नेपाल बन्यो विकासशील राष्ट्र र नेकपा एमालेको महाधिवेशन सुरु : गत सात दिन नेपालमा

KP Sharma Oli in CPN-UML general convention

Source: RSS

नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घले पारित गरेको लगायत पछिल्लो सात दिनका प्रमुख समाचारहरू।


कोरोना

यस हप्ता नेपालमा कोरोनाबाट प्रतिदिन नयाँ सङ्क्रमित हुने मानिसको सङ्ख्या २०० देखि ३०० को बिचमा, र मृत्यु हुनेको सङ्ख्या ५ भन्दा कम रहेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७००० को वरिपरि रहेको छ। सङ्क्रमणको सङ्ख्या निकै कम भएता पनि मास्क लगाउन, भौतिक दूरी कायम गर्न र हातको सरसफाइ गरिरहन सरकारले सुझाव दिएको छ।

त्यस्तै, २७ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा र ३१ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्।

प्रधानन्यायाधीश

सर्वोच्च अदालतमा मुद्दा हेर्ने न्यायाधीश छान्नका लागि आगामी बुधवार देखि गोला प्रथा प्रयोग गरिने भएको छ।

यो भन्दा अगाडि प्रधानन्यायाधिशले आफ्नो खुसीमा अन्य न्यायाधीशका लागि पेशी तोक्ने गरिरहेका थिए।

यो प्रचलनले न्यायपालिकामा भ्रष्टाचार गर्ने मौका दिएको भन्दै अधिवक्ता र अन्य न्यायाधीशहरुले करिब एक महिना देखि प्रधानन्यायाधीशका विरुद्ध आन्दोलन गरिरहेका थिए।

तर आन्दोलनको एउटा माग पुरा भएता पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन्।

जबरामाथि भ्रष्टाचारका विभिन्न आरोप लागिरहेकाले उनले राजीनामा दिनुपर्ने माग एक महिनादेखि उठिरहेको छ।

बिहीबार दिउँसो जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले सिंहदरबार देखि बालुवाटार सम्म मार्च पास गरेको छ।

यस र्‍यालीमा थुप्रै पूर्व प्रधान न्यायाधीशका साथै नेपाल पत्रकार महासङ्घ, शिक्षक महासङ्घ, इन्जिनियर एसोसिएसन, जनस्वास्थ्य सङ्घ, आदिवासी जनजाति महासङ्घ र वृहत् नागरिक आन्दोलन लगायत विभिन्न पेसासँग सम्बन्धित समूह पनि सहभागी भएका छन्।

पार्टी अधिवेशन

शुक्रवार देखी नेपालको एक प्रमुख पार्टी नेकपा एमालेको महाधिवेशन चितवनमा सुरु भएको छ।

यस महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व चयन गर्नका लागि आइतबार निर्वाचन हुने र सोमबार घोषणा गरिने बताइएको छ।

अधिवेशनका दिनमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेर सयौँ सवारी साधन अलपत्र हुँदा धेरै मानिसले त्यसको विरोध गरिरहेका छन्।

त्यस्तै, समारोहमा पुष्पवृष्टि लगायतका फजुल खर्चको पनि आलोचना भइरहेको छ।

एमालेका भूतपूर्व प्रभावशाली नेताहरू माधव नेपाल र झलनाथ खनालले पार्टी छोडिसकेको हुँदा महाधिवेशनमा सहभागी मानिसको सङ्ख्या घटेको छ, तर पनि एमाले नेता केपी ओलीले आगामी चुनावमा एमाले विजयी हुने दाबी गरिरहेका छन्।

CPN-UML general convention
Source: RSS

"जनमतबाट हामीले एकल बहुमत ल्याउनु पर्नेछ यस देशका लागि, एमालेका लागि होइन।

आउँदो चुनावपछि एमालेको सरकार बन्छ, र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पुरा गर्छ।"

महाधिवेशनमा अरू दलका नेतालाई पनि निम्तो दिइएको छ, तर नेपाल र खनाललाई भने दिइएको छैन। माओवादी नेता प्रचण्डले यो निम्तो अस्वीकार गरेका छन् भने भारतबाट भारतीय जनता पार्टी र भारतीय काँग्रेस पार्टीका प्रतिनिधि उपस्थित हुनेछन् र चीनले शुभकामना सन्देश पठाएको छ।

त्यस्तै, अर्को प्रमुख पार्टी नेपाली काँग्रेसले पनि महाधिवेशनको तयारी गरिरहेको छ। अबको दुई हप्तामा हुने महाधिवेशन भन्दा अगाडि काँग्रेसले आधी भन्दा बढी जिल्लामा जिल्ला स्तरका पदाधिकारीको चुनाव सकिसकेको छ।

नेपाल विकासशील मुलुक

नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घले पारित गरेको छ।

यसका लागि तयारी गर्न नेपाललाई पाँच वर्षको समय दिइनेछ, र त्यतिन्जेल कम विकसित मुलुकले पाउने सुविधा नेपालले पाइरहने बताइएको छ।

नेपालसहित बांग्लादेश र लाओस् पनि यस स्तरोन्नतिका लागि छानिएका छन्।

नेपालले कुल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय, मानवीय सम्पत्तिको सूचक र वातावरणीय जोखिमको सूचकमध्ये दुई वटा मापदण्ड पूरा गरेपछि स्तरोन्नतिका लागि योग्य मानिएको हो। 

हुम्लामा खाद्य सङ्कट

महामारीका कारण हुम्लाका केही स्थानमा खाद्य सङ्कट भएपछि जोखिम मोलेर हिउँ छिचोलेर यात्रा गर्दै ३० जना मानिस आफ्ना गाउँका लागि चामल माग्न हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन्।

त्यहाँ चामल नपाएपछि उनीहरू गाउँ फर्केका छन् भने नाम्खा गाउँका वडाध्यक्ष पाल्जोर तामाङ काठमान्डु आइपुगेका छन्।

चीनसँग सीमाना जोडिएको उत्तरी हिमाली जिल्ला हुम्लामा मानिस चीनमा काम र व्यापार गरेर त्यहीँ खानेकुरा किनेर खाने गरेको तामाङले बताएका छन्।

तर गत वर्षदेखि भने महामारीका कारण चीनले सिमाना बन्द गरेपछि त्यस्तो गर्न नपाएको हुनाले खाद्य सङ्कट आइपरेको तामाङ बताउँछन्।

"त्यति त गर्नु पर्‍यो। कि त अब मर्नु पर्‍यो त्यहाँ भोकले। कि त त्यति गरेर आउनु पर्‍यो। हामी तीस जना मान्छे बरु दुःख पाओस्, त्यहाँको जनताले खान नपाएर बस्नु त सक्दैन त्यहाँ। हनि त्यही कारणले हामी त्यतिसम्म दुःख गरेको।"

तामाङले गृह मन्त्रालयमा आफ्नो कुरा राखेपछि सरकारले हेलिकप्टरबाट हुम्लामा चामल ढुवानी गरिदिने आश्वासन दिएको छ।

सडक मार्गमा जोडिन बाँकी नेपालको अन्तिम जिल्ला हुम्ला अत्यन्त विकट र दुर्गम रहेकाले यातायातका लागि हवाई मार्ग नै अपनाउनु पर्ने बाध्यता रहेको छ। र उर्वर भूमिको कमी र चिसो मौसमका कारण हुम्लाका धेरैजसो भागमा उवा र आलु मात्र उब्जिने हुनाले धेरैजसो मानिसले किनेर खाने गर्दछन्।

मौसम

नेपालमा यस हप्ता मौसम खराब भएर जनजीवनमा असर पारेको छ।

Nepal Weather
Source: RSS

चिसो बढ्नुका साथै तुवाँलो लागेर घाम लाग्न मुस्किल परिरहेको छ। भिजिबिलिटी कम भएका कारण यस हप्ता थुप्रै उडान रद्द गरिएका छन्।

बढ्दो प्रदूषणका कारण प्रत्येक वर्ष जाडो महिनामा नेपालको मौसम यस्तो हुने गर्दछ। पानी परेपछि वा तीव्र गतिमा हावा चलेपछि मात्रै मौसम खुल्ने बताइएको छ र केही दिन मौसम यस्तै रहने बताइएको छ।

एसबीएस नेपालीका लागि काठमान्डुबाट सेवा भट्टराई


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now