कोरोना अपडेट
आजसम्म नेपालमा करिब ७ लाख १४ हजारभन्दा बढी व्यक्ती कोरोना सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमित २७ हजार ८ सय भन्दा बढी छन्।
यस हप्ता मृत्यु हुनेको सङ्ख्या प्रति दिन २० देखि ४० को हाराहारीमा रहेको छ।
यसै गरी निको हुनेको सङ्ख्या सङ्क्रमितको ९५ प्रतिशत जति पुगेको छ।
जोन्सन एण्ड जोन्सनको यस खोप अमेरिकी राजदूत र्यान्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
यो खोप एक पटक लगाए पुग्छ र यो पहिलो चरणमा ५० देखि ५४ वर्ष उमेरको मानिसहरूलाई लगाइने छ।

यस विषयमा स्वास्थ्य मन्त्रालयका एक प्रवक्ता भन्छन्, “अहिले अभियानको रूपमा सञ्चालन भएका दुई वटा खोपहरू – भेरोसेल र जोन्सन एण्ड जोन्सन – हामीसँग छन्। त्यस लगायत कोभिसिल्ड खोप को दोस्रो मात्रा लगाउन प्रतीक्षामा बस्नुभएका धेरै व्यक्तिहरू हुनुहुन्छ। वहाँहरूलाई पनि छिट्टै सम्बोधन गर्ने प्रयासमा हामी जुटेका छौँ र त्यस विषयमा केही सङ्केतहरू पनि आइसकेका छन्।”
यस्तै शुक्रवार चीनको राजदूत होउ यान्कीले प्रधानमन्त्री शेर बहादुर देउवासँग फोन वार्ता गरेकी छिन्।
उनको अनुसार चीनले नेपाललाई आगामी दिनमा १६ लाख खोप सहयोग स्वरूप दिने प्रतिबद्धता देखाएको छ।

शेरबहादुर देउवा प्रधानमन्त्री, पाए विश्वासको मत
यस मङ्गलवार नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा पाँचौँ पटक नेपालका प्रधानमन्त्री भएका छन्।
सोमबार सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री घोषणा गर्न र प्रतिनिधि सभाको बैठक बोलाएर त्यसको पुनः स्थापना गर्न आदेश दिएको थियो।
देउवाले सरकार बनाउन सांसदहरूको बहुमत प्राप्त गरे तापनि केपी शर्मा ओली सरकारको सिफारिसमा गत मे महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेकी थिइन्।

यस विरुद्ध अदालतमा प्रधानमन्त्री देउवा सहित १४६ जना सांसदहरूले रिट दर्ता गरेका थिए।
यसै विषयमा करिब एक महिना लामो बहस तथा सुनुवाइपछि सर्वोच्चले यस्तो फैसला गरेको हो।
आफ्नो कार्यकार छाडेर जान अघि मङ्गलवार सिंहदरबारबाट केपी शर्मा ओलीले देशवासीलाई एक सम्बोधन पनि गरेका थिए।
“एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने – यस्तो परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन। निश्चित व्यक्तिका निश्चित आकाङ्क्षा परिपूर्ति कालागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको पछि फर्किने गरी संशोधन गर्ने काम गरेको छ।”
पछिल्लो समयमा ओलीले आफूले सत्ता छोड्नुपरेको कारण मध्य सबैभन्दा बढी दोष आफ्नै पार्टीका नेता माधवकुमार नेपाललाई लगाएका छन्।
गए राती भएको एक मतदानमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउन सफल भएका छन्।
उनलाई विपक्षी दल नेकपा एमालेका सांसदहरूका साथै महन्थ ठाकुर पक्षका संसद् सदस्यहरू समेतले आफ्नो समर्थन दिएका थिए।
देउवाले १६५ मत पाएका हुन्।

ललिता प्रकरणमा संलग्न धरौटीमा छुट्दै
बालुवाटारमा रहेको ललिता निवास सरकारी जग्गालाई व्यक्तिको नाममा सारेको भनेर अख्तियारको आरोपमा परेका पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धरौटीमा छुटेका छन्।
गत एक वर्षदेखि अदालतको खोजीमा नभेटिएका उनीसँग ९ करोड ६५ लाख बिगो र उनीमाथि १३ वर्ष जेल सजाय माग गरिएको थियो।
यस्तै तत्कालीन सचिव दीप बस्न्यातसँग पनि गच्छेदार जतिकै बिगो माग गरिएको थियो।
तर उनी ५ लाख धरौटीमै छुटे।
यसै प्रकरणमा संलग्न मानिएको मालपोत अधिकृत कृष्णप्रसाद पौडेल पनि २ लाखमा छुटे, जबकि उनको नाममा ३२ करोड बिगो दाबी गरिएको थियो।
अख्तियारले करिब यी अभियुक्त सहित दुई वर्ष अघि १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।
यो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
काली गण्डकीको बहाव परिवर्तनमा रोक
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर काली गण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्न रोक लगाएको छ।
यस क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, बाँध बाँध्ने; ड्याम बनाउने र नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने कार्यहरूलाई पनि बन्देज लगाइएको छ।
यस निर्णयमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गरेका हुन्।
उनले सुनुवाइ गरेको यो रिट अधिवक्ता प्रकाशमणि शर्मा लगायतले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दायर गरेका थिए।
जुम्लाको पहिलो जातीय विभेद मुद्दा
जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ मा जातीय विभेद विरुद्ध मुद्दा दर्ता भएको छ।
यो मुद्दा यस जिल्लाकै पहिलो जातीय दमन विरुद्ध दायर मुद्दा हो।
यस विषयमा वडाका दलित युवा विबेन्द्र नेपालमाथि वडाध्यक्ष काली बहादुर बुढा र उनको छोराले गरेको जातीय विभेद विरुद्ध दर्ता गरिएको छ।
दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको प्रहरीले युवा समूहको दबाबको कारण हार मान्नु परेको थियो।
गाउँपालिकाका जनप्रतिनिधिले समेत पीडित पक्षलाई यस मुद्दा दर्ता गर्न नदिएका थिए।
भीषण वर्षाले बढ्यो नदीको सतह

यस हप्ता देशका विभिन्न ठाउँहरूमा भीषण वर्षा पर्ने क्रम जारी रहेको छ।
नारायणी र त्रिशूलीजस्ता ठुला-ठुला नदीहरूको बहाव पनि बढेको छ र पानीका सतह कतिपयमा सामान्य सतहभन्दा निकै माथि छ।
यस्तै महाकाली, तिनहु र राप्ती तथा तिनीहरूका सहायक नदीको पनि बहावमा धेरै नै उतार-चढाव हुने पूर्वानुमान गरिएको छ।
नदी वरिपरिका स्थलहरू डुबानमा पर्ने क्रम जारी नै छ, तर केही समय अघिजस्तो राजमार्गमा पहिरो जाने र ढुङ्गा खस्ने खासै देखिएको छैन।
बाटोहरू पिच नभएको ठाउँमा धरै हिलो तथा पानी जमेर सवारी साधनहरू धेरै ठाउँहरूमा अड्केको तथा निकै मुस्किलका साथ आवतजावत पनि भइरहेका छन्।




