विभिन्न समुदायका ५४ भन्दा बढी भिन्न पेसाहरूमा काम गर्ने कामदारहरूको अधिकारका लागी काम गर्दै आएको युनाइटेड वर्कर युनियनमा आबद्ध रहेका तिर्थ राज कार्कीले नेपाली समुदायका कोरोना भाइरस जोखिमको फ्रन्टलाइनमा रहेका कामदारहरू सामान्य सुरक्षा प्रबन्धबाट पनि वञ्चित रहेको बताएका छन्।
सरसफाइको क्षेत्रमा त्यस्तै, अस्पताल तथा धेरै मानिसहरूको आवत जावत हुने एयरपोर्ट लगायतका स्थानमा काम गर्ने कामदारहरू कोरोना सङ्क्रमणको उच्च जोखिममा रहने भन्दै कार्कीले त्यस्ता कामदारहरू आफ्नो स्वास्थ्य जोखिममा राखेर पनि कामलाई जारी राखेको बताएका छन्।

हाम्रै नेपाली समुदायका धेरै विद्यार्थी भाइ बहिनीहरू क्लिनिङ्ग र वृद्ध स्याहार केन्द्रहरूमा काम गर्नु हुन्छ, एक दुई वटा स्कुलको भ्रमणको बेलामा पनि मैले के पाए भने उहाँहरू सँग पर्याप्त ग्लोभ्सहरू छैन मास्कहरू छैन। त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो जीवन जोखिममा राख्नु भएको छ।
अस्ट्रेलिया भर ११० र न्यु साउथ वेल्समा मात्र ७० बढी मानिसहरूमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा कार्यक्षेत्रमा आफ्नो स्वास्थ्य जोखिममा रहेको जस्तो लागे कामदारहरू आफैले पनि आफ्नो अधिकारका निम्ति एकजुट हुनु पर्ने कार्कीको भनाइ रहेको छ।
"हाम्रै नेपाली समुदायका धेरै विद्यार्थी भाइ बहिनीहरू क्लिनिङ्ग र वृद्ध स्याहार केन्द्रहरूमा काम गर्नु हुन्छ, एक दुई वटा स्कुलको भ्रमणको बेलामा पनि मैले के पाए भने उहाँहरू सँग पर्याप्त ग्लोभ्सहरू छैन मास्कहरू छैन। त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो जीवन जोखिममा राख्नु भएको छ।"
तिर्थ राज कार्कीले आफूहरू विभिन्न विद्यालयहरूको भ्रमणमा गएको समयमा यस्ता समस्याहरू धेरै देखिएको र यो अवस्थामा कामदारहरू आफैले पनि आफ्नो अधिकारका बारेमा बोल्नु पर्नेमा जोड दिएका छन्।

उनले यदि कसैले कार्यक्षेत्रमा आफ्नो स्वास्थ्य जोखिममा रहेको अनुभव गर्छन् भने तुरुन्त आफू आवद्द युनियनहरूमा सम्पर्क गर्न पनि सुझाएका छन्।
"सम्पूर्ण कामदारहरूलाई जो चाहिँ विभिन्न पेसामा आबद्ध हुनुहुन्छ उहाँहरूलाई म के अनुरोध गर्छु भने उहाँहरूको सुरक्षा नै पहिलो कुरा हो। त्यसैले आफ्नो कार्यस्थलको अवस्थाको बारेमा बुझ्नुहोस् भन्ने अनुरोध गर्दछु।"
साथै तिर्थ राज कार्की नेपालबाट भरखर अस्ट्रेलिया फर्किएकाहरूलाई पनि काममा जानु पूर्व केही समयका लागी आफूलाई आइसोलेसनमा राख्न सुझाव दिन्छन्।
यसरी घरमा बस्दा कसैले पनि आफ्नो पारिश्रमिक नगुमाउन भन्नका लागी आफूहरूले सो समय अवधिमा उनीहरूलाई पारिश्रमिक प्रदान गर्न दबाब दिइरहेको बताएका छन्।

"यो पटक त आफ्नो सुरक्षा मात्र नभएर अरूको सुरक्षाको लागी पनि क्याजुअल सहित सम्पूर्ण कामदारहरूले कम्तीमा पनि दुई हप्ताको तलबी बिदा पाउन सक्नु पर्छ भन्ने हाम्रो माग हो।"
कार्कीले क्याजुअल कामदारले सहित सबैले यो सङ्क्रमणका कारण आफ्नो पारिश्रमिक गुमाउनु नपरोस् भन्नका लागी आफूहरूले पहल गरिरहेको बताएका छन्।
क्याजुअल कामदारहरूले पनि पार्ट टाइम र फुल टाइम कामदारहरूले जस्तै आफूलाई कामको प्रतिबद्धता जनाइसकेको कार्य समयका आधारमा वा सामान्य तया कति समय काम गर्ने गरेका छन् त्यही समयलाई आधार मान्दै पारिश्रमिक पाउनु पर्ने बताएका छन्।






