वेस्टर्न सिड्नीस्थित गिरावीन हाई स्कुलमा पढेकी बिशिका घिमिरेले यो शिखर-चुम्ने अङ्कका साथ आफ्नो परिवारलाई मात्र होइन, अस्ट्रेलियाको नेपाली समुदायलाई नै गर्व गराएकी छिन्।
"छोरीको कारण हाम्रो समुदायको लागि नै एउटा प्रेरणा मिलेको छ। 'हामी पनि गर्न सक्छौँ' भन्ने ऊर्जा सबैमा पैदा भएको मैले महसुस गरेको छु," बुवा सिताराम घिमिरे बताउँछन्।
उक्त परीक्षाको नतिजा सन् २०२० सालको डिसेम्बर महिनामा सार्वजनिक भएको थियो।
नेपालमा एसइइ (सेकेन्डरी एजुकेसन एग्जामिनेसन) भने झैँ न्यु साउथ वेल्सका १२ कक्षामा पढ्ने विद्यार्थीहरूको अन्तिम र सबै भन्दा महत्त्वपूर्ण परीक्षा हो, एचएससी।
बिशिकाले ल्याएको उच्च ९९.७५ प्रतिशत एटारको आधारमा उनी सँगै परीक्षा दिएका मध्यहरूबाट ९९.७५ प्रतिशतलाई उछिनेको बुझिन्छ।
एटार प्रतिशतको गणना विद्यार्थीहरूले परीक्षामा पाएको अङ्क नभई अन्य विद्यार्थीहरूसँगको तुलनात्मक सूचांकको आधारमा गरिन्छ: उदाहरणको लागि, यदि ६९ हजार विद्यार्थीहरूले एचएससी परीक्षा दिएका थिए भने, उनले ल्याएको एटारको आधारमा उनी सर्वश्रेष्ठ २०० मध्य पर्दछिन्।
कक्षा १२ पछिको अध्ययन यात्रामा आफू कुन कलेज/विश्वविद्यालय जाने र कुन विषय पढ्ने भन्ने सन्दर्भमा एचएससीले ठूलो भूमिका खेल्ने गरेको घिमिरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताइन्।
बिशिका घिमिरेसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"हाई स्कुलमा मेरो लक्ष्य जहिले पनि मेडिसिन डाक्टर पढ्ने थियो। ९९ प्रतिशत भन्दा कम अङ्क ल्याएको भए डाक्टर पढ्ने मौका कमै हुन्थ्यो," उनले भनिन्।
वर्तमान कोभिड-१९ महामारीका कारण अस्ट्रेलियामा पनि केही समयका लागि विद्यालयहरू बन्द गरिएका थिए र विद्यार्थीहरूले घरबाटै अनलाइन मार्फत पढ्नु पर्ने आवश्यकता थियो।
बिशिकाको अनुभव पनि त्यस्तै रह्यो।
कोरोना भाइरस लकडाउन सुरु भए लगत्तै आफ्नो विद्यालयले एक-दुई दिन छुट्टी दिएको, तर त्यसपछि छिट्टै अनलाइन कक्षाहरू सुरु भएको उनले बताइन्।
अरू सामान्य दिनहरूमा झैँ कक्षाहरू सम्पन्न हुँदै गए - तर जूममा (Zoom) र त्यसरी नै होमवर्क, असाइनमेन्ट र जुम गर्दै एचएससीको उनको तयारी सम्पन्न भयो।
परीक्षाको समयमा भने विद्यालयहरू पुनः खुलिसकेका थिए।
सन् २०१० सालमा आफ्ना बुवा सिताराम घिमिरे र आमा बिमला चुडालसँग अस्ट्रेलिया आएकी बिशिकाले नेपालमा कक्षा ३ सम्म पढेकी थिइन्।
नेपाल र अस्ट्रेलियाको शिक्षा प्रणालीको प्रमुख भिन्नताको कुरा गर्दा, सबै भन्दा पहिले त यता पढ्न सुरु गर्दा अङ्ग्रेजीको समस्या हुने उनको अनुभव रह्यो।
त्यस बाहेक, नेपालको पढाइमा लेख्ने र पढ्ने कार्यहरू धेरै हुन्छन्, र अस्ट्रेलियामा भने विद्यार्थीको चासो अनुसार अनुसन्धान गर्दै पढ्ने तरिका हुन्छ।
"यहाँ [अस्ट्रेलियामा] चाहिँ अलिकति अनुसन्धान गर्ने अथवा आफ्नो रुचि अनुसार रमाउने र पढ्ने भएको हुनाले नेपालबाट आएका विद्यार्थीहरूलाई यहाँको वातावरणसँग अभ्यस्त हुन अलिकति समय लाग्न सक्छ।"
"तर बिस्तारै भने, नेपालमा बसेको पढ्ने बानीले सहयोग गर्छ जस्तो मलाई लाग्छ," उनका बुवाले एसबीएस नेपालीलाई भने।
अस्ट्रेलियाको शिक्षा प्रणालीको बारेमा अभिभावकहरूले पनि आफ्ना बच्चा सँगसँगै बुझ्दै जानु पर्ने कुरामा उनी जोर दिन्छन्।
जस्तै उदाहरणको लागि, कक्षा ५ र ६ का विद्यार्थीहरूका लागि अपरच्युनिटी कक्षाहरू हुन्छन्, जसमा उनीहरूको शैक्षिक योग्यता अनुसार विशेष शिक्षण विधि अपनाएर पढाइन्छ।

त्यस्तै, कक्षा ७ मा हाइ स्कुलमा जाने समयमा कुन विषयहरू छान्ने र कुन विषयमा पछि आफ्नो आवश्यकता अनुसार बढी अङ्क ल्याउन सजिलो हुन्छ भन्ने बारे समयमै बुझ्दा सजिलो हुन्छ।
यी कुराहरूको बारेमा सामुदायिक स्तरमा जानकारी आदान प्रदान गर्न अत्यावश्यक रहेको उनी बताउँछन्।
विद्यार्थीको सफलताको पछाडि अभिभावकको मुख्य भूमिका
'सबै भन्दा ठूलो कुरो - जे कुरामा बच्चाको इच्छा हुन्छ, त्यसमा हामीले प्रोत्साहन गर्नु पर्छ र सहयोग तथा सुविधा दिनु पर्छ।', बिशिकाका बुवा बताउँछन्।
"उनीहरूको कुरा सुनिदिने - उनीहरूले के चाहन्छन्, उनीहरूको रुचि के हो, अथवा के गर्दा उनीहरू खुसी हुन्छन्। त्यसमा हामी अभिभावकले सही गलतको बारेमा खुलेर बुझाउनु पर्छ।"
अनुशासन र प्रोत्साहनलाई समान महत्त्व दिनु पर्ने आफ्नो विश्वास रहेको उनले बताए।
अस्ट्रेलियाको सन्दर्भमा हेर्ने हो भने, विद्यार्थीको क्षमता र दक्षता अनुसार जुनै विषयमा पनि अघि बढ्ने मौका हुन्छ।
त्यसको बारेमा अनुसन्धान गरी, बच्चालाई आवश्यक सुविधा प्रदान गर्दै सही मार्गमा डोर्याउने जिम्मेवारी अभिभावकको रहेको उनी बताउँछन्।
त्यस्तै, घिमिरे झैँ अस्ट्रेलियामा रहेका थुप्रै आप्रवासी आमाबुवाहरूलाई यहाँको पढाउने तरिका र परीक्षाहरूको विधि र ढाँचाको बारेमा विद्यालय र सरकारले जानकारी दिने गरेको छ।

किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापको महत्त्व
विद्यार्थी जीवनमा पढाई सँगसँगै कक्षा बाहिर पनि अन्य गतिविधिहरूमा संलग्न रहेमा त्यसले विद्यार्थीको समग्र विकासमा मद्दत पुराउँछ।
आफ्नो विद्यालयमा भाइस क्याप्टेनको रूपमा पनि सक्रिय रहेकी बिशिकाले ब्ल्याकटाउनको नेपाली समुदायद्वारा सञ्चालित सम्झना पाठशालामा करिब डेढ वर्षका लागि स्वयंसेवीको रूपमा पढाएकी थिइन्।
"पढाइ मात्र सबै कुरो भन्ने चाहिँ होइन, पढाइ एउटा पाटो हो - यो अवश्य चाहिन्छ - तर अरू क्षेत्रहरू पनि समान रूपमा महत्त्वपूर्ण छन्, सबै बराबर छन्," सिताराम घिमिरेले भने।
यो पनि पढ्नुहोस्:

रिकी पोन्टिङ्ग र टास्मेनियाका नेपालीको सम्बन्ध
यससँगै सबै अभिभावकहरूलाई एचएससीको बारेमा आफूले पनि राम्ररी बुझेमा बच्चाको भविष्यको लागि फलदायी हुने घिमिरेको सुझाव छ।
"आफ्नो बच्चाको इच्छा के छ, र हाइ स्कुलमा कुन विषय लिएर पढ्यो भने पछि त्यो क्षेत्रमा लाग्न मिल्छ, देखि लिएर, कुन विषय लिँदा बढी अङ्क ल्याउन सकिन्छ भन्ने बारे जान्नुहोस्।"
यस उत्तीर्ण अङ्कका साथ सम्पूर्ण नेपाली समुदायलाई गर्वान्वित बनाएकी बिशिका घिमिरेको आउँदो भविष्यमा मेडिसिन डाक्टरको रूपमा सफल हुने महत्वाकांक्षा छ।
यो पनि पढ्नुहोस्:

तयार रहनुहोस्: डढेलोबाट आफू र आफ्नो घरलाई जोगाउने तरिकाहरू







