मुख्य बुँदा
- अस्ट्रेलियामा 'नो फल्ट डाइभोर्स' नियम लागु छ। यसको अर्थ कुनै एक पक्षले अर्को पक्षको इजाजत बिनै सम्बन्ध विच्छेदका लागि प्रक्रिया थाल्न सक्दछ।
- सन्तान वा सम्पत्तिका बारेमा अदालत नगईकनै निर्णय लिन सकिन्छ।
- अस्ट्रेलियाको कानुनले मुद्दा मामिला गर्नु अघि मध्यस्थकर्ताको सेवा लिन प्रोत्साहन गर्दछ।
एक विवाहित जोडी विभिन्न कारणले आफ्नो वैवाहिक सम्बन्धलाई औपचारिक रूपमा अन्त्य गर्ने अवस्थामा पुग्छन् भने यसलाई पारपाचुके वा सम्बन्ध विच्छेद भनिन्छ।
भावनात्मक, आर्थिक रूपमा कठिन र सन्तानको रेखदेख अनि जिम्मेवारीको जटिल प्रकियाहरु सम्बन्ध विच्छेदसँग जोडीने भएकाले बाहिरी सहयोग बिना यसलाई टुङ्गोमा पुर्याउन मानिसहरूलाई निकै गाह्रो लाग्न सक्छ।
अस्ट्रेलियामा सम्बन्ध विच्छेदको प्रकियालाई अगाडी बढाउनका लागि सम्बन्ध सुध्रनै नसक्ने अवस्थामा पुगेको र विगतको १२ महिना अलग-अलग बसेको प्रमाण पेस गर्नु पर्छ।
त्यसैले पनि अधिकांश छुट्टिन चाहेका जोडीले अदालत धाउनु अघि सन्तानको जिम्मेवारी र आर्थिक बाँडफाँट सम्बन्धी सम्झौता गरिसकेको हुनुपर्छ।
ल्यान्डर एन्ड रोर्जस ल फर्मकी अलेनर लाव, सन्तानको रेखदेख सम्बन्धी विषयहरू अदालत सामु लिएर जानु अघि, पारिवारिक छलफल र समाधानको प्रयास खोजेको हुनु पर्ने नियम रहेको बताउँछिन्।
“सन्तानको आगामी चरणको रेखदेख र व्यवस्था बारेमा, पारिवारिक समस्या समाधान गर्न सहयोग पुर्याउने प्रेक्टीसनर वा मध्यस्थकर्ताको सहयोग मार्फत छलफल भएको हुनु पर्ने नियम छ,” उनले भनिन्।
“आर्थिक कुराहरूको टुङ्गो लगाउनका लागि अदालत बाहेकको विकल्प खोज्न हामी सुझाव दिन्छौ, अदालतले आजकाल मुद्दा चल्नु अघि समस्या समाधानको कोसिस गरेको हेर्न खोज्छ।”

मध्यस्थताले कसरी काम गर्छ?
सबै समस्याको समाधान अदालतबाटै खोज्दा, धेरै पैसा खर्च हुने र समय पनि निकै धेरै लाग्ने सम्भावना रहन्छ।
त्यसै पनि पछिल्लो समय अधिकांश अर्थात् ९०% सम्बन्ध विच्छेदका मामिलामा जोडीहरू आफै समस्या समाधान गर्ने गरेको उदाहरण देखिएको पारिवारिक समस्या समाधान अभ्यासमा सक्रिय भेलेरी नोर्टन बताउँछिन्।
औपचारिक रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु अघि दुवै सदस्यसँग उनीहरूको विचार बुझ्ने गरेको नोर्टन बताउँछिन्।
उक्त परिवारमा मध्यस्थकर्ताको उपयोगिता छ कि छैन भन्ने कुराको निर्धारण भने मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, रक्सी र लागु औषध प्रयोगको सम्भावनालाई हेरिर गरिन्छ।
“सबै कुरा हेरी सके पछि अदालत नगईकनै समस्या समाधान हुन सक्छ भन्ने लाग्यो भने, एकैठाउमा राखेर हरेक विवादका बारेमा एक एक गरी छलफल गर्ने गर्छौ,” उनले भनिन्।

मध्यस्थता गर्दा, उनीहरूलाई भावनात्मक कुराहरूबाट बाहिर निकाली सन्तान र उनीहरूको फाइदामा केन्द्रित गराइन्छ।
मध्यस्थता भनेको ठिक छ भन्ने बिन्दुमा पुग्नु हो, यो आफैमा पूर्ण हुँदैन दुवै पक्षले सम्झौता गरेका हुन्छन्। उनीहरू दुबैका लागि यो निष्पक्ष छ भन्ने लाग्दछभेलेरी नर्टन
सम्पत्तिको बाँडफाँट र आर्थिक सम्झौता
अस्ट्रेलियामा 'नो फल्ट डिभोर्स' नियम लागु छ। यसको अर्थ कुनै एक पक्षले अर्को पक्षको इजाजत बिनै सम्बन्ध विच्छेदका लागि प्रक्रिया थाल्न सक्दछ।
वैवाहिक सम्बन्ध किन अन्त्य गर्न खोजेको हो भन्ने बारेमा कुनै कारण खुलाउनु आवश्यक पनि हुदैन्।
सम्पत्ति पनि आधा-आधा बाँड्नै पर्छ भन्ने नियम पनि यहाँ छैन।
अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विच्छेद गराएको अनुभव बोकेकी वकिल अलेनर लाव सम्बन्ध ताेड्न चाहेका जोडीले व्यक्तिगत जानकारी खुलाएर कानुनी सल्लाह लिनु पर्ने बताउँछिन्।
“सम्पत्ति बाँडफाँट गर्दा चाहिँ अस्ट्रेलिया र विदेशमा के कति सम्पत्ति छ भन्ने बारेमा पनि जानकारी राख्नु पर्छ,” उनले प्रक्रिया बारेमा बुझाइन्।

सम्बन्ध विच्छेद पछि वा सम्बन्धमा रहँदा कसले कति योगदान गर्यो भन्ने पनि विचार गरिने उनको भनाई छ।
“कुनै एकले सम्बन्धमा हुँदा १० लाख डलर भित्र्यायो र अर्कोले चाहिँ ऋण मात्र लगाएको छ भने यो पनि विचार योग्य हुन्छ, आर्थिक बाहेकका योगदानहरू पनि हेरिन्छन्,” उनले प्रस्ट्याइन्।
यस बाहेक प्रत्येक पक्षको भविष्यको आम्दानीको स्रोत, उमेर, स्वास्थ्य अवस्था इत्यादि कुराहरू हेरेर पनि सम्पत्तिका बारेमा निर्णय लिइन्छ।
“यसको मतलब कुनै एक पक्षलाई अगाडी बढ्नका लागि थप केही आवश्यताहरु हुन सक्दछन् भन्ने हो,” लाव भन्छिन्।
यस्तो मध्यस्थताका बेला सम्बन्धित परिवार, सन्तानको रेखदेख र सम्पत्तिको बारेमा सम्झौतामा पुग्न सक्दछन्, यस प्रक्रियामा वकिलको प्रत्यक्ष संलग्नता वा उनीहरूको सहयोग रहन सक्दछ।
दुवै पक्षको सहमति पछि सम्झौता कागजलाई आधिकारिक सहमति पत्रका रूपमा दाखिल गर्न सकिन्छ।

कानुनी सल्लाह र भावनात्मक सहयोग
सम्बन्ध विच्छेदका बेला भावनाहरूमा बग्नु भन्दा आवश्यकता परेको खण्डमा कानुनी सल्लाहका लागि जान लाव सल्लाह दिन्छिन्।
“कुनै बेला सम्बन्धित जोडीलाई आफू अझै तयार भइसकेको छैन की भन्ने कुराले ढिलाइ गरिरहेका हुन सक्छन्, तर आफू कुन अवस्थामा छु भन्ने कुरा थाहा हुनु जरुरी छ, र सक्दो चाँडो कानुनी सल्लाहमा जानु पर्दछ,” लाव भन्छिन्।
तर कतिपय अवस्थामा सम्बन्धमा बस्नु अघि वा बसिसकेपछि पनि आर्थिक विषयहरूमा छलफल र सम्झौताहरू गर्दा भविष्यमा सम्बन्धमा आउने समस्या र छुट्टिने बेलामा सहज हुन सक्छ।

आर्थिक रूपमा निजी वकिल वा मध्यस्थकर्ता राख्न नसक्नेहरूका लागि सामुदायिक कानुनी परामर्श केन्द्र वा लिगल एडले सहयोग गर्न सक्छ।
यस बाहेक रिलेसनसिप अस्ट्रेलिया नामक सरकारी सहयोगबाट सञ्चालित सँस्थाबाट पनि केही हदसम्म सेवा लिन सकिन्छ।
उनीहरूले निःशुल्क वा कम खर्च लाग्ने मध्यस्थकर्ता वा कानुनी सेवाका बारेमा बताउन सक्दछन्।
रिलेसनसिप अस्ट्रेलियाका प्रमुख निक टेबि आफ्नो सँस्थाले सम्बन्ध विच्छेदको खर्चलाई कम गर्न मद्दत गर्ने बताउँछन्।
"रिलेसनसिप अस्ट्रेलिया जस्ता सँस्थाबाट सेवा लिँदा, वकिलकोमा जाँदा लाग्न सक्ने थुप्रै खर्च जोगिन सक्छ, अदालतमा जाँदा लाग्ने खर्च जोगाउन सकियो भने अरू कुराहरूमा यसलाई खर्च गर्न सकिन्छ,” उनले भने।
रिलेसनसिप अस्ट्रेलियाले अदालतमा कसैको पक्षमा वकालत गर्न नसक्ने भए पनि सम्बन्ध टुटेको तनावबाट गुज्रिरहेको परिवारलाई भावनात्मक काउन्सीलिङ्ग सेवा भने प्रदान गर्न सक्दछ।
सम्बन्ध विच्छेद गर्दा, ख्याल राख्नु पर्ने कुरा चाहिँ सन्तानको भविष्य र उनीहरूको आवश्यकताहरू रहेको कानुनी एवम् मानसिक स्वास्थ्य सम्बन्धी विज्ञहरूको धारणा छ।
“कुनै कुनै सम्बन्ध सधैँ भरीका लागि हुदैनन...मानिसहरू आफ्नो बाटोमा हिँड्न सक्छन् तर पनि खुसी र सफल जिन्दगी जिउन सक्छन्, उनीहरू भविष्यमा नयाँ साथीका साथ अगाडी बढ्न पनि सक्छन्।”
स्रोत सामाग्री
अस्ट्रेलियन फ्यामिली डिस्प्यूट रिजोलुसन प्राक्टीसनर् फाइन्डर
गाइड टु फ्यामिली डिस्प्यूट रिजोलुसन




