूपमा कार्यरत जमुना पराजुली भन्छिन् यसबारे एउटा ठुलो किताबै लेख्न सकिन्छ।
ठुला भइसकेका र हाई स्कुलमा पुगिसकेकाहरूलाई खासै "मोटिभेट" गर्न नपरे पनि अलिक साना नानीहरूलाई भने एक चित्त पारेर स्कुलको काम गराउन निकै सास्ती हुने उनको अनुभव छ।
"अहिले पछिल्लो अवस्थामा आएर केही सजिलो त भएको छ तर होम स्कूलिङ्ग इज भेरी च्यालेन्जीङ फर मी," पराजुलीले भनिन्।
तर उनले बालबालिकालाई उनीहरूको काममा अभिप्रेरित गर्न शिक्षक-शिक्षिका कै पनि सहयोग लिन सक्ने उपाय सुझाइन्।
पराजुलीका सुझाव:
- आफ्ना बालबालिकाको शिक्षकगणसँग नियमित सम्पर्कमा रहनुहोस्
- अन्य अभिभावकहरूसँग विचार साटासाट र छलफल गर्नुहोस्
- बच्चाहरूले राम्रो काम गरेको बेला उनीहरूको कामको सह्राना गरेर बालबालिकाको उत्साह बढाउनुहोस्

"मैले भन्नुभन्दा पनि छोराछोरीका टिचरले त्यही कुरा भन्दिँदाखेरि इफेक्टिभ हुँदो रहेछ। त्यही भएर कहिले काहीँ टिचरलाई कन्फिडेन्सियल इमेल पठाएर यो भन्दिनुहोस् न पनि भन्नुपर्ने हुन्छ।"
बालबालिकाको मनोविज्ञान बुझेर काम गरे, उनीहरूको पठन-पाठनको कार्यलाई सहयोग हुने बताउँछन् एक अर्का अभिभावक नीराजन गौली।
गौली भन्छन् कि आफूहरू जस्तो नेपाली स्कुलमा पढेर आएकालाई यहाँको पाठ्यक्रम बुझेर आफ्ना बालबालिकालाई सोही अनुरूपले अध्ययन गर्ने वातावरण मिलाइदिनु पर्छ।
"डे टु डे उनीहरूको सिलेबस हेरेर पढाउँदा मैले आफैँले पनि कत्ति नयाँ कुराहरू सिकेको छु भन्ने अनुभूति भएको छ मलाई," उनले भने।
गौलीका सुझाव:
- आफ्ना बालबालिकाको कोर्स अफ स्टडी वा सिलेबसको अध्ययन गर्नुहोस्
- पढ्ने/पढाउने, घुम्ने खेल्ने, खाना खाने/खुवाउने जस्ता कार्यको रुटिन बनाउनुहोस् अनि सो समय तालिका पछ्याउने बानी आफ्ना नानीहरूको लगाउनुहोस्
- भर्चुअल सोसलाइजेसनका लागि वातावरण मिलाउनुहोस्
गौलीका अनुसार बालबालिकालाई घरमा पनि स्कुलमा जस्तै “टाइम टेबुल” “फलो” गर्न लगाउँदा उनीहरूमा अनुशासन कायम राख्न सकिन्छ र टाइम म्यानेजमेन्टका हिसाबले पनि सहज हुन्छ।
बालबालिका स्वभावैले अरू मानिससँग झुम्मिने भएकाले घरमा नै थुनिएर बस्नु पर्दा उनीहरूमा आउन सक्ने नैरश्यतालाई विस्थापित गर्न सम्भव भएसम्म दिनको एक पटक नभए पनि केही दिनका अन्तरालमा उनीहरूका साथीभाइ, नातागोतासँग भर्चुअल कुराकानी तथा क्रियाकलापका लागि वातावरण बनाइदिनुपर्ने नीराजन गाउलीको धारणा छ।
हाम्रो नेपाली पाठशालामा बालबालिकाहरूलाई नेपाली भाषा सिकाउँदै आएकी पार्वती उप्रेती पनि स-साना बालबालिकालाई पढाउन निकै चुनौतीपूर्ण हुने कुरामा सहमति राख्छिन्।
"सानो बच्चाहरू आफू (उनीहरूको) छेउमा बसे मात्र पढ्ने हुन्," उप्रेती भन्छिन्।
उप्रेतीका सुझाव:
- प्राथमिक तहका बालबालिकालाई किताबहरू पढ्न लगाउनुहोस्
- चित्र कोर्न, रङ्ग लगाउन सामाग्री जुटाउनुहोस्
- नयाँ खेलहरू सिकाउनुहोस्, ध्यान-योगा गराउनुहोस्

पार्वती उप्रेती भन्छिन् कि अनलाइनमा थुप्रै बाल साहित्यका पुस्तकहरू उपलब्ध छन् - यसरी राम्रा सृजनात्मक किताबहरू पढ्न दिँदा बालबालिकामा अध्ययन गर्ने बानी पनि विकसित हुन्छ र समय कटाउन पनि सहज हुन्छ।
"बच्चाहरू भुल्ने भनेको आर्ट," उनी भन्छिन्।
"उनीहरूलाई केही गुगल गरेर आफूले प्रिन्ट आउट गर्न सक्ने हो भने ... त्यसमा कलर गर्न लगाउने, ड्रइङ कपि गर्न लगाउने।"

Image अभिभावकहरूसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उप्रेतीका अनुसार यसरी बालबालिकालाई भुलाउन मात्र होइन उनीहरूमा सृजनात्मक ऊर्जाको विकास गर्न समेत मद्दत मिल्छ।
उनी अगाडि भन्छिन् कि इन्टरनेटमा उमेर सापेक्ष यस्ता थुप्रै "गेम्स" उपलब्ध छन् जसलाई समय भुलाउन र बालबालिका एवं आफ्नो बिचको सम्बन्धलाई थप गाढा बनाउन प्रयोग गर्न मिल्छ।
"समय मिल्छ भने बच्चाहरूसँगै बसेर खेल्नुहोस्, मिल्दैन भने उनीहरूलाई ती खेलका नियमहरू सिकाइदिएर आफैँ खेल्न छाडिदिनुहोस्," पार्वती उप्रेतीले भनिन्।
"सरकारले निर्दिष्ट गरेको समयमा फुर्सद मिलाएर घर बाहिर निस्कनुहोस् र आफ्ना बालबालिकालाई प्रकृति नजिक लानुहोस्।"
उनको अनुसार यसरी विविध क्रियाकलापमा बालबालिकालाई संलग्न गराउँदा बाँकीका समयमा स्कुलको पाठ्यक्रम अनुरूपको काममा बच्चाहरूको ध्यान लगाउन सहयोग मिल्छ।

उप्रेतीका सुझाव प्रति एक अर्का अभिभावक रवीन्द्र श्रेष्ठ सहमत देखिन्छन्।
श्रेष्ठ भन्छन् कि साना नानीहरूको धैर्यता थोरै हुन्छ र धेरै बेर एउटै ठाउँमा उनीहरू बस्न सक्दैनन्।
अलि उमेर पुगेका बच्चाहरूको हकमा भने समस्याहरू "माइनर" हुन्छन् जस्तै की इन्टरनेट वा प्रविधीक सामग्रीमा केही समस्या।
उनको अनुभवमा सानो बालबालिकाहरूले अनलाइन मार्फत हुने पढाइका क्रममा आफ्ना शिक्षक/शिक्षिकाले भनेका कुराहरू समेत बुझ्न गाह्रो हुने भएकाले अभिभावकहरूले निकै कसरत गर्नुपर्छ।
श्रेष्ठका सुझाव:
- घुम्न निस्कनुहोस्, स्वच्छ हावामा हिँड्नुहोस् र नानीहरूलाई डुलाउनुहोस्
- बालबालिकाहरूलाई शिक्षा मूलक स-सानो कथा सुनाउनुहोस्
- योगा गर्नुहोस् र बालबालिका पनि सिकाउनुहोस्

"बच्चा बुच्चीहरूले इन्फरमेसन लिने भनेको चाहिँ स्टोरिजहरुबाट हो जस्तो लाग्छ मलाई," रवीन्द्र श्रेष्ठ भन्छन्।
"उनीहरूलाई केही गराउनु छ, मोटिभेट गराउनु छ भने उनीहरूलाई छोटो-छोटो स्टोरिजहरू सुनाएर अनि त्यसबाट लेसन दिने गर्यौँ भने चाहिँ बच्चाहरूले पिक अप गर्छन्।"
यो सँगसँगै उनी भन्छन् कि बच्चाहरू नक्कल उतार्न सिपालु हुने भएकाले मुखले भन्नुभन्दा पनि आफू स्वयमले "एग्जाम्पल" दिएर काम गर्न सकियो भने बालबालिकाले छिट्टै सिक्ने तर्फ पनि अभिभावकहरूले ध्यान दिनुपर्छ।
"आफै एग्जाम्पल दिँदै उनीहरूलाई सम्झाउँदा, उनीहरूले राम्रोसँग लिँदा रहेछन् कुरा!"

मल्लिका शर्मा पनि उप्रेती जस्तै नेपाली भाषा स्कुलकी शिक्षिका हुन् र साथ-साथै एक आमा पनि। उनी भन्छिन् कि बालबालिकालाई "मोटिभेट" गराइराख्न सजिलो छैन।
"बालबालिकालाई मोटिभेट आज गर्यो भोलि गर्यो थर्ड डेबाट चाहिँ बोर हुन्छ, हामीलाई (अभिभावकलाई) पनि बोर हुन्छ नै," शर्मा भन्छिन्।
शर्माका सुझाव:
- घरको वातावरण चेन्ज गर्नुहोस्,
- रिवर्ड बेस्ड सिस्टम बनाउनुहोस्
- पढाइमा ध्यान नपुगेको बेला अतिरिक्त एवम् मनोरञ्जनात्मक क्रियाकलाप गर्न मोटिभेट गर्नुहोस्

मल्लिका शर्मा भन्छिन् कि बालबालिकाहरूले ठग्नु, झुटो बोल्नुलाई अन्यथाका रूपमा सधैँ हेर्नु हुन्न र बच्चा भएकैले पनि अभिभावकहरूले "एक्सक्युज" पनि दिनुपर्छ, अलिकति खुसी नभएको जस्तो पनि गर्नुपर्छ।
"उनीहरूले ट्रिक गर्दा, मैले थाहा पाएँ, ठिक छ - यो राम्रो भएन भन्छु," उनले भनिन्।
"म ह्याप्पी भइन। तिमिलाई मन पर्छ त म ह्याप्पी नभएको?" भनेर पनि बच्चाहरूलाई राम्रो काम तर्फ अभिप्रेरित गर्न सकिने शर्मा बताउँछिन्।
यसै गरी राम्रो काम गरे "रिवर्ड" दिने र चित्त बुझ्दो काम नगरे "पनिसमेन्ट" को व्यवस्था कायम गर्न पनि उनको सल्लाह छ।

बालबालिकहरुले टाइममा "होमवर्क" नगरे त्यसको अभिभारा उनीहरू स्वयम्ले लिने नियम बसाली दिनुपर्ने पनि मल्लिका शर्माको सुझाव छ।
"तिमिले होमवर्क टाइममा सिध्याएनौ, अब टिचरसँग तिमी आफै कुरा गर, रेस्पन्सिबिलिटि लेऊ पनि भन्नुपर्छ।"
प्रिमियर ड्यानिएल एन्ड्रुजले विद्यालयहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने घोषणा गरेपछि भने रिजनल भिक्टोरियामा चौथो टर्म (५ अक्टोबर) देखि, र महानगरीय मेलबर्नमा २६ अक्टोबरदेखि (कक्षा ३ देखि कक्षा १० सम्मका लागि) विद्यार्थीहरू स्कुल फर्कने बताइएको छ।
मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
सम्बन्धित सामाग्री:

अस्ट्रेलियामा १० वर्ष उमेरका बालबालिकाहरूलाई पनि जेल पठाइँदै














