अस्ट्रेलियाको भिक्टोरिया राज्य स्थित दोस्रो ठुलो शहर, जिलंगका करिब २५० नेपालीहरू आगामी शनिवार, शहरको मुख्य केन्द्रमा आयोजना हुने पाको फेस्टालाई लिएर निकै उत्साहित छन्। डाइभर्सिटाट पनि भनेर चिनिने जिलंगको जातिय सामुदायिक परिषदद्वारा सन् १९८३ देखि हरेक वर्ष आयोजना गर्दै आएको उक्त महोत्सवले उक्त शहरको सांस्कृतिक विविधता प्रस्तुत गर्दछ। जिलंगमा नेपाली समुदायको सङ्ख्या पनि बढ्दै जाँदा पाको फेस्टामा नेपालीहरूको संलग्नता पनि बढी नै रहेको छ। यसपटकको महोत्सवमा जिलंगमा रहेका नेपालीहरूको सामुदायिक संस्था - जिलंग नेपलिज एसोसिएसनद्वारा नेपाल पर्यटन वर्ष २०२० को प्रचारको लागि पनि आफ्नो सहभागिता केन्द्रित रहने बताएको छ। यसैको सेरोफेरोमा जिलंग नेपलिज एसोसिएसनका अध्यक्ष नीरज कारन्जीतसँग एसबीएस नेपालीले गरेको कुराकानी।
कारन्जीतसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
कुराकानीका क्रममा कारन्जीतले एसबीएस नेपालीसँग भन्नुभयो, “हामी यसपालि भिजिट नेपाल २०२० को “थिम” लिएर पाको फेस्टामा जाँदै छौँ। हामीलाई यसमा किराँत सोसाइटी अफ भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) तथा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएन-ए)ले पनि सहयोग गर्दैछ।”
यो महोत्सवले जिलंग तथा भिक्टोरियाको दक्षिण-पश्चिमी भेगका मानिसहरूमा नेपाल चिनाउन सहयोग पुगेको बताउँदै उहाँले त्यस क्षेत्रबाट नेपाल भ्रमणमा जाने अस्ट्रेलियन पर्यटकहरूको सङ्ख्या बढेको आँकडा पनि उल्लेख गर्नुभयो।
कारन्जीतका अनुसार उक्त महोत्सवमा नेपाल लगायत करिब ४० भन्दा बढी राष्ट्रहरूको सांस्कृतिक विविधता, भेषभुसा, खाना तथा गीत-सङ्गीतको आनन्द उठाउन पाइने छ।
Image
बिहान करिब ११ बजे सांस्कृतिक झाँकीबाट महोत्सव सुरु हुने बताउँदै उनले भिक्टोरियाका अन्य नेपालीहरूलाई शनिवार जिलंग आएर साथ दिन पनि आग्रह गर्नुभयो।
“मेलबर्न वा भिक्टोरियाको प्रमुख ठाउँहरूबाट जिलंग आउन निकै सजिलो छ। आफ्नै सवारी हुने मानिसहरूले (मेलबर्नबाट) ड्राइभ गरेर १ घण्टा भित्रै आउन सक्छन् भने भी-लाइनको ट्रेन चढेर पनि पाको फेस्टा आयोजना हुने मुख्य स्थल नजिकै ओर्लन सकिन्छ,” उहाँले बताउनुभयो।
सन् २०१३ देखि नै पाको फेस्टाको झाँकीमा नेपाली झन्डा फहराउँदै आएको जिलंग नेपलिज एसोसिएसनले यसपालि विशेष सांस्कृतिक प्रस्तुति पनि गर्ने कारन्जीतले बताउनुभयो।
Image
भिक्टोरियामा आयोजना हुने ठुलो स्तरका बहुसांस्कृतिक मेला तथा महोत्सवहरू मध्ये पाको फेस्टा पनि एक रहेको उहाँको भनाई थियो।
“करिब १ लाख मानिसहरूको सहभागिता हुने यो महोत्सव भिक्टोरियाकै ठुला मेलाहरूमा पर्छन् भन्दा फरक नहोला,” उहाँले बताउनुभयो।
उहाँका अनुसार स-साना बालबालिकाहरूदेखि वृद्धहरू समेतलाई ध्यानमा राखेर आयोजकहरूले विभिन्न गतिविधिहरू सञ्चालन गर्नेछन्।
“आर्ट एन्ड क्राफ्ट, पेंटिंग तथा अन्य प्रदर्शनीहरू पनि हुने यो महोत्सवमा आउन र हामी जिलंगमा रहेका करिब ३०० नेपालीहरूलाई साथ दिन म सबै भिक्टोरियावासी नेपालीहरूलाई आग्रह गर्दछु। अरू राज्यबाट मेलबर्न, ब्यालाराट, ग्रेट ओसियन रोड, ग्रम्पियन्स घुम्न आउनुभएको छ भने पनि शनिवार त अवश्य पनि जिलंगसम्म आउन नबिर्सनु होला!, कारन्जीतले भन्नुभयो।






