मुख्य बुँदा
- आँधीबेहरी र बाढी जस्ता मौसमी घटनाको तयारीका लागि हप्तौँ लाग्न सक्छ।
- विचार गर्नु पर्ने पहिलो कुरा भनेको सुरक्षाको खतरालाई मध्यनजर गर्दै योजना बनाउने हो।
- आफ्ना घरका सबै सदस्यलाई आकस्मिक सुरक्षा योजनाका बारेमा जानकारी दिनु पर्छ।
- आँधीबेहरी आउनु अघि नै मौसम सम्बन्धी जानकारी राख्ने र आफ्नो सम्पत्तिको सुरक्षाका लागि तयार रहनु पर्छ।
- घर भित्रै बस्दा वा घर छाडेर जानु पर्ने अवस्थामा आफूलाई चाहीने अत्यावश्यक वस्तुहरूको जोहो पहिल्यै गर्नुपर्छ।
अस्ट्रेलियामा बाढीको जोखिममा रहेका स्थानमा बसोबास गर्ने केही समुदायले सन् २०२२ र २०२३ का दौरान तीन-चार पटकसम्म पनि आफ्नो क्षेत्र डुबानमा परेको अनुभव गरे।
जसका कारण सो क्षेत्रमा भौतिक क्षति त भयो नै समुदायका केही मानिसले ज्यान समेत गुमाउनु पर्यो।
यस्ता घटनाहरूमा सहयोग पुर्याउनका लागि प्रत्येक राज्यले आकस्मिक सेवा सञ्चालन गरेका हुन्छन् जसलाई छोटकरीमा एसइएस भनिन्छ।
अस्ट्रेलियाको आकस्मिक सेवा क्षेत्रका अधिकारीहरू सम्भावित मौसमी परिघटनाहरूका लागि समुदाय पहिल्यै तैयारीमा जुट्नु पर्नेमा जोड दिन्छन्।
राज्य स्तरको आकस्मिक क्षेत्रमा कार्यरत स्वयंसेवीहरु दक्ष र तालिमप्राप्त हुन्छन्।
न्यु साउथ वेल्सकाे आकस्मिक सेवाकी सामुदायिक क्षमता अधिकृत डोरोथी ट्रान जोखिमपूर्ण अवस्था आइहाल्यो भने के गर्ने भनेर योजना बनाउनु निकै जरुरी हुने बताउँछिन्।
“मानिसहरूले योजना बनाउनु अघि आफूले किन योजना बनाउँदै छु भन्ने बारेमा चाहिँ बुझ्नु पर्छ ....के उनीहरूलाई थाहा छ, जहाँ उनीहरू बस्छन्, काम गर्छन् वा भ्रमणका लागि जादैछन् त्यहाँ आँधी वा बाढीले प्रभाव पार्दैछ? आँधी जहाँ पनि आउन सक्छ त्यसैले आफूलाई तैयार राख्न जरुरी हुन्छ नि,” ट्रामले भनिन्।
नदी-नाला वा वर्षाको पानीको निकास नजिक रहेकाहरूले भारी वर्षा हुँदा त्यो पानी कहाँ बगेर जान्छ भन्ने बारेमा पनि ख्याल गर्नु पर्ने बताईन्छ।
बाढी आएको खण्डमा आफ्नो घर, काम गर्ने स्थान, सडक सञ्जाल र आवतजावतमा कत्तिको असर गर्छ भन्ने बारेमा पनि बुझ्नु जरुरी छ।
अवस्था अनुकूल योजनाहरू फरक हुने भए पनि जोखिमको सामनामा गर्दा आफू यथास्थानमै बस्ने वा त्यहाँबाट बाहिर सुरक्षित स्थानमा निस्कने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ, तर त्यसका लागि यस्तो तयारीको आवश्यकता हुन्छ, जसले मानवीय र भौतिक क्षतिलाई कम गरोस्।
मौसमी अवस्थालाई नियाल्दै आवश्यक सामाग्रीको जोहो गर्ने
पानीको निकास वरिपरि बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी जानकारीहरूलाई ध्यान दिएर सुन्ने वा पढ्ने गर्नुपर्छ।
यसका लागि मौसम विभागको वेबसाइट, एप वा संस्थाले सामाजिक सञ्जालमा गरेका पोस्टहरूमा ध्यान दिन सकिन्छ।
पानीको स्तर बढ्दै गएमा आफू सहित आफ्ना बालबालिका, घरपालुवा जनावर र सरसामानको सुरक्षाका लागि कहाँ जाने वा कुन योजना अपनाउने भन्ने बारेमा तयार रहनु जरुरी छ।
बाढीको जोखिम क्षेत्रमा बसोबास गर्नेहरूले आफूलाई आवश्यक पर्ने खाद्यान्न, औषधि, प्राथमिक उपचार किटहरू, कपडा, लाइट, ब्ल्यानकेट लगायतका अत्यावश्यक सामाग्रीको जोहो पनि गरिसकेको हुनुपर्छ।
यस बाहेक पासपोर्ट वा आफ्नो व्यक्तिगत जानकारी दिने डकुमेन्टहरू, बैङ्क एवम् बिमाका कागजात, गरगहना लगायतका सम्पत्तिको स्वामित्व सम्बन्धी कागजात र पारिवारिक तस्बिरहरू पनि आफ्नो साथमा राख्नु पर्छ।

“आफ्नो आवश्यताहरुका बारेमा जानकार रहनुपर्छ, यदि घरमा स-साना केटाकेटी वा घरपालुवा जनावर छन् भने उनीहरूको आवश्यकताका बारेमा पनि सोच्नु पर्छ,” ट्रान सुझाव दिन्छिन्।
“बालबालिकाको हकमा उनीहरूका कपडा, खाना, न्यापि, प्राम लगायतका सामानहरू बिर्सनु हुँदैन, उनीहरूलाई सहज बनाउने अन्य सामाग्रीहरू पनि आफूसँगै लानु पर्छ... उनीहरूलाई सुरक्षित र सहज बनाउनु पर्छ।”
यसका अलावा अत्यावश्यक सेवाहरूको फोन नम्बर सुरक्षित राख्न र आफ्नो योजनाका बारेमा परिवारका अन्य सदस्यलाई पनि जानकारी दिन उनी सुझाव दिन्छिन्।
“कतै आफन्त वा साथीको घरमा जाने कि उद्धार केन्द्रहरुमा जाने? घर छाडेर सुरक्षित स्थानमा जाँदै हुनहुन्छ भने आफ्ना परिवारका सदस्य साथीभाइसँग कहाँ जाने भनेर सल्लाह गर्नुहोस्,” ट्रान थप्छिन्।
घरका सबै सदस्यले आकस्मिक योजनाका बारेमा थाहा पाउनु जरुरी छ, यदि कोही सदस्यलाई अङ्ग्रेजी आउँदैन भने उनीहरूलाई एक्लै भएको अवस्थामा के गर्ने भन्ने बारेमा जानकारी हुनु जरुरी रहेको ट्रानको भनाई छ।
हामीले आँधी वा बाढी आएका बेला हजुर बुवा हजुर आमाहरूले आफ्ना नाति नातिनालाई खोज्दै हिँडेको कथा सुनेका छौ, के उनीहरूलाई बाढी वा आधि आउँदा सुरक्षित स्थानमा सर्नु पर्ने भए बच्चाहरूसँग कहाँ जाने भन्ने बारेमा थाहा छ?हामीले आफ्नो योजनालाई अभ्यास गर्नु जरुरी छडोरोथी ट्रान
यस बाहेक बिमा कम्पनीले आफ्नो क्षेत्रमा रहेका बाढी, पहिरो, आँधी वा हावा हुरीबाट हुने नोक्सानी आदीको भरपाई गर्छ कि गर्दैन भनेर जानकारी राख्नु पर्छ।
आवश्यक परेको खण्डमा बिमालाई अद्यावधिक गर्न सकिन्छ।

भारी वर्षा, आँधी वा बाढी आउनु अघि राज्य स्तरीय आकस्मिक सेवाले (एसइएस) समुदायलाई जानकारी गराउदछ्।
एसइएसका अधिकारीहरूले जोखिममा रहेका क्षेत्रमा मानिसहरूको घर-घरमा पुगी जानकारी दिने र आवश्यक योजना बनाउन समेत मद्दत गर्दछन्।
यदि भारी वर्षा र आँधीको सम्भावना रहेको छ भने आफ्नो घरमा रहेका पानी जाने निकासहरूलाई सफा गर्नु पर्छ।
यस बाहेक हावाले उडाउन सक्ने समाग्रीहरुलाई सुरक्षित राख्ने र घरको छतमा रहेका टायल लगायत पानीको चुहावट हुने स्थानको मर्मत गर्नुपर्छ।
यस बाहेक आफ्नो गाडी, रुखको नजिक, पानीको बहाव हुने क्षेत्र वा क्षति हुन सक्ने स्थानमा राख्नु पनि हुँदैन।
स्वयंसेवीहरुले घर र सम्पत्ति सुरक्षित बनाउन खतरा निम्त्याउन सक्ने सामाग्रीहरू हटाउने वा बाढी पस्न नदिनका लागि अस्थायी बाँध बनाउन पनि मद्दत गर्छन्।
यस बाहेक एसइएसबाट सुरक्षित स्थानमा सर्न र वर्षा कम भएपछि घर सफा गर्न वा मर्मत गर्न पनि सहयोग पाउन सकिन्छ।

आपतकालिन सेवा विभागले आँधीबेहेरी वा बाढीका बेला सुरक्षित स्थानमा सर्नुलाई पहिलो प्राथमिकतामा राखेको छ तर डुबानको महसुस पहिले पनि अनुभव गरेका केही बासिन्दाले भने अवस्था अनुकूल थप तैयारीका साथ घरमै बस्ने गरेका छन्।
म्याकडन्ल्ड्स नदी क्षेत्रको तल्लो भागमा बसोबास गर्ने निकोल वास्टो घर दुई वर्षको दौरान चार पटक डुबानमा परिसक्यो।
उनको परिवारले मौसम सम्बन्धी जानकारीलाई ध्यान दिने र नदिमा पानीको स्तरबारे जानकारी राख्ने गरेका छन्।
उनका अनुसार उनको परिवारलाई बाढीको तयारी गर्न तीन-चार दिनको समय लाग्छ।
“हामीले धेरै किनमेल गर्नु पर्ने हुन्छ, बत्ती नभएको खण्डमा जेनरेटर चलाउन आवश्यक इन्धनको तयारी मेरो श्रीमानले गर्नुहुन्छ, यदि सफा पानीको कटौती भएको खण्डमा हामीले बाथ टव लगायतमा पानी भरेर राख्ने पनि गरेका छौ,” वास्टोले भनिन्।
यस बाहेक गाडी र फर्निचर लगायतका सर सामाग्री माथिल्लो स्थानमा सार्ने गरेको उनले बताइन्।
उनीहरूले आवश्यक पर्दा काम लागोस् भनेर लाइफ ज्याकेट र सानो डुङ्गा पनि तयारी अवस्था राख्ने गरेका छन्।
यस बाहेक आफ्नो घरमा पानीको मात्रालाई पनि जाँच्ने गरेको वास्टो बताउँछिन्।
“पर्मानेन्ट मार्करको प्रयोग गरी पानीको तह र मितिलाई लेख्ने गरेका छौ ता कि पानी बढिरहेको छ या घटिरहेको छ भन्ने हामीलाई थाहा होस्।”
बाढीका बेला बिजुली र टेलिफोन सेवा अवरुद्ध हुने भएकाले बाहिरी समाजसँग जानकार र कुराकानीमा रहनु आवश्यक हुन्छ, यसका लागि वास्टो परिवारले जनेरेटेर र स्याटेलाईट फोनको समेत व्यवस्था गरेका छन्।

थप जानकारीका लागि राज्यको आपतकालिन सेवालाई सर्म्पक गर्नुहोस्।
आकस्मिक अवस्थामा (०००) ट्रिपल जिरोमा फोन गर्नुहोस्।




