Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेट फर गुड: बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट जोगाउने प्रयास

Social Networks

नेपालमा बालबालिकाहरूमा इन्टरनेटको पहुँच बढ्दै जाँदा यसबाट जोखिम पनि बढेको छ । ७० प्रतिशत भन्दा बढीमा इन्टरनेटको पहुँच हुँदा बालबालिकामा बुलीङ, ट्रोलिङ र अन्य घृणा फैलाउने सन्देशहरूले प्रभावित गर्ने चिन्ता बढेको छ ।


Published

Updated

Source: SBS




Share this with family and friends


नेपालमा बालबालिकाहरूमा इन्टरनेटको पहुँच बढ्दै जाँदा यसबाट जोखिम पनि बढेको छ । ७० प्रतिशत भन्दा बढीमा इन्टरनेटको पहुँच हुँदा बालबालिकामा बुलीङ, ट्रोलिङ र अन्य घृणा फैलाउने सन्देशहरूले प्रभावित गर्ने चिन्ता बढेको छ ।


कोभिड १९ को प्रकोपपछिको लकडाउनका समयमा बालबालिकाको इन्टरनेट प्रयोग बढेपछि सँगसँगै घृणा फैलाउने सन्देशहरू, बुलिङ, ट्रोलिङ जस्ता नकारात्मक घटनाले बालबालिकालाई प्रभावित गर्ने चिन्ता बढेको छ।

 

संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी संस्था युनिसेफको एउटा सर्वेक्षणले नेपालमा बालबालिकाको इन्टरनेट प्रयोग र त्यससँग सम्बन्धित जोखिमहरू बढेको देखाएपछि युनिसेफले यस विरुद्ध एउटा अभियान पनि सुरु गरेको छ।

विश्वका अन्य ठाउँमा जस्तै नेपालमा पनि इन्टरनेटको प्रयोग र दुरुपयोग बढिरहेका छन्। नेपालमा हाल ७०% भन्दा बढी मानिसको इन्टरनेटमा पहुँच रहेको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ।

Daily internet use during lockdown in nepal.
Daily internet use during lockdown in nepal. Source: Supplied

मार्च २४ मा सुरु भएको बन्दाबन्दी भन्दा अगाडि ४६% बालबालिकाले १-३ घण्टा इन्टरनेट चलाउने गर्थे भने बन्दाबन्दी पछि ३४% ले ४-६ घण्टा र २४% ले ६-९ घण्टा चलाउन थालेको युनिसेफको एउटा सर्वेक्षणले देखाएको छ।

ती मध्ये धेरैजसोले युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्ने, त्यसमध्ये १५% ले अपरिचित मानिसहरूबाट घृणाका सन्देश र १४.५% ले यौन सम्बन्धी तस्बिर वा सन्देश पाउने गरेको पनि सर्वेक्षणले देखाएको छ।

ट्रोलिङ, बुलिङ र द्वेषयुक्त सन्देशले मानसिक स्वास्थ्य समस्या बढाउने विश्वका धेरै अध्ययनले देखाएका छन्। यस्तै चिन्ताका कारण युनिसेफले नेट फर गुड अभियान सुरु गरेर अम्युज ग्रुप / कथाहरूसँग मिलेर यो गीत तयार गरेको युनिसेफका मुकुन्द नेपाल बताउँछन्।

"विशेष गरी बालबच्चा र किशोरकिशोरीहरुका लागि इन्टरनेटमा कसरी सुरक्षित रहने, किनभने कति जनाको लागि यो एकदम नयाँ कुरा हो।

विशेष गरी सामाजिक सञ्जालको अनुभव एकदम नयाँ कुरा हो। विशेष गरी हिंसा र बुलिङ, ट्रोलिङहरुले मानसिक स्वास्थ्यमाथि प्रभाव पार्छ भनेर यो अभियान सुरु गरेका हौँ।"

नेपालमा यस्ता द्वेष फैलाउने सामग्री सम्बन्धी कानुनहरू कडा रहेका छन्। नेपालको अपराध संहिता अन्तर्गत कसैको मानहानि गर्नु, गोपनीयता भङ्ग गर्नु, घृणा/द्वेष फैलाउनु र बदनामी गर्नुलाई अपराध मान्दै सजाय तोकिएको छ।

तर नेपालमा ती कानुनको उपयोग राजनीतिक प्रयोजनका लागि गरिने गरेका छन्। र थुप्रै कलाकारमाथि यस्ता कानुन प्रयोग गरिएपछि सरकारको अभिप्राय माथि नै प्रश्न उठेको छ।

Internet
Source: Reviews.org

सरकारले कलाकार वा राजनीतिक विरोधीप्रति यी कानुन उपयोग गर्दै गर्दा साँच्चिकै द्वेष फैलाउने सन्देशहरूमाथि भने कमै कारबाही हुने गर्छ, र यस्ता अनलाइन अभिव्यक्तिका बारेमा प्रहरीमा पनि कमै उजुरी गरिन्छन्।  

नेपाली इन्टरनेट प्रयोगकर्ताले एकातर्फ इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रका लागि लडिरहनु परेको छ भने अर्कोतर्फ बुलिङ र ट्रोलिङ जस्ता नकारात्मक पक्षहरूको पनि सामना गरिरहनु परेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now