अस्ट्रेलिया र नेपालबीच हवाइ सम्झौता भएपनि तत्काल सिधा उडान नहुने भएको छ । नेपाल एयरलाइन्ससंग सिधा उडान गर्न सक्ने क्षमताका जाहाज छैनन भने अष्ट्रेलियाका कुनै कम्पनीले पनि हालसम्म रुची देखाएका छैनन ।
नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश बहादुर चन्दले निगमसंग हाल रहेका जाहाजले सिधा उडान सम्भव नभएको वताए । ‘हामीसंग भएका जाहाजले सिधा उडान सम्भव छैन,’ उनले भने, ‘तत्काल उडान सम्भव देखिएन ।’
अस्ट्रेलियाका कुनै पनि एयरलाइन्सले हालसम्म सम्पर्क नगरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता एवं सह सचिव शुरेस आचार्यले वताए।
‘अस्ट्रेलियाका कुनै कम्पनीले सम्पर्क गरेको मलाई थाहा छैन,’ नेपालको तर्पबाट हवाइ सम्झौतामा हस्ताक्षर गरेका आचार्यले भने।
सुरेश आचार्यसंग हामीले गरेको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

ठूलो संख्यामा नेपाली डायस्पोरा रहेको र विद्यार्थीहरुको पनि आकर्षक गन्तव्य अस्ट्रेलियासंग गत सेप्टेम्बरमा हवाइ सम्झौता हुदा उत्साह बढेको थियो । तर विना पुर्व तयारी भएको सम्झौताबाट प्रतिफल पाउन सकेको छैन ।
‘हामीले नेपाल वायुसेवा निगमले सेवा शुरु गर्छ कि भन्ने आशामा सम्झौता गरेका हौ,’ आचार्यले भने । नेपाल एयरलाइन्सले दुइवटा ठुला जाहाज (वाइड वडि) किनेपछि ती मार्पत सिधा उडान हुनसक्ने अपेक्षा धेरैको थियो ।
ठुला जाहाज किन्नुपुर्व निगमले पेश गरेको व्यवसायिक कार्ययोजना (बिजनेस प्लान) मा सिडनी सिधा उडान गर्ने भन्ने उल्लेख रहेको आचार्य वताउछन ।
‘निगमको व्यापार बढाउन र सेवा विस्तार गर्न उहाहरुको बिजनेस प्लान अनुसार अष्ट्रेलियासंग सम्झौता गरिएको हो,’ आचार्यले भने ।
निगमका प्रवक्ता चन्दले पनि बिजनेस प्लानमा सिडनी सिधा उडान उल्लेख भएपनि भएका दुइ जाहाजका लागि नभएको वताए । ‘हाम्रो प्लानमा त्यो थियो र यो तेस्रो जाहाज आएपछि मात्रै हुने भनेका हौ,’ उनले भने ।
निगमको वित्तिय अवस्था हेर्दा तत्काल तेस्रो जाहाज किन्न सम्भव देखिएको छैन । गत आर्थिक बर्षमा निगमको घाटा करिब २ अर्ब रुपैया पुगेको छ ।
यसअघि ग्राउन्ड ह्यान्डलिगबाट कमाएको नाफाबाट जाहाज उडाउदा भएको घाटालाई पुर्ति गरिदै आइएको थियो ।

गत बर्ष निगमले पछिल्लो समय किनेका जाहाजको किस्ता तिर्न ठूलो रकम खर्च हुनुका साथै व्यवस्थापनमा पनि सुधार नभएपछि घाटा भएको हो। जाहाज संचालनमा भने पहिले देखि नै निगम घाटामा थियो ।
थाइ एयरवेज, एयर इन्डिया जस्ता केहि वायुसेवा बाहेक अन्यको ग्राउन्ड ह्यान्डलिग सेवा निगमले दिदै आएको छ । यो निगमको नाफाको मुख्य स्रोत हो ।
६ वटा साना र ठूला चिनिया जाहाज पनि निगमका लागि ठूलो समस्या वन्दै गएका छन ।
निगमकै एक अधिकारीका अनुसार ती जाहाज उडाउनुभन्दा त्यत्तिकै राख्दा फाइदा छ । ‘उडायो कि खर्च मात्रै हुन्छ, आम्दानी हुने होइन,’ उनले भने, ‘त्यो भन्दा त थन्क्याएर राखिएको छ ।
चीनबाट दुइ एमए ६० र चार वाइ १२ नामक विमान निगमले पाएको थियो । जसमध्ये एउटा एमए ६० र एउटा वाइ १२ अनुदान र बाकि चीनकै सहुलियतपुर्ण ऋण (लाइन अफ क्रेडिट) बाट किनिएका हुन । ती अधिकारीका अनुसार चिनिया जाहाज चलाउन पाइलट पनि तयार हुदैनन् । व्यवस्थापकीय कमजोरीका कारण निगम निरन्तर आलोचित वन्दै गएको छ ।
निगमको यही कमजोरीका कारण अस्ट्रेलियाको सिधा उडान पनि तत्काल सम्भव नदेखिएको हो ।
तर मन्त्रालयका सह सचिव आचार्य भने कुनै एक बीचको विन्दुमा जाहाज रोकेर सिडनी उडान गर्न सकिने सम्भावना रहेको वताउछन । ‘तेलले पुग्दैन, मलेसिया वा इन्डोनेसियामा तेल हालेर जान सकिने सम्भावनाको खोजी भइरहेको छ,’ उनले भने ।
त्यसका लागि ती बीचका देश पनि तयार हुनुपर्छ । उक्त सेवाका लागि गरिने सम्झौतालाई फिप्mथ फ्रिडम भन्ने गरिन्छ । त्यो सम्झौता पनि भएको छैन ।
निगमका अधिकारीहरु भने कुनै बीचको ठाउमा रोकेर पनि उडान तत्काल सम्भव नभएको वताउछन ।





