मुख्य बुँदाहरू:
- अस्ट्रेलियामा ड्राइभर लाइसेन्सले तपाईँलाई गाडी चलाउने आधिकारिक र कानुनी अनुमति दिन्छ।
- लाइसेन्स बनाउने नियमहरू राज्य र प्रदेश अनुसार फरक हुन सक्छन्।
- ‘फुल लाइसेन्स’ अर्थात् पूर्ण चालक इजाजत पत्र पाउनको लागि तपाईँले विभिन्न चरणका परीक्षाहरू पार गर्नु पर्छ।
- आप्रवासीहरूले आफ्नो विदेशी लाइसेन्सलाई अस्ट्रेलियाली लाइसेन्समा परिणत गर्न पाउँछन्, तर यो उनीहरूको व्यक्तिगत परिस्थितिमा भर पर्छ।
अस्ट्रेलियामा ‘फुल लाइसेन्स’ वा सवारी चालक अनुमति पत्र पाउनाका लागि तपाईँले विभिन्न चरणका जाँच पास गर्नु पर्छ। तपाईँसँग अर्को देशको लाइसेन्स छ भने त्यसलाई अस्ट्रेलियाली लाइसेन्समा परिणत गर्न पाउनु हुन्छ, तर त्यो तपाईँको व्यक्तिगत परिस्थितिमा भर पर्छ।
सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभर्स लाइसेन्सले तपाईँलाई गाडी चलाउने आधिकारिक र कानुनी अनुमति दिन्छ।
अस्ट्रेलियामा लाइसेन्स पाउनको लागि तपाईँले विभिन्न चरणहरू पार गर्नु पर्ने हुन्छ, र त्यो तपाईँले कस्तो र कत्रो गाडी चलाउनु खोज्नु भएको भन्ने कुराहरूमा भर पर्छ।
उदाहरणको लागि, कारको लाइसेन्स निकाल्ने प्रक्रिया र मोटरसाइकलको लाइसेन्स निकाल्ने प्रक्रिया फरक हुन्छ। त्यस्तै, यात्रु राख्ने गाडी, र भारी सामाग्री ओसारपसार गर्ने गाडीको लाइसेन्स बनाउने प्रक्रिया पनि भिन्दा भिन्दै हुन्छ।
अस्ट्रेलिया भरका विभिन्न राज्य र प्रदेशमा केही समानता सहित आ-आफ्नै नियमहरू पनि छन्।
लुवीस हिग्गिन्स विट्टन न्यु साउथ वेल्स यातायातको सडक सुरक्षा रणनीति र नीतिकी निर्देशक हुन्।
उनी भन्छिन् कि पहिलो चरण भनेको सडकका नियमहरू पढेर सिक्नु हो।
त्यस पछि तपाईँले एक परीक्षा दिएर आफ्नो ‘एल’ भनेर चिनिने लर्नर्स ड्राइभिङ लाइसेन्स निकाल्न सक्नु हुन्छ।
"न्यु साउथ वेल्समा, १६ वर्षदेखि लर्नर लाइसेन्स निकाल्न पाइन्छ। तपाईँले आँखाको परीक्षा र ज्ञानको परीक्षा (नलेज टेस्ट) पनि गर्नु पर्छ। उक्त ज्ञानको परीक्षामा सडक नियमहरूका बारेमा प्रश्न हुन्छन्," विट्टनले जानकारी दिइन्।

‘एल’ लाइसेन्स प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू:
- तपाईँले गाडी चलाउँदा सोही गाडीमा एक पूर्ण अस्ट्रेलियाली लाइसेन्स भएको व्यक्ति उपस्थित हुनु पर्छ।
- आफ्नो गाडीको बाहिर ‘एल’ लेखेको सङ्केत (लाइसेन्स प्लेट) देखिने गरी टाँस्नु पर्छ।
- गाडी चलाउनु अघि कुनै किसिमको मदिरा या लागु पदार्थ सेवन गर्नु हुँदैन।
- सडकमा तोकिएका गति प्रतिबन्धहरू (स्पीड लिमिट)को पालना गर्नु पर्छ।
- गाडी चलाइरहेको समयमा मोबाइल फोन प्रयोग गर्न पाइँदैन।
यो पनि हेर्नुहोस्:

अस्ट्रेलियामा बसोबास: तपाईँका छोराछोरी १८ वर्ष पुगे पछि के हुन्छ?
‘पी’ लाइसेन्स लिने प्रक्रिया
तपाईँको उमेर अनुसार केही समयको लागि एल लाइसेन्सको मात्र प्रयोग गर्नु पर्ने हुन्छ।
एक्लै गाडी चलाउनका लागि भने तपाईँले गाडी चलाउने परीक्षा (ड्राइभिङ टेस्ट) पास गरेर ‘पी’ भनेर चिनिने ‘प्रोभिजनल’ वा ‘प्रोबेसनरी’ लाइसेन्स निकाल्नु पर्छ।
फ्रान्क टुमिनो गाडी चलाउन सिकाउने प्रशिक्षक हुन्। उनी अस्ट्रेलियाको सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षण केन्द्र एल ट्रेन्टमा आबद्ध छन्।
गाडी चलाउन सिक्नलाई तालिम प्राप्त प्रशिक्षकका साथै आफ्ना इष्टमित्र र परिवारको पनि सहयोग लिन उनले सल्लाह दिएका छन्।
"तपाईँले पैसा तिरेर तालिम प्राप्त प्रशिक्षकबाट ड्राइभिङको तालिम लिन सक्नु हुन्छ, जसले तपाईँलाई गाडी चलाउने सही तरिका सिकाउँछन्। त्यसको आधारमा तपाईँले सिक्दै जान सक्नु हुन्छ।"

आप्रवासीहरूका लागि लाइसेन्स परिणत
यदि तपाईँसँग अरू कुनै देशको लाइसेन्स छ भने, अस्ट्रेलियामा कानुनी रूपमा गाडी चलाउनको लागि तपाईँले त्यसलाई अस्ट्रेलियाली लाइसेन्समा परिणत गर्नु पर्ने हुन्छ।
त्यसको प्रक्रिया विभिन्न कुरामा निर्भर हुने विट्टनले जानकारी दिएकी छिन्।
तपाईँ जुन देशबाट आउनु भएको छ, त्यहाँको लाइसेन्स बनाउने प्रणाली अस्ट्रेलियाको भन्दा फरक हुन सक्छ। त्यसैले, तपाईँको देश र गाडी अनुसार पहिलाको लाइसेन्स अस्ट्रेलियालीमा परिणत गर्न तपाईँले केही परीक्षाहरू दिन पर्न सक्छ।लुवीस हिग्गिन्स विट्टन, न्यु साउथ वेल्स यातायात
केही मामिलामा तपाईँले आफ्नो अर्को देशको लाइसेन्सलाई पूर्ण अस्ट्रेलियाली लाइसेन्समा परिणत गर्नको लागि गाडी चलाउने परीक्षण (ड्राइभिङ टेस्ट) मात्र दिनु पर्छ।
तर उक्त टेस्टमा पहिलो पटक मै पास हुन नसकेमा, तपाईँलाई ‘फुल लाइसेन्स’को सट्टामा ‘एल लाइसेन्स’ दिइन सक्छ।
टुमिनो बताउँछन् कि अरू देशमा गाडी चलाउन आउने मानिसहरूलाई अस्ट्रेलियाको परीक्षा पास गर्न केही प्रशिक्षणको आवश्यकता हुन्छ।

तपाईँले ‘पी’ लाइसेन्समा गाडी चलाउँदा पनि मदिरा सेवन गर्न पाउनु हुँदैन, र सडकका स्पीड अर्थात् गतिको नियमहरूलाई निरन्तर ध्यान दिनु पर्छ।
‘फुल लाइसेन्स’ पाउनका लागि तपाईँले एक ‘हजार्ड्स पर्सेप्सन्स टेस्ट’ दिनु पर्न सक्छ, जसमा तपाईँले जोखिमहरू कत्तिको चिन्नु हुन्छ भनी जाँचिन्छ।
‘फुल लाइसेन्स’ पाए पछि केही प्रतिबन्धहरू कम हुने भए तापनि, तपाईँले सडकका सबै नियमहरूको पालना गर्नु पर्छ।
नियम उल्लङ्घन गरेमा ठूलो जरिमाना, लाइसेन्स निलम्बन वा लाइसेन्स रद्द गरिन सक्छ।

शरणार्थी र आप्रवासीहरूका लागि विशेष ड्राइभिङ तालिम
अस्ट्रेलिया भर विभिन्न सामुदायिक र बसोबास सेवा संस्थाहरूले आप्रवासी तथा शरणार्थीहरूलाई निःशुल्क वा कम शुल्कमा गाडी चलाउन सिक्ने ड्राइभिङ तालिमहरू सञ्चालन गर्दै आएका छन्।
इमानुवेल मुसोनी, ग्रेट लेक्स एजेन्सी फर पीस एन्ड डेभलप्मेन्ट नामक संस्थाका कार्यकारी प्रबन्धक हुन्।
ग्लाप्ड भनेर चिनिने उक्त संस्थाले गाडी चलाउन सिकिरहेका, सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका चालकहरूलाई सहयोग गर्छ।
यस संस्थामा ड्राइभिङ प्रशिक्षक पनि आप्रवासी समुदाय कै छन्।
कति मानिसहरूलाई राम्ररी स्टियरिङ पनि समात्न आउँदैन। हाम्रा प्रशिक्षकले सुरुदेखि लाइसेन्स लिने समयसम्म सिकाउँछन्।इमानुवेल मुसोनी, ग्रेट लेक्स एजेन्सी फर पीस एन्ड डेभलप्मेन्टका कार्यकारी प्रबन्धक

नयाँ र एकल आप्रवासी आमाहरूले गाडी चलाउन नआउँदा अरूमाथि निर्भर हुनु पर्ने, र कतिले उनीहरूलाई लिफ्ट दिँदा पैसा माग्ने जस्ता कुराहरू देखे पछि ग्लाप्डको स्थापना गरेको मुसोनीले बताए।
यी तालिमबाट सहयोग पाएका नयाँ आमाहरू मध्य मिशेलिन न्यान्ताबारा एक हुन्।
कङ्गोबाट आएकी न्यान्ताबाराले आफ्नो देशमा कहिल्यै पनि गाडी चलाएकी थिइनन्, र उनलाई गाडी चलाउने भने पछि निकै डर लाग्थ्यो।
ड्राइभिङ प्रशिक्षण लिएर आफ्ना साथीबाट पनि सिके तापनि, उनी दुई पटक ड्राइभिङ टेस्टमा असफल भएकी थिइन्।
ग्लाप्डमा आफ्नै सांस्कृतिक पृष्ठभूमिको प्रशिक्षकबाट सिक्दा निकै सजिलो भएको, र त्यस पछि ड्राइभिङ टेस्टमा पास भएको उनी बताउँछिन्।
उनी भन्छिन् कि लाइसेन्स निकाले पछि आफ्नो र आफ्नो छोराको जीवन नै परिवर्तन भएको छ।
पहिला म काम जान दुई वटा बस चढ्नु पर्थ्यो। अब अहिले जहाँ जान पनि सजिलो छ। विशेष बच्चा भएका आमाहरूलाई गाडी चलायो भने जीवन सजिलो हुन्छ।मिशेलिन न्यान्ताबारा
अहिले न्यान्ताबाराले सबैलाई आफ्नो डरलाई पन्छाएर, गाडी चलाउन सिक्न प्रोत्साहन गर्दै छिन्।
लाइसेन्स प्राप्त गर्ने प्रक्रिया:
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- क्वीन्सल्यान्ड
- वेस्टर्न अस्ट्रेलिया
- साउथ अस्ट्रेलिया
- नर्दन टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी




