आज उपनिर्वाचन हुँदै
बारा, चितवन र तनहुँमा आइतबार उपनिर्वाचन हुँदै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसदबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो।
तनहुँ १ र बारा २ बाट निर्वाचित रामचन्द्र पौडेल र रामसहाय प्रसाद यादव राष्ट्रपति र उप-राष्ट्रपतिमा निर्वाचित भएपछि ती ठाउँमा पनि उपनिर्वाचन हुँदै छ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका राम प्रसाद न्यौपाने प्रमुख उम्मेदवार रहेका छन्।
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली काँग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालबिच प्रतिस्पर्धा हुँदै छ।
बारामा जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खनाल, जनमत पार्टीका शिवकुमार कुशवाह र आम जनता पार्टीका अरुण ज्ञवाली निर्वाचनका उम्मेदवार रहेका छन्।
निर्वाचन बिहान सात देखि साँझ पाँच बजेसम्म हुने र यसकालागि सुरक्षा व्यवस्था कडा गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनकै लागि बारासँग जोडिएको भारतीय नाका शुक्रवार साँझबाट ७२घण्टाका लागि बन्द गरिएको छ।
काठमान्डु विश्वकै सबैभन्दा प्रदूषित सहर

यस साता काठमान्डु विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिको टुप्पोमा उक्लियो।
केही समययता देशका विभिन्न भागमा लागेको डढेलोका कारण प्रदूषण व्यापक बढेको विज्ञहरूले बताएका छन्।
प्रदूषणका कारण श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
साथै प्रदूषणबाट बच्न मास्कको प्रयोग गर्न पनि मन्त्रालयले सूचना प्रकाशित गरेको छ।
वायु प्रदूषण रोकथामका लागि दीर्घकालीन योजना बनाउनु पर्ने माग गर्दै सांसद हितराज पाण्डेले भने, "हामी गम्भीर समस्यामा छौँ। काठमान्डु विश्वकै सबैभन्दा प्रदूषित सहर भएको छ।"
"विभिन्न भागमा लागेको डढेलोले पनि प्रदूषण बढेको हो तर फोहोर व्यवस्थापन लगायतका अन्य समस्या समाधान गर्ने गरी यसका लागि दीर्घकालीन योजनाको आवश्यकता छ।"
यस्तै भनाइ सांसद सपनाराज भण्डारीको पनि रह्यो।
उनले प्रदूषणका कारण दम लगायतका बिरामीलाई समस्या परेको भन्दै प्रदूषण न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सिंहदरबारको फोहोर उठाउन कामनपालाई आदेश
सर्वोच्च अदालतले काठमान्डु महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ।
सङ्घीय सरकारले आफ्ना काममा सहयोग नगरेकोले सिंहदरबारको फोहोर नउठाउने काठमान्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताउँदै आएका थिए।
उनको उक्त निर्णयको विरुद्ध अधिवक्ता पदम बहादुर श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रवार दिएको आदेशमा तीन दिन भित्र फोहोर उठाउन भनिएको छ।
फोहोर उठाउने कार्यक्षेत्र स्थानीय तहको रहेकोले काठमान्डु महानगरपालिकाले फोहोर उठाउनु पर्ने आदेशमा भनिएको छ।
सामाजिक सञ्जालमा अराजकता बढेको प्रति प्रधानमन्त्रीको चिन्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा अराजकता बढेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सामाजिक सञ्जालले क्षणिक आवेगमा ल्याएर समाजलाई अराजकतातिर लगी रहेको बताए।
"अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त र आदर्शलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना वा अराजकतालाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ।"
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा दल र नेताहरूप्रति गरिने अभिव्यक्तिहरूलाई इङ्गित गर्दे उनले भने, "यस्तो बेला बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहीँ न कहीँ लामो सङ्घर्षबाट आएको नेताहरूमाथि धेरै तल उत्रिएर गाली गरेको देखिने गरिन्छ।"
गुगल र इबेस्को नेपालमा दर्ता
अन्तर्राष्ट्रिय कम्पनी गुगल र इबेस्को नेपालको कर प्रणालीमा दर्ता भएका छन्।
नेपालमा उनीहरूको प्रतिनिधि नभए पनि उनीहरू कर प्रणालीमा आबद्ध भएको आन्तरिक राजश्व विभागले जनाएको छ।
विभागका निर्देशक राजु प्याकुरेलका अनुसार विद्युतीय सेवा कर तिर्ने गरी गुगल र इबेस्को अनलाइन मार्फत दर्ता भएका हुन्।
यी दुई कम्पनीको हेर्ने कार्यक्षेत्र ठुला करदाता कार्यालयको रहेको बताइएको छ।
राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख

उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ।
छाती र कोखामा समस्या देखिएपछि थप उपचारका लागि उनलाई बुधवार एयर लिफ्ट गरी दिल्ली पुर्याइएको थियो।
यसअघि उनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको थियो।
भारत स्थित नेपाली दूतावासले बिहीबार एक जनाकारी सार्वजनिक गर्दै राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जनाएको हो।
यस अघि उनी पेटको समस्याका कारण पनि अस्पताल भर्ना भएका थिए।
मिटर ब्याज पीडितहरूलाई घर फर्कन मन्त्री शर्माको आग्रह
मिटर ब्याजका कारण पीडित भएको भन्दै सङ्घीय राजधानी आएका पीडितहरूलाई घर फर्कन सञ्चार तथा सूचना मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले आग्रह गरेकी छन्।
मिटर ब्याज पीडितहरूको समस्या हल गर्नका लागि सरकारले आयोग नै बनाइसकेको र आवश्यक कानुन संशोधन गर्ने प्रक्रियामा रहेकोले आन्दोलनमा उत्रन भन्दा आयोगलाई विवरण बुझाएर सहयोग गर्न उनले बताइन्।
सरकारले एक थरी मिटर ब्याज पीडितहरूसँग वार्ता टुङ्ग्याउन नपाउँदै मिटर ब्याजबाट पीडितको अर्को समूह सङ्घीय राजधानी आइपुगेका हुन् ।
मिटर ब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयको आलोचना पनि भयो।
आन्दोलनमा उत्रिएका पीडितहरूलाई प्रहरीले बल प्रयोग गर्दा कतिपय घाइते भएका थिए।
यसबारे प्रतिपक्षी दलका सांसद प्रेम सुवालले सदनमा सरकारको ध्यानाकर्षण गर्दै भने, "काठमान्डुमा भेला भएका मिटर ब्याज पीडित र इनरुवामा भेला भएका लघुवित्त पीडित माथि लाठी प्रयोग भएको छ। संविधानले दिएको वाक स्वतन्त्रता र भेला हुन पाउने अधिकारको विपरीत हो। यस विषयमा गृह प्रशासनले सदनलाई जवाफ दिनु पर्छ।"
यस्तै भनाइ राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देनको पनि रह्यो।
उनले सरकारले पीडितहरूको समस्या समाधान गर्नु भन्दा दमन गरेको र आवश्यक परे राप्रपा सडकमा उत्रेर पीडितहरूको सहयोग गर्ने बताए।
चौतर्फी आलोचना भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बचाउ गरेका छन्।
उनले प्रहरी पनि घाइते भएको र प्रहरीले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा आन्दोलनकारी घाइते भएको बताए।








