कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १८ हजार भन्दा माथि पुगेको छ, र मृत्यु हुने मानिसको संख्या ४५ पुगेको छ।
७० प्रतिशत संक्रमित मानिस ठिक भइसकेका छन्, र पछिल्लो २४ घण्टामा संक्रमित हुने मानिसको संख्या १०९ मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाको सकृय संक्रमण रहेका मानिस र नयाँ संक्रमित मानिसको संख्या लगातार घटिरहेको छ, तर पनि जोखिम विरुद्ध सावधान रहनुपर्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।
लकडाउन खुलेको
नेपाल सरकारले कोरोनाका कारण लागु गरेको बन्दाबन्दी यसै हप्ताको मंगलबार देखि अन्त्य गरेको छ।
लकडाउन अन्त्य भएतापनि केही प्रतिबन्धहरु कायम रहने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन्। “कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्थाहरु यथावत रहन्छन्।
स्वास्थ्य सुरक्षा सम्बन्धित व्यवस्था होलान्, सामान्य शान्ती सुरक्षासँग सम्बन्धी विषय होलान्, स्वास्थ्यसँग जोडिएका खरीदका व्यवस्था होलान्। अथवा अरु कुनै व्यवस्थाहरु, त्यो आदेशमा भएका कुराहरु यथावत् रहन्छन्।”

स्पा, स्वीमिङ पुल, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, आदि धेरै भीडभाड हुने स्थानहरु बन्द नै रहनेछन् भने सभा, समारोह, भोजभतेर, समूहमा खेलिने खेल पनि निषेधित छन्।
सरकारले भदौ १ गतेदेखि विद्यालयहरुले भर्ना लिन पाउने बताएको छ।
लकडाउन खुलेसँगै सडकमा सवारी साधनको चाप बढेको छ। सार्वजनिक सवारी साधनहरुले स्वास्थ्य सम्बन्धी आधारभूत नियमहरु पालना नगरिरहेको हुनाले त्यहाँबाट संक्रमण बढ्ने चिन्ता देखिएको छ।
साउन १५ पछि होटल रेष्टुरेण्टहरु खुल्न, भदौ देखि अन्तर्राष्ट्रिय उडानहरु चल्न, र हिउँदे याममा ट्रेकिङ, पर्यटन र पर्वतारोहण गर्नका लागि पनि सरकारले अनुमति दिएको छ।
लकडाउन खुलेपछि जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ तर संक्रमणको जोखिम भने अझ बढेको स्वास्थ्य विज्ञले बताएका छन्।

बाढी पहिरो
मनसुनका क्रममा लगातार परिरहेको झरी यो हप्ताको अन्त्यमा केही कम भएको छ, तर गत हप्ता झैं यो हप्ता पनि वर्षाले निकै क्षति गरेको छ।बाढी पहिरोका कारण १२० जना भन्दा बढीको मृत्यु भइसकेको छ, दर्जनौं बेपत्ता छन् र हजारौं विस्थापित भएका छन्।
काठमाण्डु प्रवेश गर्ने मुख्य बाटो पृथ्वी राजमार्ग थुप्रै ठाउँमा पहिरोले क्षतविक्षत भएपछि त्यो बाटो केही दिनका लागि बन्द गरेर सिद्धार्थ राजमार्ग प्रयोग गरिएको छ।
पहिरोका कारण थुप्रै ठाउँमा सडक भासिएको छ भने पुलहरु पनि भत्केका र बगेका छन्। र हिमाली क्षेत्रमा भएका हिमतालहरु फुट्ने सम्भावना भएको भन्दै सावधान रहन विज्ञहरुले चेतावनी दिएका छन्।

चितवन चेपाङ
चितवनमा सरकारले केही सुकुम्बासी घरहरु जलाईदिएपछि त्यसको धेरै विरोध भएको छ। चितवनको कुसुमखोला क्षेत्रमा लामो समयदेखि चेपाङ परिवारहरु बस्दै आएका छन्, जसलाई सरकारले अतिक्रमित जग्गा मानेको छ।
यस हप्ता चितवन राष्ट्रिय निकुञ्जका पदाधिकारीले हात्तीको प्रयोग गरेर ८ वटा र आगो लगाएर २ वटा घर नष्ट गरेका छन्।भारी वर्षाका बीच घर मात्रै होइन, पैसा, नागरिकता जस्ता कागजात, र भण्डारण गरेका अन्न समेत नष्ट हुँदा त्यहाँका बासिन्दाको बिचल्ली भएको छ।
अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एम्नेष्टि इन्टर्नेश्नल लगायत थुप्रै संस्था र व्यक्तिले यस घटनाको विरोध गरिरहेका छन्।
यसै हप्ता जंगलमा घुँगी खोज्न गएका एक चेपाङ युवकको सेनाको कुटाइबाट मृत्यु भएको छ, र चेपाङ समुदायमाथि हुने अन्याय अझ प्रकाशमा आएको छ।
मानव अधिकार आयोगले दुवै घटनाको निष्पक्ष छानबीनको माग गरेको छ।
न्यायालय
श्रीमतीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका पुर्व डिआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि न्यायालयको चर्को आलोचना भइरहेको छ।
आठ वर्षअघि कोइरालाले प्रेमिकासँग मिलेर श्रीमतीको हत्या गरेर मकवानपुरमा लगेर शव जलाएको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको थियो।
जन्मकैद अर्थात २० वर्ष जेलमा बिताउनुको सट्टा साढे आठ वर्षमै रिहा गरिएकोमा थुप्रैले आक्रोश र विरोध प्रदर्शन गरेका छन् भने केहीले यस्तो विवादास्पद फैसला गर्ने न्यायाधिश चोलेन्द्र राणामाथि महाभियोग लगाउनुपर्ने पनि आवाज उठाएका छन्।
महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको छ।
गत हप्ता मात्रै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मदिरा सेवा गरेर लाईसेन्स बिना गाडी चलाउँदा एकजना महिलाको ज्यान गएको घटनामा सवारीचालकलाई धरौटीमा रिहा गर्ने फैसला गरेकोमा व्यापक विरोध अझै जारी छ।
यी दुई घटनाले आम मानिसमा न्यायालयको छवि धमिलो बनाएको छ।

मर्यादित पहिरन र तीज गीत
तीजमा व्रत बस्ने र पुरुषको खुट्टाको पानी खाने चलनको विरोध गर्दे गीत गाएपछि गायिका सोफिया थापालाई यो गीत हटाउन धम्की दिइएको छ, र यो घटना सामाजिक सञ्जालमा महिलामाथि हुने दुर्व्यवहार र गाली गलौजको पछिल्लो उदाहरण पनि बनेको छ।
गत हप्ता गायिका सोफिया थापाले यस्तो गीत सार्वजनिक गरेकी थिइन्।
अबको तीज नो व्रत प्लीज
नो खुट्टाको पानी
महिला पुरुष दुवै नै बराबरी
त्यसको लगत्तै थापालाई विश्व हिन्दु युवा संघ, हिन्दु जागरण लगायतका संस्थाले त्यो गीत सामाजिक सञ्जालबाट हटाउन भनेको थिए।
ती संस्थाले प्रहरीमा उजुर गर्दे यो गीत नहटाएमा थापामाथि ‘भौतिक कारवाही’ गर्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।उनीहरुले यो गीत हिन्दु धर्मका विरुद्धमा भएको र थापाले अमर्यादित पोशाक लगाएको समेत आरोप लगाएका छन्।
यसै हप्ता सामाजिक सञ्जालमा एकजना महिलाले ढाड देखिने लुगा लगाएको तस्वीर पनि निकै फैलिएको छ।
उनको पहिरन पनि अमर्यादित भएको आरोप लागेपछि मर्यादित पहिरन के हो भन्ने विवाद चर्किएको छ।
थुप्रै मानिसले सामाजिक सञ्जालमा यी दुवै घटनाको विरोध गरिरहेका छन् र महिलाहरुले ढाडको तस्वीर सामाजिक सञ्जालमा राखेर समेत मर्यादाको परिभाषा विरुद्ध आवाज उठाइरहेका छन्।





