प्रत्येक वर्ष अगस्ट ९ को दिन मनाइने विश्व आदिवासी दिवसका अवसरमा नेपाली आदिवासी जनजातिहरुका समुहहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन। यस अन्तर्गत २४ औं विश्व आदिवासी दिवसका दिवस पारेर अस्ट्रेलियामा रहेका नेपाली र बंगाली समुदाय द्वारा गत शनिबार संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमका आयोजक र सहभागीहरुसँग सुनिता पोखरेलले गरेको कुराकानी।
सहभागीहरुसंग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस।
नेपाल आदिवासी जनजाति मंच अस्ट्रेलिया (निन्फा) द्वारा आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख आकर्षणमा नेपाली तथा बंगाली आदिवासी समुदायको कला, संस्कृति तथा भेष भुषा झल्कने प्रस्तुतिहरुनै रहेका थिए।
कार्यक्रम स्थलमा बंगलादेशका गारो समुदाय र जुम्मा संगठन अस्ट्रेलिया ले आफ्नो देशको आदिवासी संस्कृति झल्कने प्रस्तुति दिएका थिए।
त्यस्तै बंगलादेशका आदिवासी समुहहरु लगायत नेपालका राई, तामाङ्ग, मगर, गुरुङ लगायतका जनजातिको कला र संस्कृति झल्कने स्टलहरु राखिएको थियो।
आदिवासी अस्ट्रेलियालीलाई बार्टन निर्बाचन क्षेत्रबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसद लिन्डा बर्नी सहित आदिवासी हकहितका लागि कार्य गर्दै आएका ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि, मानब संसाधन छायाँ मन्त्रि लिन्डा बर्निले अस्ट्रेलियाको आदिवासी समुदाय त्यसमा पनि उक्त समुदायको महिलाहरुलाई संसदमा प्रतिनिधित्व गर्नु आफ्नो लागि गर्वको कुरा भएको बताइन।
न्यू साउथ वेल्सका लागी नेपालका कन्सुलेट जेनेरल दिपक खड्काले कार्यक्रममा जातिय तथा सांस्कृतिक विविधता देख्दा निकै खुसी लागेको बताएका थिए । शिक्षाले नै समाजमा समानता र एक अर्काप्रति सम्मानको बाताबरण बनाउने भन्दै उनले कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा असल संस्कार र शिक्षाको महत्व दर्शाए।
विविधतामा एकताको मूल मन्त्र बोकेको कार्यक्रममा अस्ट्रेलियामा रहेका भिन्न आदिवासी समुहहरुले सांस्कृतिक पहिचान बोकेका सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए।





