अस्ट्रेलियाकै सबैभन्दा ठुलो र लामो समयसम्म चल्ने महिला स्वास्थ्य सम्बन्धी अध्ययनको लागी कम्तीमा पनि १ हजार आप्रवासी महिलाहरूलाई भर्ती गराइने भएको छ।
सन् १९९६ देखि सुरु भएको सो अध्ययनको लागी अहिले ५७ हजार अस्ट्रेलियाली महिलाहरूको चार उमेर समूह सहभागी रहेको छ भने अब यसमा थप आप्रवासी महिलाहरू जोडिन गइरहेका छन्।
सङ्घीय स्वास्थ्य विभागद्वारा लगानी गरिएको यस अध्ययनमा प्रत्येक महिलालाई हरेक ३ वर्षमा जाँच गरिन्छ।
सहभागीहरू चार पुस्ताहरूबाट छानिएका छन्: जो सन् १९२१ देखि १९२६, १९४६ देखि १९५१, १९७३ देखि १९७८ र १९८९ देखि १९९५ भित्रमा जन्मिएका रहेका छन्।

लामो समय सम्म चल्ने अध्ययन वा अस्ट्रेलियन लन्जीट्युडनल स्टडी अन वुमेनस् हेल्थकी उप निर्देशक हुन् प्रोफेसर डेव लक्सटिन।
उनी युनिभर्सिटी अफ न्युकासलमा आबद्ध रहेकी छिन् र यो अध्ययनका लागी हन्टर मेडिकल रिसर्च इन्स्टिच्युटसँग मिलेर युनिभर्सिटी अफ क्वीन्सल्याण्डले यो अध्ययनको सञ्चालन गरिरहेको छ।
"हामीले सन् १९९६ मा पहिलो चरणमा महिलाहरूलाई सहभागी गराएका थियौँ २६ वर्ष अगाडिको त्यति बेलाको अस्ट्रेलियाको जनसङ्ख्या अहिले फरक भइसकेको छ। त्यसैले हामीले विशेष गरी दक्षिण, दक्षिण पूर्वी र उत्तर पूर्वी एसियाली राष्ट्रहरूका १ हजार महिलाहरूलाई सहभागी गराउँदै छौँ जसले सन् १९७३ देखि ७८ भित्र जन्मिएका अस्ट्रेलियाभरिका महिलाहरूलाई प्रतिनिधित्व गर्ने छन्।"
सो अध्ययनकी निर्देशक युनिभर्सिटी अफ क्वीन्सल्याण्डकी प्रोफेसर गीता मिश्रा भन्छिन् यो भर्नाले अस्ट्रेलियाको पछिल्लो जनसङ्ख्यामा रहेको स्वास्थ्य समस्याहरूलाई सही ढङ्गबाट प्रतिबिम्बित गर्छ।
प्रोफेसर डेब लक्सटिनले सन् १९२१ देखि १९२६ भित्र जन्मिएका ६०० महिलाहरूको समूहमा रहेका सहभागी मध्ये सबैभन्दा ज्येष्ठ १०१ वर्षीय रहेको बताएकी छिन्।
प्रोफेसर लक्सटिनले उक्त अध्ययनबाट प्राप्त भएका जानकारीहरू विविध प्रकारका नीति निर्माणका लागी प्रयोग भएको बताएकी छिन्।
जसमध्ये अस्ट्रेलियाली सरकारको पछिल्लो राष्ट्रिय महिला स्वास्थ्य रणनीति पनि पर्दछ र यसले विभिन्न समूहका महिला तथा किशोरीहरूको स्वास्थ्य सुधार गर्न र असमानताहरू कम गर्ने बाटो पहिल्याउँछ।
पुरा रिपोर्ट सुन्नुहोस्:अस्ट्रेलियाको सबैभन्दा ठुलो स्वास्थ्य अध्ययन: एसियामा जन्मेका महिला आप्रवासीहरूको मागहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उनी भन्छिन् अध्ययनले नेशनल एक्सन प्लान फोर इन्डोमेट्रिओसिस वा इन्डोमेट्रिओसिस नामक स्वास्थ्य अवस्था सम्बन्धी राष्ट्रिय कार्य योजना बनाउन मदत गरेको थियो।
त्यस्तै पोलिसीस्टिक ओभरी सिन्ड्रमको व्यवस्थापनका लागी अन्तर्राष्ट्रिय दिशानिर्देशहरू बनाउन र जन्मजात मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय मार्ग निर्देशन बनाउन मदत गरेको थियो।
तर मेलबर्नमा रहेको महिला स्वास्थ्यका लागी बहु सांस्कृतिक केन्द्रकी डा एडेल मर्डोलोले उक्त अध्ययनका दुई प्रमुख कमजोरी देखाएकी छिन्।
"उक्त सर्वेक्षण अङ्ग्रेजी भाषामा रहेको छ र त्यो त्यस्ता महिलाहरू प्रति लक्षित छ जो आप्रवासी पृष्ठभूमिको भए पनि अङ्ग्रेजी भाषामा रहेको जटिल सर्वेक्षण पुरा गर्न सक्ने अङ्ग्रेजी भाषा शिक्षा प्राप्त गरेका हुन्।"
"दोस्रो कुरा भनेको यो मेडिकेयर रेकर्डमा आधारित रहेको छ। र यो सर्वेक्षणले त्यस्ता महिलाहरूलाई मात्र समेट्छ जसको मेडिकेयर प्राप्त गर्ने योग्यता होस् र यसबाट अस्ट्रेलियामा रहेका दशौँ लाख अस्थायी आप्रवासीहरू जो मेडिकेयर प्राप्त गर्न अयोग्य छन् उनीहरूलाई सर्वेक्षणमा भाग लिन बाट वञ्चित गरेको छ।"

प्रोफेसर लक्सटिन भन्छिन् अध्ययनका सहभागीहरूले अङ्ग्रेजी भाषा सहायताका लागी दोभासेको प्रयोग गर्न सक्छन्।
उनले मेडिकेयर प्राप्त गर्ने योग्यता सम्बन्धी समस्या सम्बोधन गर्न भने आफू इच्छुक रहेको बताएकी छिन्।
डा मर्डोलोका अनुसार अस्ट्रेलियाको स्वास्थ्य स्याहार प्रणालीमा असमानता व्याप्त रहेको छ जसले गर्दा यसको असर आप्रवासी महिलाहरूको स्वास्थ्यमा परेको छ।
"यो बुझ्न महत्त्व पूर्ण छ कि आप्रवासीहरू अस्ट्रेलिया आउँदा निकै स्वस्थ हुन्छन्।...तर पहिलो पाँच वर्ष अस्ट्रेलियामा बसेर र काम गर्दै जाँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्था खस्कँदै गएको अनुभव गर्छन्।"
त्यसैले उनी भन्छिन् व्यक्तिको स्वास्थ्य र उनीहरूको संस्कृति भन्दा बाहिरका अन्य कारण पनि रहेको छ आप्रवासीहरूको स्वास्थ्य समस्याका पछाडि।
र यसले स्वास्थ्य प्रणाली आफैँले उपयुक्त स्याहार प्रदान गर्न नसकेको तर्फ इङ्गित गरेको उनी बताउँछिन्।





