सन् २०२० को उत्कृष्ट गन्तव्यमा नेपाल र पेप्सीमाथि राजश्व छलीको मुद्दा: गत ७ दिन नेपालमा

Nepal tourism

Source: Getty

एक सम्मानित पत्रिकाले नेपाललाई विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा चयन गरेको छ र नेपालभित्रै बन्यो बिधुतिय मोटरसाईकल लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


नेपाल उत्कृष्ट गन्तव्य


नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ । अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृ्ष्ट देशभित्र राखेको हो । 


पत्रिकाले साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ ।


मानिसहरुलाई आकर्षित गर्ने धेरै ठाउँहरु अझै चर्चामा नआएको उल्लेख गर्दै पत्रिकाले पर्यटकहरुलाई नेपालका त्यस्ता ठाउँहरुमा भ्रमण गर्न आग्रह गरेको छ । 

यस्तै, नेपालको हिमाली क्षेत्रको पदयात्रा पनि रोमाञ्चक हुने पत्रिकाले वर्णन गरेको छ । 

सो पत्रिकाले सगरमाथा बेस क्याम्पको यात्राको समेत वर्णन गरेको छ । यस्तै विश्व आर्थिक मञ्चले भ्रमणका लागि नेपाल विश्वको १५ औँ सस्तो मुलुक भएको उल्लेख गरेको छ।

 

कर्णालीमा छोरीका लागि विशेष कार्यक्रम

छोरीमाथि हुने विभेद कम गरि बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यसाथ कर्णाली प्रदेश सरकारले छोरीका नाममा बैंक खाता खोल्ने कार्यक्रम सुरु गरेको हो ।


२०७६ साउन १ वा त्यसपछि जन्मेका छोरीका नाममा बैंक खाता खोली प्रत्येक महिना ५ सयका दरले सरकारद्धारा रकम जम्मा गरिनेछ । सुरुमा खाता सञ्चालन गर्दा १ हजार रुपैयाँ राखिनेछ । 

कर्णाली प्रदेश स्थायी घर भएका अभिभावकबाट जन्मेका छोरीले मात्र कार्यक्रममा आबद्ध हुन पाउने छन । खातामा जम्मा रकमको कति ब्याज उपलब्ध गराउने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ । 


कालीकोट, खाँडाचक्रमा मंगलबार आयोजित शुभारम्भ समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छोरीलाई आत्मनिर्भर बनाउन, सबैखाले हिंसाबाट मुक्त गर्न र शिक्षाको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताए । 

‘कार्यक्रमले समाजमा लैंगिक समानताको वातावरण सिर्जना गर्नुका साथै छोरीलाई अवसरको ढोका पनि खोल्नेछ,’ उनले भने । 


यसरी जम्मा भएको रकम छोरी २० बर्ष पुगेपछि ब्याजसहित झिक्न पाइनेछ । तर त्यसका लागि २० बर्षसम्म विवाह नगरेको र १० कक्षासम्म पढेको हुनुपर्नेछ ।

 

पेप्सीलाई राजश्व छलीमा मुद्या


राजस्व अनुसन्धान विभागले पेप्सीको उत्पादक बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
Nepal business
Source: GETTY Images
नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो । 

राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ।


यसैगरि भ्याटसंगै कम्पनीले आयकर पनि छली गरेको अभियोग पनि छ । विभागले एक अर्ब रुपैयाभन्दा बढि विगो दावी गरेको छ ।

प्रचण्ड पत्नी उपचारका लागि पतञ्जली आश्रममा


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पुर्याइएको छ । लामो समयदेखि उनी अस्वस्थ छिन् ।


छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी छिन् । 

बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।
सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिडित छिन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । 

यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । सीतालाई यसअघि प्रचण्डले उपचारका लागि अमेरिकासमेत लगेका थिए ।

सरकार र यति समूहको साठगाठको तिव्र विरोध


सरकार र एउटा प्रभावशाली व्यापारिक समूह यति ग्रुपबीचको साठगाठको बिषयलाई लिएर संचारमाध्यमहरुमा चर्को विरोध भइरहेको छ । पुर्व राजा विरेन्द्र शाहको नाममा रहेको सम्पत्ति सरकारीकरण गरेर उक्त समूहलाई निक्कै सस्तोमा भोगचलन गर्न दिएको भन्दै विरोध भइरहेको छ । 


यति समूह केहि अघि तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसंगै हेलिकप्टर दुर्घटनामा मृत्यु भएको व्यवसायी आग छिरिग शेर्पाले गर्दथे ।

अहिले उनको परिवारले व्यवसाय सम्हालीरहेको छ । यो समूहले यति एयरलाईन्स पनि संचालन गर्छ । 


पछिल्लो समय मन्त्रीपरिषदले गोकर्ण रिसोर्ट उक्त समूहलाई लिज अवधि ६ बर्ष बाकि रहदै निक्कै सस्तोमा फेरि लामो समयका लागि लिजमा दिएको छ । 

आलोचकहरु शेर्पा प्रधानमन्त्री ओली निकट थिए । उक्त रिसोर्ट राजा विरेन्द्रको सम्पत्ति हो र त्यसको व्यवस्थापन राजतन्त्र हटेपछि नेपाल टष्टको हो । यसलाई करिब ५ सय ६० प्रति रोपनीका दरले यति समूहलाई दिइएको छ । 


यसैगरि नारायणहिट संग्रहालय अगाडिको जग्गा पनि निक्कै सस्तोमा दिएको आरोप सरकारलाई छ । त्यहा यति समूहले कम्प्लेक्स बनाउदै छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने यसको बचाउ गरेका छन । 


तर अधिकांश संचारमाध्यमहरुले टष्टको सम्पत्ति कौडिको भाउमा एउटै समूहलाई उपलब्ध गराएको र त्यसका लागि कानुन नै परिवर्तन गरिएको जनाएका छन ।

माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको बिजुली बंगलादेशले किन्ने तय भएको छ । बंगलादेशको सार्वजनिक खरिद सम्बन्धी समिति (सीसीपीपी) ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको उर्जा विकास बोर्ड लाई सहमति दिएको हो । 


माथिल्लो कर्णालीको निर्माण भारतीय कम्पनी जीएमआर ले गर्ने जिम्मा पाएको छ । आयोजनाको निर्माणपछि उसले ५ सय मेगावाट बिजुली भारतको एनटीपीसी विद्युत निगम (एनभीभीएन) मार्फत बंगलादेशमा बिक्री गर्ने छ ।

यसका लागि प्रतियुनिट ७.७१ सेन्ट खरिद दर तोकिएको छ । 


जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्ने बंगलादेशी सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । 

यसका लागि बंगलादेशले करिब ३८ हजार १६० करोड टाका बराबर खर्च गर्नेछ । बिजुली खरिदबारे एनभीभीएन र बीपीडीबीबीच सम्झौता हुन भने बाँकी छ ।

 

नेपालमै बन्यो विद्युतीय बाइक


नेपाली विद्युतीय बाइक निर्माता कम्पनी ‘यात्री मोटरसाइकल्स’ले आफ्नो पहिलो बाइक बिजुली बाइक सार्वजनिक गरेको छ ।
Nepal Business
Source: Facebook

नेदरल्यान्ड्सबाट पढेर फर्किएका युवाहरुको टोलीले २ वर्ष बढी समय लगाएर यो परियोजना सफल बनाएका हुन् । कम्पनीले फरक डिजाइनसहितका विद्युतीय मोटरसाइकल नेपालमै उत्पादन गर्न लागेका हो ।


कम्पनीले बाइकको सुरक्षात्मक पाटोलाई पनि मजबुत बनाएको दावी गरेको छ । यो मोटरसाइकल ‘क्याफे रेसर’ बाइकको डिजाइनबाट प्रभावित छ । यो बाइकमा ३० किलोवाटको मोटर छ । 

बाइक प्रतिघण्टा १२० किलोमिटरको गतिमा दौडन सक्छ । ६ किलोवाट प्रतिघण्टाको ब्याट्री प्याकसहितको यो बाइकमा ८ वर्षको वारेन्टी दिइएको छ ।

 

पूर्व सभामुख महरा थुनामै


उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । 

बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।


बलात्कारको उद्योगको आरोपमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

एमसिसि पारित गर्ने सरकारको तयारी


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बहसको विषय बनेको अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने सरकारले प्रष्ट पारेको छ ।


सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एमसीसी संसदको शुक्रबारबाट शुरु हुने अधिवेशनमा यो सम्झौता पारित हुने बताए । 


मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले एमसीसी संसदको अघिल्लो अधिवेशनबाटै पारित हुनुपर्ने बताए ।


संसदको अबको अधिवेशनबाट एमसीसी पारित हुने भन्दै पार्टी्भित्र भइरहेको बहसले सरकारको काम कारवाहीमा कुनै असर नगर्नेपनि प्रष्ट पारे ।

मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा हुन् भन्दै उनले केही व्यक्तिका निजी धारणाले एमसीसी संसदबाट पारित हुन नरोकिने बताए ।


नेपाल कम्पयुनिष्ट पार्टिका प्रभावशाली नेताहरु भीम रावल र देव गुरुगले यसको चर्को विरोध गरिरहेका छन । 


एमसीसी सहयोग अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै नेकपाका नेताहरुले नै विरोध गरेका छन् । यदि इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भने पनि सम्झौतामा परिर्माजन गर्नुपर्ने नेताहरुको मत छ ।

 

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand