पहिलो चरणमा नै स्तन क्यान्सर पत्ता लगाएर उपचारमा सहयोग पुर्याउन नियमित स्तन जाँच गर्नुपर्ने बारे नेपाली लगायतका महिलाहरूमा जनचेतनाको अभाव रहेको छ।
क्यान्सरले हुने गरेको महिला मृत्युको सबैभन्दा बढी कारणहरूमा स्तन क्यान्सर दोस्रो स्थानमा रहँदा, ५० देखि ७४ वर्ष उमेर समूहका महिलाहरूलाई हरेक दुई-दुई वर्षमा स्तन जाँच्न प्रोहत्सान गर्ने सरकारी नीति रहेको छ।
स्तन क्यान्सर भएको प्राथमिक चरण वा शून्य चरणमा नै पत्ता लागे यसको उपचार सम्भव भएका कारण नियमित स्तन परीक्षण गर्न महिलाहरूलाई प्रोत्साहन गरिएको हो।
ब्रेस्ट स्क्रिन अस्ट्रेलियाले महिलाहरूलाई हरेक दुई वर्षमा निःशुल्क स्तन जाँच अर्थात् मामोग्राम गराउने व्यवस्था गरिदिएको भए पनि अपेक्षित रूपमा महिलाहरूको सहभागिता नभएको जानकारहरू बताउँछन्।

सिड्नीमा जीपीको रूपमा कार्यरत डाक्टर सिर्जना शर्माले नेपाली समुदायमा नियमित मामोग्राम गराउने सङ्ख्या अत्यन्त न्यून रहेको बताएकी छन्।
डा शर्माका अनुसार अस्ट्रेलियामा निःशुल्क स्तन परीक्षण गर्ने सुविधा भएता पनि नेपाली महिलाहरूमा यसको महत्त्वबारे पर्याप्त जानकारी नै छैन।
न्यु साउथ वेल्समा आप्रवासीहरूलाई विभिन्न सेवाहरू बारे जानकारी प्रदान गर्दै आएको मेट्रो अस्सिस्ट नामक संस्थाले अहिले महिलाहरूका लागि आफ्नो स्तनको जाँच गराउन प्रोत्साहित गर्न एक अभियान सुरु गरेको छ।
ब्रेस्ट स्क्रिन न्यु साउथ वेल्स अन्तर्गत रहेको निःशुल्क मामोग्राम अभियानमा भिन्न सांस्कृतिक पृष्ठभूमिका महिलाहरू उक्त स्तन जाँच बारे जानकारी र सेवा लिन प्रोत्साहित गरिएको छ।
न्यु साउथ वेल्समा मात्र प्रत्येक १४ जना मध्ये एक जना ८५ वर्ष उमेर पुग्दा सम्म क्यान्सर बाट पीडित हुने बताइदा पचास वर्ष वा त्यो भन्दा माथिका उमेर रहेका महिलाहरू मध्ये ७५ प्रतिशतमा स्तन क्यान्सर देखा पर्ने गरेको छ।
डा. शर्माले स्तन क्यान्सर हुनेहरूमा उमेर र लिङ्ग नै प्रमुख कारणका रूपमा रहेको बताएकी छन्।
उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
विशेष गरी, ५० वर्ष काटेका महिलाहरूलाई स्तन क्यान्सरको जोखिम हुने हुँदा उनीहरूलाई लक्षित गरी मेट्रो अस्सिस्टले उक्त निःशुल्क स्तन परीक्षण अभियान सुरु गरेको हो।
५० वर्ष माथिका महिलाहरू प्रति लक्षित भए पनि ४० वर्ष माथिका महिलाहरूले पनि उक्त निःशुल्क जाँच गराउन सक्ने शर्माले बताएकी छन्।
ब्रेस्ट स्क्रिन अस्ट्रेलियाले स्तन क्यान्सरका लक्षण नदेखिएका ४० देखि ४९ वर्ष समूहका महिलाहरूका लागी पनि निःशुल्क मामोग्राम गर्न सक्ने व्यवस्था गरेको छ।

तर, ४० वर्ष भन्दा कम उमेरका महिलाहरूको स्तनमा हुने तन्तुको घनत्व बढी हुँदा क्यान्सर पत्ता लगाउन समस्या पर्ने कारणले यो उमेर समूहमा गरिने परीक्षणलाई कम विश्वसनीय मान्ने गरिन्छ।
क्यान्सर अस्ट्रेलियाले निम्न प्रकारका लक्षणहरू देखिए तुरुन्त आफ्नो चिकित्सक सँग सम्पर्क गर्नु पर्ने जनाएको छ:
स्तनमा गिर्खा वा भेटिए
स्तनको छालामा परिवर्तन देखिए (उठेको, खाल्डो वा डाबर देखिए)
असामान्य रूपमा निरन्तर स्तन दुखे
स्तनको आकारमा परिवर्तन देखिए
स्तनको मुन्टाबाट तरल पदार्थ आइरहे, डाबर देखिए वा आकारमा परिवर्तन देखिए
काखीमा गिर्खा आए
कुनै पनि स्तन क्यान्सरका लक्षण नदेखिएका ४० वर्ष माथिका महिलाहरूले निःशुल्क स्तन जाँच गराउन सके पनि चिकित्सकहरूद्वारा रिफर गरिएका बिरामीहरूले भने यसको लागी शुल्क तिर्नु पर्ने हुन सक्छ।
मेडिकेयर भएकाहरूले मामोग्राम गरेको शुल्क फिर्ता पाउने व्यवस्था रहेको छ। तर, निजी स्वास्थ्य बिमा गर्नेहरूका लागी भने यो परीक्षण तुलनात्मक रूपमा महँगो पर्ने हुन्छ।



