स्वर्गीय टिका कार्कीबारे अस्ट्रेलिया नेपाल पत्रकार संघका अध्यक्ष हेमन्त काफ्लेसंगको कुराकानी माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्
झन्डै दुई दशक देखि सिड्नीमा नेपाली भाषी रेडियो संचालन गर्दै आएका पत्रकार टिका कार्कीको निधनको १३औं दिनमा एक श्रद्धान्जली सभा आयोजना गरिएको छ।
४४ वर्षीय कार्कीलाई, दुई हप्ता अगाडी, उनकै निवास स्थानमा प्रहरीद्वारा अचेत अवस्थामा फेला पारिएको र त्यसपछि एम्बुलेन्समा अस्पताल पुर्याइएका उनलाई मृत घोषित गरिएको थियो।
गत शनिबार, १३ मार्चको दिन पूर्वी सिड्नीको म्याट्राभिलमा आयोजना भएको उक्त श्रद्धान्जली सभामा बोल्दै स्वर्गीय कार्कीका मित्र रजि खनालले पेट सम्बन्धि बिमारीका कारण उनको निधन भएको पोष्टमर्टम रिपोर्टमा बताइएको जानकारी गराए।

सन् २००३ देखि पश्चिम सिड्नी बाट प्रसारण हुने रेडियो स्किड रो नामक सामुदायिक सेवामा कार्कीले हिमालयन रेडियो संचालन गर्दै आएका थिए। साथै बिभिन्न सामुदायिक संघ-संस्थाहरुको स्थापना लगायत भलिबल प्रतियोगिता आयोजना गर्न पनि उनि संलग्न थिए।
शनिबारको श्रधाञ्जलि सभामा उनका नजिकका मित्र र नातादारहरुका साथै सिड्नीमा रहेका बिभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।
अस्ट्रेलिया नेपाल पत्रकार संघका अध्यक्ष हेमन्त काफ्ले भन्छन्, "कोभिडको समयमा पनि उहाँ प्रति श्रद्धान्जली व्यक्त गर्न जसरी मानिसहरु उपस्थित भएका थिए, त्यो टिका कार्कीले समुदायमा गरेको योगदानको कदर थियो, उहाँ प्रतिको सच्चा श्रद्धान्जली थियो।"
"एउटा व्यक्ति बितेर जाँदा उनले गरेका योगदानको कदर त्यहाँ हुन्छ जहाँ उनलाई सम्झने मानिसहरुको भिड देखिएपछि त्यस कुराको पुष्टि हुन्छ।"
करिब दुई दशक देखि अस्ट्रेलियामा बसोबास गर्दै आएका कार्कीको असामयिक निधनले हाम्रो समुदायमा एउटा रिक्तता महसूस भएको उनले बताए।

टिका कार्की स्मृति पुरस्कार
सन् २००० को प्रारम्भिक वर्षहरुमा सिड्नीमा नेपाली समुदायको विस्तार हुँदैगर्दा सामुदायिक रेडियो मार्फत यहाँ रहेकाहरुलाई सुसूचित गराउने, समाजमा भएका घटनाहरुलाई समाचारको रूपमा पस्कने र स्थानीय नेपाली समुदायलाई सद्भाव र एकताको सुत्रमा बाँध्ने टिका कार्कीको निरन्तर योगदान रहेको एन्जा अध्यक्ष हेमन्त काफ्ले बताउँछन्।
"अचानक उहाँको निधनले साच्चिकै हामी नेपाली समुदायलाई ठुलो घाटा भएको छ", उनले भने।
अस्ट्रेलिया नेपाल पत्रकार संघका केन्द्रिय सदस्य पनि रहेका टिका कार्कीको स्मृतिमा संघले उनकै नाममा एक पत्रकारिता पुरस्कारको पनि स्थापना गरिएको छ।
१००१ डलरको उक्त पत्रकारिता पुरस्कार अस्ट्रेलिया लगायत ओसेनिया क्षेत्रमा समुदायबारे उत्कृष्ठ पत्रकारिता गर्ने नेपाली भाषीहरुलाई प्रदान गरिने पनि पत्रकार महासंघका अध्यक्ष काफ्ले ले बताए।
"प्रत्येक दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्न एक स्वतन्त्र समिति स्थापना गरिने जसमा समुदायका अगुवा र बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने छ", उनले भने।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali




