जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, अस्ट्रेलियाका केही नेपाली सामुदायिक सङ्घसंस्थाहरूले पहिचानको प्रक्रियालाई छिटो गराउन आग्रह गरेका छन्। आइतवार, ३ मे मा तामाङ सोसाइटी अफ एनएसडब्लु र नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले समुदायसँग परामर्श कार्यक्रम राखेको हो। एक रिपोर्ट।
विक्रम लामाका बारेमा आएका पछिल्ला समाचार पछि नेपालमा रहेको उनको परिवारलाई परेको पिडा र ‘डिएनए’ परीक्षणमा भइरहेको ढिलाइमा समुदायका सदस्यहरूले चासो व्यक्त गरेका छन्।
उनीहरूले पहिचानको प्रक्रियालाई छिटो गराउन समन्वयको आग्रह गरेका हुन्।
अनररी कन्सुल अफ नेपाल न्यु साउथ वेल्स सञ्जीव शर्माले सुरुमा न्यु साउथ वेल्स प्रहरीले आफूलाई 'नेक्स्ट टु किन्' पत्ता लगाउन सहयोग मागेको र आफूले त्यस बेला सहयोग गरेको बताए।
पहिचान प्रक्रिया जटिल बनेकाले समय लिएको शर्माले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।



