नेपालमा र अन्य दक्षिण एसियाली मुलुकहरूमा कोरोनाको कारण देखिएको यस्तो भयावह स्थितिप्रति संयुक्त राष्ट्र सङ्घको संस्था युनिसेफले एउटा विज्ञप्ति जारी गर्दै यस विषयमा चिन्ता व्यक्त गरेको छ।
"दक्षिण एसियामा अहिले हामीले देखिरहेका दृश्य यस अघि कहिल्यै देखेका थिएनौँ। मेडिकल अक्सिजनको चरम अभाव देखिएको यस क्षेत्रमा बिरामीका आफन्तजनले सहयोगको लागि याचना गरिरहेका छन्," विज्ञप्तिमा भनिएको छ।
"थकित स्वास्थ्यकर्मीहरू आफैँ नै बिरामी हुने अवस्थामा पुगिसकेका छन्।"
"हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा सञ्चालन हुनुपर्ने अवस्था आई अझै धेरै मानिसहरूको ज्यान जान सक्ने सम्भावना बढेको छ।"
सङ्क्रमण अत्यन्त बढेको देश भारतसँग खुला सिमाना भएका कारणले नेपालमा यस्तो अवस्था आएको विज्ञहरू बताउँछन्।
गत हप्ता मात्रै, भारतको कुम्भ मेलामा सामेल भएर फर्किएका भूतपूर्व राजा ज्ञानेन्द्र शाह र उनका श्रीमती कोमल राज्य लक्ष्मी शाह र उनीहरूको सुपुत्री प्रेराना लाई कोभिड -१९ को सङ्क्रमणको पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो।
त्यो मेलमा हजारौँ हिन्दुहरूको सहभागिता थियो।

भारतबाट नेपाल आउने आप्रवासी कामदारको सङ्ख्या निकै ठुलो रहेकाले भारतमा फैलिएको सङ्क्रमणले नेपालमा पनि भयानक रूप लिएको छ।
नेपालमा यो महामारीको भयावह स्थिति कसरी भयो भनेर सोध्दा जनस्वास्थ्यविद् डा. रिता थापा बताउँछिन्।
“यसको मुख्य कारण हाम्रो देशमा भइरहेको खराब व्यवस्थापन हो," उनले भनिन्।
"गत साल कोरोनाको प्रथम लहर आएको बेला हामीले यो सँग लड्ने विषयमा केही सिक्ने मौका पाएका थियौँ। तर यो अनुभव र ज्ञानलाई हामीले संस्थागत गर्न बिर्सियौँ।"
डा. थापा अगाडी भन्छिन् कि देशका नाकाहरूमा कोरोना परीक्षण र सङ्क्रमितको उपचारमा धरै कमजोरीहरू भए।
"देशभरिका प्राय हेल्प डेस्कहरू नामको लागि मात्र भए र कुनै सहयोगको निम्ति उपयोगी भएनन्," उनले भनिन्।
सङ्क्रमण अत्यन्त बढेको देश भारतबाट नेपाल आउने आप्रवासी कामदारको सङ्ख्या निकै ठुलो छ।
तर नेपालमा यो सङ्क्रमण फैलने दर २.०८ भारतको दर १.३९ भन्दा पनि धेरै रहेको छ।
यसको साथ-साथै अत्यधिक प्रयोगको कारण बजारमा अक्सिजन सिलिन्डरको सङ्ख्या पनि कम भएको छ।
पशुपति क्षेत्रमा रहेको शवदाह गृह भित्र रहेको तीन वटा उपकरण मध्य जम्मा दुई वटा मात्र सञ्चालनमा छन्।
एक दिनमा कोरोनाको कारण ज्यान गुमाउने मानिसको सङ्ख्या धेरै भएपछि नेपाली सेनाका जवानहरूले उनीहरूलाई परम्परागत तरिकाले बाग्मती किनारमा दाउरा बालेर अन्तिम संस्कार गर्न थालेका छन्।

स्वास्थ्य क्षेत्रमा जनशक्तिको चरम अभाव छ।
अहिलेको यस अप्ठ्यारो अवस्थामा केही राहत हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीले अवकाश प्राप्त भएर बसेका स्वास्थ्यकर्मीलाई थप एक वर्ष करारमा काम गर्न आह्वान समेत गरेका छन्।
देशभरका विभिन्न सहरमा झैँ लकडाउनको कारण गत बिहीबार देखी काठमाडौँको सडकहरूमा अहिले शून्यता छाएको छ।

नेपालले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान सेवा पनि बन्द गरेको छ।
नेपाल-भारत बिचको २२ वटा नाका बन्द गरिएका छन् र १३ वटा नाका मात्र खुल्लै छन्।
सगरमाथा आधार शिविरको वरपर पनि कोरोना सङ्क्रमित आरोहिहरुको कारणले गर्दा त्यस क्षेत्रमा कोरोना महामारी फैलिएको आशङ्का गरिएको छ।
कोरोना सङ्क्रमित आम नागरिकहरू वरिष्ठ व्यक्तित्वहरू र पहुँचवालाहरूले पाउने सुविधाबाट वञ्चित छन्।

भूतपूर्व राजपरिवार, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल लगायतका मानिस काठमान्डुका महँगो निजी अस्पतालमा उपचार गराइरहेका छन् भने देशभरबाट शय्या वा अक्सिजन नपाएर सङ्क्रमितको ज्यान गएको समाचार आइरहेका छन्।
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाको बिरामीलाई राख्नको निम्ति सरकारी अस्पतालमा अर्को वर्ष थप ८,००० शय्याको व्यवस्था गर्ने र हरेक प्रदेशमा अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
तर सरकारले अहिलेसम्म यसमा केही कदम चालेको नदेख्दा यो कुरामा विश्वास गर्न धेरैलाई मुस्किल परेको छ।




