हिरासतमा घाइते भएपछि भदौ ११ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा विजय महराको मृत्यु भएको हो।
स्थानीयवासीले त्यो मृत्युका विरुद्धमा दिनहुँ उक्त प्रहरी कार्यालय अगाडि धर्ना र प्रदर्शन गरेर पीडित पक्षको निम्ति न्यायको माग गरिरहेका छन्।
स्थानीयवासीले महरालाई प्रहरीले कुटपिट गरेको दाबी गर्दै शव परीक्षणमा संलग्न चिकित्सकहरूले मृतक महराको हात तथा पिठ्युँमा चोटका निशान देखिएको पुष्टि गरेका छन्।
त्यो जानकारी दिँदै दलित नेता तथा पुर्वमन्त्री विश्वेन्द्र पासवान रेस अनलाइन टिभीमा भन्छन्, “अहिले हामीले त्यो चिठी हेर्दा खेरी, धेरै कुटिएको छ। कुटपिट मृतकलाई मात्र हैन, अरूलाई पनि भएको छ। कुटाइको कारणले उनको पुरुष अङ्गबाट रगत आएको, मुखबाट बान्ता र रगत आएको समेत देखिन्छ।”
"निर्ममतापूर्वक कुटिएको र करेन्ट लगाइएको कारण मृतकको पुरै शरीरमा नीलडाम देखिन्छ।"
त्यस रिपोर्ट पछि प्रदेशको मुख्य न्यायधिवक्ता दीपेन्द्र झाको कार्यालयले १४ गते प्रहरी कार्यालयलाई पत्राचार गर्दै घटनाका संलग्न कर्मचारी उपर प्रारम्भिक प्रतिवेदनको आधारमा तत्काल निलम्बन गर्ने र विश्वसनीय छानबिनलाई अघि बढाएर कानुन बमोजिमको कारबाही गर्ने आदेश दिएको छ।
सोही क्रममा इन्स्पेक्टर सहित तीन जना प्रहरीलाई निलम्बित गरिएको हो।
महराले प्रहरीलाई दोषी अरू नै रहेको भनेता पनि कुटपिट जारी रहेको, र दोषी उम्काउनलाई निर्दोष युवाहरूलाई हत्या कबुल गराउन खोजिएको पीडित पक्षको दाबी छ।
नेपालमा बन्दाबन्दीको अवधिमा देशभर विभिन्न ठाउँमा दलित समुदायका व्यक्तिहरूको मृत्यु वा हत्या हुने क्रम पहिलेको भन्दा बढ्दो छ। महराको मृत्यु लगत्तै आइतबार रौतहटकी एक ४० वर्षीये दलित महिलाको पनि हत्या भएको छ।
यस अवधिमा रुकममा नवराज बिक लगायत एक दर्जन भन्दा बढी दलित मानिसहरूको हत्या वा लापरबाहीका कारण मृत्यु भएको छ।
यस्ता घटनाको विरोधमा देशभरिका विभिन्न दलित सङ्गठन, गैर सरकारी संस्था र समुदायहरूले प्रदर्शन गर्दै न्यायको माग गरिरहेका छन् ।





