आफ्नो करिअरलाई अगाडी बढाउने आकाङ्क्षा र बालबच्चाको पालन पोषणका बिचमा तालमेल मिलाउनु धेरैका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसमा पनि भर्खरै आमा बाबु बनेका वा नयाँ आप्रवासीका लागि त कामको तारतम्य मिलाउन सानै उमेरमा छोराछोरीलाई 'डे केयर'मा पठाउँदा नयाँ चुनौतीको सामना गरेको अनुभव पनि हुन सक्छ। बालबालिकालाई चाइल्ड केयर पठाउँदा, स्वास्थ्य सम्बन्धी समस्या आउने चुनौतीलाई व्यवस्थापन गर्न अभिभावकले कस्तो तयारी गर्न सक्छन्?
मुख्य बुँदा:
- आमा बाबुलाई काममा फर्कन मद्दत गर्नका लागि शिशु वा बालबालिकालाई चाँडै स्याहार केन्द्रहरूमा पठाउन सुझाव दिइन्छ।
- चाइल्ड केयरमा बारम्बार बच्चा बिरामी भइरहँदा पहिलो पटक आमा बाबु बनेका वा आप्रवासी अभिभावकका लागि चुनौतीपूर्ण हुन सक्छ।
- सेन्टरलिङ्कबाट चाइल्ड केयर बापतको सहयोग नपाउने नयाँ आप्रवासी अभिभावकले आफ्नो खल्तीबाटै चाइल्ड केयरको शुल्क तिर्नु पर्ने हुन्छ।
- बिरामी बच्चालाई घर पठाउनु, त्यहाँ रहेका अन्य बालबालिका प्रतिको स्याहार कर्तव्य भित्र पर्न जान्छ।
आफ्ना आफन्तजनबाट टाढा रहेका आप्रवासीहरूलाई पारिवारिक सहयोगको अभाव सधैँ खट्किन्छ।
आफ्ना आमा-बाबु वा आफन्तलाई छोराछोरीको जिम्मा लगाएर काममा फर्कने अवस्था नहुने भएकाले, केटाकेटीलाई सानैमा चाइल्ड केयर पठाएर आफ्नो काममा फर्कनु पर्ने हुन सक्छ।
यसरी सानै उमेरमा चाइल्ड केयर पठाउँदा, शिशु एवम् बालबालिकाहरूमा रोग विरुद्धको प्रतिरक्षा प्रणाली बलियो बन्छ भने शैक्षिक र सामाजिक रूपमा पनि विद्यालयका लागि उनीहरू तयार हुन्छन्।
चाइल्ड केयर जाँदा, शिशु र बालबालिकाले 'बग' भनिने सङ्क्रमण फैलाउने जीवाणुको सामना गर्ने भएकाले शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बन्दै जाने बताइन्छ।

मेलबर्नस्थित एक चाइल्ड केयर सेवा प्रदायक संस्थामा जेनेरल म्यानेजर रहेकी अञ्जली रौनियार बच्चाहरूलाई चाइल्ड केयरमा पठाउँदा धेरै फाइदा हुने बताउँछिन्।
"(बालबालिकाहरू) चाइल्ड केयरमा आएर ‘सोसल डेभलप्मेन्ट’ यत्तिकै पाउँछन्, उनीहरूले अरू बच्चाहरूसँग कसरी खेल्ने, कसरी व्यवहार गर्ने, आफैले आफ्नो विचार कसरी बाहिर राख्ने, झगडा हुन्छ बच्चाहरूको बिचमा, कसरी त्यो समस्या समाधान गर्ने, आफूले के चाहिरहेको छ, त्यसमा कसरी ‘फोकस’ गर्ने, त्यो सबै स्किलहरू बच्चाहरूले सिक्दै आउँछन्। ‘सोसल, कग्नेटिभ, फिजिकल स्किल्स’, हरेक किसिमले हेर्नु हुन्छ भने धेरै नै फाइदा छ, साथै धेरै जना अभिभावकले चाइल्डकेयर कै कारण काम पनि गर्न सक्छन्।”
ज्योति सन्धु मेलबर्नमा अर्लि चाइल्डहुड एजुकेटरका रूपमा कार्यरत छिन्।
उनका अनुसार शिशु वा बालबालिकालाई चाइल्ड केयरमा भर्ना गर्नु अघि अभिभावकहरूलाई 'ओरियेन्टेसन'का क्रममा त्यहाँको वातावरणको बारेमा जानकारी गराइन्छ।
घरमा उनीहरू केही सीमित मानिसहरूका बिचमा मात्र रहने भएकाले त्यहाँको वातावरण निकै सुरक्षित हुन्छ। तर चाइल्ड केयरहरूमा धेरै केटाकेटी र वयस्कहरूका बिचमा रहँदा बिरामी पर्नु सामान्य नै हो।ज्योति सन्धु
सबै खाले बिमारीहरू चिन्ताजनक हुन्छन् भन्ने चाहिँ नरहेको उनको भनाई छ।
तर केही बिरामी अरूमा सर्ने चिन्ता पनि हुन्छ।
डाक्टर अमिर सइदुल्लाह मेलबर्नमा बाल चिकित्सकका रूपमा कार्यरत छन्।
उनी भन्छन् चाइल्ड केयर जाने प्रत्येक एक सय बालबालिका मध्ये २० देखि ३० जनामा सङ्क्रमण देखिन सक्छ।
तर यस्ता सङ्क्रमणहरू आफै निको भएर जाने उनले बता
“९० प्रतिशत केसहरूमा चाहिँ केटाकेटीलाई एन्टिबायोटिक दिनु पर्दैन,” डाक्टर सइदुल्लाहले भने।
यस्तो अवस्थामा बाबुआमामा हेरचाह सम्बन्धी थोरै ज्ञान, धेरै झोल भएका खानेकुरा र 'एन्टीपारेक्सि' भनिने पारासिटामोल वा आइबुप्रोफेन जस्ता औषधि भए पुग्ने उनले बताए।
पहिलो पटक आमा बनेकी निकिताको १८ महिने छोरा छन्, जो केही महिना अघि मात्र 'डे केयर' जान थालेका हुन्।
“हाम्रो छोरा हप्ताको एक दिन डे केयर सेन्टरमा जान्छ, दुई पटक उसलाई गम्भीर खालको फ्लु भइसक्यो, पारासिटामोल र आइबुप्रोफेनले काम नगरे पछि, उसलाई डाक्टरले एन्टिबायोटिक दिनु पर्यो,” निकिताले भनिन्।
छोराले शरीर भरि नै फोका आउने 'ह्यान्ड, फुट एन्ड माउथ' रोग पनि लिएर आएको उनले सम्झिइन्।
यस्तो अवस्थालाई सामना गर्दै गर्दा अन्य चुनौतीहरू पनि आउन सक्ने निकिताको बुझाइ छ।
सामान्य रुघा लाग्दा पनि चाइल्ड केयरबाट बच्चा घर लिएर जान भन्दै फोन कलले अभिभावकलाई दिक्दार पनि बनाउन सक्छ।
जसका कारण कामबाट बारम्बार छुट्टी माग्न वा व्यापार छोडेर जान वा मिलाउन गाह्रो पर्न सक्छ।
बिरामी परेर चाइल्ड केयर नजाँदा पनि शुल्क भने तिरी राख्नु पर्ने कुरा निकीताका लागि अर्को चित्त नबुझेको कुरा हो।
हामी जस्ता नयाँ आप्रवासीले चाइल्ड केयर सब्सिडी (बालबालिकाको हेरचाहका लागि सरकारद्वारा प्रदान गरिने अनुदान) पाउँदैनौ, सबै पैसा आफ्नै खल्तीबाट तिर्नु पर्छ, हाम्रो केसमा यो १२५ डलर हो, पैसा पनि तिर्नु पर्यो, बच्चा पनि बिरामीका कारण गएन, यो त दोब्बर पिडा भयो।निकिता
डाक्टर सइदुल्लाह, बालबालिकालाई कस्ता लक्षण भए घर पठाउने भन्ने बारेमा यसो भन्छन्।
“सामान्य रुघा लाग्दैमा घरै पठाउनु ठिक हुन्छ जस्तो मलाई लाग्दैन, तर अन्य इन्फेक्सनका लक्षण, जस्तै कि ज्वरो, खोकी वा अलि ठुला बच्चाले घाटी दुख्यो भनेमा वा अलि असहज जस्तो देखियो भने चाहिँ घर पठाउन म ठिक ठान्छु,” डाक्टर सइदुल्लाहले सुझाव दिए।
बालबालिकामा इन्जेक्सनको जोखिम छ भने जीपीले अन्य थप जाँचहरू गर्नु पर्ने उनले बताए।
उनका अनुसार ३९–४० डिग्रीको ज्वरो आउनु, सिँगान बग्नु, डायरिया, भमिटिङ वा छालामा रातो दागहरू देखिएमा भने सजग हुनुपर्छ।
यता चाइल्ड केयर सेन्टरकी ज्योति सन्धु पनि केटाकेटी बिरामी परेमा घरमै बस्नु पर्ने सुझाव दिन्छिन्।
बिरामी बच्चालाई चाइल्ड केयरमा ल्याउन रोक्दा, त्यहाँ रहने अन्य केटाकेटीलाई गरिने हेरविचारको कर्तव्य पुरा हुने उनको भनाइ छ।
यसबाहेक ग्यास्ट्रो वा फ्लुको लक्षण भएका बालबालिकालाई अन्य बालबालिकासँग नजिक हुन नदिने र बेला बेलामा हात धुन लगाउनु पर्छ।

डाक्टर साइदुल्लाह बच्चाहरूमा खोप र उचित आहारको पनि निकै महत्त्व हुने बताउँछन्।
“बच्चाहरूले आफूले मन लागेको मात्र खाने भएकाले उनीहरूलाई आइरन वा भिटामिन डी को कमी हुन सक्छ, यस्तो अवस्थामा ‘ट्याब्लेट’ वा झोलका रूपमा उनीहरूलाई आवश्यक मात्रा दिएर, ‘इम्युनिटी’ बढाउन वा सङ्क्रमणको जोखिमलाई कम गर्न सकिन्छ।”
यता सन्धु पनि धेरै जसो चाइल्डकेयर सेन्टरहरूले सङ्घीय सरकारले लागू गरेको खोप सम्बन्धी नीतिलाई अवलम्बन गरेको बताउँछिन्।
“केही अभिभावकले आफ्ना सन्तानलाई खोप लगाइदिँदैनन्, यस्तो अवस्थामा विभिन्न खाले नियम र निर्देशनहरू छन् जुन हामी अपनाउँछौ, जस्तो कि चाइल्ड केयरमा कुनै सङ्क्रमण फैलियो भने खोप नलगाएका बालबालिकालाई घरमै राख्न ह
सन्धुका अनुसार घर भित्र मात्र खेलिरहने बच्चाहरू भन्दा पार्क वा अन्य यस्तै खेल्ने प्राकृतिक ठाउँहरूमा लग्दा केटाकेटीको रोगसँग लड्ने क्षमता बढ्न सक्छ। "





