अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र विभिन्न सामुदायिक कार्यक्रमहरूमा सरिक हुँदा नेपालबाट आएका केही अभिभावकहरूले अस्ट्रेलियामा नै समय थपेर बस्न मन लागेको बताएका छन्। नेपाल फेस्टिभल सिड्नी २०२२ मा उपस्थित भएका अभिभावकहरूले नेपालको झल्को मेटाउने यस्ता कार्यक्रमहरूले अस्ट्रेलिया बसाइ थप रमाइलो बनाएको भनाइ राखे।
नेपाल फेस्टिभल जस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा नै हुर्किएका नयाँ पुस्तालाई पनि नेपाली संस्कृतिसँग नजिक राख्ने केही नेपाली पृष्ठभूमिका अभिभावकहरूको भनाइ छ।नेपाल फेस्टिभल सिड्नी २०२२ को झाँकीमा पृथ्वी नारायण शाह र लाखे नाच प्रस्तुत गर्नेहरूले आफूले नेपालको पहिचान बोक्ने पात्र बन्दा खुसी लागेको बताएका छन्।नेपाली समुदायका साथै केही गैर नेपालीहरूको पनि उपस्थिति रहेको सो कार्यक्रममा उनीहरूले नेपाललाई कसरी चिन्छन् भनेर एसबीएस नेपालीलाई बताएका छन्।त्यस्तै कार्यक्रममा उपस्थित भएका गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसीले विदेशमा रहने नेपालीहरूको आफ्नै समस्याहरू भए पनि समुदायको हितका लागि एकजुट हुनु महत्त्वपूर्ण भएको बताएका छन्।