माछापुच्छ्रे फुटबल क्लबको चौथो संस्करण एमएफसी कप २०१९ को पहिलो दिनको खेलमा सहभागी क्लबहरूले २४ वटा म्याचहरू खेल्नेछन्।
शनिवार बिहान १०:३० बजे सुरु भएको खेलको सुरुवातमा आयोजक माछापुच्छ्रे फुटबल क्लब र गोर्खा फुटबल क्लब बिच प्रतिस्पर्धा भएको थियो।
उक्त खेल बराबरीमा टुङ्गिए पछि एसबीएस नेपाली सँग कुरा गर्दै अघिल्लो वर्षको विजेता समेत रहेको माछापुच्छ्रे क्लबका कप्तान विभूषण विष्टले आफ्ना कप्तान घाइते भएको र क्लबका प्रमुख खेलाडीहरूले पनि नखेल्नुलाई यस्तो खेल नतिजाको प्रमुख कारण मानेका छन्।

पहिलो खेलबाट कस्तो आशा राखिएको थियो भन्ने प्रश्नमा उनले भने, "हामीले आशा त्यत्ति धेरै राखेका थिएनौँ। हाम्रा केही प्रमुख खेलाडीहरू छुट्नु भयो दोस्रो खेलका लागी आइपुग्छन् कि भन्ने आस छ। ब्रिसबेन फेरी एकदम राम्रो साइड हो।"
उता गोर्खा एफसीका कप्तान पवन सोमाइले एमएफसी डिफेन्डिङ्ग च्याम्पियन पनि र एक बलियो टिम भएको बताउँदै बराबरी खेलेर आफ्नाखेलाडीहरूले राम्रो खेल प्रदर्शन गरेको बताएका छन्।
आगामी खेलका लागी लामो समय नभएका कारण तनावमा खेलेर खेलाडीहरू घाइते हुनबाट जोगाउनु नै आफ्नो खेल रणनीति रहेको सोमाइले बताए।

"टाढा देखि आएको छ, थकित छ र यही कारणले खेलाडीहरू घाइते हुने सम्भावना धेरै हुन्छ। त्यसैले हामी चाहिँ प्रेसरमा खेल्ने भन्दा पनि परिस्थिति अनुसार खेल्ने सोचिराखेका छौँ।"
गोर्खा एफसीका खेलाडीहरू ब्रिसबेनबाट शुक्रवार राति मात्र सिड्नी आइपुगेका थिए।
शनिवारको अन्तिम खेलमा दिउसो ४:३० बजे माछापुच्छ्रे र ड्रुक फुटबल क्लब भिड्ने छन्।
न्यु साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी ), क्विन्सल्याण्ड र भिक्टोरिया बाट आएका १६ नेपाली फुटबल टोलीले प्रत्येक खेलका लागी १० मिनेटको समयावधि पाउने छन्।
एसीटी बाट क्यानबेरा नेपलिज फुटबल क्लब र ड्रुक फुटबल क्लब त्यस्तै क्विन्सल्याण्डबाट गोर्खा एफसी र सिम्रिक एफसी ले सहभागिता जनाएका छन्।
त्यस्तै भिक्टोरियाको प्रतिनिधित्व यति एफसीले गरिरहेको छ भने बाँकी न्यु साउथ वेल्सका क्लबहरू रहेका छन्।

समूह चरण, क्वाटर फाइनल र सेमी फाइनलका प्रत्येक खेलहरू १० मिनेटका हुनेछन् भने फाइनल खेलका लागी १५ मिनेटको समय छुट्ट्याएको छ।
१० मिनेटको खेलमा गोल खाए पछि त्यसलाई फर्काउन पनि धेरै समय नहुँदा खेल चुनौती पूर्ण हुने भए पनि आफूहरू यस्तो खेलमा बानी परिसकेको र यति नै समयमा ७ गोल हानेको पनि देखेको एमएफसीका विभूषण विष्टले बताए।
प्रतिस्पर्धामा सबै अत्यन्त बलियो टिम रहेको र अन्य क्लबहरू पनि पूर्ण आत्मा विश्वासका साथ आएको विष्टको भनाइ छ।
तर अघिल्लो वर्षको विजेता भएको कारण कप्तानको रूपमा केही बढी जिम्मेवारी महसुस हुने भए पनि आफ्ना टोलीका खेलाडीहरूमा धेरै विश्वास रहेको बताउँछन् सन् २०१७ को विजयी टोली गोर्खा एफसीका कप्तान पवन सोमाइ।
ब्रिसबेनको नेपाली समुदायमा फुटबल खेल प्रतिको आकर्षण सिड्नीको दाँजोमा निकै कम भए पनि पहिला भन्दा चाहिँ निकै सुधार भएको पवन बताउँछन्।

उत्तर पश्चिमी सिड्नीको ग्लेनवुड स्थित दुई खेल मैदानमा आयोजना भएको शनिवारको समूह चरणको खेल हुनेमा आइतबार भने क्वाटर, सेमी फाइनल र फाइनल खेलहरू हुनेछन्।
साथै आइतबार नै ३५ वर्ष माथिका खेलाडीहरू सम्मिलित ६ वटा भेटेरन टोलीको खेल पनि सम्पन्न हुनेछन्।






