SKIP TO MAIN CONTENT

नेपाल: २०१८ का प्रमुख घटनाहरूलाई फर्केर हेर्दा

New Year Celebration
A Nepalese man read newspaper early morning after his prayer at the temple on Nepali New years Day in Kathmandu, Nepal. Source: Sunil Pradhan/NurPhoto/Getty Images

वर्ष २०१८ समाप्तिको सँघारमा रहँदा यो वर्ष भर नेपालमा भएका धेरै घटना क्रमहरूले नेपाली सञ्चार क्षेत्रमा निरन्तर रूपमा स्थान पाइरहे। ती मध्ये राजनीतिक, सामाजिक, खेलकुद र मनोरञ्जनको क्षेत्रमा के कस्ता घटनाले प्रमुख स्थान हासिल गरे त ?


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

वर्ष २०१८ समाप्तिको सँघारमा रहँदा यो वर्ष भर नेपालमा भएका धेरै घटना क्रमहरूले नेपाली सञ्चार क्षेत्रमा निरन्तर रूपमा स्थान पाइरहे। ती मध्ये राजनीतिक, सामाजिक, खेलकुद र मनोरञ्जनको क्षेत्रमा के कस्ता घटनाले प्रमुख स्थान हासिल गरे त ?


यूएस-बांग्ला विमान दुर्घटना
Rescue teams next to a wreckage of a plane that crashed at the main airport Tribhuvan International Airport in Kathmandu, Nepal, 12 March 2018. According to reports, Bangladeshi US-Bangla plane had crashed while landing at the airport with 71 passengers a
Rescue teams next to a wreckage of a plane that crashed at the main airport Tribhuvan International Airport in Kathmandu, Nepal, 12 March 2018. Source: EPA/NARENDRA SHRESTHA

२०१८ सुरुवातमा मार्च १२ का दिन दिउँसो २ बजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको खबरले सञ्चार माध्यमहरूमा धेरै स्थान ओगटेको थियो ।

बांग्लादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस बांग्ला बीएस २११ विमानमा ४ जना चालक दलसहित ७१ जना सवार रहेको र ती मध्ये ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गर्‍यो।

२३ नेपालीले ज्यान गुमाएको उक्त विमानमा दुर्घटनामा १३ जना बांग्लादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीहरु रहेका थिए।

जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको कन्ट्रोल रुम र चालक दलबिचको सम्वाद बाहिर आएपछि अनुसन्धानकै क्रममा रहेको घटनालाई लिएर विभिन्न टिका टिप्पणी र यही कारण विमानस्थल व्यवस्थापन पक्ष आलोचित बनेको थियो।

दुई कम्युनिस्ट पार्टी एक
Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018.
Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018. Source: Facebook

वर्ष २०१८ मा दुई ठुला कम्युनिस्ट पार्टीबिचको एकता भएको खबरहरूले पनि सञ्चार क्षेत्रमा ठुलै तरङ्ग ल्याइदियो। सम्भवतः यस वर्षमा नेपालको राजनीतिमा देखिएको सबैभन्दा धेरै महत्त्व पाएको खबर नै यही बन्यो।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्रले प्रदेश तथा सङ्घीय चुनाव मिलेर लड्ने र अन्ततः: पार्टी एकता गर्ने सहमति अनुरूप पाँच महिनाभन्दा लामो समयको छलफलपछि एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भएको थियो।

चुनावी तालमेलका रूपमा सुरु भएको तात्कालिन एमाले र माओवादी केन्द्रको एकीकरण भई मे १७ का दिन राष्ट्रिय सभागृह काठमाडौँमा आयोजित एक समारोहका बिच नेपाल कम्युनिस्ट पार्टी भएको घोषणा गरिएको थियो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै अध्यक्ष रहने गरी गठित नेपाल कम्युनिस्ट पार्टीमा सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले नेपालको इतिहासकै सबैभन्दा ठुलो पार्टी भएको छ ।

मोदीको नेपाल भ्रमण
Narendra Modi in Nepal for two days visit.
Narendra Modi earlier this year in Nepal for a two day visit. Source: RSS

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाली सञ्चार जगतमा मिश्रित धारणा सहितका समाचारहरूले स्थान पाइनै रहे।

मे महिनामा नेपाल भ्रमणमा आएका मोदीलाई सामाजिक सञ्जालमा तिन वर्ष अगाडी २०१५ मा नेपालको संविधानबाट असन्तुष्ट भई नेपालमा नाकाबन्दी गरेको भन्दै उनलाई स्वागत गर्न नहुने जस्ता धारणाहरू व्यक्त भएका थिए।

साथै दुई देशबिचको सम्बन्धलाई बितेको समयका कारण बिगार्न नहुने धारणाहरूले पनि ठुलै स्थान पाए।

प्रधानमन्त्री भइसके पछिको तेस्रो भ्रमण भए पनि यो पटक प्रधानमन्त्रीका रूपमा भन्दा पनि तीर्थयात्री का रूपमा भएको बताइएको थियो।

जनकपुरमा पुगेर राम जानकी मन्दिरमा पूजा गरेका मोदीको उक्त भ्रमणबारे विभिन्न दृष्टिकोण बाट चर्चा भयो।

साथै केही समय अगाडी मात्र उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको आगमनले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको कुराले नेपाली अखबारका पानाहरू भरिएका थिए।

योगी आदित्यनाथ विशुद्ध धार्मिक र सांस्कृतिक भ्रमणका निम्ति आएको भनिएता पनि यसलाई धेरै सञ्चार माध्यमले मोदीको नेपालमा प्रभाव बढाउने प्रयास अनुरूपको कूटनीतिमा धर्म मिसाउने कामको रूपमा पनि व्याख्या गरिएको थियो।

गोरे र ३३ किलो सुन काण्ड
Alleged gold trafficker Churamani Uprety AKA Goray presented by Nepal police at a press conference in Kathmandu after his arrest.
Alleged gold trafficker Churamani Uprety AKA Goray presented by Nepal police at a press conference in Kathmandu after his arrest. Source: Smriti Dhungana

अपराधको क्षेत्रमा गोरे र ३३ किलो सुन भन्ने शब्दहरू वर्षको मध्ये तिर नेपाली समाचारहरूमा धेरै प्रयोगमा आए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनु र हराउनुलाई मार्च २ मा सुन भरिया भनेर चिनिएका सनम शाक्य को मृत्यु सँग जोडेर अनुसन्धान गर्न थालिए पछि उच्च तहका सरकारी अधिकारी सँगै ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो।

अपहरण, कर्तव्य ज्यान मुद्दा र सङ्गठित अपराध लगायतका आरोपमा केहीलाई पक्राउ गरी मुद्दा चलाइएता पनि प्रमुख आरोपित, गोरे भनिने, चूडामणि उप्रेती पक्राउ नपर्दा यो विषयले सञ्चार जगतमा महिनौँ सम्म स्थान पाइरह्यो।

मे महिनाको २२ तारिखमा प्रहरीले गोरेलाई गौरीघाटबाट बिहान पक्राउ गरिएको बन्दै पत्रकारहरू माझ सार्वजनिक गरेको थियो। त्यस पश्चात् पनि गोरेको व्यक्तित्व र उनको रवैयालाई लिएर धेरै खबरहरू बने।

निडर, हटी स्वभाव र आकर्षक व्यक्तित्व भएका व्यक्तिका रूपमा गोरेलाई चित्रित गरियो भने त्यसपछि उनले गरेका खुलासा र आफूलाई हिरासतमा नै पनि सुरक्षा खतरा रहेको भन्ने अभिव्यक्ति दिए पछि सञ्चार क्षेत्र उनी सम्बन्धित समाचारमा फेरी एक पटक केन्द्रित भयो।

सन्दीप लामिछाने
Sandeep Lamichhane at Melbourne Stars Media Opportunity
Sandeep Lamichhane at CitiPower Centre on December 19, 2018 in Melbourne, Australia. Source: Getty Images AsiaPac (Photo by Michael Dodge/Getty Images)

खेलकुद क्षेत्रमा एउटा नामले एकछत्र समाचारमा राज गर्‍यो।त्यो नाम अरू कसैको नभई नेपालका स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेको हो। वर्षको सुरुवातमा जनवरीमा इण्डियन प्रिमियर लिग (आइपिएल) २०१८ का लागि सार्वजनिक गरेको खेलाडीहरूको अक्सन सूचीमा उनको नाम परे देखि सुरु भएको उनको चर्चाले केही न केही रूपमा वर्ष भर नै चर्चा पाइरह्यो।

अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति कमाएका सन्दीपले आइपिएल को त्यो सिजन अन्त्य सम्ममा दिल्ली डेयर डेभिल्सका लागी छुट्टाछुट्टै खेलमा उनले ३ खेलमा ५ विकेट लिन सफल भए।

त्यस्तै आइपिएल जारी रहँदा वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको लडर््समा हुने ट्वान्टी–२० खेलका लागि आइसिसीले सन्दीपलाई आइसिसी विश्व ११ को टोलीमा समावेश गरेको थियो ।

त्यस्तै अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिगमा मेलबर्न स्टार्सका लागी खेल्न अनुबन्धित भएको उनले वर्ष अन्त्य हुँदै गर्दा आफ्नो तर्फबाट राम्रो खेल प्रदर्शन गरेको पनि चर्चा चलिरहेको छ।

बीबीएलको पहिलो खेलको पहिलो ओभरमा नै २ विकेट लिएका सन्दीप बीबीएल यात्रा जारी नै रहेको छ।

सरकारको सामाजिक सुरक्षा योजना
Nepal Government launches national social security scheme.
Nepal Government launches national social security scheme. Source: RSS

नोभेम्बर २७ मा सरकारद्वारा घोषणा गरिएको सामाजिक सुरक्षा योजनाले पनि केही समय नेपाली सञ्चार जगतमा स्थान पायो। विशेष गरी योजनाका बारेमा सरकारले प्रचार प्रसारमा गरेको खर्चलाई लिएर धेरै व्यङ्ग्य पनि गरिएको थियो।

'नयाँ युगको सुरुवात' भन्दै पत्रपत्रिकामा छापिएका विज्ञापन र काठमांडूका विभिन्न स्थानहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर टाँसिएकोमा धेरै आलोचना पनि खेप्नु परेको थियो।

'योगदानमा आधारित सामाजिक सुरक्षा योजना' कार्यान्वयनमा आएसँगै श्रमिकहरू बिरामी वा दुर्घटनामा पर्दा तथा सुत्केरी हुँदा रोजगारदाताबाट विभिन्न किसिमका सुविधा पाउने भनिएको उक्त योजनाको स्वागत पनि भएको थियो।

करिब १० लाख श्रमिक लाभान्वित हुने सरकारको अनुमान रहेको भए पनि विभिन्न चुनौतीहरूका बिच योजनाले कत्तिको सफलता पाउने हो त्यो त आउने दिनमा फेरी समाचारहरू सुन्न पाइने नै छ।

कला मनोरञ्जन र शैली
Ravi Oad, Nepal Idol 2018 winner
Ravi Oad during Nepal Idol filming Source: Facebook/Ravi Oad

कला र मनोरञ्जनका क्षेत्रमा साङ्गीतिक प्रतियोगिताहरू चर्चामा रहे। विशेष गरी एपी १ एचडीबाट प्रसारण भएको नेपाल आइडलको दोस्रो संस्करण र कान्तिपुरबाट प्रसारित द भ्वाइस अफ नेपालको पहिलो संस्करण बारे धेरै प्रकारका समाचारहरू बने।

प्रतिस्पर्धीले गीत गाउँदा निर्णायक मण्डलले आँसु थाम्न नसकेका देखि दुई प्रतियोगिता बिचको टक्करको विषय पनि अगाडी आयो।

नेपाल आइडलबाट नै अलग्गिएको एक टोलीद्वारा सञ्चालन गरिएको द भ्वाइस अफ नेपाल भएको भन्दै यी दुई प्रतियोगिता बिच निकै तुलना पनि भए।

सँगसँगै जस्तो सुरुवात भएका यी प्रतियोगिताहरूको फाइनल पनि एक हप्ताको मात्र फरकमा भएको थियो।

डिसेम्बर १४ मा द भ्वाइस अफ नेपालले सिडी विजय अधिकारीलाई विजेता घोषित गर्‍यो भने सोही महिना २१ तारिखमा रवि ओढले नेपाल आइडलको ताज जिते।

ताज कै कुरा गर्दा मिस मल्टिमिडिया र व्युटी विथ अ प्रपोजजस्त्ता दुई उपाधि जितेर मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित पार्न सफल मिस नेपाल २०१८ शृङ्खला खतिवडाका बारेमा पनि वर्षको अन्त्यतिर निकै चर्चा भयो।

शृङ्खलाको समर्थनमा भोट गर्न सामाजिक सञ्जालमा अभियान नै सञ्चालन भएको थियो। र पटक पटक मिस वर्ल्डको दावेदारीमा उनको नाम आउँदा उनको लागि समर्थन बढ्न थाल्यो।

एसियाबाट छनौट हुँदै अन्तिम १२ सम्म पुग्न सफल भएकी शृङ्खला अन्ततः थाइल्याण्डकी सुन्दरीसँग पराजित हुँदै मिस वर्ल्डबाट बाहिरिएकी थिइन।

एसिया र ओसियानियाबाट नेपाल, न्यूजिल्याण्ड र थाइल्याण्ड अन्तिम १२ मा पुगेका थिए भने ३ जनामध्ये मिस थाईल्याण्डले नेपाल र न्युजील्याण्डकि सुन्दरीलाई पराजित गर्दै मिस वर्ल्ड एसिया र ओसियानियाको उपाधि जित्दै अन्तिम ५ मा पुगेकी थिइन।

८ डिसेम्बरमा भएको फाइनलमा मेक्सिको कि भेनेस्सा पोन्सले ताज आफ्नो नाममा पारे पनि शृङ्खलाले नेपालीहरूको मन र मस्तिष्कमा यो वर्ष अन्त्य तिर नै सही आफ्नो नाम लेखाउन सफल भइन।

निर्मला बलात्कार र हत्या काण्ड
Murder victim Nirmala Panta's parents sit with protesters in Kathmandu on Saturday 16 Sept 18.
Murder victim Nirmala Panta's parents sit with protesters in Kathmandu on Saturday 16 Sept 18. Source: Supplied

वर्ष २०१८ का २६ जुलाई पछिका कुनै यस्ता दिन थिएनन् जहाँ निर्मला पन्तको विषयले सञ्चार जगतमा स्थान नपाएका हुन्।

भीमदत्त नगरपालिका -२, कञ्चनपुरकी १३ वर्षीय निर्मलाको बलात्कार पछि हत्या गरी शब्द गाउँकै एक उखु बारीमा फालिएको भेटिए पछि सुरु भएको हत्याको रहस्य वर्ष अन्त्य सम्म पनि हुने सङ्केत देखिएको छैन।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशङ्का गरी छानबिन माग गर्दै भएको प्रदर्शनमा गोली लागि अर्का एक युवकको समेत मृत्यु भयो।

तर एक पछि अर्को खुलासा हुँदै जाँदा प्रहरीले घटना स्थलको सुरक्षामा लापरबाही गरेको निष्कर्ष निकालियो साथमा घटना गरेको आशङ्कामा मानसिक अवस्था ठिक नभएको भनिएको दिलीप सिंह विष्टलाई सार्वजनिक गरेपछि स्थानीयहरू झन् आक्रोशित बनेका थिए।

निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाब दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन् ।

निर्मला पन्तका आमा दुर्गा देवी पन्त र बाबु यज्ञराज पन्त न्यायको माग गर्दै लामो समय धर्नामा समेत बसे तर पछिल्लो समयमा बाबु यज्ञराज पन्तको स्वास्थ्य अवस्था कमजोर भएको खबरहरू पनि प्रकाशित भएका छन्।

Where is Justice Poster for Nirmala Panta in Nepal
घटनाको १५० दिन बित्न लाग्दा पनि दोषी पत्ता लगाउन नसक्दा यो विषय वर्ष २०१९ मा प्राथमिकतामा रहने अनुमान गर्न सकिन्छ। Source: Facebook

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now