अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा प्रकाशित पछिल्लो रिपोर्ट अनुसार, गए एक दशकमा देशको अर्थतन्त्र सबैभन्दा कम दरले बढेको छ।
गत जुन महिनासम्मको एक वर्ष अवधिमा, अस्ट्रेलियाको जीडीपी या कुल ग्राह्य उत्पादन केवल १.४ प्रतिशतले मात्र बढेको तथ्याङ्क विभागको भनाइ छ।
त्यसै गरी जुन महिनासम्मको अन्तिम चार महिनाको अवधिलाई मात्र हेर्ने हो भने, उक्त वृद्धि दर ०.५ प्रतिशत मात्र रहेको थियो।
यसको मतलब, सन् २००९ मा जब विश्व चरम आर्थिक मन्दीको चपेटामा रहेको थियो, ठिक त्यसै बेलाको जस्तोअवस्थामा हाल अस्ट्रेलियाली अर्थतन्त्र रहेको छ।

तर, सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्गले चाहिँ बिगत अठाइस वर्ष देखि लगातार अस्ट्रेलियाली अर्थतन्त्र बढी रहेको कुरा प्रति ध्यानाकर्षण गराउने प्रयासमा छन्।
उक्त कीर्तिमान अन्य कुनै पनि विकसित राष्ट्रहरूले प्राप्त गर्न नसकेकोले अस्ट्रेलियाली अर्थतन्त्र बारे नकारात्मक बोल्नेहरूले उक्त कुरा बिर्सन नहुने फ्राइडेनबर्गको भनाइ रहेको छ।
हाल विश्व अर्थतन्त्रमा चुनौतीहरू देखिएता पनि अस्ट्रेलियाको दीर्घकालीन आर्थिक अवस्था बलियो रहेको प्रति पनि उनी जोड दिन्छन्।
“लगानी गर्न अस्ट्रेलिया धेरै बलियो अवस्थामा रहेको देखाउने अन्तर्राष्ट्रिय रेटिंग र साढे दुई प्रतिशत भन्दा बढीको दरले रोजगारी सिर्जना हुनुले पनि हाम्रो अर्थतन्त्र बलियो रहेको पुष्टि गर्छ,”मन्त्री फ्राइडेनबर्गले भने।

उता, विपक्षी लेबर पार्टीको भनाइ चाहिँ सरकारको भन्दा फरक रहेको छ।
छाया सरकारमा ट्रेजरर रहेका लेबर पार्टीका जिम चाल्मर्सका अनुसार भने गठबन्धन सरकारको नियन्त्रणमा देशको अर्थतन्त्र कमजोर हुँदै गएको छ।
“यदि ट्रेजररले देशको आर्थिक वृद्धि दर बलियो रहेको भनेर सोचिरहेका छन् भने उनी वास्तविकता भन्दा कति पर छन् भन्ने कुरा प्रस्ट पार्छ,” उनले भने।
साथै सरकारले उक्त अवस्थामा सुधार ल्याउन थप पहल गर्नुपर्नेमा पनि चाल्मर्सले जोड दिएका छन्।

ग्रीन्स पार्टीका नेता रिचार्ड डी नाटाले पनि जिम चाल्मर्सको भनाइसँग सहमति राख्छन्।
“लिबरल पार्टीले आफूलाई बलियो आर्थिक प्रबन्धक रहेको देखाउने प्रयास जति गरे पनि उनीहरू अर्थतन्त्र तहस-नहस गर्न खप्पिस छन्,” उनीले आरोप लगाए।
देशको वर्तमान आर्थिक अवस्थामा सरकार समक्ष उपयुक्त योजना नरहेकोले, अर्थतन्त्र कमजोर भएको जिम चाल्मर्सको धारणा छ।
तलबमा वृद्धि नभइरहेको र खस्कँदो जीवन स्तर जस्ता कुराहरूले पनि आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराउने उनको भनाइ छ।

तर प्रधानमन्त्री स्कट मोरिशनले चाहिँ अस्ट्रेलियाली तथ्याङ्क विभागको पछिल्लो प्रतिवेदनमा गत जुलाई महिना देखि आफ्नो सरकारले लागू गरेको कर छुटको नीति अनि ब्याज दरमा कटौती गर्ने केन्द्रीय बैङ्कको निर्णय सम्बन्धी नतिजाहरू समावेश नरहेको तथ्य पनि हेर्नुपर्ने जिकिर गर्छन्।
“यस कारण पनि आगामी रिपोर्टमा आर्थिक अवस्था झनै बलियो रहेको सङ्केत मिल्नेछ,” उनले भने।
कोइला, कच्चा फलाम र तरल प्राकृतिक ग्यासको निर्यातले अस्ट्रेलियाली अर्थतन्त्रमा केही बलियो भएको देखाउन सहयोग गरे पनि, आम मानिसहरूले आफ्नो दैनिक खर्चलाई घटाउने देखि, भवन निर्माणका गतिविधिमा आएको ह्रासले पनि अवस्थालाई गम्भीर बनाएको विज्ञहरूको भनाइ छ।

पुरा रिपोर्ट सुन्न यो पेजको सबैभन्दा माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्।




