SKIP TO MAIN CONTENT
Nepal Cricket Team into World Cup Qualifier.jpg

This article is more than 3 years old

विश्वकप छनोटमा प्रवेश गर्दै इतिहास रच्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपाली राष्ट्रिय क्रिकेट टोली इतिहास रच्दै विश्वकप छनोटमा प्रवेश गरेको छ। घरेलु समर्थकले भरिभराउ त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराएको हो।

केही समय अघि एक दिवसीय मान्यता जोगाउन सङ्घर्ष गरिरहेको राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो १२ खेलमा ११ जित हात पर्दै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो।

यसअघि नै एक दिवसीय मान्यता जोगाउन सफल भएको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीवार युएई विरुद्ध डकवर्थ-लुइस मेथडद्वारा ९ रनको जित हात पार्दै इतिहास बनाउन सफल भएको हो।

उत्कृष्ट तीन टोली मात्र विश्वकप छनोट चरणमा प्रवेश गर्ने नियम भएकोले नेपालले उक्त सुनौलो अवसर पाउनका लागि त्रिकोणात्मक सिरिजको अन्तिम खेल जित्नै पर्ने अवस्था रहेको थियो।

घरेलु समर्थकले भरिभराउ त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाललाई युएईले ३११ रनको लक्ष्य दिएको थियो।

उक्त रन पछ्याइरहेको घरेलु टोलीले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको बेला खराब प्रकाशका कारण खेल रोकिएको थियो।

विशाल लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन।

तर भीम सार्की, आरिफ शेख, गुल्शन झा र कुशल भुर्तेलको अर्धशतकले नेपाल खेलमा फर्केको हो।

युएईका लागि आसिफ खानले शतक प्रहार गरेका थिए।

उनले ४२ बलमा नकआउट १०१ रन बनाएका हुन्।

उक्त जितसँगै नेपाल ४० अङ्क सहित लिगको तोस्रो स्थानमा उक्लिएको हो।

यस अघि ३९ अङ्क सहित नामिबिया तेस्रो स्थानमा रहेको थियो।

Nepal vs UAE.jpg
Nepal and UAE's national cricket teams at the Tribhuvan universtity playground before the historic match on Thursday 16 March 2023. Source: Facebook / Cricket Association of Nepal-CAN

खेलपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै नेपालका कप्तान रोहित पौडेलले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेका कारण ठूलो रन पछ्याए पनि जित निकाल्न सक्ने विश्वास रहेको बताएका छन्।

“युएई बलियो टोली हो र आज उसले राम्रो प्रदर्शन गर्‍यो। पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका कारण हामी विश्वस्त थियौँ कि हामी जित्न सक्छौँ भनेर,” रोहितले भने।

“कुशल, आरिफ लगायत चार जनाले अर्धशतक बनाए राम्रो खेले।”

Nepal cricket team Prachanda
Nepal's Prime Minister Pushpa Kamal Dahal (Prachanda) with national cricket team players at Tribhuvan university playground. Source: Facebook / /Cricket Association of Nepal-CAN/SAJAN

नेपाल विश्वकप छनोटमा प्रवेश गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएका छन्।

उनले बिहीवार बिहान कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर खेलाडीहरूको हौसला बढाएका थिए।

यस्तै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि फेसबुक मार्फत नेपाली टोलीलाई बधाई दिएका छन्।

विश्वकप छनोटका खेलहरू जिम्बाब्वेमा आगामी जुन र जुलाईमा हुने कार्यक्रम छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now