कोरोना विरुद्ध खोप
कोरोनाको कारण यस हप्ता प्रति दिन झण्डै ३० जनासम्मको मृत्यु भएको पाईयो। यस्तै सकृय संक्रमितको सङ्ख्या ३६ हजार ८ सयको हाराहारीमा रह्यो।
अहिले नेपालमा जापान सरकारद्वारा हस्तान्तरण गरिएको एस्ट्रोजेनेका खोपको पहिलो चरण देशभर सञ्चालन भईरहेको खोप अभियानमा प्रयोग भईरहेका छन्।
यस हप्ता विभिन्न स्वास्थ चौकी तथा सरकारी अस्पतालहरुमा भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम पनि सञ्चालन भएको छ।
जापान सरकारले पहिलो चरणमा कुल १६ लाख १४ हजार ७४० एस्ट्रो जेनेका खोप नेपाल सरकारलाई दिएको थियो। अब थप ७ लाख ६७ हजार ४२० खोपहरु वितरण हुन बाँकी छ, जुन काठमाडौँमा आईसकेको छ।
यस अनुसार सरकारले समग्रमा कुल १६ लाख १४ हजार ७४० जनालाई खोप लगाउनु पर्ने हुन्छ।
यस्तै वि. पी. कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा निर्मित अक्सिजन प्लान्ट बिहिबार नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई भारत सरकारले सहयोग स्वरुप हस्तान्तरण गरेको छ।

नेकपा र जसपाको फुट आधिकारिक
यस हप्ता निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टी र महन्त ठाकुरद्वारा नेतृत्व गरिएको लोकतान्त्रीक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ।
यी दुई दलहरुले दिएको निवेदनमाथी आयोगले बुधबार अन्तिम निर्णय लिएको थियो।
नेपालको पार्टीमा ऐमालेबाट अलग भएर आएका ३० जना सांसदसहित ५५ जना सदस्य रहने तय भएको छ।
पार्टी विभाजन भएपछि यस सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा आयोजना भएको एमालेको एक कार्यक्रममा भने, “अब यसमा चिन्ता गरेर बस्ने हैन म कमरेडहरुलाई भन्न चाहान्छु, एक दुई जना, एक दुईवटा पात खस्दैमा पिर मानेर रुख ढल्दैन। एक दुईवटा पात कैलिएर झर्छन्; रुखले पिर मानेर बस्दैन, अर्को टुसो आउँछ।”
यस्तै ठाकुरको पार्टीमा जम्मा १७ जनाको मान्यता आयोगले दिएको छ, जसमा १४ जना संघीय सांसद रहेका छन्।
जनता समाजवादी पार्टीबाट विभाजित भएको लोकतान्त्रीक समाजवादी पार्टी तथा नेकपा ऐमाले बाट विभाजित भएको नेकपा एकिकृत समाजवादी पार्टी अब दर्ता भएको औपचारिक जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई पठाउने छ।
यसपछि संसदमा यी दलका छुट्टै अस्तित्व हुनेछन्।

अफगानिस्तानबाट थप अझै फर्किए
शनिबार ८ जना नेपालीहरुलाई अफगानिस्तानबाट नेपाल सरकारले उद्धार गरेको छ।
यस क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यहाँबाट फर्केका एक जना पुरुषले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यस्तो भने, "राम्रोसँग आईयो, नेपालीहरुको अवस्था पनि ठिकै छ अहिलेकोलागि...अन्य साथीहरुको बारेमा खासै जानकारी त केहि भएन। कतिपय त्यहाँ यतिकै रहेका छन् र कतिजना अपहरित पनि छन् भन्ने सुन्नमा आएको छ, तर आधिकारिक रुपमा भने यो कुरा मैले सुनेको छैन।”
तर उनीहरु सहित रहेका ४२ जनामध्य अन्य व्यक्तीहरु काठमाडौँ आउन पाएका छैनन् र उनीहरुलाई काबुल विमानस्थल नजिकै राखिएको कुरा परराष्ट्र मन्त्रालयले बताएको छ।
उनीहरुको उद्धारमा काबुल विमानस्थल बाहिर बिहिबार दुईवटा आत्मघाति बम विस्फोट भएपछि समस्या भएको थियो।
उनीहरु यसबेला विमानस्थल नजिकै थिए। बम विस्फोटमा १३ जना अमेरिकी सेना र करिब १७० जनाको मृत्यु भएको छ। यसरी काबुलमा रहेका ३४ जना नेपालीको उद्धारमा विमानस्थलको मुख्य गेटमा शनिबार चलेको गोलीको कारण थप जटिलता बढेको छ।

वाटमोरले दिए राजिनामा
अस्ट्रेलियाका डेब वाटमोरले नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको पदबाट राजिनामा दिएका छन्। उनले कतारबाट ईमेल मार्फत यसको घोषणा गरेका हुन्।
उनले आफ्नो पारिवारिक जिम्मेवारीको कारण यस्तो निर्णय लिनुपरेको बताएका छन्। उनले राजिनामापत्रमा कोरोना महामारीको बेला आफ्नो परिवारबाट टाढा रहन आफुलाई गाह्रो भएको प्रस्टाएका छन्।
नेपलको टोलीले यस भ्रमणमा अझै ओमन र अमेरिकासँग दुई-दुई खेल खेल्न बाँकी नै छ।
यी खेलहरु आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत पर्दछन्। अन्तराष्ट्रिय क्रिकेट क्षेत्रमा वाटमोरको निकै राम्रो छवी रहेको छ। उनी विगतमा श्रीलंका र बङ्लादेशका राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा परिचित थिए, जसले यी दुवे देशलाई विभिन्न अन्तराष्ट्रिय उपाधी हासिल गर्न मद्दत गरे।
यसैगरि गत जनावरीमा नेपाल आएका वाटमोरको प्रशिक्षणमा रहेका नेपाली टोलीले गत अप्रिलमा नेदरल्याण्डलाई त्रिकोणात्मक सिरिजको फाईनलमा १ सय ४२ रनको फराकले हराएको थियो।
देशभर बाढीपहिरोको विनाश
गत दुई महिनामा देशभर बाढिपहिरो र डुबानमा परेर करिब ९१ जनाको ज्यान गईसकेको तथ्याङ्क नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले सार्वजनिक गरेको छ।
यसमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ जना बालिका रहेका छन्। यसमा घाईते हुनेको सङ्ख्या १ सय १६ रहेको छ, जसमा ६० पुरुष, ३२ महिला, १४ बालक र १० बालिका रहेका छन्।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ भने बाढीपहिरोमा परेका २८ जना भने बेपत्ता भएका छन्। बेपत्ता हुने १७ पुरुष, ६ महिला, ४ बालक र १ बालिकाको खोजी भईरहेको छ। करिब १ हजारजना भन्दा बढिलाई उद्दार पनि गरिएको छ।
बाढीको कारण ३ हाजारभन्दा बढि घरहरु डुबानमा परेका छन्, जसको कारण १ हजार २ सय ९ वटा जति घर परिवारका ५ हजारभन्दा बढि मानिस विस्थापित भएका छन्। यस सँग-सँगै निकै सङ्ख्यामा पुल, विद्यालय, सरकारी भवनहरुमा क्षती पुगेको छ भने १ हजार भन्दा बढि पशु चौपायाको मृत्यु भएको छ।

चर्चित समाजवादी गायकको निधन
क्रान्तीकारी गायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा मस्तिस्कघातको कारण निधन भएको छ। धरानमा जन्मेका जेबीको शवलाई पशुपतिमा दाहसंस्कार गरिनुअघि मओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीको लागि राखिएको थियो।
करिब दुई दशक अघिदेखि माओवादीमा कार्यरत रहेर संविधान सदस्य समेर भएका उनी कैयौँपटक क्रान्तीकारी गित गाएको कारण जेलमा पनि परे।
जेबीका गितहरुमध्य ‘आमा दिदी बहिनी’, ‘बसाई हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’ र ‘चौरी चर्ने ठाउँमा’ जस्ता निकै चर्चित छन्।
आफ्नो पुरा नाम जुठबहादुर खड्गी रहेका टुहुरेले आफ्नो पछिल्लो नाम आफ्नो पिताको निधनपछि राखेका हुन। उनका पत्नी, एक छोरा र चार छोरी छन्।




