खानेपानी तथा सरसफाई मन्त्रालयको पद सम्हाले लगत्तै मन्त्री बिना मगरले दशैंमा मेलम्चीको पानी काठमाण्डू ल्याउने बताएकी थिइन्। आज महानवमी भईसक्यो तर अझै पानी आउने सुरसार देखिँदैन।
द्वन्दकाल यता बढ्दै गएको काठमाण्डूको जनघनत्वका कारण नेपाली राजधानीमा पानीको ठूलो समस्या छ। तिव्र गतिमा भइरहेको शहरीकरणका कारण पुराना ढङ्गेधारा, इनार र कुवा जस्ता पानीका मुहान पनि सुकेका छन्।
मेलम्चीको पानी वितरण हुन नसकेको कारण बारे मन्त्रालयले केही पनि खुलाएको छैन। मेलम्ची खानेपानी आयोजनाका अधिकरीहरुका अनुसार अहिलेसम्म ९५ प्रतिशत काम पुरा भईसकेको छ र अब एक महिनामा बाँकी रहेका कार्यहरु सम्पन्न हुने बताएको छ।
"अब हाम्रो काममा कुनै अवरोध नआए एक महिनामा काम सक्ने लक्ष्य लिएका छौं," आयोजाना प्रमुख सुर्यप्रसाद कंडेलले भने।
एक महिनाभित्र सुरुङ् बनाउने काम सक्ने लक्ष्य लिएको र त्यो सकिना साथ पानी पठाउने काम थाल्ने कंडेलले बताए।
हाल ६ स्थानबाट सुरुङ् ढलान गर्ने काम भइरहेको बताइएको छ। २७ किलोमिटर लामो सुरुङ्ग मध्ये करिब ७ किलोमिटर ढलान गर्न बाँकि रहेको अधिकारीहरुले बताएका छन्।
करिब १७ वर्ष अघी सुरु भएको आयोजनाले धेरै पटक आफ्नो समय सीमा बढाउँदै लगेकाले यसपाला पनि भनेको समय भित्रै पानी आउनेमा धेरै सर्वसाधरण विश्वस्त हुन सकेका छैनन्।
"म सानो हुँदा दखिनै मेलम्चीको पानी आउने भन्ने कुरा सुनेको हो तर खै अझै पानी आएको छैन। त्यसैले अब एक महिनामा पानी आउँछ भन्ने कुरामा म चाहिँ विश्वास गर्दिन," काठमान्डू बानेश्वरका आर्जन बराल भन्छन्।
"धारामा पानी नआएको धेरै वर्ष भइसक्यो त्यसैले हामी ट्याङ्करको पानि किनेर खान्छौं। मेलम्चीको पानी ल्याउँछु भनेर झुटो आश्वासन दिनुभन्दा सरकारले हामीले किन्ने पानीको गुणस्तरमा ध्यान दिए राम्रो हुन्थ्यो की?" उनी प्रतिप्रश्न गर्छन्।
पछिल्लो समयमा आएर, मेलम्ची खानेपानी आयोजना र कामको ठेक्का लिएको कम्पनी बीच रकम भुक्तानीको विषयमा विवाद हुने गरेको छ र अहिले पनि यो विवाद डीस्प्युट बोर्ड अर्थात स्वतन्त्र छानविन समितिमा पुगेको छ।
यो विवाद फेरी बल्झिए, चाडवाडको भाका राख्दै आएको मेलम्ची खानेपानी आयोजनाले नयाँ वर्षसम्म पनि पानी वितरण गर्न नसक्ने बताइन्छ।
मेलम्ची मात्र होइन धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण भइसक्ने भनी तोकिएको समयसिमा पटक पटक धकेलिने गरेका छन्। २०४७ सालमा प्रजातन्त्र बहालीपछि अन्तरिम प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले काठमाण्डूको खानेपानी समस्या मेलम्चीबाट पानी ल्याएर समाधान गर्ने भनेका थिए।
त्यसयता बनेका सरकारले पनि मेलम्चीबाट पानी ल्याउने कुरालाई प्राथमिकतामा राखेको बताएका थिए। तर प्राथमिकतामा राखिएको विषय समयमै सम्पन्न हुननसकेको विवरण जनतालाई दिनुपर्छ भन्ने ठानेनन्।
ती सरकार र व्यवस्थाले जनताको आवश्यक्ता पुरा गर्न नसकेको भन्दै १० वर्षलामो शसस्त्र जनयुद्ध भयो र त्यसयता जनताको अधिकार सुनिश्चित गर्न नयाँ संविधान पनि जारी भइसकेको छ।
राजनैतिक परिवर्तन भएपनि नेता र कर्मचारीको काम गराईमा परिवर्तन हुन सकेको छैन। जवाफदेहिताको अभावमा मेलम्चीको चर्चा शुरु भएको तीन दशक हुनलाग्दा पनि पानी राजधानी आउन सकेको छैन।






