मुख्य बुँदा
- व्यक्तिगत जानकारी चोरी गर्नका लागि अपराधीहरूले फिसिङ, स्किमीङ्ग, सोसल इन्जिनियरिङ, ह्याकिङ र डम्पस्टरको सहारा लिन्छन्।
- व्यक्तिगत जानकारी चोरी गर्नका लागि अनलाइन, अफलाइन वा दुवै माध्यमको प्रयोग हुन सक्छ।
- आफ्नो व्यक्तिगत जानकारी चोरी भएको भान भएमा सम्बन्धित निकायलाई तुरुन्तै जानकारी गराउनु पर्दछ।
अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था, अस्ट्रेलियन कम्पटिसन् एन्ड कन्जुमर कमिसन (एसीसीसी)का अनुसार सन् २०२२ मा विभिन्न स्क्याममा अस्ट्रेलियालीहरूले ५६ करोड डलर (५६८ मिलियन) भन्दा बढी रकम गुमाएका छन्।
अघिल्लो वर्षको तुलनामा यो झन्डै ८०% ले बढी हो।
सन् २०२१ मा यसरी ठगी भएको रकम ३२ करोड अस्ट्रेलियन डलर थियो।
तर तथ्याँकमा आएको भन्दा बढी रकम बर्सेनि ठगी हुने गरेको सरकारी अनुमान छ।

सिड्नी विश्वविद्यालयको कम्यूटर साइन्स अन्तर्गत सुरक्षा सम्बन्धी विषयका सिनियर लेक्चरर डा सुराङ्गा सिनेविरत्नेका अनुसार जालसाजि वा आर्थिक लाभका लागि कसैको व्यक्तिगत जानकारीहरू चोरिन्छन् भने यसलाई आइडेन्टीटी थेप्ट अर्थात् व्यक्तिगत विवरणको चोरी भनिन्छ।
“उदाहरणका लागि अन्य कसैको विवरण राखी क्रेडिट कार्ड लिने, ऋण लिने, सामाजिक लाभ लिने वा अन्य कसैको ट्याक्स रिटर्न गर्ने जस्ता कामहरू पर्दछन्,” उनले भने।
साइबर अपराधीहरूले कस्ता जानकारीहरू चोरी गर्छन्?
आपराधिक समूह वा व्यक्तिले निम्न जानकारीहरू चोरी गर्नमा आफ्नो ध्यान केन्द्रित गर्छन्।
- नाम
- जन्म मिति
- सवारी चालक अनुमति पत्र नम्बर
- ठेगाना
- मावलीको थर
- जन्म स्थान
- क्रेडिट कार्डका जानकारी
- ट्याक्स फाइल नम्बर
- मेडीकेयर कार्डको जानकारी
- पासर्पोटमा भएका जानकारी
- व्यक्तिगत परिचय नम्बर
- अनलाइनमा प्रयोग हुने युजर नेम र पासवर्ड
एसीसीसीकी उपाध्यक्ष कट्रिवना लो भने व्यक्तिगत थोरै जानकारीबाट पनि स्क्यामरहरुले फाइदा लिन सक्ने बताउँछिन्।
“जस्तो तपाईँको नाम, थर, ठेगाना जस्ता एक्ला जानकारीले खासै अर्थ राख्दैन तर यी जानकारीहरूलाई एकै ठाउँमा राख्दा, यो शक्तिशाली बन्छ,” उनले भनिन्।
स्क्यामरहरुले सामाजिक सञ्जालमा राखिएका तस्बिर र जानकारी मार्फत पनि तथ्याङ्क चोरी गर्न सक्ने उनी बताउँछिन्।
सोसल मिडियाको तस्बिर वा जानकारी प्रयोग गरेर पनि स्क्यामरहरुले फेक आइडी बनाउन सक्छन्क्याट्रिवना लो, उपाध्यक्ष एसीसीसी
“यसको अर्थ आफ्ना बारेमा जानकारीहरू सार्वजनिक गर्दा विशेष ध्यान पुर्याउनु आवश्यक छ।”

व्यक्तिगत जानकारी चोरी गर्नका लागि विभिन्न उपायहरू लगाइन्छन्। जस्तै कि:
- फिसिङ्गः अपराधीले बैंक, वित्तीय संस्था, सरकारी एजेन्सी जस्ता संस्थाहरूबाट इमेल वा म्यासेज पठाएको जस्तै गरी भरोसा दिलाई व्यक्तिगत जानकारीहरू चोरी गर्न प्रयास गर्छन् भने यसलाई फिसिङ भनिन्छ।
- स्किमिङ्गः डेभिड कार्ड वा क्रेडिट कार्डका जानकारी चोर्नका लागि विभिन्न एटिएम, पेट्रोल पम्प वा कार्ड रिड गर्ने स्थानमा डिभाइस राखी 'म्याग्नेटीक स्ट्रिप' मार्फत जानकारी चोरी गर्ने प्रयासलाई स्किमिङ्ग भनिन्छ।
- सोसल इन्जिनियरिङ: विभिन्न चलाखीपूर्ण तरिकाबाट भरोसा दिलाई व्यक्तिगत जानकारी चोर्ने प्रयासलाई सोसल इन्जिनियरिङ भनिन्छ।
- ह्याकिङ: विभिन्न भाइरस र मालवेरहरुको प्रयोग गरी कम्यूटर सिस्टम मार्फत जानकारीहरू चोरी गर्ने प्रयासलाई ह्याकिङ भनिन्छ।
- डम्प्सटर डाइभिङ्गः कसैले फ्याकेका फहरहरुमा उनीहरूको क्रेडिट कार्ड, बैङ्क स्टेटमेन्ट वा व्यक्तिगत जानकारी लिने प्रयासलाई डम्प्सटर डाइभिङ भनिन्छ।
यस्ता जानकारीहरू प्राप्त गरिसकेपछि अपराधीले के गर्छन् त?
अस्ट्रेलियामा सामान्य रूपमा आर्थिक लाभ लिने उद्देश्यले व्यक्तिगत जानकारीहरू लिइन्छ।
मेडीकेयर, सुपरएनुएसनको ठगी, ट्याक्सको ठगी, केटाकेटीको जानकारीहरूको गलत प्रयोग जस्तो विषयहरू अस्ट्रेलियामा हुने ठगीहरूमा पर्दछन्।
उनीहरूले पाएको जानकारीका आधारमा, के सम्म गर्न सक्छन् भन्ने कुरा निर्धारण हुने गर्दछक्याटरिवना लो
एक पटक जानकारी हात पारिसकेपछि उनीहरूले निम्न कुराहरू गर्न सक्छन्।
- तपाईँको नाममा क्रेडिट कार्ड निकाल्न।
- बैङ्क तथा सामाजिक एकाउन्ट बनाउन।
- तपाईँका नाममा आर्थिक सेवा लिन।
- ऋण लिन वा तपाईँको क्रेडीट कार्ड प्रयोग गरेर विभिन्न सामान खरिद गर्न।
- विभिन्न सामाजिक सुविधा प्राप्त गर्न जस्तो कि ट्याक्स क्रेडिट लिन, इन्कम सर्पोट वा, बेरोजगारी वा बालबालिकाको सामाजिक भत्ता प्राप्त गर्न।
- तपाईँका नाममा सवारी चालक अनुमति पत्र लिन।
- तपाईँका नाममा सवारी दर्ता गर्न।
- रोजगारीका लागि निवेदन हाल्न।
- पार्सर्पोट निवेदन दिन।
- मोबाइल सेवाको कनट्र्याक्ट गर्न।
आइडीकेयर नामक, अस्ट्रेलिया र न्युजल्यान्डको व्यक्तिगत विवरण एवम् साइबर सम्बन्धी संस्थाकी कम्युनिटी आउटरिच म्यानेजर सारा क्याभेना मोबाइल फोन एक्कासि बन्द भएमा पनि शङ्का गर्नु पर्ने बताउँछिन्।
“जस्तो कि तपाईँको फोन एक्कासि एसवएस (SOS) मोडमा गयो भने पनि, सिम स्वापिङ्ग भएको हुन सक्छ, तपाईँका नाममा कसैले टेलिफोन कम्पनीमा गएर अकै सिम लिएको हुन सक्छ,” क्याभेना भन्छिन्।

त्यसो भए आफूलाई कसरी सुरक्षित राख्ने त?
सुरक्षित रहनका लागि सबै भन्दा चलाखी भनेको जुन पायो त्यही वेबसाइटहरूमा आफ्नो व्यक्तिगत जानकारी नराख्नु भएको लो बताउँछिन्।
शंकास्पद म्यासेज वा इमेलहरू आएका छन् भने तिनका लिङ्क नखोल्ने र तुरुन्तै हटाइहाल्नु पर्छक्याट्रिवना लो
“कुनै संस्थाले सर्म्पक गर्यो र आफूलाई शङ्का लाग्यो भने म्यासेज वा इमेलमा आएको जानकारीमा भर नपरी संस्थालाई नै सर्म्पक गर्नु जरुरी हुन्छ” लो सुझाव दिन्छिन्।
यता आइडीकेयरकी क्याभेना पनि आफ्नो व्यक्तिगत जानकारी माग्ने गरी कुनै फोन आएको खण्डमा सचेत हुन आग्रह गर्छिन्।
“आफ्नो कम्प्युटर वा डिभाइसमा रिमोट एक्सीस पाउनका लागि रिक्वेस्ट आयो वा कुनै प्रोग्राम वा एप डाउनलोड गर्न लगायो भने निकै सचेत हुनु जरुरी छ।”
क्याभेनाका अनुसार आफूसँग सर्म्पकमा आएको व्यक्ति जो हु, भनेर दाबी गरिरहेको छ, त्यसको भेरीफाई हुनु जरुरी रहेको उनी बताउँछिन्।
यस बाहेक हरेक वेबसाइटका लागि छुट्टाछुट्टै र बलियो पासवर्ड बनाउन पनि उनी सल्लाह दिन्छिन्।
यस बाहेक आफू घरबाट निस्कँदा आफ्ना महत्त्वपूर्ण कागजपत्रहरूको सही व्यवस्थापन गर्न पनि उनी सल्लाह दिन्छिन्।

आफ्नो व्यक्तिगत जानकारी चोरी भएको खण्डमा के गर्ने?
धेरै मानिसहरूलाई आफ्नो व्यक्तिगत जानकारी चोरिएको बारेमा पत्तै हुदैन्।
यसका लागि चनाखो रहने र आफ्नो जानकारीहरू दुरुपयोग त भएको छैन भन्ने बारेमा सचेत रहने हो।
यदि आफ्ना जानकारीहरू चोरी भएको लागेमा भने आइडीकेयरमा सम्पर्क गर्न सकिन्छ जसले के गर्ने भन्ने बारेमा जानकारी दिन्छ।
यसबाहेक सम्बन्धित संस्थाहरूलाई सम्पर्क गर्ने र आफ्नो अनलाइन एकाउन्ट ठिक छ कि छैन भनेर जाँच गर्ने हो।
आफ्ना पासवर्ड र पिनहरू रिसेट गर्ने, र मिल्ने भए मल्टी फ्याक्टर अथेन्टीकेसनको प्रयोग गर्ने हो। यसबाहेक कनट्याक्ट डिटेल्समा केही परिवर्तन गरिएको छ कि भन्ने कुरा ध्यान दिएर हेर्नु पर्छसारा क्याभेना
'क्रेडिट ब्यान' गर्नका लागि के गर्ने?
आफ्नो व्यक्तिगत जानकारी चोरी भएको जस्तो लागेमा क्रेडिट रिर्पोटीङ्ग गर्ने कम्पनीहरूलाई आफ्नो जानकारीमा वित्तीय संस्थाहरूलाई पहुँच नदिनका लागि अनुरोध गर्न सकिन्छ।
सिड्नी विश्वविद्यालयमा फाइनान्स विषयका लेक्चरर एन्ड्रु ग्रान्ट क्रेडिट व्यान्डले ऋण दिने संस्थाहरूले क्रेडिट रिपोट हेर्न नसक्ने बनाइदिने बताउँछन्।
“क्रेडिट रिपोर्ट नपाउँदा, तपाईं बनेर आएको मानिसले बैक वा अन्य संस्थाबाट ऋण लिन सक्दैन,” उनले भने।

अस्ट्रेलियाका क्रेडिट रिपोर्ट दिने मुख्य ब्युरोहरू इक्युफेक्स, एक्सपेरियन र इलियन हुन्।
अनलाइन फर्म मार्फत क्रेडिट ब्यान गर्न निकै सजिलो छ।
डाक्टर ग्रान्ट क्रेडिट व्यानका लागि तीन वटै संस्थामा भिन्नै भिन्नै आवेदन दिनु पर्ने बताउँछन्।
यस बाहेक आइडीकेयरले पनि सुरुमा २१ दिन र आवश्यकता परेको खण्डमा १२ महिनासम्म क्रेडिट ब्यान्डका लागि के गर्ने भनेर जानकारी दिन्छ ।
क्याभेना अनाधीकृत गतिविधि भएको छ छैन भनेर ढुक्क हुन पनि वर्षमा एक पटक क्रेडिट चेक गर्नु पर्ने बताउँछिन्।
"रोकिने, सोच्ने र सुरक्षित हुने"
सचेत रहँदा रहँदै पनि व्यक्तिगत जानकारी चोरी हुन सक्छन्।
डाक्टर लोका अनुसार आजकाल स्क्यामरहरु निकै चलाख र परिष्कृत बन्दै गएका छन्।
त्यसैले मानिसहरूले तीन कुरा सधैँ याद गर्नु पर्छ: रोकिने, सोच्ने र सुरक्षित हुने।
“आफ्ना व्यक्तिगत जानकारी दिन वा आफ्नो कम्प्युटरमा कसैको अनधिकृत प्रयासलाई रोक्ने, उताको मान्छे को हो भन्ने बारेमा गहिरिएर सोच्ने र यदि आफ्ना जानकारी चोरिएको भान भए आइडी केयर, बैङ्क र स्क्यामवाचलाई सम्पर्क गरी सुरक्षित रहने।”
थप जानकारीका लागि
स्क्याम रिपोर्ट गर्न स्क्यामवाच अनलाइन फर्म वा रिपोर्ट साइबर मार्फत
आफ्नो व्यक्तिगत जानकारी चोरी भएमा आईडीकेयरलाई १८०० ५९५ १६० अस्ट्रेलिया वा ०८०० १२१ ०६८ न्युजल्यान्डमा।
व्यक्तिगत विवरण चोरी वा स्क्यामरले प्रयोग गर्ने नयाँ तरिकाबारे जान्न स्यामवाच।




