नेपालको लगातार तेस्रो हार र महरा सभामुख निर्वाचित - गत ७ दिन नेपालमा

Krishna Bahadur Mahara was elected speaker of Nepal's lower house.

Krishna Bahadur Mahara was elected speaker of Nepal's lower house. Source: RSS

विश्वकप क्रिकेट छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित र माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित - यी हुन् गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।


पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ सम्मान

दुई दिने नेपाल भ्रमणका क्रममा गत सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् । यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो । 

उक्त दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो । अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका थियो । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए । सोही दिन माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए ।

महरा निर्विरोध सभामुख

माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनी निर्विरोध सभामुख भएका थिए। 

महराको प्रस्तावक सुवास नेम्वाङ र समर्थकमा देव गुरुङ बसेका थिए । शुक्रबार बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

राष्ट्रपतिमा राई र भण्डारीको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राई र एमालेको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद भवनमा गत बुधबार राष्ट्रपतिको उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २९ मा हुँदैछ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले राईलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो। राईलाई चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्र राज कणेल, सुरेन्द्र राज पाण्डेको प्रस्तावना तथा सुजता परियार, शिवचन्द्र चौधरी, सरिता प्रसाई, राधा घले, मेखलाल श्रेष्ठको समर्थन गरेका थिए । 

त्यस्तै वर्तमान राष्ट्रपति भण्डारीलाई भने माधव नेपाल, इश्वर पोख्रेल, भीमबहादुर रावल, ओलसरी घर्ती, सुवास नेम्वाङले प्रस्तावना गरेका थिए । रामबहादुर थापा, विष्णु पौडेल, भानभुक्त ढकाल, रवीन्द्र अधिकारी र गोकर्ण बिष्टले भने उनलाई समर्थक गरे । 

कीर्तिमान कायम गराउन १५ सय पिन्ट रगत संकलन

गत साता विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले १५ सय पिन्ट रगत संकलन गरिएको थियो । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन बिहीबार टुँडिखेलमा आयोजना गरेको रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेका थिए । 

यसअघि भारतमा करिब नौ सय पिन्ट रगत संकलन गरेपनि विश्व कीर्तिमानका लागि दाबी भने गरिएको थिइएन्।  

जेलमा अनसनरत बसेका रेशम चौधरी अस्पताल भर्ना

छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो भने थप उपचारको लागि राजधानी ल्याइएको थियो ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका विश्राम कुश्मी, लक्ष्मण थारू र किसन चौधरीलगायतले जिल्ला कारागार कैलालीमा आइतबारदेखि अनसन थालेका थिए । 

उनीहरुले कैलाली १ का सांसद समेत रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने लगायत तीनबुँदे माग राख्दै आएका थिए । 

पहिलो पटक महिला राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै

नेपालमा पहिलो पटक महिला कुस्ती प्रतियोगिता हुने भएको छ । नेपाल कुस्ती संघको आयोजनामा बैशाखको तेश्रो साता पोखरामा ‘प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता २०७५’ हुने भएको हो ।

गत मंगलबार कुस्ती खेलको विकास गर्ने उद्धेश्यले आगामी बैशाख २१ र २२ मा पोखराको कभर्ड हलमा आयोजना हुन लागेको प्रतियोगिताबारे जानकारी गराइएको थियो। विभिन्न ८ वजन समूहमा हुने प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र १६ कास्य गरी कुल ३२ पदका लागि ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न इभेन्ट समूहका महिला कुस्तीवाजहरु माया लोहार, लक्ष्मी खत्री, कविता पुन, शान्ति चौधरी र ईश्वरी थापालगायतले प्रतिष्पर्धा गदैैछन् । 

नेपालको लगातार तेस्रो हार 

विश्वकप क्रिकेट छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको थियो। शनिबार परम्परागत प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपाल विश्वकप छनोट क्रिकेटको समूह चरणबाट बाहिरिने लगभग निश्चित भएको छ । 

टस जितेको नेपाली टोली कप्तान पारस खड्काको ७५ रन मदतले ४९.५ ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो। नाजीबुल्लाह जाद्रानले ४४ बलमा नटआउट ५२ रन बनाएपछि अफगानिस्तानले उनान्चालीस ३९ औं ओभरमै लक्ष्य भेट्टाएको थियो। अफगानिस्तानसँग नेपालको यो लगातार सातौं पराजय थियोे।

नेपाल र हङकङ सोमबार समूह चरणको अन्तिम खेलमा भिडै छन्। हङकङले विजय हात पारे सुपर सिक्स पुग्नेछ। नेपालले विजय हात पारेमा अफगानिस्तान दोस्रो चरणमा छिर्नेछ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand